किन्दर राई
धरानमा रिङ्केबुङको राँगो:

पन्चायतकालमा पुर्वानञ्चलको धरानमा हिमायतीले नाँचेर हिँडेको धेरै चर्चित गीतमध्ये एउटा गीतको शीर्षक थियो— “रिङ्केबुङको राँगोलाई” । यस सांगीतिक समूहका एउटा हस्ती हर्क चुम्मेले नाँचेको यो गीतको जति चर्चा थियो हर्क चुम्मेको पनि त्यतिकै चर्चा हुने गर्दथ्यो । एक प्रकारले हर्क चुम्मेलाई एउटा पहिचान दिएको थियो यो गीतको नाँचले । त्यसबेला यस गीतमा भनिएको राँगोलाई गाउँका शोषक सामन्तीको बिम्बको रूपमा प्रस्तुत गरिएको थियो । वास्तवमा यो एउटा हाँस्यरसमा सशक्त क्रान्तिकारी प्रगतिशील गीत थियो । त्यसबेला यो गीतका हरफहरू यस्तो थियोः

रिङ्केबुङको राँगोलाई चुङ्केबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर कालेबुङमा काटेर
अरुण तमोर तरौंला तितेफापर छरौंला
फूल लाउँला केसरी खाउँला बेसरी
हे हे १
रातो आँखा पल्टाउँदै गाउँघर चाहारी हिड्छ,
बालीनाली पाक्यो फल्यो यसकै सत्र पर्छ
पहाडको पहाडे, मधेसको मधेसे
वन बिरालु ढाडेलाई गाउँको राँगो साँढेलाई
बन्दीपुरमा बाँधेर कल्याणपुरमा काटेर
अरुण तमोर तरौंला तितेफापर छरौंला
फूल लाउँला केसरी खाउँला बेसरी ।
वास्तवमा त्यतिबेला हिमायतीले गाएको यो एउटा पुरानो लोकगीतको प्यारोडी गीत रहेछ ।

रिङ्केबुङको राँगाको उद्गमः

पब्लिक स्पीकर रमेश प्रशाईले पनि अहिले यही “रिङ्केबुङको राँगो” भन्ने गीत गाएपछि यो गीत पुनः चर्चामा आएको छ । टिकटकमा समेत भाइरल हुँदै गएपछि त यसको लोकप्रियता त्यसै अनुमान लगाउन सकिन्छ । चर्चासँगै यस गीतको इतिहास खोतलिन पुगेको छ । यसको उद्गमको पहिचान भएको छ । कालिम्पोङमा नेपालीभाषीहरूले गोर्खाको नाममा आफ्नो भाषा र संस्कृतिको लागि गरेका लामो संघर्षको इतिहासको समेत पटाक्षेप भएको छ । भारतको पश्चिम बंगालमा नेपालीहरूको बाहुल्यता भएको स्थानहरूमध्ये कालिम्पोङ अर्थात् कालेबुङ पनि एक हो । सिक्किम, दार्जीलिङ जस्तै कालेबुङमा पनि नेपाली भाषा र संस्कृतिको लागि भगिरथ प्रयत्न गर्ने अनेकौँ हस्तीहरू पाइन्छन् । त्यसमध्ये एक हस्तीको नाम हो, सिके श्रेष्ठ उर्फ चन्द्र किशोर श्रेष्ठ । उहाँले धेरै चर्चित नेपाली गीत र नाटकहरू लेख्नु भएको छ भने चलचित्रको स्क्रिप्ट पनि लेख्नु भएको छ । नेपालमा स्क्रिप्ट लेखनमा प्रथम राष्ट्रिय पुरस्कारसम्म पाइसक्नु भएको छ । नेपाली फिल्म ‘तृष्णा’ पनि उहाँले नै लेख्नु भएको हो । उहाँ आफैँ एउटा सशक्त नाट्य कलाकार र राजनैतिक र सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँको धेरै गीतहरू नेपाली चलचित्रहरूमा कुमार सानु, डेनी डेन्जोङ्पा र झलकमान गन्धर्व लगायतका स्वरमा बजेका छन् । फिल्म तृष्णामा “यो कथा हो तृष्णा मेरो” भन्ने गीत कुमार सानुको स्वरमा गाइएको उहाँकै गीत हो । त्यसो त डेनी डेन्जोङपाले गाएको “समय पन्छी हो खुल्ला यसको बन्धन” झन् हरेक नेपालीको मुखमा झुण्डिएको गीत हो । सयौँ नेपाली लोकगीत र नाटकका यिनै रचानाकारको एउटा चर्चित नाटक हो “भालेमुङग्रो” ।

आफ्नो भाषा संस्कृति भेषभुषा र रीतिरिवाजलाई हामीले भुल्यौं भने हामी गोर्खाली जातिको पहिचान यस धर्तीबाट सदाका लागि हराएर जानेछ । यसको लागि हामी सजग हुनुपर्छ भन्ने सन्देश नै भालेमुङ्ग्रोले दिन खोजेको छ । यो ‘रिङ्केबुङको राँगो’को गीतमा पनि यही भावनालाई समेटेर शब्दहरू बुनिएका छन् । राष्ट्रियताको हिसाबले हामी नेपालमा नेपाली हौंला भारतमा इण्डियन होला तर जातिको हिसाबले रगतको नाताले हामी सबै गोर्खाली हौं । नेपालका नेपालीलाई पनि नेपाल बाहिर चाहे त्यो भारतमा होस् वा बेलायतमा होस् अमेरीकामा होस् वा अष्ट्रेलियामा होस् हामीलाई गोर्खाली भनेर चिन्दछन् । सबै देशका नेपालीहरूको एउटा साझा पहिचानी नाम हो— गोर्खाली ।

त्यसैले भारतमा रहेका नेपाली दाजुभाइहरूले गोर्खाको नाममा आफ्नो भाषा संस्कृति र आफ्नै पहिचानको लागि गर्नु भएको सांस्कृतिक आभियान संसारभरि रहेका हामी सबै नेपाली गोर्खालीहरूको लागि उतिकै प्रेरणादायी छ । भूमण्डलीकरणको यस युगमा नेपालीहरू भारत, बेलायत, अमेरिका, हङकङ लगायत संसारभरि स्थायी वा अस्थायी रूपमा बसाइ सरेर जानेक्रम बढिरहेको छ । यस्तो परिस्थितिमा त उक्त नाटक भालेमुङ्ग्रोले दिन खोजेको संन्देशको औचित्य झनै टड्कारो रूपमा देखिएको छ । हामी जुन देशमा जान्छौं त्यस देशको भाषा सिके पनि त्यहाँको संस्कृतिसँग समीप भए पनि आफ्नो भाषा र संस्कृति कहिल्यै नभुलौं । यही सन्देशलाई समेटेर लेखिएको नाटक भालेमुङग्रोमा समेटिएको यो रिङ्केबुङको गीतको मौलिक अन्तराहरूचाहिँ यस्तो रहेको छः

रिङ्केबुङको राँगोलाई चुङ्केबुङको चुलेसीले
ताप्लेजुङमा ताकेर कालेबुङमा काटेर
अरुण तमोर तरुँला तितेफापर छरौँला
फूल लाउँला केसरी खाउँला बेस्सरी
हे हे ११

मधेसको मैना चरी लेक चर्ने डाँफे
पीर बोकी मुटुभरि बगर–बगर नाँचे
आधा माया फुर्मास भो, आधा माया साँचे
ठेगाना लाउन त्यै मायालाई आजसम्म बाँचे
हे हे हे रिङ्केबुङको राँगोलाई
हे हे हे हे मा ऽऽ या ऽऽ

सारङगीको सुर काँ’गो पुङमाङ बज्यो मादल
मुर्चुङ्गालाई मुस्किल पर्यो बिनायोको बेहाल
चोलीको त चोला उठ्यो फरियाको के हाल
दौरा भयो स्वर्गबासी नरक गयो सुरुवाल
हे हे हे रिङ्केबुङको राँगोलाई ११

समग्र नाटक भालेमुङ्ग्रो एउटा हाँस्यरसमा प्रस्तुत भएकोले हँसाएर भरपुर मनोरन्जन दिन सफल छ । यो नाटकको मूख्य विशेषता भनेको दर्शकलाई हँसाइहँसाइ गम्भीर विषय भित्र प्रवेश गराउन सफल हुनु नै हो । नाटकको प्रस्तुतिको शैलीमा नेपालका सर्वश्रेष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको फ्लेवर मिल्दछ ।

रिङ्केबुङको राँगाको रेकर्डिङको इतिहासः

यो गीत नेपालमा प्रचारित हुनमा र यसको रेकर्डिङ सम्बन्धी आफ्नै इतिहास छ । कालिम्पोङ टेलिभिजनको एक अन्तरवार्ताको क्रममा यसका श्रष्टा सिके श्रेष्ठज्यूले यसबारे सविस्तार बताउनु भएको छ । यस गीत भालेमुङ्ग्रो नाटकमा गन्धर्वको पात्रले सारङ्गी बजाउँदै गाएको छ ।

१ यस गीतलाई सर्वप्रथम ५० वर्ष अघि कालेबुङमै कर्म योन्जनको घरमा टेपरेकर्डरबाट भालेमुंग्रो नाटकको लागि रेकर्ड गरिएको थियो । गोपाल खत्रीको स्वरमा रेकर्ड गरिएको यो गीत करिब एघार वर्षसम्म चल्यो ।

२ यसपछि भालेमुंग्रो नाटकलाई अद्यावधि गर्ने क्रममा स्टुडियोमा चाहिँ काठमाडौंमा रेकर्ड गरिएको थियो । नेपाली संगीत क्षेत्रका एक हस्ती कालेबुङमा जन्म भई काठमाडौंलाई कर्मक्षेत्र बनाउँदै आएका सचिन सिंहले यस गीतलाई एरेन्ज गर्ने क्रममा आफैँले गाउने इच्छा व्यक्त गरेपछि उहाँकै स्वरमा यो गीत रेकर्ड भएको थियो ।

३ एक दिन गीतका श्रष्टा सिके श्रेष्टको घरमा एकजना गन्धर्व सारङ्गी बजाउदै आउँछन् । उसको नाम सुरेश गन्धर्व थियो । त्यसबेला सुरेश जवान थियो । यो गीत पनि गन्धर्व कै भएकोले सुरेशलाई यो गीत गाउन लाउछन् र जीविकोपार्जनको माध्यमको रूपमा एउटा अर्को गीत सिकाउँछन् । यसरी सुरेश गन्धर्वले श्रष्टा श्रेष्ठकै घरमा बसेर गाउन सिकेको गीत भारतको दार्जिलिङ कालिम्पोङ सिक्किम हुँदै नेपालको पचास जति जिल्लाहरूमा गाउँदै हिडेँ । पछि सुरेश गन्धर्वले यो गीतलाई रेडियो नेपालमा रेकर्ड पनि गराए । यसरी यो गीत तेश्रो पटक आधिकारिक रूपमा रेडियो नेपालमा रेकर्ड भयो । केही महिना अघि मात्र श्रष्टा सिके श्रेष्ठ र सुेरश गन्धर्वको भेट ४० वर्षपछि धरानमा भएको थियो ।

४ हालै आएर फेरि यो गीतलाई श्रव्यदृश्यसहित रेकर्ड गर्ने भनेर दीपक आचार्य र रमेश प्रसाईले सुरेश गन्धर्वलाई स्वीकृति माग्न धरान गए । तर सुरेशले यो गीतको असली श्रष्टा र हकदार कालिम्पोङमा हुनुहुन्छ भनेर सिके श्रेष्ठसँग सम्पर्क गराइदिए । उत्पादित श्रव्यदृश्यबाट हुने कुनै पनि आम्दानी नलिने बरु यसको आम्दनीको केही अंश यसका सक्कली गायक सुरेश गन्धर्वको स्वस्थ्य उपचारको लागि सहयोग गरिदिनुपर्ने सर्तमा पुनः श्रव्यदृश्य रेकर्ड गर्न स्वीकृत दिनु भयो । यसपछि रमेश प्रसाईको स्वरमा यो चौथोपटक रेकर्ड भएको छ ।

गीत एक प्रयोजन अनेकः

पहिलो, भालेमुङग्रोको आशय अनुसार आफ्नो भाषा संस्कृतिप्रति सचेत हुनुपर्ने सन्देश छँदै थियो । यसको अलावा गोर्खाल्याण्डको माग भइरहेको समयमा दार्जिलिङ कालेबुङमा यस गीतमा तिहारको बेला नृत्य गरेर द्यौसीभैलो खेल्ने काम पनि हुने गर्दथ्यो ।

दोश्रो, भाषा संस्कृतिप्रतिको मायालाई सुझाउँदै गाइनेले जीविकोपार्जनको साधनको रुपमा पनि बहुतै उपयोगी हुन गयो । सुरेश गन्धर्वले अरु धेरै गन्धर्वहरुलाई यो गीत सिकाएर जीविकोपार्जनको लागि सहयोग पु¥याए । एउटा कालजयी लोकभाकालाई धेरैभन्दा धेरै नेपालीहरूको लागि सम्पति बन्न पुग्यो ।

तेश्रो, माथि शुरुमै उल्लेख गरिसकिएको छ कि नेपालको पुर्वाञ्चलमा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा होमिएको ‘हिमायती समूह’लाई पनि यो गीतको प्यारोडीले धेरै सहयोग ग¥यो । यो गीतमा रहेका हाँस्यरसपूर्ण स्वादलाई क्रान्तिकारी, जागरण र व्यङ्ग्यको हतियार बनाउन सफल भएको थियो ।

चौथो, हाल आएर रमेश प्रसाईले गाएपछि फेरि नयाँ पुस्ताको लागि मनोरन्जनको राम्रो खुराक हुन पुगेको छ । अहिले धेरै नेपालीहरूले यस गीतलाई टिकटकमा अभिनय गरेर मनोरन्जन लिइरहेका छन् । नयाँ पुस्ताका गन्धर्वहरूले पनि यसलाई पुनः गाउन थालेका छन् ।

अन्त्यमाः

नेपाल र भारतमा रहेका नेपालीहरूबीचको सांस्कृतिक र भाषिक नाता कति मजबुत रहेछ भन्ने कुरा यस गीतको इतिहास र लोकप्रियताले देखाउँछ । यस कालजयी गीतका श्रष्टा र यसका अन्य अभियन्ताहरूप्रति सबै गोर्खाली नेपालीहरू नतमस्तक छन् ।
२० डिसेम्बर २०२० । साम शुइ पो, हङकङ ।

तपाईको प्रतिक्रिया