धनकुटा जिल्ला ,पाख्रीबास स्थायी घर भएका कवि रोशन परियार कविताको यात्रामा निकै परसम्म हिडन सक्ने कवि हुन । जीवनका गम्भीर अनुभव र अनुभूतिहरुलाई सरल शान्तरुपमा कवितामा राख्न सक्नु उनको कविताको बिशेषता हो । शान्त समुन्द्र जस्तो उनको कविताले बोकेको अनुभूतिहरु कुनै गहिरो महासागर भन्दा कम छैन । प्रस्तुत छ साताको तीन कविता ।
नबिर्स
बाँध्छौ भने
मेरो यात्रा बाँध
थुन्छौ भने
मेरो दृष्टि थुन
भाँच्छौ भने
मेरो सोंच भाँच
आजाद छन मेरा आवाजहरु
काट्छौ भने काट
आवाजहरु
जति काटिन्छन
त्यति पलाउँछन ।
ऐठन
कत्ति न अग्लो हुन्छ भनेर
आफैं माथि चढेर हेरेको जिन्दगी
आफू भन्दा होचो देखियो
साह्रै होचो पो देखियो भनेर
अलिकति झुकेर हेरेको जिन्दगी
अरु भन्दा थोरै अग्लो पनि देखियो
समुन्द्र जस्तो विशाल हुन्छ भनेर
आँशुसँगै खसेको जिन्दगी
शितको थोपा टल्किए पछि खुशी देखियो
आहा ! खुशी नै त रहेछ नि भनेर
ओठबाट हाँसेको जिन्दगी
भोक निल्न नसकेर सास अड्केको पनि देखियो
हदै हलुङ्गो हुँदो रहेछ सास भनेर
काँधमा बोकेको जिन्दगी
घाटमा पुर्याए पछि सासको औकात देखियो
आगो त रहेछ नि भनेर
चिता माथि जलेको जिन्दगी
खरानी जस्तो धुलो देखियो
नाथे,हावाले उडाउने धुलो भनेर
पानीमा बगाएको जिन्दगी
ओरालो बग्दा बग्दै सकियो
सकिनु नै त रहेछ नि भनेर
सिरानको फोटो हेरेको
जिन्दगी त फेरी फोटोमा पनि बाँचिरहेको देखियो
अरे !
जिन्दगी कहिल्यै मर्दैन त ? भनेर
यसो ढोका खोलेर चिहाएको
ज्युँदाहरुको जिन्दगी त
पखेटा काटेर पालेको आजाद पंक्षी जस्तै देखियो
मलाई डर लाग्यो ज्युँदाहरुको जिन्दगी देखेर
मैले चुपचाप ढोका बन्द गरें
किनकी म सुतेको चिहानभित्र
यस्तो खतरनाक ऐठन कहिल्यै भएको थिएन।
भेट्ने छौ
आगो भित्र छु
खरानीमा खोज
पानी भित्र छु
थोपामा खोज
बाटो माथि छु
पैताला मुनि खोज।