क्रान्ति सुब्बा
कोभिड प्रकोपको शिकार आयातित केस मार्फत हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भनेकी छिन।
कोभिड नियन्त्रणको लागि संसारमा धेरै देशहरुले शुन्य-कोभिड रणनीति अपनाएका थिए । जसमध्ये चीनको शुन्य कोभिड रणनीति निकै कडा मानिन्छ। खोपलाई छ्ल्न सक्ने गरि कोभिड भाइरस म्युटेसन हुन थालेपछि कोभिडप्रतिको शुन्य सहनसिलता धेरै मुलुकले त्यागिसके, त्याग्ने क्रममा छ्न। बिशेष गरि ओमिक्रोनको नरम लक्षणका कारण अब भाइरस संगै बाँच्ने रणनीति अपनाउन केही देश अघि बढिरहेछ्न। विज्ञहरुले ओमिक्रोन कोभिडको अन्तिम भेरिएन्ट हो भनिरहेछ्न र अब उसो कोभिड सामान्य रुघाखोकीको औकातमा बस्छ भनेका छ्न। र खोप लाएर कृत्रिम इम्युनिटी सिर्जना गरि भाइरससंग जिस्किनु भन्दा प्राकृतिक रूपमा भाइरसलाई संक्रमण हुन दिने त्यसपछि मानिसमा स्वतस्फूर्त यो संग लडने क्षमता उत्पन्न हुन्छ भन्ने सिद्धान्तलाई विश्वसनीय बनाउन तिर एउटा विश्व लागेको देखिन्छ । तथापि चीनको पद चापलाइ पछ्याउँदै हङकङले शून्य-कोविड रणनीतिलाई छोडेको छैन।
अन्तर्राष्ट्रिय वित्तीय केन्द्र हङकङले भाइरसको घुसपैठलाई तगारो लाउन आफुलाइ अन्तर्राष्ट्रिय जगतबाट अलग्गै राख्ने जोखिम मोलेको निकै लामो समय भैसकेको छ। युरोपियन युनियनको च्याम्बर अफ कमर्सले हङकङको जिरो कोभिडको चट्टानी अडान २०२४ सम्म कायम रहन्छ भनेर भविष्यवाणी गरिदिइसकेको छ।
हङकङ आफ्नो शुन्य कोभिड निति कायम राख्नमा बहुत हदसम्म सफल पनि भएको हो २०२१ भरिको अवधिमा । अफसोस नै भन्नू पर्छ हङकङले २०२२ को पहिलो महिना मै ६०० भन्दा उकालो केस संख्या भोग्नु परयो।
२७ जनवरी बिहीबार हङकङकि लिडर क्यारी लामले संसार कै लामो क्वारेन्टाइन मध्ये एक हङकङले अभ्यास गरिरहेको २१-दिने क्वारेन्टाइन अवधिलाई छोट्याएर १४ दिन भएको घोषणा गरिन। कोभिड साम्राज्यको संजालमा ओमिक्रोनको एकाधिकार कायम हुनु र यो संस्करणको इन्क्युबेशन अवधि छोटो हुनुले लामो क्वारेन्टाइनको दरकार नपरेपछि यस्तो यु- टर्न निष्कर्ष हङकङले निकालेको हो।
हङकङमा सामुदायिक स्तरमा ओमिक्रोन छिरेर चौतर्फी ओमिक्रोन प्रकोपका मुल फुटाउन थालेपछि पुन आर्थिक रूपमा पीडादायी सामाजिक-दूरीका मापदण्डलाई लागू गरिएको थियो । लकडाउनका नाममा क्वाइ चुङ जिल्लाका हजारौं बासिन्दाहरूलाई उनीहरूको घरमा थुनेर राखिएको थियो । त्यसपछि यो क्वारेन्टाइन घटाउने आश्चर्यजनक कदम आएको हो।
एक जना पाकिस्तानबाट आएकी ४३ वर्षीया महिला हङकङ सरकारले तोकेको ४० वटा क्वारेन्टाइन होटल मध्ये एक सिल्का सिभिउ होटेलमा क्वारेन्टाइन बसेकी थिइन । होटेल छिर्दा उनी कोभिड फ्री थिइन ।तर होटेलमा बसेको बेला उनमा ओमिक्रोन त्यही बस्ने अर्का संक्रमितबाट सरयो। क्वारेन्टाइन बसाइको पछिल्लो चरणमा उनी कोभिड संक्रमित भएकी थिइन। सिल्का होटेल क्लस्टरकि तिनै महिला संक्रमितले करिब २,७०० जनघनत्वले खचाखच भरिएको क्वाइ चुङ पब्लिक हाउजिङ एस्टेटको ब्लकहरुमा संक्रमणको सुनामी ल्याइदिइन। अहिले लकडाउन र क्वारेन्टाइन फेसिलिटी समेतमा गरेर ८,००० भन्दा बढी नागरिकले बन्दी हुनु परेको छ। अन्तर्राष्ट्रिय हवाई सेवाको उडानमा ९०% प्रतिशत कटौती आएकोछ। करिब ९००,००० विद्यार्थी स्कुल बाहिर थुनिएका छ्न।
हालको महामारी नियन्त्रण मापदण्डले हङकङको सामाजिक मनोविज्ञानलाई गम्भीर रुपले खलबल्याएको कुरा डाक्टरहरुले गरेका छ्न। ७५ लाख जनसंख्या भएको हङकङका स्कुल ,प्लेग्राउन्ड , जिम लगायतका सार्वजनिक स्थानहरु पुरै बन्द छ्न भने बार र रेस्टुरेन्टमा बेलुकी छ बजेबाट बसेर खान मनाही गरिएको छ।
समुदायमा कोभिड प्रकोप पशुबाट नसरोस भनेर २,००० भन्दा बढी ह्याम्टर तथा साना जिवको सामुहिक हत्या भैसकेको छ।
त्यसो त हङकङका केही स्वास्थ्य विशेषज्ञहरूले होटेल क्वारेन्टाइनको लम्बाइले मानिसहरूलाई क्रस- संक्रमणको जोखिममा पार्न सक्ने चेतावनी बेलैबाट दिदै आएका थिए।
“होटेलका क्वारेन्टाइन सुविधाले यात्रुहरूलाई पटक पटक असफल बनाइरहेको छ र उनीहरूलाई कोविड १९ ले सजिलै समात्ने जोखिममा राखेको छ” हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट सिद्धार्थ श्रीधरले लामले क्वारेन्टाइन अवधि छोट्टिएको घोषणा हुनु अघि एएफपीलाई भनेका थिए ।
हङकङ युनिभर्सिटीका महामारी विशेषज्ञ बेन काउलिंगले यो २१ दिने क्वारेन्टाइन वैज्ञानिक नभएको र यसले रिस्क बढाइरहेको थियो भन्ने तर्कलाई लामो समयदेखि अघि सार्दै आइरहेका थिए ।
हङकङको क्वारेन्टाइन होटेलमा क्रस-संक्रमण भएका धेरै उदाहरणहरू रेकर्ड गरिएको थियो । यसो भनौं होटेलले एक वर्षमा कम्तीमा ४ चोटि इन्फेक्सनलाई सारेको थियो नियन्त्रण गर्नको सट्टा । तर मानिसहरूले क्वारेन्टाइन छोडनु अघि नै तेस्ता संक्रमणलाई पत्ता लगाइएको थियो । गत वर्षको उतरार्द्वमा क्वारेन्टाइन होटेलको करिडोरबाट ओमिक्रोन सरेको थियो । खाना पास गर्दा र परिक्षणको लागि ढोका खोल्दा भाइरस उम्किएर अर्को मानिसलाई सरेको थियो ।
हुन त होटेललाई क्वारेन्टाइन सेल बनाउने अभ्यासले अरु देशहरुमा पनि समस्या निम्त्याएको थियो जस्तै अस्ट्रेलिया र सिंगापुरमा पनि क्वारेन्टाइन होटेलबाट संक्रमण फैलिएको थियो । तर यी देशले अहिले भाइरससंगै जिउने कसरतमा लागी सकेका छ्न। ती देशमा पुर्ण खोप लगाएका यात्रुलाई आवश्यक परेमा घर मै आइसोलेसनमा बस्ने छुट छ। तर परिक्षण नतिजा नेगेटिभ आएमा प्रायसले आइसोलेसनमा बस्नु पर्दैन ।
“हामीसंग कोभिड महामारीको प्रकोप थियो ,यो कुनै आश्चर्यजनक कुरा होईन । तर हामीले ६ महिनासम्म हङकङमा शुन्य केस कायम राख्न सफल भएका थियौं । त्यो चै आश्चर्यको कुरा थियोे “काउलिंगले एएफपीलाई भने।
“मलाई लाग्छ हाम्रो भाग्य समाप्त भएको छ।”
हङकङ सरकारले अपनाएको शून्य-कोविड नीतिलाई स्थानीय जनताको पुर्ण समर्थन मिलेकै हो। तर पछिल्लो समयमा फरक जनमत पनि देखापरेकै हो। जस्तै जनवरीमा हङकङको डेमोक्र्याटिक पार्टीले गरेको एउटा सर्वेक्षणमा “भाइरससंग बाच्ने” अवधारणालाई ६५ प्रतिशत बासिन्दाहरूले समर्थन गरेका थिए जबकी नोभेम्बरमा ४२ प्रतिशत जनताले मात्रै समर्थन जनाएका थिए ।
जनसंख्याको एउटा ठुलो हिस्सा ओगटेर बसेको वयोवृद्धको उल्लेख्य संख्याले खोप लगाएका छैनन र भाइरसको प्राथमिक निशाना भनेको यही जमात हो। त्यसैले जतिसुकै आलोचना सहेर भए पनि क्यारी लाम भाइरसको शुन्य सहनसिलतालाई त्याग्ने पक्षमा छैनन।
आधिकारिक तथ्यांक अनुसार ८० वर्ष माथिका केवल २०% प्रतिशतले मात्र दुबै डोज भ्याक्सिन लगाएका छ्न। ७०-७९ वर्ष उमेर समुहबाट दुबै डोज भ्याक्सिन लाउनेको दर ४८.५% प्रतिशत पुगेको छ।
हङकङमा भ्याक्सिन लाउन योग्य जनसंख्याको ७१% प्रतिशतले दुबै डोज भ्याक्सिन लगाएका छ्न। यो संख्या चीनको भ्याक्सिन दर भन्दा कम छ। चीनको पुर्ण जनसंख्याको ८६% प्रतिशतले दुबै खोप ग्रहण गरिसकेका छ्न।
वास्तवमा हङकङले कोभिड युद्धमा चीनसंग एक्यवद्धता जनाएको छ र बेजिङले प्रयोग गरेको शुन्य कोभिड नितिलाई यहाँ लागू गरेको छ।
वास्तवमा शुन्य कोभिड नितिलाई अपनाउने अन्तिम किल्ला चीन र हङकङ मात्र बाँकी रहेकोछ। डेल्टा र ओमिक्रोन जस्ता अति उच्च संक्रामक भेरिएन्टको उत्पत्तिसंगै न्युजिल्यान्ड लगायतका मुलुकले शुन्य कोभिड पोलिसीलाई तिलान्जली दिइसकेका छ्न।
शुन्य कोभिड रणनीति अपनाउनु आफैमा श्रेष्ठतम विकल्प हो तर चोरको हजार दाउ हुन्छ भने झैं कतै न कतैबाट भाइरस छिरेर सामुदायिक संक्रमणको सयौं अदृश्य संजाल बनाउन सफल भएको छ। बिश्वमा धेरै कुरामा हङकङ अग्र स्थानमा छ । भाइरस व्यवस्थापनमा पनि अब्बल नै छ र कोभिड युद्ध समाप्त नभइन्जेल यो स्पिरिट यथावत रहनु पर्छ। किनकि कोभिड भाइरसलाई जितेको नजिर कसै न कसैले त बसाउनु नै छ आखिर ।