बबिता मादेन पत्रकार हुन। भारतको सिलगढी बस्नुहुने मादेनको “दार्जिलिङ ब्राण्ड व्यापारको राजनीतिक बजार” नामक पुस्तक अघिबाटै प्रकाशित छ। पहिलो पुस्तकमा मादेनले दार्जिलिङमा हुने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनका असफलताका कारण खुट्याएका छन। स्वतन्त्र पत्रकारकोरुपमा विभिन्न दैनिक पत्रिका र टिभी च्यानलहरुमा राजनैतिक विश्लेषण गर्दै आइरहनु भएको छ। पछिल्लो समय उनको दोस्रो पुस्तक “१९८६ वास हराएपछि “निक्कै चर्चामा छ। उनको दोस्रो गैरआख्यान पुस्तक यसकारण पनि चर्चामा छ, किन भने सुबास घिसिङकालीन आन्दोलनलाई दबाउन मार्क्सवादी कम्युनिष्ट पार्टीको सरकार र माकपा समर्थकहरुले मच्याएको आतङकको सिकार बनेको आफ्नै परिवारको पीडालाई पुस्तकमा उतारिएको छ। मादेनको परिवार आन्दोलनको चक्रवातमा परेर कसरी तहसनहस बन्यो, त्यसलाई उनले मिहिनसित लेखेका छन। उनको सोही पुस्तकको वरिपरि रहेर हङकङ खबरले मादेनसित संवाद गरेको छ। प्रस्तुत छ, संवाद अंश ।
१९८६ वास हराएपछि किन लेख्न पऱ्यो? यसको रचनागर्भ के छ ?
सन १९८६ को गोर्खाल्याण्ड आन्दोलन भारतीय गोर्खाको मुटुसँगै जोडिएको विषय हो। धेरै कारणहरुले यो विशेष छ। समय जति नै टाढा भए पनि डट को आन्दोलन पुरानो हुँदैन। तर एउटा वास्तविकता यो पनि हो, वर्तमानको एउटा ठूलो जमातले ८६ लाई सिर्फ सुनेको मात्र छ। आफु आन्दोलनको एकजना भुक्तभोगी अनि त्यस समयको प्रत्यक्षदर्शी पनि भएको नाताले ती घटनाहरु शब्दमा उतारिए । वर्तमानले अझ नजिकबाट बुझ्न सक्नेछ भन्ने अभिप्रायले यो पुस्तक लेखेकी हुँ।
त्यसो त छुदेन काविमोले यही कथा फातसुङमा लेखेकै छन, लेखनाथ छेत्रीले पनि फुलाङ्गेमा लेखेकै छन, महेन्द्र पी लामाले नै पनि ओ दार्जिलिङमा ती नै कुरा लेखेकै छन, तपाईँले पनि त्यही किन लेख्नु र ?
आन्दोलनलाई समेटेर लेखिएको हालै प्रकाशित पुस्तकहरु उत्कृष्ट साबित भइसकेको छ। फरक यति हो कि साँचो घटनाको आधारमा लेखिएका ती पुस्तकहरु उपन्यास हुन अनि १९८६ वास हराएपछि त्यो यथार्थमा बाँचेकी एउटी सानी पीडिताको कथा हो, गैरआख्यान हो।
१९८६ ,२००८,२०१७ मा क्रमैले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलन भयो, यी आन्दोलनहरू जहिल्यै असफल बन्यो, किन यस्तो हुन्छ ?
छुट्टै राज्यको मागमा उठेको पटक-पटकको आन्दोलन असफल भयो तथापि प्रत्येक पटकको आन्दोलनले केही न केही पाठ अवश्य पढाएर गयो। आन्दोलन असफल हुनुमा अनेक कारणहरु छन। ठूलो शक्तिले सानो शक्तिलाई कहिले बलले मिच्छ त कहिले बुद्धिले। विवेक र सामर्थ्यमा विरोधी शक्तिशाली भएपछि आन्दोलनका नेतृत्वहरु कहिले बाध्यतामा परे त कहिले प्रलोभनमा। अगुवाहरुले बाटो बिराएपछि आन्दोलन दिशाहिन बन्यो।
तपाईँको किताबले आन्दोलनमा नेतृत्व दोषी छ भन्न खोजेको हो कि, आन्दोलन कस्तो हुनुपर्थ्यो ?
पुस्तक नै जब आन्दोलनको परिधिमाथि लेखिएको छ भने त्यो समयको राजनैतिक स्थिति र नेतृत्वहरुको क्रियाकलाप स्वत लेखनभित्र परिहाल्ने कुरा हो। छुट्टै राज्यको संघर्षमा नेतृत्व दोषी थियो भन्ने कुरा हाक्काहाक्की भन्न सकिने कुरा हो तर पुस्तक लेखिनुको उद्देश्य यो होइन। भारत जस्तो विशाल देशमा एउटा सानो समुदायले आफ्नो अधिकारप्रति सरकारको ध्यानाकर्षण गराउनु हो भने त्यो समुदायले आफ्नो संघर्षलाई व्यापक बनाउँदै लानुपर्ने हुन्छ, जुन कुरा यहाँ हुन सकेन।
केन्द्र र राज्य ठूलो शक्ति हो, दार्जिलिङ त्यही शक्तिको सिकार बन्यो, यी शक्तिहरूको सिकार नबन्नु हो भने के गर्नुपर्छ ?
केन्द्र अनि राज्य दुवै गोर्खाल्याण्डका विपक्षी शक्तिहरु हुन, यद्यपि, दार्जिलिङ ठूला शक्तिहरुको शिकार भएको केन्द्र र राज्य शक्तिशाली भएर मात्र पनि होइन। ताकतवर विरोधीको सामना गर्न आफु संगठित हुन नसक्नु एउटा ठूलो कारण हो।
कम्युनिष्ट पार्टीले पनि मान्छे माऱ्यो र गोरमुमोले पनि। किन मान्छे माऱ्योजस्तो लाग्छ, यसको पछिल्तिर के छ ?
आफ्नो प्रभुत्व कायम राख्नु हो भने हिंसात्मक क्रियाकलापको सहारा लिनुपर्छ, त्यसताका परिवेशले सृजना गरेको धारणा हो यो। विरोधीलाई मारेर नै आफु विजयी बन्न सकिन्छ भन्ने मनोविज्ञान मस्तिष्कमा बसाइएपछि त्यो मान्छेले त्यही गर्छ जुन कुरा उसको दिमागले गर्नु भन्छ।
तपाईँको अघिल्लो पुस्तक ‘दार्जिलिङ ब्राण्ड व्यापारको राजनीति’ र यो पछिल्लो किताब किन पढनुपर्छ ?
‘दार्जिलिङ ब्राण्ड´राजनैतिक निबन्धहरुको संगालो हो। ‘ १९८६ वास हराएपछि´ सत्य घटनालाई समावेश गरेर लेखिएको संस्मरण। दुवै पुस्तक एउटै आधारबाट उठाइएको भए पनि कन्टेन्ट नितान्तै फरक छ। २०१७ को आन्दोलनलाई बुझ्नको निम्ति ‘दार्जिलिङ ब्राण्ड’ ले मद्दत गर्नेछ त्यही डट को आन्दोलनलाई नजिकबाट चिहाउन ‘ १९८६ वास हरिएपछि’ पढनुपर्छ।
एक पत्रकारको दृष्टिकोणबाट हेर्दा के छुट्टै राज्य गोर्खाल्याण्ड सम्भव छ ? कसरी सम्भव छ ?
दस्तावेजहरुले प्रमाण गर्दछ, दार्जिलिङ पहाड, तराई र डुवर्सको भू-भाग बंगालको शुरुवाती हिस्सा थिँदै थिएन। तथ्य-सत्यको आधारमा छुट्टै राज्य सम्भव छ तर यो हुने प्रक्रिया सजिलो भने पटक्कै छैन । यो संघर्षमा अनेकौं अफ्ठ्याराहरु छन जुन अफ्ठ्यारोलाई अंगाल्न सक्ने नेतृत्व अहिलेसम्म भेटिएको छैन।
सुबास घिसिङ त चर्चित नेता हुन, तिनका कमजोरी र शक्तिहरू के के थिए ? उनको तुलनामा यस्ता कुनै नेता छन, जसले जनसवाललाई सम्बोधन गरिरहेका छन।
सुवास घिसिङ तत्कालिन गोर्खाल्याण्ड आन्दोलनलाई परेकाहरुले हेर्ने एउटा ब्राण्डको नाम पनि थियो। घिसिङको नाम संलग्न नगरि आन्दोलनको इतिहास अधुरो रहनेछ। शताब्दि अघिबाट बामे सर्दै आइरहेको जातीय परिचय खोज्ने पहलहरुलाई सुवास घिसिङले थाँग्रो दिएर उभिने बनाए। त्यही, अर्को पाटोलाई यसरी पनि हेर्नुपर्छ, क्रान्तिको बाटो बनाउने योद्धाले त्यसपछि भने क्रान्तिको बाटो नै बन्द गरिदिए। पछिकाहरुले सुवास घिसिङमा भएको गुणलाई टिपेनन, मात्र उनले गरेका गल्तीहरुको अनुसरण गरिरहे, गरिरहेकाछन।
नेपालले दार्जिलिङका गोर्खाहरूको पहिचानको आन्दोलनप्रति चासो राख्छ। नेपालले भारतीय गोर्खाहरूको आन्दलनलाई कसरी हेर्नुपर्छ ?
भाषा, साहित्य, संस्कृति र सांस्कृतिक प्रथा-परम्पराहरुले नेपाल र दार्जिलिङ एक आपस्तलाई आत्मियताले बाँधेको छ। मन मिल्ने, रुपरंग मिल्ने, सिमाना साझा गर्ने भएकै कारण भारतका सरकारी तन्त्रहरुले भारतीय गोर्खालाई शंकालु नजरले हेरिरहेको हुन्छ। अधिकारको निम्ति यहाँ उठेको विद्रोहलाई राज्य सरकार नेपाल प्रायोजित देख्छ। नेपाललाई परिआउँदा दार्जिलिङले संवेदना राखेकै हुन्छ, दार्जिलिङलाई चोट लाग्दा नेपाल दुख्दै आइरहेको छ। आफ्नै देशमा गोर्खाहरुको संघर्ष निक्कै चोटिलो छ। हिम्मतले बारम्बार घुँडा टेक्दो अवस्थामा हौसलाको टेवा दिने सबै शुभचिन्तकहरुको आवश्यक्ता पर्छ नै तर गोर्खाहरुलाई हेर्ने सरकारी तन्त्रहरुको मनसायलाई मध्यनजरमा राखेर दार्जिलिङले नेपालबाट त्यति मात्र अपेक्षा राख्नु पर्छ जति सहानुभूति एउटा छिमेकीले छिमेकी समुदायबाट पाउन सक्छ।
दार्जिलिङमा लेखिने साहित्यले त्यहाँको द्वन्द्व, आन्दोलन, अन्तरविरोधहरूलाई कसरी प्रकट गरिरहेका छन। नेतृत्व कमजोर हुनु भनेको त त्यहाँको साहित्य पनि कमजोर हुनु हो होइन र ?
कुनै समय दार्जिलिङमा साहित्यले राजनीतिलाई डोऱ्याउने गर्दथ्यो भने वर्तमानमा साहित्य र राजनीति छुट्टा छुट्टै बाटोमा हिँडिरहेको छ। राजनीतिलाई केलाएर, निफनेर मार्गदर्शन साहित्यले गर्नुपर्छ भनिरहेको भए तापनि यथार्थमा यस्तो हुन सकिरहेको छैन। यद्यपि साहित्यले जातीय आंकाक्षाहरुलाई समेटदै आइरहेको कुरालाई नकार्न सकिन्न।
अहिले त त्यहाँ गोर्खाल्याण्डको आन्दोलन पनि छैन, मुद्दा पनि छैन, किन यस्तो भयो? के अब त्यहाँको जनमुद्दा मरेको हो?
आन्दोलन सडकमा भइरहेको छैन यसको अर्थ यो होइन कि जनताले आत्मासमर्पण गरिसकेको छ। सतहमा भलै नदेखिएको होस, गोर्खाहरुको मुद्दा कुनै हालतमा मर्न सक्दैन। छुट्टै राज्यको आंकाक्षा भुप्रोभित्रको फिलुगों हो, जुन सत्यबाट सरकार पनि अनभिज्ञ छैन।
पुस्तकमा एउटा आन्दोलनले चिथोरेको घाउ कोट्याउनु भएको छ, समाजले बिर्सन खोजेको घाउ कोट्याउनु पछिल्तिरको राजनीति के हो ?
इतिहासलाई पढेर वर्तमानले मनन, चिन्तन र मन्थन गर्नुपर्छ। कुनै पनि पहल निरुद्देश्य हुँदैन। प्रत्येक घटना पुस्तकको एउटा हिस्सा भए पनि यो मात्र एकजना बालिकाले बाँचेको समयको वर्णन होइन, असख्यौं भुक्तभोगिहरुको अतित हो।
आन्दोलनले महिलाहरूलाई अझ किनारमा पुऱ्याएको छ, थिचोमिचो गरेको छ, तपाईँको किताबमा पनि सबै महिलाले दुःख पाएका छन, तपाईँको ती सबै महिलाको बदला लिन त्यतिखेर राजनीतमा लाग्नु भएको थियो ? कस्तो छ, दार्जिलिङका महिलाहरूको सवाल ?
प्रत्यक्ष रुपमा कैयौं-कैयौं महिलाहरुको अस्मिताको दोहन गरियो आन्दोलनकालमा। अप्रत्यक्ष रुपमा पनि आन्दोलनको प्रतिकुल असरको मुल्य महिलाहरुले नै ज्यादा चुकाउनु पऱ्यो। लोग्ने मारिँदाको विपत्ती सबैभन्दा धेर स्वास्नीलाई नै पर्ने हो। प्रतिशोधको भावनाले प्रेरित नभए पनि आक्रोश र असन्तुष्टिहरुले त ठाँउ लिएकै हुनुपर्छ।
किताब धेरै चर्चामा छन। नेपालका पाठकले कसरी पढ्न पाउनु ? अब अर्को किताब कस्तो आउनेछ ?
छापिएको प्रति लगभग समाप्त हुन लागेकोले नेपालमा पुस्तक पुऱ्याउन सकिएन। नेपालको पाठकहरुको निम्ति २०१७ वाल हराएपछि नेपालमै छापिने कुराकानी पनि चलिरहेको छ, यहाँहरु समक्ष पुस्तक चाडै पुग्न सकुन, यही कामना गर्दछु।