दुई दशक भन्दा लामो समयदेखि कविता लेखनमा सकृय कवि दिपा एवाइ नेपाली कविता लेखनको बर्तमान समयमा नारी चेत र स्वरलाई शक्तीशाली रुपमा आफ्नो लेखनीमा ल्याउन सक्ने कम नेपाली लेखकहरुमध्ये एक हुन । उहाँको लेखनीमा नेपाली महिलाले भोग्नु परेको अन्याय र अत्यचारको बिरोधमा प्रतिकार गरिहेको हुन्छ । कवितामा महिलाको मनोदशालाई सजीव र जीवन्त रुपमा राख्न सक्नु उहाँको कविताको बिशेषण हो । प्रस्तुत छ साताको तीन कविता ।

बिक्रीमा

आउनुहोस !
यो विज्ञापन मेरै हो
यो छोरी बिक्रीमा छ
अर्थात,
म बिक्रीमा छु ।

जसरी एउटा बुबाले आमा सँगसँगै
छोरी किनेर आफ्नी छोरी त्यागी दिन्छ
काशः मलाई पनि
कसैको बुबाले किनी दिएर
उसैकी छोरी त्यागी दिए कति राम्रो हुने थियो ।

मलाई त्यो आनन्द अनुभव गर्नु छ
एउटी छोरी जो पैसाले किने पछि
आफ्नै छोरीलाई फालिन्छ
त्यो छोरी किन्ने हैसियतको
बुबाको काँधमा चढेर
त्याज्य त्यस छोरीको छटपटी र पीड़ा हेर्नु छ ।

आउनुहोस् !
मलाई किन्नुहोस्
म सस्तोमा बिक्री हुन्छु ।

मलाई यस बेला सकस भा’छ
मानौं, मेरो कुनै अस्तित्व नभएर
जसरी यी नागरिकता र स्कुल, कलेजका सटीफिकेटहरु भरी
मेरो बुबाको नाम बोकेर हिडन

अस्तित्वमै नभएको
आमाको अर्थ, महत्व र नाममा के र ?

यहाँ मसँग मेरो आमा होईन
म मात्र बिक्रीमा छु ।

मलाई तुरन्त बुबा फेर्नु छ ।

नाङ्गी द्रौपदी

म नाङ्गी द्रौपदी
विराट त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रोपदीको प्रणाम ।

जङ्गल र तालहरुमा
गोपिनी नङग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफै अस्तित्वका लागि
अधिकारका लागि
न्यायका लागि
कृष्णवादको विरुद्धमा
दुशासनवादको विरुद्धमा
मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहन्छु
र भारी सभालाई चुनौती दिदै
नाङ्गिदै सडकमा
प्रदर्शित हुन चाहन्छु

दुशासनले मलाई नङग्याएन
यो सय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आज सम्म बटारिरहेको छ
स्वतन्त्रता
अस्तित्व
अधिकार
समानता
मेरा सबै सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वयं
यस महामानवहरुको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहन्छु

राजनीतिज्ञ
समाजसेवी
साहित्यकार
दार्शनिक
पत्रकार
आम जनता
सबै सबैका बीचमा
म द्रौपदी तुरन्तै
मेरो स्वाच्छन्दताका
सीमारेखासम्म नाङ्गिन चाहन्छु

मेरो वस्त्रहरणको समयमा
युधिष्ठिरका सत्यवादी र धर्मात्मा आत्माहरु
विदुरको मौन नीति
धृतराष्ट्रको पुत्रमोह
भीष्मको प्रतिज्ञा
द्रोणको गुरुचरित्र
गान्धारीको पतिप्रतिज्ञा
दुर्योधनको अभिमान
र शकुनि मामाको षडयन्त्र
रसास्वादनको अट्टहास
सबै सबैलाई
हृदयदेखि धन्यवाद छ

मेरो अस्तित्वको कवज
मेरा पाण्डव पतिहरु
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयं म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहन्छु
कौरवहरुको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहन्छु

अपुरो वस्त्रहरणले
म निस्सासिएको थिए
र वस्त्रले बेरेर मलाई
बलात्कार गरिरहेको थियो
मेरो ऐकान्तिक गोप्यता भग्न गरिएको थियो
जताततैबाट लैङ्गिक आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुँजिएकी
हीनताले जलेर राख भएकी
सतीका आगामा दनदनी बलिरहेकी छु- यस बेला

ओ गान्धारीहरु
आँखा खोलेर हेर
म कसरी जलिरहेकी छु!
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँडछौ
कहिलेसम्म विवेकमा
ठेडी कोचेर बस्छौ
मेरो विप्लव सुन्यौ होला!

यहाँ उपस्थित सबै सबैलाई
म नाङ्गिएर प्रणाम गर्छु
म नाङ्गी दौपदी ।

म आगो हुँ

चकमक झुलोबाट निक्लेर
अगेनामा धुनी जगाई
तिमीलाई न्यानो पारी माया गर्ने
म आगो हुँ

तिमी शिकार जानुअघि
मलाई पोल्टोमा राखेर
सधैं सुरक्षित हुन्छौ
जंगली जनवारसँग युद्ध गर्न
कतै रात परेर अभर पर्दा
मलाई राँको बनाई बाल्छौ
हो!म तिम्रो सुरक्षाको कवज
एउटा असल साथी
डर ,त्रास,संकोच हटाउने आगो हुँ

हरेक पल्ट
तिमीलाई बर्खाले भिजाउँदा
म न्यानो पार्दै
तिमीलाई सुकिलो बनाउँछु
शिशिरको छडके बतासले
हिम पर्वतबाट जाडो ल्याईदिँदा
कठ्यांग्रिएको त्यो दिनमा
म पुन: भुंग्रोबाट निस्केर
तिम्रो घर कोठालाई न्यानो पार्दै
तिमीलाई चुमेर आलिंगन गर्छु
तिमीलाई सधैं यसरी बाच्ने प्रेरणा दिइरहन्छु

सायद त्यसैले होला
तिमी मलाई प्रेम गर्छौ
क्षणको भोकमा रन्थनिएर
मेरो सामु जोतिन्छौ
अनाजलाई पोली आहार भोजन गराई
तिम्रो भोक मेटाउँछ

तिम्रो प्रणय बन्छु
तिमी माचिसको डब्बामा बोक्छौ मलाई
लाईटर बनाई
सुटुक्क गोजीभित्र राख्छौ
अनि सिगरेट सल्काइ
धुवाँ उडाउँछौ

सम्झ त ?
भस्मे फाँडन म डढेलो भएको थिएँ
बाँझो तिमीले फोड्यौ
उर्बर भूमि बनायौ
तर त्यहि ठाउँहरुमा
बाली बोटबिरुवा लगाएर
तिमीले मप्रति
बेवास्ता जथाभाबी खेल खेल्दा
हेर त ? घर ,गाउँ,सहर जल्दै
कोईला र खरानी बन्दै गएको

तिम्रो दमकलको पानीले
कहाँ म निभ्न सके र ?

कोलाहल
हृदयस्पर्शी चीत्कारले
म अरु कसरी राँकिदै जाउँ
हो प्रिय ! मेरो अनुरागमा
संयम भुमरी चलाएर
म सहारा हुँदा
पृथ्वीको
आधा हिस्सा पो ओगटेछु

उग्र भएर बर्षा वर्षे पनि
मेरो अस्तित्वलाई
समाप्त गर्न सक्दैन
किनभने
तिम्रो जीवनमा
आत्माको न्यानो धडकन
सिर्फ मेरो आगमनले भएको हो

त्यसैले तिमी मलाई
सधैं सबै ठाउँहरुमा
प्रेमपूर्वक प्रयोग गर
तिरस्कार र घृणाको खेल
मसँग नखेल
मलाई अदभुत नबनाउ
म तिम्रो साथमा हुन्छु
त्यसैले
तिमी जहाँ जहाँ जान्छौ
म दिन रात न्यानो बनी
तिम्रो साथमा रहन्छु
केवल तिम्रो समीपमा
न्यानो बनिरहने
म आगो हुँ

कृपाय , तिम्रो स्वार्थको परालमा
मलाई नखेलाउ
त्यहा मलाई प्रयोग नगर
सहज चकमकसँगै बस्न देउ

के अझै तिमीलाई थाहा छैन र ?
मेरो विराट स्वरुप

हो, यदि हेर्न चाहन्छौ भने
भोली मिर्मिरेमा
चरीको चिरबिरहरुमा
पवनले सुस्केरा हालेर
पालुवा नाचिरहेको बेला
उठ र सँघारमा आई उभिएर
आखाँ खोली हेर त !
त्यहाँ देख्ने छौ
सूर्य
सिर्फ सूर्य
अनन्त बह्रमाण्ड रचना गर्ने
त्यो आगोको ज्वारभाटा
हो त्यो सूर्य
मेरो विराट स्वरुप
सबै जीवहरुलाई ममतापूर्वक
न्यानोपनको जीवन दिने
तर यहाँ म आगो हो

तिम्रो सन्तुलन
जीवन तापमानको
खेल खेल्ने आगो हुँ
आगो हुँ
सिर्फ म आगो हुँ ! ! !

तपाईको प्रतिक्रिया