सरोद बादनको क्षेत्रमा नेपालको प्रथम सरोदबादक भनेर आफ्नो नाम स्थापित हुदै गर्दा उनले बाँचेर आएको जीवन र संर्घष आम महिलाको निम्ति एक प्रेरणा बन्न सक्छ । सानो छँदा रेडियो नजिक बसेर घन्टौं बसेर रेडियोमा बजेको शास्त्रीय धुन सुन्नु उनको निम्ति एक आदत थियो । रेडियो नसुनेको दिन उनलाई खल्लो लाग्थ्यो। भित्र कतै केही नभए झैँ रित्तो अनुभुत हुन्थ्यो। उबेला बेलुका आठ बजेको समाचारअघि शास्त्रीय संगीत बज्थ्यो, आमाले पस्किदिएको भात छाडेर उनी धुन सुन्थिन । रुपा भन्छिन, ‘यही क्षेत्र मै लाग्नु रैछ र पो त्यस्तो नशा लागेको ती धुनका ।’
यसै पनि छोरीहरुलाई उनको समुदायमा जिउन गाह्रो छ । उनले पनि त्यही भोग्न वाध्य भइन । रुपा काठमाडौंको मूलपानीमा सामान्य परिवारमा जन्मेकी हुन । तीन दिदि बहिनी मध्ये जेठी हुन, एक भाइ छन । उनी भन्छिन, ‘जेठी छोरी भएपछि घरको दुःख थाहा हुँदो रहेछ, परिवारलाई पीडा हुँदा मुटु पोल्दो रहेछ ।’ केही समयपछि उनको परिवार तराईमा बसाई सर्यो जतीबेला कक्षा पाँचमा पढदै पनि थिइन ।
एक दिन उनका बुवाले काठमाडौ गएर पढनुपर्छ भनेर उनलाई फकाए। रुपाका बुवा धार्मिक कुरामा कट्टर थिए । छोरीलाई महिनावारी नहुँदै विवाह गरिदियो भने पुण्य कमाइन्छ भन्ने विश्वास राख्थे । रुपाको चाहना थियो— पढने, लेख्ने अनि गायिका बन्ने । उनी भन्छिन, ‘तर बुवाको जिद्धीका अघि मेरो केही लागेन ।’ अन्ततः १२ वर्षकै उमेरमा रुपाको बुवाले झुक्काएर उनको विवाह गरिदिए । विवाह पश्चात उनको केही गर्छु भन्ने सपना चुर्लुम्म डुब्यो । रुपा भन्छिन, ‘सुरुमा त ममाथि अन्याय नै भए जस्तो लागेको थियो, अहिले जे भयो ठिकै भयो जस्तो लाग्छ । किनभने मैले मेरो सपना बुझ्ने र मेरो ईच्छाको कदर गर्ने गर्ने श्रीमान पाएकी छु ।´
यस बीचमा उनले भोगेका भोगाईहरु कुनै दुखान्त फिक्सनको हरफ भन्दा कम थिएन । तर ती सबै परिस्थीतिहरुले उनलाई अझ निखार्दै ल्यायो । १२ बर्षकै उमेरमा बुहारी भएर पराई घर जानु , १८ वर्ष मै रुपा दुई सन्तानकी आमा हुनु, उनले बाँचेर ल्याएको जीवन कुनै अग्लो पहाड भन्दा कम छैन । मनभित्र दबेर बसीरहेको संगीत प्रतिको रुची त्यसै थियो । जुन घरमा बुहारी भएर भित्रीइन उनको परिवार आर्थिक रुपले त्यति सक्षम पनि थिएन । यस कारण रुपा काम गरेर परिवारको आर्थिक भार कम गर्न चाहन्थिन । श्रीमानको सामान्य व्यवसाय थियो । परिवारलाई सँगसँगै सहयोग गरेर जानु उनको इच्छा र कर्तव्य दुबै थियो ।
उबेला रुपाको एउटी मिल्ने साथी थिइन, जानकी पन्त, बसाई एउटै ठाँउ । जानकी गीत लेख्थिन । रुपालाई जानकीका गीत असाध्यै मन पर्थे । उनले भित्रभित्रै त्यो गीतमा संगीत भर्ने सपना देख्न थालिन । उनी भन्छिन, ‘त्यही गीतमा संगीत भर्नका लागि भए पनि संगीत सिकौँ झैं लाग्यो ।’ जानकीको सहयोगमा रुपाले संगीतमा काम गर्ने मान्छेहरूसँग संगत गर्ने मौका पाइन । त्यतिखेर उनका भाई प्रख्यात तबला वादक अतुल गौतमले उनलाई सरोद बाजा सिक्न हौसाए । त्यतिबेला रुपाका छोराछोरी स्कुल जाने उमेरका भइसकेका थिए ।
यो समयसम्म छोरा छोरीहरु ठुला भैसकेका थिए । सरोद बाजा सिक्नु भन्दा अगाडी पण्डित साम्बदेव सापकोटासँग केही समय हारमोनियम, धनबहादुर गोपालीसँग कलानिधि संगीत महाविद्यालयमा गायन, संगीत प्रविण नरराज र प्रभुराज ढकालसँग पनि केही समय गायनको शिक्षा लिएकी थिईन । उनी भन्छिन, ‘सरगम संगीत जति बजाए उति बजाउन मन लाग्ने भयो, म त रातको २ बजे उठेर पनि बजाउँथे ।’ बिहानै के बजाएको होला भनेर छिमेकीले झ्याउ मान्थे, कराउँथे, सायद संगीत नबुझेर होला ।’ बिहान ४ बजेसम्म त उनले घरका सबै धन्दा भ्याइसक्थिन । आमा, श्रीमती र बुहारीको भूमिकामा आँच नआओस भनेर उनी त्यसो गर्थिन । त्यतिखेर उनी मात्रै २४ वर्षकी थिइन ।
के बजाउँदा राम्रो होला ? रुपाले गुरुलाई सोधिरहन्थिन । गुरुले उनलाई सबैभन्दा फरक बाजा बजाउने सल्लाह दिए । गुरुका अनुसार फरक र गाह्रो बाजा थियो, सरोद बाजा । फरकपनले नै मानिसलाई चाँडै चिनाउँछ भने जस्तै थियो, रुपाको विचार । सरोद बाजा सिक्न महँगो शुल्क लाग्थ्यो । बाजा किन्ने पैसा पनि थिएन । महँगो शुल्क तिर्न सक्ने रुपाको आर्थिक हैसियत थिएन । समोहन सुन्दर श्रेष्ठ त्यतिखेरका प्रख्यात संगीत गुरु थिए । उनले सरोद बाजा सिकाउँथे । गुरु मोहन सुन्दर श्रेष्ठसंग उनले अनुरोध गरिन, ‘मलाई जसरी पनि सरोद बाजा बजाउनु छ ।’ गुरुले रुपाको हात छामे । गुरुले भने, ‘सरोद बाजा बजाउने हो भने नङ पाल्न मिल्दैन । बाजा नङले मात्रै होइन बजाउने, काटेर आउ ।’
भोलिपल्टै रुपा गुरु कहाँ पुगिन, सबै नङ काटेर । त्यतिखेर सरोद बाजा सिक्ने रुपा नेपालकै पहिलो महिला थिइन । उनको आँट देखेर गुरुले रुपालाई निःशुल्क सरोद बाजा सिकाइदिने भए । उनले शुल्क नै लिएनन । सुरुमा सरोद बाजा सिक्न रुपालाई निकै गाह्रो भयो । उनीसँग सरोद बाजा पनि थिएन । अभ्यास नै गर्न पाइनन। रुपाका एकजना विदेशी साथी थिए– डेनी बर्च। रुपाको सरोद बाजाप्रतिको पागलपन देखेर डेनी निकै प्रभावित थिए । पछि उनले नै रुपालाई सरोद बाजा उपहार दिए । पछि उनले सुरेशराज बज्रचार्यसँग पनि सरोद बाजा सिकिन ।
बाजा सिक्ने सुरुवाती दिनहरू रुपाका लागि कठिन थिए । बाजाका तारमा नङ घोटदा–घोटदा रुपाका औंला रगताम्य हुन्थे । चार–पाँच घन्टा एकै ठाउँमा बस्दा ढाड दुख्थ्यो । फेरि घरका काम पनि नभ्याई नहुने । तर उनले निरन्तरता दिन छाडिनन । आजभन्दा भोलि कसरी राम्रो बजाएर देखाउँ, उनलाई त्यस्तै मात्रै लागिरह्यो । रुपा भन्छिन, ‘अभ्यास यस्तो गरिएछ कि अहिले त ६ घन्टा लगातार बसेर बाजा बजाउँदा पनि केही हुँदैन ।’
उनी भन्छिन, ‘भाग्यले एकचोटि ढोका ढकढक्याउँछ भन्छन । खोल्न जानेदेखि जीवनमा सफल भइँदो रहेछ, सायद त्यसैले मेरो धोको पूरा भयो, सबै चाँजोपाँजो मिल्यो, आज ।’ रुपालाई सरोदबाजा चिन्नै सात वर्ष लाग्यो । रुपाले सरोद बाजा सिक्दै गर्दा परिवार असन्तुष्ट थिए । घर बाहिर धेरै जाने, प्रगतिका नाममा केही नदेखिँदा उनका परिवारको मन असन्तुष्ट हुन्थ्यो । एक दिन रुपालाई उनका गुरुले नेपाल टेलिभिजन लिएर गए, त्यहाँ सांगीतिक कार्यक्रम रहेछ । रुपाले मालश्री धुन बजाउनुपर्ने थियो । टेलिभिजनको पर्दामा देखिएपछि मात्र पत्यायो परिवारले, रुपाको काम साँच्चिकै राम्रो रहेछ । त्यसपछि परिवारले अझै प्रेरणा दिन थाल्यो ।
रुपा भन्छिन, ‘कसैले हाम्रो गीत–संगीत मन पराइहाले भने पुरस्कार भनेर दुई–चार पैसा दिई पनि हाल्छन । तर बाजा नै बजाएर साँझ–बिहानको छाक टारौँला, घर धानौँला भन्ने त कहिल्यै पूरा नहुने सपना जस्तै हो ।’ वर्षौंको समय लगानी गरेर सिकेको संगीत बजाएर जीविका चलोस भन्ने उनी चाहन्छिन । तर सुन्न सबैले चाहने लगानी गर्न नचाहने नेपाली संगीतप्रेमी देखेर उनलाई दिक्क लाग्छ । फेरि पनि उनी आशावादी छिन, सरोद बाजा बजाएरै उनी आत्मनिर्भर हुन चाहन्छिन । संघर्ष गर्दैछिन ।
के हो सरोद बाजा ? यो प्रश्नको हाँस्दै जवाफ दिइन सरोद बाजा गीतार, सितारजस्तै हो । ‘यसमा फरक के मात्रै छ भने सितार, गीतार, हार्मोनियममा सारेगम भनेर बार छुट्याइएको हुन्छ, तर सरोदमा भने यस्तो बार छुट्याएको हुँदैन । आवाज सुनेर बार आफैं छुट्याउनुपर्छ । त्यसैले यो अरु भन्दा फरक छ र अरु बाजा भन्दा गाह्रो पनि छ ।’
यो बाजाको त्यति प्रचार प्रसार नभएकाले धेरैलाई नयाँ जस्तो लाग्छ । तर यो पुरानो बाजा हो । यो बाजा अफगानिस्तान, भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । भारतमा चलचित्रका गीत र गजलमा सरोद अनिवार्य प्रयोग गरिएको हुन्छ ।
रामशरण दर्नालको संगीत साधकहरू पुस्तकका अनुसार नेपालमा तन्डुकारहरूले यो बाजा भित्र्याएका हुन । नेपालमा मोहन सुन्दर श्रेष्ठ, सुरेशराज बज्राचार्य सरोद वादकको रुपमा चर्चित छन । बुलु मुकारुङको संगीत अभिलेख पुस्तकमा नेपालको पहिलो सरोद वादक महिलाको रुपमा रुपा न्यौपानेको नाम उल्लेख छ । घरपरिवार, संगीत दुबैलाई सँगै लानु पर्ने , नेपाली समाज त्यसमा पनि ब्राह्मण समाजमा छोरी बुहारीको निम्ति चानचुने चुनौती थिएन । लामो कुराकानी पछि रुपाले हास्दै भनिन अहिले सम्झदा कसरी ति दिनहरु छिचोलेर आएछु ।