सिवा तामाङ-
पानीको दुःखले सुरू गरेको ‘आकासे पानी संकलन’ बाट पहिचान बनेकोमा दङ्ग छिन्, सानुमैँया महर्जन । काठमाडौँ महाननगरपालिका वातावरण तथा कृषि विभागका सहायक निर्देशकका रूपमा कार्यरत महर्जनको अर्को पहिचान ‘अकासेपानी’ सङकलन गर्ने व्यक्तिको रूपमा स्थापित भएको छ । महर्जनले आकासे पानी सङकलन गरेर पानीको समस्या समाधान गरेको २६ वर्ष भइसकेको छ । आफ्नै समस्या समाधानका लागि थालेको कामसँग आज मेरो पहिचान जोडियो, भन्दै खुसी व्यक्त गर्छिन ।
वर्षात सुरू भएपछि उनीसँग आकासे पानीबारे जानकारी लिन घरदेखि कार्यालय, आफन्तले समेत सम्पर्क गर्छन । भन्छिन ‘जहाँ गएपनि आकासेपानी सङकलन गर्ने व्यक्ति भनेर मलाई चिन्छन, आफ्नो दुःख पनि हट्यो, अरूलाई नि सिकाएँ, मैले जस्तै आकासे पानी सङकलन गरे पानीका लागि गर्ने खर्च र समय दुवै बचाउन सकिन्छ ।’
बसन्तपुरकी महर्जन विवाह भएर वडा–१५ स्वयम्भूस्थित शान्तिनगर जाँदा पानीको चरम अभाव झेल्नुपरयो । आमा, छोरी र बुहारी जुनसुकै रूपमा पनि महिलाको दैनिकी पानीसँगै जोडिन्छ । महिलाको विशेष अवस्था महिनावारी, गर्भवती, सुत्केरी लगायतको समयमा सरसफाईमा बढि ध्यान दिनुपर्दा पानीको बढि नै आवश्यकता हुन्छ । दैनिक चलाइरहनुपर्ने पानीकै अभाव भएपछि महर्जनलगायत त्यस क्षेत्रका महिलाको दैनिकी नै पानीकै खोजी र चिन्तामै बित्ने गर्थ्यो ।
त्यत्तिबेला पानीको अभाव टार्न उहाँले वर्षातमा घरको छानाबाट झरेको पानी सङकलन गर्दै लुगा धुनेदेखि सबै काममा सदुपयोग शुरु गरिन । पानीको क्षेत्रमा काम गर्ने इनफा, वाटरएड लगायतका संस्थामा कार्यरत पानी विज्ञसँग छलफल गर्दै तीस हजार लिटरको अन्डरग्राउण्ड ट्याङकी बनाइन । खानेपानीका लागि फिल्टर प्रविधिसहित आकासे पानी व्यवस्थित रूपमा प्रयोग गरेको २२ वर्ष भयो, वार्षिक ५० हजार रूपियाँ बचत हुँदा आफुलाई पानी सङकलनबाट पैसा आम्दानी भएको अनुभव उनको छ ।
उनको सिको गर्दै मनसुन लागेपछि आफन्त, साथीसङ्गी, टोल छिमेकका हजारौं जनाले अहिले आकासे पानीको सङकलन तथा उपभोग गरिरहेको महर्जन बताउँछिन । पानीको समस्या समाधानपछि म जत्ति, खुसी, सुखी छु, यस्तै विधि अपनाए पानी किन्ने पैसा जोगिने, हरेक घरका महिलामा कामको बोझ कम हुने उनको सुझाव छ ।
त्यसैगरी डल्लु आवास क्षेत्र निवासी नरेन्द्र डङ्गोल आकाशेपानी सङकलनबाट पानीका लागि आत्मनिर्भर बनेको १६ वर्ष भइसकेको छ । भन्छन ‘मेरो परिवार र मेरो घरमा खोलेको मन्टेस्वरी स्कुलमा समेत आकाशे पानी सदुपयोग हुँदै आएको छ, प्रकृतिको वरदान आकासे पानी सङकलनबाट पानीका लागि आत्मनिर्भर छु ।’
निभा रेन–आकासे पानी सङकलन र फोहर पानी प्रशोधनका लागि काम गर्ने संस्थाका निर्देशक समेत रहेका डङ्गोलले घरायसी उपयोगबाट निस्किएका फोहर पानी समेत प्रशोधन गरेर उपयोग गर्दे आउनुभएको छ भने थुप्रै अस्पताल, साना ठूला होटलमा समेत अकासेपानी सङकलन, र लुगा धोएर, नुहाएर, हात धोएर निस्किएको पानीको प्रशोधन गर्ने संरचना बनाएका छन । आकासे पानीको सदुपयोगले पानीको समस्याबाट मुक्त भइने महर्जन र डंगोल उदाहरण बनेका छन समाजमा ।
त्यसैगरी सामुहिक लाभ लिने उद्देश्यले आकासेपानी संकलन केन्द्र निर्माण गरी भक्तपुर नगरपालिकाको वडा नं ८ लिवाली क्षेत्रका करिब डेढ सय घरपरिवारको पानीको अभाव टरेको छ । गैरसरकारी संस्था गुथि, लुमन्ती र काठमाडौँ उपत्यका खानेपानी बोर्ड लगायतका साझेदार निकायको सहयोगमा करिब ४१ लाख रूपियाँको लागतमा उक्त केन्द्रको निर्माणले त्यस क्षेत्रको महिलामा पानी खोज्ने बोझ कम भएको लिवाली गणेश भुकम्पपीडित पुनःस्थापना केन्द्रका अध्यक्ष नारायणप्रसाद खाईतुले बताए ।
खानेपानीको चरम अभाव भोगिरहेका लिवालीबासीका लागि वर्षात कुनै वरदान भन्दा कम छैन । सिंचाईको समस्या रहेको नेपाल जस्तो देशमा बर्षे बाली पनि मनसुनकै भरमा लगाईन्छ । मनसुन पानीको सञ्चय गर्ने सुनौलो अवसर पनि हो । त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयमा विगत ५ वर्षदेखि आकासे पानीको उपयोग हुँदै आएको छ । त्यहाँका तीनहजार सातसय जना विद्यार्थी, शिक्षक, कर्मचारीका लागि शौचालयमा उपयोगलगायतका लागि पानीको बलियो स्रोत आकासे पानी बनेको छ ।
सो स्कुलका प्रधानाध्यापक हेरम्भराज कणेंलले स्कुलको बनिरहेको नयाँ भवनको छानाको समेत पानी सङ्कलन हुने गरी एकलाख लिटर पानी सङकलन हुने संरचना बनाउने जानकारी दिए । आकासे पानी सङकलन तथा बाँकी पानी जमिनमुनि पुनरभरण गर्दा महिनावारी लगायतका समयमा पनि सरसफाईमा ज्यादै सहज भएको सो स्कुलमा कक्षा ११ मा अध्ययनरत रञ्जिता श्रेष्ठले भनिन् ।
हरेक घरको छानोबाट झर्ने मनसुनको अमूल्य उपहार पानीलाई सङ्कलन गरी किसानले अन्न भकारीमा हालेर राखे जस्तै गरी रिजर्भ ट्याङ्कीमा पानी भरेर अभावको बेला चलाउने प्रचलन सुरू भएको छ । विशेष गरी सहरी क्षेत्र, जहाँ जनसङख्याको अत्यधिक चापका कारण धेरै पानी आवश्यक हुन्छ । गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार काठमाडौँमा अरबौँ लिटर पानी सङ्कलन गर्न सकिन्छ । अव्यवस्थित बसोबास, अवैज्ञानिक विकास तथा तापमानको वृद्धिले पानीका मुहान सुकिरहेको सन्दर्भमा आकासेपानी सङ्कलन विधी पानीको अभाव टार्ने दीर्घकालिन उपाय हो ।
राजधानीका बासिन्दाले मेलम्ची खानेपानी आयोजनाको पानी चलाउने सपना देखेको करिब दुई दशक भन्दा बढि भएको छ । सपनामा झैं केही समय पानी ल्याए पनि मुहानमै प्राकृतिक विपत्तीका कारण त्यो योजना अहिले बन्द छ । पानीको सङ्कट दीर्घकालिन रूपमा हटाउन आकासेपानी सङ्कलन र पुनरभरण कार्यलाई विशेष जोड दिन सकेमा पानीको अभावलाई हटाउन सकिन्छ ।
आकासे पानी सङकलन गर्ने विधि
काठमाडौँ महानगरपालिका वातावरण विभागका इन्जिनियर निशा कोइरालाका अनुसार पानी सङकलन गर्ने क्षेत्रलाई क्याचमेन्ट भनिन्छ । वर्षातको सुरुको करिब ३ पटक जत्तिको पानी छानाबाट त्यत्तिकै बग्न दिने, त्यसबाट छानो सफा हुन्छ । त्यसपछिको पानीलाई छानामा बनाइएका प्लाष्टिकका संरचना, पाइपमार्फत ट्याङ्कीमा जम्मा गर्नुपर्छ । त्यस ट्याङ्कीमा धुलो, कसिङ्गर थेग्रिन दिएपछि रिजर्भ ट्याङ्कीमा सफा पानी मात्र सङ्कलन गर्नुपर्छ ।
सङ्कलित पानीलाई अभावको समयमा घरका सम्पूर्ण कामका लागि चलाउन सकिन्छ भने पानीलाई निर्मलीकरण गर्ने प्लाण्ट वा औषधि राखेर पिउन समेत मिल्छ ।
सङ्कलन गरी बढि भएको पानी इनार र रिचार्जमार्फ जमिनमा पठाएर रिचार्ज गर्न सकिन्छ । जमिनमुनि पानी रिचार्ज गर्दा पनि उक्त विधिबाट सङ्कलन गरेको पानीलाई वालुवा, गिट्टी, साना, ठूला आकार ढुङ्गा र कोइलाको तहगत संरचना तयार गर्नुपर्छ । जमिनमुनिको पानीको अवस्थालाई अध्ययन गरी पानी रिचार्ज गर्नुपर्ने उनको भनाई छ । जमिनमुनि पहिल्यै धेरै पानी छ भने त्यस्तो स्थानमा पानी रिचार्ज गर्न हुन्न । पानीलाई छान्ने, फिल्टर गर्ने क्लोरिन राखेपछि मात्रै सञ्जय गर्नुपर्छ । त्यसो नगरे एक÷ डेढ हप्तामै पानी फोहोर हुन्छ । यस्तो संरचना तयार गर्दा अरु प्राविधिक वा जानकारको सहयोग लिनुपर्छ । पानी अभावकै कारण महिनावारीको समयमा शहरका महिलाहरुले भोग्नु परेको दुःख कष्ट र असजिलो दुरदराजमा बसोबास गर्ने महिलाहरुको भन्दा कम छैन । आकासे पानीलाई सदुपयोग गरे महिनावारीको समयमा पानी अभावको कारण शहरमा बसोबास गर्ने बालिका र महिलाको स्वस्थ्य र शिक्षामा परेको असरलाई केही हदसम्म समाधान गर्न सकिन्थ्यो ।
नेपालमा वार्षिक सरदर सोह्रसय मिलिमिटर पानी पर्छ, गुथीले गरेको अध्ययन अनुसार पाँच आना जग्गामा बनेको घरको छानाबाट वर्षातमा एक लाख २८ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ, जसको ८० प्रतिसत मात्र पानी उपयोग गर्ने हो भने एक लाख दुईहजार चारसय लिटर पानी सञ्जय वा उपयोग गर्न सकिन्छ । यसरी छानाको क्षेत्रफलको हिसावमा पानीको मात्रा निर्भर हुन्छ ।
आकासेपानी सङ्कलन घर, स्कुल, सपिङ मल, सरकारी कार्यालय, शौचालय लगायत सबैमा आवश्यकताको आधारमा जहाँ पनि गर्न सकिन्छ । बजारमा राम्रै भनिएका कतिपय कम्पनीका पानीसमेत फोहोर भएका उदाहरणहरु छन् । त्यसको तुलनामा आकाशको पानी निक्कै सफा हुने विज्ञको भनाई छ ।
काठमाडौँ महानगरपालिकाले घर बनाउने नक्सा पास गर्दा आकासेपानी सङ्कलन र पुनरभरणलाई प्रोत्साहित गर्र्ने लक्ष्यले त्यस्तो प्लाण्ट राख्ने घरका लागि नक्शा पासको दस्तुरमा छुटको व्यवस्था समेत गरेको छ । जनचेतनाको अभावमा यस दस्तुर छुटबाट लाभ भने लिएका छैनन् । त्यसैगरी पानीको वर्तमान तथा भावी संकटलाई हटाउन महानगरपालिकाले ०७६-७७ देखि काठमाडौं पुनर्भरण अभियान सुरु गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा १५ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले डल्लु आवास क्षेत्रमा घर बनाउँदा आकासेपानी सङ्कलनलाई नक्सा पास गर्दा नै अनिवार्य बनाइएको जानकारी दिए । वडा न १५ को भवन र त्यस वरपरका घरको छानाबाट झर्ने पानीलाई इनारमार्फत पुनरभरण पनि गरिएको उनले बताए ।
प्रवक्ता डंगोलले हरेक घर टोलले छानाबाट झर्ने पानी सङ्कलन र बढि भएको पानीलाई पाईपमार्फत जमिनमै पुनरभरण गर्ने हो भने बाढि पनि नआउने र धारा, इनारमा पानीको अभाव पनि नहुने बताए । काठमाडाँैमा खानेपानीको माग दैनिक ४५ करोड लिटर छ आपुर्ति भने वर्षातमा १२ करोड लिटर र हिउँदमा ९ करोड लिटर मात्र हुँदै आएको अभियन्ता प्रकाश अमात्यको अनुमान छ । मेलम्ची खानेपानी आयोजनाबाट पानी आएपनि दैनिक १७ करोड लिटर आउने अनुमान गरिएको अवस्थामा पानीको स्रोत आकासे पानी नै हो, अमात्यको तर्क छ ।
काठमाडौँ महानगरपालिका अन्तरगत सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले बनाउने पार्क, शौचालयलगायतको संरचनाको नक्सा बनाउँदा नै आकासे पानी सङ्कलन पुनरभरणको संरचना समेत बनाउने गरेको जानकारी दिए ।
आकासे पानीको उपयोग
‘छतको पानी सडकमा फाल्दा सहरी क्षेत्रमा पानी पर्ने वित्तिकै सडकमा बाढी आउने प्रवृत्ति छ । त्यसबाट ट्राफिक व्यवस्थामा गम्भिर समस्या बढेको छ भने दुर्घटना पनि त्यत्तिकै निम्तीरहेको छ । साथै सहरी बाढीले गर्दा हिउँदमा सुख्खा हुने खोला वरपरका बस्तीमा समेत वर्षायाममा धनजनको क्षति बढेको छ ।
भुमिगत पानी निकाल्न डिप वोरिङ गर्नुपर्ने समस्या हट्छ भने जमिन मुनिको पानीको सतह बढाउन वृहत उपयोगी हुने वातावरण इन्जिनियर निशा कोइरालाको भनाई छ । आकाशे पानीलाई खेर जान नदिनका लागि पालिकाहरुले भवन निर्माण निर्देशिकामा नै आकाशे पानी सङ्कलन गर्ने, रिचार्ज गर्ने, नियम वाध्यात्मक बनाउनुपर्ने माग उठेको छ । उपत्यकामा खपत हुने पानी जमिनमुनिको पानीमा निर्भर छ । उपत्यकामा मात्र करिब दैनिक ७ करोड लिटर पानी निकाल्ने गरिएको छ । पछिल्लो समय सामान्य रुपमा गाडिएका बोरिङबाट पानी आउन छोडेको छ । जमिनमुनि पानी कम हुँदा ट्याङ्कर संस्कृति झाँङ्गिएको छ, जुन आर्थिक हिसावले निक्कै बोझिलो छ ।
अव्यवस्थित सहरीकरण, जथाभाबी फोहोर थुपार्ने र ढलको पानी बिना उपचार विसर्जन गर्ने प्रवृत्तिले जमिनमुनिको पानी प्रदूषित बन्दै गएको छ । मानिसमा विभिन्न किसिमका सङ्क्रामक रोग फैलने जोखिम उत्तिकै छ । जमिनमुनिको पानीको विकल्पको रुपमा आकाशे पानीको प्रयोग गर्नुपर्ने देखिन्छ ।
काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ अभियान अन्तरगत २०७६ फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनर्भरण प्रणाली सञ्चालन गरेको छ । त्यस क्षेत्रको जलाधार क्षेत्रमा (क्याचमेन्ट) मा जम्मा भएको पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा पठाइएको
यस प्रणालीबाट एक वर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ । नक्सालस्थित नन्दी रात्री स्कुलमा पनि करिब ११ लाख भन्दा बढि लगानीमा आकासे पानी सङ्कलन प्रणाली निर्माण कार्य सुरू गरिएको छ ।
काठमाडौँ उपत्यकाका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिवविक्रम राणाले आकासे पानी सङ्कलन र उपयोग लाभदायी छ तर सबै क्षेत्रमा पानीको पुनरभरण गर्न भने नहुने बताए । उनँले यसबारे बोर्डले उपत्यकाको एक सय स्थानको पानी निकालेर जमिनमुनिको पानीको अवस्था र सतह थाह पाउन अध्ययन भइरहेको जानकारी दिए । कार्यकारी निर्देशक राणाले काठमाण्डौको जमिनमुनिको पानीको नमुना अध्ययनका लागि इङ्ल्याण्ड, भारत र जापानमा पठाइएको त्यसको नतिजा आउन बाँकी रहेको बताए । जमिनमुनि पहिल्यै धेरै पानी छ भने त्यहाँनिर संरचना बनाएर पानी पठाउन उपयुक्त नहुने भएकोले अध्ययनको नतिजापछि आकासे पानी पुनरभरणको काम व्यवस्थित र दु्रत गतिमा अगाडी बढ्ने जानकारी दिए । एरोसान संस्थाले काठमाडौँ उपत्यकामा स्थानीय सरकारसँगको साझेदारीमा बनाएको ६ वटा स्मार्ट शौचालयमा आकासे पानी सङ्कलन हुदै आएको छ । भने विभिन्न विद्यालयहरूमा पनि आकासे पानी सङ्कलन र उपयोग हुँदै आएको छ ।
एभरेष्ट मिसनबाट साभार