२०४२ मङ्सिर १० मा ५ उवा रोल्पामा जन्मीएका प्रेमप्रकाश पछिल्लो पुस्ताको आशालाग्दो कवि हुन् उनको हालसम्म आधा दर्जन भन्दा बढि कृति प्रकाशीत छ प्रस्तुत छ साताको तीन कविता ।
अन्तिम रहर
आफ्नै मुटु सम्झिएँ तिमीलाई
थाहा थिएन
आफ्नै भनिएको मुटु पनि
एकदिन बन्द हुने रहेछ ।
प्रिय समिरा
यो शरीरले पनि सधैँ साथ नदिने रहेछ ।
वसन्त भेट्न फूलहरू मुस्कुराएजस्तो
पूर्णिमा खोज्न जून उदाएजस्तो
पातहरूसँग साउती मार्न हावा बहिरहेजस्तो
तिमीलाई भेट्न
म जुग जुगदेखि तड्पन खेपिरहेको छु
सागरमा समाहित हुन नदी बगिरहेजस्तो ।
तर पहाडजस्ता पर्खालहरू आए सम्बन्धमा,
अनेक मानिसहरू अप्रिय छुरा चलाइरहे,
वारि छोडेर किनारामा एक्लो मलाई
बिचबाटै बगिरह्यो एउटा समयको धमिलो नदी ।
आँँखाबाट खसेर आँसु, नसकिने रहेछ यादहरू
चलेर मात्रै पैताला
पुग्न नसकिने रहेछ गन्तव्य
मैले आफ्नो मानेर मात्रै आफ्नो नहुने रहेछौ तिमी ।
टक्क अडिएर समयको सुई
कि फर्किए हुन्थ्यो अतीतको प्रेमिल साम्राज्यमा
कि पुगे हुन्थ्यो
भविष्यको सुन्दर मिलनको शहरमा ।
यो समय काँडासरी भयो – बाँचेर हेर्न ।
बरू यो आकाश नउघ्रिए हुन्थ्यो,
चराहरू नचिर्बिराए हुन्थ्यो,
इन्द्रेणीहरू नपरे हुन्थ्यो,
तर मलाई तिम्रो समीप भए पुग्थ्यो ।
जीवनमा एउटा अन्तिम रहर पूरा गर्नहुन्थ्यो ।
ढुङ्गाहरु
ठड्याएर औंला
प्रिय मान्छेको विराट जुलुसअगाडि
घोषणा गर्न चाहन्छु म
अब मान्छेभन्दा ढुङ्गाहरू नै सम्राट हुन् पृथ्वीका ।
किनकि
ढुङ्गाहरू मान्छेभन्दा कठोर छैनन्
ढुङ्गाहरू मान्छेभन्दा निष्ठुर छैनन् ।
कति अप्रिय हुन्छ मान्छे
कति कठोर हुन्छ मान्छे ।
कुनै समयअघि
बालुवाहरू ढुङ्गा थिए
ढुङ्गाहरू पहाडमा थिए पृथ्वीको भित्र कतै गर्भमा
र ढुङ्गाहरूमा ढुङ्गा हुनुको बोध छ
मान्छेहरूमा भने
मान्छे हुनुको बोधमा शंका छ ।
ढुङ्गाहरूले रत्तिभर गर्दैनन्
संघर्ष र सङ्कटका कुरा
जीवनभर संकटमा बाँचिरहेका हुन्छन् ढुङ्गाहरू
जीवनभर संघर्ष गरिरहेका हुन्छन् ढुङ्गाहरू
तसर्थ मान्छेलाई पन्छाएर
बडो श्रद्धाले अँगालो हाल्न मन लाग्छ ढुङ्गाहरूलाई
किनकि मान्छेभन्दा ढुङ्गाहरू कोमल छन्
कति गम्भीर छन् १
मैले
ढुङ्गाबाटै सिकेको हुँ—मौनताको कुरा
पर्खाइको कुरा
र मौन प्रेमको रहस्य
त्यसकारणले नै ढुङ्गाहरूलाई
निस्फिक्री प्रेम गर्न चाहन्छु ।
खासमा यहाँ
सम्मान गर्न लायक
ढुङ्गाहरूबाहेक अर्थोक देखिएका छैनन् ।
एउटा आगोको सन्तान
म आगो थिएँ
अझै हराइसकेको छैन तातो राप
हुन सक्छ – यो निरन्तरको बतासकै कारण
हुर्हुर दन्किनेछु ।
मेरो काटिएको जिब्रोमा हुर्किँदैछ
भयङ्कर तीखो आवाज
तिमीहरूले ठड्याएको झुटको पहाड
मेरो आवाजले उजाडिने छ एकदिन ।
याद राख्नू
म तुफान हुन सक्छु ।
म यसरी चिच्याउँदैछु
कि मूलबाटो भनेर हिँड्ने तिमीहरूलाई
मेरो वचनको जालले बेर्ने छ ।
म यसरी रन्किंदैछु
कि मेरो रगतको उम्लँदो तापले तिमीहरूलाई
भत्भती पोल्ने छ ।
म तातो हुँदैछु
मेरो तातो बोलीका खर्रो शब्दले
तिम्रा अक्षरका नक्कली पृष्ठहरू च्यात्नेछन्
र तिम्रा झ्यालखानाले
सत्यलाई क्यैगरी थुन्न सक्ने छैन ।
म विचारको असली श्वास
मेरै माटोको गन्धबाट उठाउँछु ।
इतिहासको धुलो टकटक्याएर
म स्वयम् उठ्दैछु
कि तिमीहरूले पालेको भ्रमको बाघलाई
सिमलको हाँगामाथि उक्लेर
मैले अचुक वाण हान्नेछु ।
या आफ्नै रङको उज्यालोमा
नयाँ बीउ उमार्नेछु ।
र, अनुहारमा रंगीन पसिना घोलेर
समयको पात पातमा छ्याप्नेछु ।
निस्कँदैछु राँको बोकेर रातमा ।
अब झोस्दै हिँड्नेछु
अँध्याराहरूको अनुहारमा ।