खास नाम सुन्दर कुमार लावती तर नेपाली साहित्यको कविता लेखनमा एक बिशिष्ट कविको रुपमा स्थापीत कवि सुन्दर कुरुप शान्त र सुन्दर कविता लेख्न सक्ने कम नेपाली कवि मध्ये एक हुन । आफ्नो कविताहरुमा मानिसको संवेदनाहरुलाई अत्यन्तै शालिनरुपमा राख्न सक्नु उनको कविताहरुको प्रमुख बिशेषता हो । पचासको दशकदेखी नेपाली साहित्यमा निरन्तर लेखीरहेका यी लेखकको हालसम्म ‘जूनको अनुहार’ गजल संग्रह ‘पृथ्वीको आविस्कार’ कविता संग्रह प्रकाशित छ प्रस्तुत छ साताको तीन कविता ।
बाटो
घरको आँगनबाट
निस्कने केही बाटाहरु छन
एउटा बाटो एकाबिहानै
निस्कन्छ गाईगोठसम्म
गोबर सोर्छ
गाई दुहुन्छ
मोहि पार्छ
अर्को बाटो
निस्कन्छ खेतसम्म
बिहानभर हलो जोत्छ
डल्ला फुटाउछ,मकै छर्छ
र
सुन्दर बनाउँछ पृथ्वी
एउटा
अर्को बाटो हतार/हतार पुग्छ
कुखुरा खोरसम्म
अण्डा पार्छ
चल्लाहरु कोरल्छ
र जित्छ सेकेन्ड सेकेन्ड
आयुमा जिन्दगी
एउटा
अलिक फराकिलो बाटो
जुन चै सिधै जोडिन्छ
मुलबाटोसँग र पुग्छ
घनघोर जँगल
शहर/बजार
मेनपावर कम्पनी
कार्यलय
विश्वविध्यालय
राजधानी
कतार
मलेशिला
भट्टी पसल
यसरी
घरबाट निस्कने एक/एक बाटाहरु
हिडीरहन्छ निरन्तर/निरन्तर
उता दरबारदेखी
पनि निस्किन्छन बाटाहरु
तर तिनीहरु कहाँ पुग्छन
क/कस्लाई भेटछन
र के के गर्छन
कसैलाई थाहा हुदैन
प्राय
दरबारबाट निस्कने बाटाहरु
अत्यन्तै छोटा हुन्छन
र खण्डहर हुन्छन दरबार झै
पृथ्बीको आबिष्कार
आँधीका बाटाहरु
टेक्दै टेक्दै
सम्झनाको सुनसान सुनसान
पेरेङ्गे चेपैचेप
आज धेरै बर्षपछि
बल्ल/बल्ल मुस्किलले
सोल्टीनि म हजुरको ठेगानामा
आईपुगेको छु
निकै थाकेको छु
केही उमेर अस्ताएको छु
तर आजसम्म पनि उस्तै गरि
बगिरहेछ म मा
उहि त्यो निलो रगतको प्रेमिल नदी
माफ पाउ है सोल्टिनी
त्यो पुर्णेको रात
रमिते डाँडाको एक्ले बरमा
मलाई एक्लै पर्खाएर
हजुर बिलय हुनु भएको
खै! हजुरको त्यो प्यारो पृथ्वी
खै!बिरही बतासहरुले गाउने हजुरको त्यो पालामको भाका
खै! ह्यात्लुङ झरना केशरासी
खै! हजुरको त्यो शिरबन्दीको मुस्कान
माफ पाउ है सोल्टिनी
हजुर त अर्काको मान्छे
उहिले/उहिले तिनदोभाने जँगलबाट
घाँसको भारी लिएर फर्कदा
बाटोमा के के सोधेर हैरान बनाए जस्तो
आज फेरी खै ! कहिल्यै नसोध्नु पर्ने
के के कुराहरु सोधेर हजुरको मन पो बेस्सरी दुखाएकी
अफगानस्तानको आतंककारी गल्लीहरुमा
शाहदत प्राप्त हजुरको लोग्नेको पवित्र
आत्मालाई पो रुवाएकि
माफ पाउ है
सोल्टिनी
मत हजुरको याद सिरानी लगाएर
यसरी निदाएछु कि
बिउझदा निकै बुढो भईसकेको थिए
मन चसक्क दुख्छ
कति सम्झनु त्यो त्रिसाली मेला
हजुरसँग धान नाचेका रातहरु
टिमुर र उसिनेको आलुसँग
हजुरको मोहनी हातले छानेको
जाँड लुम्बा/लुम्बा पिएको
त्यो कुम्मायक कोक्मामा खाको
कसमको त कहिल्यै कुरा गर्दिन
रिसानी माफ पाँउ है
सोल्टिनी
बरु
यति चै भन्ने साहास गर्छु कि
म
हजुरको निम्ती
फेरी एउटा सुन्दर सुन्दर पृथ्बीको
आबिष्कार गर्न सक्छु
भेटन नसकेको साँझहरु
समयको
ब्यस्त भित्ताहरुबाट
उक्किएर
जब हतार हतार फर्कन्छु घर
यो पृथ्वीको हजारौ बर्ष बुढो साँझ
अन्ध्यारो लठ्ठी टेक्दै टेक्दै
अघि नै कतिखेर आईपुगिसकेको
हुन्छ मेरो घर
र
मस्त सुनिरहेको हुन्छ
मेरी सानी छोरीको
रोमान्टिक गफ
जस्तो…
आज उ क्लास टेस्टमा
फस्ट भईन रे
आज उसले सरस्वती मिस भन्दापनि
राम्रो गीत गाईन रे
उसले भनेको कथा
सुनेर आज
हेडमिस हेरेको हेरेकै हुनु भो रे
अबको बार्षिक
परिक्षमा फेरी पनि होलफस्ट
हुन्छिन रे
आफै पखेटा
बनाएर पुतली जस्तै
उडछिन रे
मलाई
दिन अस्ताउनु
हेर्ने ठुलो रहर छ
जस्तो..मेरो मेरी सानी छोरी
स्कुल बिदा पछि
कसरी फर्किन्छे घर
कति मैलो बनाएर
आँउछिन लुगाहरु
कति गाताहरु च्यातेर आँउछिन
खुट्टा पछारी/पछारी
के के माग्दै सताउँछिन
आमालाई
म सधै ढिलो
घर आउनको कारण
सोध्छिन कि सोध्दिनन आमालाई
उनको अबोध अनुहारबाट
कसरी शुरु हुन्छ
साँझको यात्रा
उस्को अझै अरु
थुप्रै थुप्रै चञ्चले बानीहरु
हेर्ने ईच्छा छ मलाई
तर अफिसबाट
बिदा मिलाएर चाँडै
घर आए जस्तो सजिलो
नहँदो रैछ
तनाबहरुबाट मुक्त भएर
छोरीसम्म आईपुग्न
तर
जब घर पुग्छु
कोठाको एउटा भित्ताभरी
घामको चित्र बनाएर टाँसेकी
हुन्छिन
लाग्छ सायद
उनले मेरै लागी बनाएकी…
ताकी मलाई जिवनमा कहिल्यै
अन्ध्यारोको
महुशुस नहोस
अर्को भित्ताभरी फुलैफुल
बनाएर टाँसेकी हुन्छिन
ताकी मैले जिवनमा
कहिल्यै खडेरी भोग्न नपरोस
उसको सानो मुस्कानको रङ्गले
यसरी रङग्याई दिन्छ की
मेरो तनाबको आकास
म जिवनको सबैभन्दा
रङ्गिन रोमान्टिक क्षणमा हुन्छु
अनि उन्मुक्त भएर उडछु
बस उडिरहन्छु
जिवनको अल्लो
किनारादेखि जिवनको
पल्लो किनारासम्म