नेपाली कविता लेखनमा साठीको दशकपछि उदाएका धेरै कविहरु मध्ये कवि छम गुरुङ प्रगतीशिल चेत राख्ने आफ्ना छिमलमा एक शक्तीशाली कवि हुन् । शालीन तर प्रखररुपमा उनका कविताहरुले सरकार र समाजको बेथितिहरुको प्रतिकार गरिरहेको हुन्छ । आफ्नो लेखनीमा सचेत उनका कविताहरु साच्चै भन्नुपर्दा हामीले बाचीँरहेको समाजको हुबहु प्रतिबिम्ब हो । कविता लेखनमा लामो रेसको घोडा भनेर पनि उनका कविताहरुलाई लिन सकिन्छ प्रस्तुत छ साताको तीन कविता ।
तानाशाह
समय कत्ति पनि छैन
जो–जसको छैन भने समय
केही पनि हुँदैन
मात्र यति भन्न सकिन्छ
कि संसारका सिक्रीहरू
एक हाते होस
चाहे हजार माइल लम्बाइ
चाहे पृथ्वी नै बेर्न सक्ने लम्बाइ होस
खासमा जुनसुकै जुगमा
ती सिक्रीहरू
सजिलै नचुँडिए पनि पक्कै चुँडिन्छन
अब त्यो पनि, यसो भनौँ
कुनै कागजी बाघ होइन, रहेन
न कुनै अग्लो दरबारको
या सानो घरको कोठे मालिक
त्यो त केवल एक समयहीन माकुरा न हो
जुन सत्तामाथि होइन
जनताको सत्यको लिसोमाथि जोडले फ्याँकिसकेको छ
सारा जनताकै अगाडि !
बाटो
म बाटैबाटोमा थिएँ
मैले तिम्रो बाटो लिएँ
उसको बाटो किनेँ
उनीहरूको बाटो बेचिदिएँ
सबैको बाटो लुटेँ
आखिरी यी दिनहरूमा मसँग एक बित्ता बाटो पनि उपलब्ध छैन
बाटोविहीन भएको छु
भण्डारगृहको कुनामा उभ्याइएको आलुको बोरा
बरु सजिलै हिँडन सक्ला आफैँ
म त बाटोवालाहरूकै लागि एउटा बिकाउ भरयाङ–बाटो भैसकेछु !
एउटा उदास जुग एक मिनेटमा पनि आज
तिमी कहाँ छौ भन्छु
मात्र भन्न सक्छु
मेरो हात त्यता पुग्दैन, आवाजले पुग्ने कोसिस गर्छु
तिम्रो पाखुराको भरमा
एकैछिन पिङ खेल्न मन छ
यो संसारको अन्तिम प्रलय बेलामा समेत
तिम्रो आधा काखमा निदाउन मन छ
त्यो सुदूर निर्जन पाखामा
केही चिसा घाँसहरू कुल्चिएर पनि हिँडन मन छ
खाली खुट्टा संसार हिँडने जाँगर चल्न थाल्छ कि लाग्छ घरि–घरि
जसरी आमाले बुनिदिएको एउटा पुकु
मेरो जीवनभरको लागि हुँदैन
तिमीले पनि त्यसरी नै सोच्न सक्छौ
कि म को हुँ ? कस्तो हुँ ?
नोट:गोर्खा–अठारसयतिर तमु–क्हेमा बख्खुलाई ‘पुकु’ भनिन्छ ।