मनोज बिश्वकर्मा पछिल्लो युवा पुस्ताका सशक्त कवि हुन । आफ्नो दर्बिलो लेखनकै कारण आफ्ना पुस्ताहरुमाँझ प्रीय मात्र होइन धेरै सम्भावनाले भरिएका कवि हुन । उनको लेखनमा भुईँ मान्छेका मुद्दा मुखरसँग झल्किन्छ । प्रस्तुत छ साताको तीन कविता

जङ्गली फूलको कबिता

राजकुमार थिएँ म
शहरबाट सुदूर गाँउको

कुनै दन्त्यकथामा झैँ
म निस्किएको थिएँ सिकार गर्न

जङ्गली पतकरहरूले कम्पोज गरेका संगीत
यात्रारत थिए म सँगै

चराहरूको चिर्बिराहटले ठुँगिरहेको थियो
मेरो छाती

बाटोका दुई किनारमा लेख्दै थिए जङ्गली फूलहरू
श्रवण मुकारूङ्गको कबिता !

एउटा कबितालाई चुडेँ
अकस्मात गायब भयो जङ्गल र शहर बन्यो !

सैनिकहरू बन्दुक बोकेर आए सहरमा

‘पृथ्वी नारायण शाह…
पृथ्वी नारायण शाह…’ फलाक्दै आए-महेन्द्रको प्रेत
उर्दी जारी भयो-
‘तैले हाम्रो बाजेले आर्ज्याको मुलुकमा बौलाउन मिल्दैन’
र अपराधी करार गरे बिसे नगर्चीलाई !

सैनिकहरूले लगालग दागे सात गोली
बिसेको नगर्चीको छातिमा
‘नेपाली झण्डा बोकेको’ नवराज बिक झै डङ्गरङ्ग ढल्यो ऊ !

श्रवण मुकारूङ्ग अहिले उभिएको छ
बिसे नगर्ची र अजित मिजारको लासनेर !

प्रिय ! पाठक,
तपाईलाई लाग्दो हो-
शहरबाट सुदूरको त्यो राजकुमार को हो ?
त्यसले किन चुड्यो जङ्गली फूलको कबिता ?
मलाई भने यदाकदा लाग्ने गर्छ
-श्रवण मुकारूङ्गको त्यस्तो कुन कबिता थियो
जसलाई चुडनासाथ शहर बन्यो ?
-नव’राजाहरू’ले किन फलाके पृथ्वी नारायण शाह ?
र बिसे नगर्चीलाई चै किन दागियो सात गोली ?

( श्रवण मुकारूङ्गको लागि लेखिएको पोर्ट्रेट कविता ।)

कम्युनिष्ट

समृद्धिको पर्चा छरिरहेको व्यापारी
व्यापारी मात्र नहुन सक्छ ,

बिपन्नकै पकेट काटने चोर
भ्रष्टाचारी मात्र नहुन सक्छ,

मन्दिरमा भगवान बेचिरहेको पुजारी
ठग मात्र नहुन सक्छ,

तपाईको जमिन थाहै नपाई बेच्ने राष्ट्रवादी
दलाल मात्र नहुन सक्छ,

सर्वप्रथम त ऊ नामुद कम्युनिष्ट हुन सक्छ !

उहिल्यै उहिल्यै
यति धेरै व्यक्तित्व हुदैन थियो कम्युनिष्टहरूको !

एक किसानको डायरी

हामीसगँ एक/ एक सग्लो अनुहार थियो
आँखा झिक्यौँ
संसद भवन उज्यालो भयो
निधार झिक्यौँ
अक्षरहरूले एउटा युग लेख्यो
कान दियौँ
तर भित्रियो देशमा बहुराष्ट्रिय कम्पनी
हामीले हाम्रा दुख्ख पत्ता लगाओस भनी दिएथियौं नाक
तर आजभोली तिमी सुघ्दै पुग्छौँ कालोबजारीको अड्डामा ।

ओ ! चिसो सिंहदरबार
तिमी चढने कारमा
हाम्रो गोरूगाडाको हस्ताक्षर छ; कहिले देख्छौँ ?
तिमी बस्ने दरबारमा
हाम्रो पसिनाको सुगन्ध छ; कहिले सुघ्छौँ ?

तिम्रो आयातित समृद्धिलाई
हाम्रै मेरूदण्डको हाड चाहिन्छ,
तिम्रो बहुराष्ट्रिय कम्पनीको मालिक
रगत छादुञ्जेल हामीलाई नै चुस्छ,

हामीलाई त ऋणमा लिएको जमिन नै
एक जीवन आकाश हो
हाम्रो लागि जमिनमा उम्रिने उखु नै
एक जीवन धरती हो
यहि जीवनलाई छोएर हाम्रो देशले देश पढछ
यहि जीवनको किनारमा उभिएर हाम्रो देशले देश लेख्छ ।

हामी यो सर्दीमा तातो आँसु खसाल्दै
पसिनाको बक्यौता मागीरहेछौं

तिमी उहिल्यै हामीसगँ मागेर लगेको हसिया हथौडा देखाएर
गर्धन थाप त भन्दैनौ नि…?

(#उखु_किसान_आन्दोलन को ऐक्यबद्धतामा लेखिएको कविता ।)

तपाईको प्रतिक्रिया