कलिलो दिमागले सधैँ प्रश्न गरिरहन्थ्यो ,समाजले छोरा र छोरीबीच किन यति बिभेद गर्छ ? सधैँ प्रश्न गर्ने यही स्वाभावले कलिलै उमेरमा वहाँ महिला आन्दोलनमा होमिनु भयो । सुरुको दिनमा कम्युनिष्ट आन्दोलनमा सकृय सुशीला श्रेष्ठलाई तत्कालीन सरकारले शहिद रत्नकुमार वान्तावासँगै मार्न खोजेको थियो तर त्यो समय उहाँ फुत्कीएर बाँच्न सफल हुनुभयो । २०३५ सालमा इभाङको जंगलमा भएको यही घटनाले उहाँलाई राष्ट्रिय रुपमा चर्चामा ल्यायो र पार्टीभित्र उहाँको बेग्लै राजनितिक छवी बन्यो । जीवनसाथी अशोक कुमार राई पनि सकृय राजनितिमा होमिनु भयो । तर उहाँले घर राजनिति , सामाजिक सेवा र शिक्षण तिनै क्षेत्रलाई एकनास अगाडी बढाईरहनु भएको छ । हाल उहाँ जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्य , महिला सुरक्षा दवाब समुहको केन्द्रीय सदस्य लगायत धेरै संस्थाहरुमा उहाँको संलग्नता रहेको छ । प्रस्तुत छ राजनितिमा महिला सहभागीता , शसक्तीकरण लगायतको बिषय माथि गरिएको कुराकानी ।
हरेक दिन जसो महिला हिंसा, बालिका बलात्कार र हत्या जस्तो घटना घटिरहेको छ । नेपाली समाज यी घटनाहरुले कुरुप र आलोचनातर्फ अगाडि बढिरहेछ । बहुदल पछि सबै किसिमको विभेद ,असमानता र अत्याचार समाप्त हुन्छ भन्ने थियो तर समाजमा बिशेषगरि महिलामाथीको जघन्य अपराध बढदो छ यसको मुख्य कारण के होला ?
नेपाली समाजमा हरेक दिन महिला र बालिका बलात्कार, हत्या र हिंसा भएको घटनाहरु सञ्चार माध्यममा आउँछ । सञ्चार माध्यममा नआएका घटनाहरु पनि थुप्रै छन भन्ने मलाई लाग्छ । पहिला महिलालाई सहु, धर्ती भएर बस, सहनु नै तिम्रो धर्म हो,सहनु नै तिम्रो कर्म हो भनिन्थ्यो । त्यसैले महिलाको समस्या सुनिएन । त्यो बेलामा बोली दिने मुखहरु थिएनन । अहिले बोल्न थाल्नुपर्छ, तिमीले सहेर बस्यौ भने अपराधीक मनोवृति भएका मानिसहरुको मनोबल बढछ र उसले अझ कयौं हिंसा र अपराध गर्छ भन्ने बुझाई र चेतना बढेको छ जसले गर्दा त्यस्ता घटनाहरु बाहिर आउन थालेको छ । पहिला पनि यस्ता जघन्य अपराध हुन्थ्यो तर समाजमा बाहिर आउदैनथ्यो । घटनाहरु भएपनि गुपचुप नै हुन्थे र चुप रहन बाध्य बनाइन्थ्यो । अहिले समस्याहरु बाहिर आएको कारणले घटनाहरु बढ्यो की जस्तो देखिएको मात्र हो । अर्को समस्या भनेको बनेका कानुन र नियमहरुको कार्यान्वयनको पाटो फ्यातुलो भएकै कारण र अपराधीहरु खुल्लारुपमा समाजमा हिडीरहेको कारण महिला र बालिकामाथी यस्तो किसिमको जघन्य अपराध भएको हो । बहुदल आएपछि नेपाली महिलाहरुले बोल्न पाएका छन तर न्याय पाएका छैनन ।
नेपाली समाजमा जात व्यवस्थाको कारण कहीं न कहीं महिलामाथी अझ दोहोरो हिंसा बढदो छ । जति पनि महिलामाथि भएको अन्याय हिंसा हत्या र बलात्कारका घटनाहरु बाहिर आउँछ । दलित, मधेसी र महिलामाथी नै यस्तो घटना घटनु पर्ने कारण के होला ?
महिला सुरक्षा दवाब समुहमा पुन जोडीन मन लाग्यो । म थर्ड एप्रोज ग्रुपको प्रतिनिधित्व गर्दै सहभागी भएँ । हामीले महिला हिंसाका मुद्दालाई लिएर धेरै राम्रो काम पनि गर्यौं । अहिले ओझेलमा पर्यो कि भन्ने लाग्नु स्वाभाविकै हो । तर समाजमा जुन बर्ग पीँधमा रहन्छ उसैमाथी अत्याचार हुने हो । हामी व्यक्तिगत र संस्थागत दुबै हिसाबमा सचेत छौँ र हामी यसलाई समिक्षा गर्छौं ।
पितृसत्तात्मक समाजले महिलालाई अगाडि बढन दिएन भनिन्छ तर कतिपय अवस्थामा समाजमा त्यस्ता परिदृष्यहरु पनि देखिन्छन कि महिला आफै आफ्नो प्रगतिको कारक हो कि जस्तो यसमा तपाईंको बुझाई के छ ?
पितृसत्तात्मक सामन्ती समाज नै महिलाहरुको प्रगतिको बाधक हो । त्यो पितृसत्ता भनेको पुरुष होइन यो मनोवृति हो । सोच हो । दृष्टिकोण हो । पितृसत्तालाई प्रमुख ठान्ने सोचाई महिला, पुरुष दुबैमा छ । अझै लामो समय पुरुष प्रधान ठानिने समाजको अवधारणामा छोरी वा महिलाहरुलाई मारे पाप, पाले पुन्य भन्ने सोचको कारण तलब बिनाका श्रमिकहरुको रुपमा हेरिन्छ र व्यवहार गरिन्छ। त्यही मानसिकताले नियम कानुन र संबिधान बनेको छ । धर्मकर्म र दैनिक व्यबहारले यहि कुराबाट महिलालाई प्रशिक्षित गराइन्छ । महिला र पुरुषमा फरक तरिकाले समाजिकीकरण भएको सयौं बर्ष भएको छ । त्यसले गर्दा महिलाहरुबाट नै महिलाहरुको बिरोध गराइन्छ । दलितहरुबाट नै दलितहरुको बिरोध गराइन्छ। जनजातीहरुबाट नै जनजातीहरुको बिरोध गराई समाजलाई फुटाउ र शासन गर भन्ने सामन्ती चिन्तनले व्यापकता लिन सफल छ । एक दुई जनालाई काखी च्यापेर अरुमाथि शोषण अन्याय अत्यचार गर्ने नीतिले नै आज समाज झन पछि, झन पछाडी धकेलीएको छ । अरुको नकात्मक कुरा गरेर आफु वा आफुले चाहेको व्यक्ति अगाडी ल्याउने, हस हजुर ! भन्ने जमात तयार गर्ने मनोबिज्ञानलाई सबै मिलेर कमजोर बनाउनु पर्छ । महिला महिलाको एकताले नै महिलामा लादिएको पितृसत्तात्मक सोचलाई अन्त्य गर्न सकिन्छ ।
नेपाली समाजमा महिला माथी हुने विभेदहरुलाई जात व्यवस्थाले संरक्षण गरेको देखिन्छ । तर महिला मुक्तिको निम्ति आन्दोलनको अग्र स्थानमा रहेका अभियानहरु नै आफ्नो मार्गमा स्पष्ट नभए झैं देखिन्छ कारण के होला ?
नेपाली समाजमा जात बिभाजन हुनका कारणले महिलाहरु पनि बिभाजनको मारमा परेका छन । जात बिभाजन विभेदको आधार हो । जन्मदै ठुलो जात र सानो जात, पानी चल्ने र पानी नचल्ने, छोइ छिटो हाल्नु पर्ने र हाल्नु नपर्ने सामाजिक संरचनामा नै भ्रमहरुको बिरुवा रोपीएको छ। सत्तामा बाहुल्यता कुन जात र बर्गको छ मनन गर्नुहोस त ? ब्रम्हाको मुखबाट ब्राह्मण , पाखुराबाट क्षेत्री र क्षेत्रीेको पेटबाट वैश्य र खुट्टाबाट शुद्र जन्मिएको भनिन्छ । तर मानिस जन्माउने आमा हुन । यो प्राकृतिक र बैज्ञानिक तथ्यलाई भ्रमजालले छोपी दिएर ब्रम्हापुरुषले जन्माएको किम्बदन्ती सुनेर हामी र्हुकियौं । त्यसैले व्यक्ति जसरी सामाजिकीकरण हुन्छ उसको बुझाई त्यही रहन्छ । त्यसैले महिला आन्दोलनमा लागेकाहरुको बुझाई र गहिराई फरक हुनु स्वाभाविक हो । महिला मुक्तिको आन्दोलनलाई अग्रगती दिन मार्ग स्पष्ट नभए झैँ देखिए पनि महिला मानव अधिकारको अभियान निरन्तर अगाडी बढिरहन्छ र बढिरहनेछ ।
नेपाली समाजमा स्थापित कतिपय मान्यताहरु संविधान विपरित छ । नेपालको नारीवादी आन्दोलन कहिँ कतै बाटैमा अल्मलीए जस्तो छ । कारण महिलाहरु पार्टीको हुइप भन्दा माथी बैचारिक रुपमा उठन सकेका छैनन। तपाईं आफै पनि पार्टीमा प्रतिनिधित्व गर्नुहुन्छ । तपाईंको पार्टी भित्र चाहीँ महिलाको क्षमतालाई कसरी बुझीन्छ ?
हामी केहि महिला मानव अधिकारकर्मीहरु अन्तरिम संबिधानमा लेखिएको महिला अधिकारका कुराहरु कटौती भएको थाहा पाएर रिले अनशनमा बबर महलमा बसेका थियौं । हाम्रो बिरोधको बाबजुद २०७२ साल असोज ३ मा संबिधान आयो । हामीले उक्त संबिधानलाई जलायौं। शंसोधन गर्नुपर्छ भन्ने माग अहिले पनि राखेको छौं । आन्दोलन सधैं एक रुपमा चल्न र चलाउन गाह्रो छ । संबिधानमा भएका राम्रो कुराहरुलाई कार्यन्वयन गर्दै कमजोरीहरुलाई सच्याउन आलोचनात्मक रुपले हेर्ने महिला अभियन्ताहरुको पक्षमा मेरो मत छ । त्यसैले आफ्नो जवानी बिताएर निर्माण गरेको पार्टी परित्याग गरि जनता समाजवादी पार्टी भित्र आफ्नो बिचारहरु राख्न हामी स्वतन्त्र छौं । बिचार राख्नै नपाइने बन्देज छैन । त्यसैले धेरै मानिसहरुलाई महिला मुक्ति र समानताको अवधारणामा स्पष्ट बनाउनु पर्छ । महिलाहरुलाई नेतृत्वमा ल्याएर जिम्मेवारी दिनुपर्छ । उनीहरुलाई जिम्मेवारी दिएर क्षमतावान बनाउनु पर्छ भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ । पार्टीभित्र बैचारिक र सैद्धान्तिक छलफल गर्ने महिलाहरुको प्रतिनिधित्व आवश्यक छ ।
तर तपाईंको पार्टीले पनि महिला माथिको विभेदलाई समय अनुकुलता हेरेर उठाउने र पछि छोडीदिने गर्छ । पार्टी भित्रको संघर्ष कस्तो छ ?
हाम्रो पार्टी निर्माणाधीन पार्टी हो । अहिलेसम्म हाम्रो पार्टी एकता प्रकृयामै अगाडी बढिरहेको छ । महिलाहरुको सवालमा स्पष्ट छ । महिला माथि भएको विभेदलाई समय अनुसार उठाउँछ र उठाउने क्षमता राख्ने कुरामा म स्पष्ट र बिश्वस्त छु ।
तपाईं महिला सुरक्षा दबाब समुहसगँ पनि आवद्ध हुनुहुन्छ महिला अधिकार र हिंसाको क्षेत्रमा लामो समयदेखि सक्रिय यो संस्था स्वर्गीय साहना प्रधानको समयमा जस्तो छैन । यतिका धेरै घटनाहरु भैरहेछन तर उपस्थिति कमजोर छ कीन होला ?
एकछीन बिगतको कुरा गरौँ । साहना दिदीसँगै महिला सुरक्षा दवाब समुहको स्थापना गर्न योजना बनाउने र त्यसलाई कार्यरुप दिन महत्वपुर्ण योगदान मैले पनि दिएको छु। एउटा संस्था संगठनबाट एकजना प्रतिनिधि राख्ने निर्णय भएपछि अखिल नेपाल महिला संघबाट अध्यक्ष साहना प्रधानलाई प्रतिनिधि बनाएर संयोजक भूमिका खेल्न पठायौं । मैले महासचिवको भुमिका खेलेँ । खाता हिसीना यमीलाई जिम्मा लगाएर बैठक छोडनु पर्दा अमिलो भयो । हामीले महिला मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था र राजनितिक पार्टीको भातृ संगठन दुबैलाई सहभागी गराएर महिला हिंसा बिरुद्ध समाज, सरकार र सँस्कारसँग लड्यौं।
महिला महिलाबीचको अन्तरबिरोधले पनि समग्र महिला आन्दोलन अगाडि बढन नसकेको र महिला कमजोर भएको भन्ने तर्कहरु आउछन यसमा तपाईंको भनाई के छ ?
म द्वन्द्ववादको विद्यार्थी हुँ । हरेक समुह र समाजमा अन्तरबिरोध हुन्छ । अन्तरबिरोधकै कारण त्यसको अस्तित्व रहेको हुन्छ । त्यसैले म संघर्ष ,एकता, निरन्तरताको निरन्तर एकता चल्नुपर्छ र चलीरहन्छ भन्ने मान्यता राख्दछु । महिला महिला बीचको अन्तरबिरोधलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुल कुरा हो । पुरुष पुरुष बीचको अन्तरबिरोध छ। पुरुषहरुको अन्तर बिरोधले समाज र राष्ट्रलाई कति धेरै क्षति गरेको छ । पुरुषहरुले मिलेर काम गर्ने नगरेकै कारणले महिला बिभाजन गर्ने हतियारको रुपमा प्रयोग भइरहेको छ। फेरि महिलाहरूको लागि कम अवसर छ । त्यही अवसरका लागि महिलाहरुलाई विभाजन गर्ने अन्तरबिरोधहरु निर्माण गरिन्छ । त्यसैले अब महिलाहरूले ज्यादा कुरा बुझ्नु पर्छ। अलिक मन ठूलो बनाएर महिला महिलामा एकता कायम गर्नुपर्छ।
कमला भासीनले एक ठाउँमा भन्नुभएको छ “महिलाहरु आफ्नो झ्यालबाट चियाउन त थाले तर अझै बाहिर आउन सकेका छैनन” भने जस्तै आफुमाथी हजारौं बर्षदेखि भएको अन्यायको बिरोधमा उभिन महिलाहरूलाई कीन यति सकस ?
सयौं बर्षदेखि लान्छना,अपहेलना, हिंसा आदिले प्रताडित हाम्रो समाजमा राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन पुर्णरुपमा हुन सकेको छैन । महिलाहरुले आफू अन्यायमा परेको कुरा बोल्न थालेका छन । तर राज्य र सामाजिक संरचनामा खासै परिवर्तन वा रुपान्तरण भएको छैन त्यसैले अन्यायको बिरोधमा उभिन महिलाहरुले सकस बेहोर्नुपर्छ तर असम्भव छैन । आन्दोलन अगाडि बढीरहेको छ एकदिन हामी बिजय प्राप्त गर्छौं ।
इलामको इभाङ्गको घटनामा रत्नकुमार वान्तवासँगको स्मृति पनि बताइदिनुहोस न ?
म काठमाण्डौँ माइश्वरी कन्या छात्रवासमा बसेर किर्तिपूर विश्वविद्यालयमा बिज्ञान विषय लिएर वि एड अध्ययन गरिरहेको थिएँ । बुर्जुवा शिक्षा बहिष्कार गरेर जनताको विश्वविद्यालय जाने नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादीको निर्देशन पाएँ । मैले पढदै गरेको पढाई छोडी आफ्नो सर्टिफिकेटहरु च्याते र २०३५ साल फागुन १ गते भूमिगत भएर ताप्लेजुङ्गतिर लागेँ । मेरो कार्यथलो ताप्लेजुङ र सम्पर्क व्यक्ति रत्नकुमार वान्तवा हुनुहुन्थ्यो। मेरो २०३५ साल चैत्र १७ गते इलामको इभाङ्गमा कमरेड रत्नसँग भेट भयो । चैत्र २७ गते बिहान मिरमिरे उज्यालोमा इभाङ्गको आपडाँडाबाट ओरालो झरिरहेका थियौं । मानिसहरु राम्ररी चिनिदैन थियो । जंगलको मुखमा एक हुल मानिसहरुसँग जम्का भेट भयो । मानिसहरुको हात हातमा लठ्ठी थियो । कमरेड रत्नकुमार वान्तवा म र राममाया राई तिनैजना लहरै हिडिरहेका थियौं। पहाडको गोरेटो बाटोमा लहरै लाइन लागेर हिड्नु पर्ने बाध्यता थियो । एउटा मानिसले रत्नकुमार वान्तवालाई बुढि औँलाले देखाएर चिनाएको मैले देखें । कमरेड रत्नलाई पछाडीबाट कोट्याएँ । वहाँले दाइने हातले अगाडी बढने संकेत गर्नु भयो । हामी दुई पाईला के अगाडी बढेका थियौं । अगाडी बढिसकेका मानिसहरुले हामीलाई छेकारो मारेर घेरा हाल्यो । एउटा प्रहरीले कमरेड रत्नकुमार वान्तवाको हात पछाडीबाट समायो । वहाँले हात फुस्काउन बल गर्नुभयो । मैले हात फुस्काउन सहयोग गर्ने भावनाले हात समाउने मानिसमाथि लठ्ठी प्रहार गरेँ। हात फुस्कियो । कमरेड रत्नको हात फुस्केर अलिकता तल पुग्नुभयो । लगतै म माथि पनि लठ्ठी प्रहार भयो । म लाठीको चोटले भूईमा पछारीएँ अन्धाधुन्द गोली चल्यो । एउटा गोली कमरेड रत्नको छातीमा लाग्यो । अर्को मलाई लाठी हान्ने प्रहरीलाई लाग्यो । उसलाई मेरो ओडनेमा पोको पारेर उपचार गर्न मंगलबारेतिर तुरुन्तै लग्यौं । निकैबेर कमरेड छटपटाउनु भयो र अन्त्यमा अन्तिम थोपा रगत इभाङ्गको भुमिमा खस्यो उहाँ यो बिदा हुनुभयो । मैले शिर झुकाएर शव अगाडी शद्धाञ्जली अर्पण गरे । मेरो झोलामा भएको ओडने निकालेर कमरेड रत्नलाई पोको पारें । अघिअघि उहाँको शव र पछीपछी मलाई हडकडी लगाएर देउमाईको खोला तार्यो पुलीसहरुले । मंगलबारे गाविसको वार्ड अध्यक्षको घरमा पुगेपछी खाना खाने तरखरमा प्रहरीहरु लागे । उनीहरु थकाईका साथ निष्कृय भएको बेलाको मौकामा उम्कने मेरो सोचाई बन्यो । म दिसा गर्ने बहानामा पुलिसको पंजाबाट फरार हुन सकेँ । म माथि गोली चलाए तर म गोली छल्न सफल भएँ । पुलिसहरु जंगलमा खोजी गर्न आए । तर भेटन सकेनन । सल्लाको जंगलमा डढेलो लगाए । आगोको ज्वालाबिच जोगिदै त्यो ठाँउबाट देउमाईको किनारमा सुरक्षित पुग्न सफल भएँ । नयाँ ठाउँ भएकोले म तीन रात पछि मात्र साथीहरुको सम्पर्कमा पुग्न सफल भएँ।
तपाई यति लामो समय कम्युनिष्ट आन्दोलन र पार्टी निर्माणको योगदानलाई चटक्कै छोडेर अर्को पार्टी जन्माउने काममा लाग्नु भयो किन होला?
म सानै उमेरदेखि अन्याय अत्याचारको विरोध गर्थें । न्याय र समानताको आवाज जानीनजानी उठाउँदै आएँ । मेरो बुझाईमा कम्युनिष्टहरुले मात्र न्याय, समानता र सम्मान दिन्छ भन्ने मेरो सोचाई र बुझाई थियो । पंचायती व्यवस्थाको विरुद्ध संघर्ष गर्दा हामी सबै एक भएर तरवारको घरमा हिड्यौँ । “बाँचे हस्तिनापूरको राज, मरे चपरी मुनिको बास” भन्ने बलियो सोचाई थियो । वर्गीय र लैंगिक समानताका लागि आवाज उठायौँ । तर नेपाली समाजभित्र जातीय विभेदले पनि गहिरो जरा गाडेर बसेको कुरा बुझ्दै र भोग्दै जाने क्रम भयो । विभेदको मुल जरोलाई नै निमिट्यान्न पार्ने भन्दा पनि सतही रुपले मात्र काम गर्ने कुरा बढि बहुदल आए पछी भयो । संघर्ष गर्दा सबै एक भयौं तर नितिनिर्माण गर्ने काममा र लाभको पदमा पुग्दा विभेदपूर्ण कामको सुरुशात भयो । लैंगिक विभेदमा अंश,वशं र पैतृक कार्यको कुरा गर्दा पुरुषको भाग खोसिने त्रासको कुरा गर्न थाले । जातीय असमानताको कुरा गर्दा एकल जात वा समुदायले खाई पाई आएको सुविधा खोस्न लाग्यो भन्ने शंका उत्पन्न हुने संकीर्णता नेता र नेतृत्वमा पैदा भयो । त्यसैले आफूले जीवनका महत्वपूर्ण युवा मेहनत सिचिंत गरेको नेपाल कम्युनिष्ट पार्टी माले र एमालेमा भएको दासतालाई स्वीकार्न मन मानेन । त्यसैले रगत र पसिनाले सिन्चीत गरेको पार्टी परित्याग गरियो । बहुजाती, बहुधार्मिक, बहुभाषीक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण देशलाई आफ्नो माटो अनुसारको समाबेशी पार्टी बनाउन संघिय समाजवादी पार्टी हुदै आज जनता समाजवादी पार्टी निमार्णको अभियानमा लागेका छौँ । यो पार्टी नेपाली जनताको आशा र भरोशाको केन्द्र बिन्दु बन्दै राजनैतिक वैकल्पिक शक्तिको रुपमा उदय भईरहेको छ । हिजो विभिन्न पार्टीमा स्वतन्त्रता र राष्ट्रियताका साथै समृद्धिको आवाज उठाउने नेता कार्यकर्ताहरु यस पार्टीमा गोलबन्द भईरहेका छन । यस पार्टीले नै भ्रष्टाचार,अनियमितता,व्यभिचार आदी समस्याहरुलाई हल गरेर बढन अनुभवी नेताहरुले नेतृत्व गर्नु भएको छ । त्यसैले जनता समाजवादी पार्टीले दिन दुई गुणा रात चौगुणा जनताको विश्वास आर्जन गर्दै अगााडी बढि रहेको छ।
अन्तमा केही भन्नू छ कि ?
अन्त्यमा महिलाहरु भनेको आमा हुन। आफ्नो सन्तानलाई सुख दिन जस्तोसुकै त्याग तपस्या र बलिदान दिन पनि तयार हुन्छिन । त्यस्तै महिला मानवअधिकार प्रति प्रतिवद्व अभियन्ताहरुले आफ्नो मनलाई फराकिलो बनाऔं। महिलाको बिषयप्रति प्रतिवद्व अभियन्ताहरुले आफ्नो मनलाई फराकिलो बनाएर अगाडी बढे समाजमा रहेको विभेद समाप्त हुनेछ ।