प्रदीप कन्दङवा
वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु ।
महान दार्शनिक रजनिश ओसोले भनेका छन, “मृत्यु एक शाश्वत झुट हो।” अर्थात मृत्य जस्तो कुनै यथार्थ यो दुनियाँको अस्तित्वमा छैन । सुन्दा सबैलाई ताज्जुव लाग्ने कुरा हो यो । हामी र हामी बाँचेको समयले बुझेको त बिलकुल यसको उल्टो हो ।
मृत्य एक शाश्वत सत्य हो । मृत्य अवश्यम्भावी छ । मृत्यबाट भाग्न सकिदैन । आदी इत्यादी । हामीले आज पर्यन्त सुन्दै बुझ्दै र स्विकार्दै आइरहेको यथार्थ यहि नै हो ।
त्यसो भए के रजनीस पागल थिए ? हरेक समयका महापुरुषहरुलाई पागल करार गरेको इतिहास हामीसंग छ । जसरी सुकरातलाई बिष पिलाईयो । जसरी जिसस क्राइस्टलाई क्रसमा टांगियो । जसरी बुद्धलाई पटक पटक अपमानीत गरियो । रजनीसको वाणी यस अर्थमा हामीलाई प्रियकर नलाग्न सक्छ । जीवनको सत्ता नबुझीकन मान्छेले मृत्य बुझ्न सक्दैन अर्थात जीवन बुझे पश्चात मानिसलाई लाग्न थाल्नेछ वास्तवमा मृत्य एक दिग्भ्रम हो । जीवन प्रकास हो त्यस अर्थमा यो भन्न सकिन्छ कि मृत्य अन्धकार हो । मृत्य अन्धकार हो भने त मृत्य छ । किनकी हरेक दिन हामी अन्धकारसंग लडिरहेका हुन्छौ । तेसो भए रजनीसले झुट भनेको मृत्य के हो ? यो कुरालाइ प्रष्ट्याउन रजनीसले एक कथा भनेका छन ।
एकपटक अन्धकारले भगवानको तिव्र तपस्या गरेछ । अन्धकारको तपस्याबाट खुशी भएको भगवानले भनेछन “भन ! अन्धकार तिम्रो तपस्याबाट म खुशी भए माग के माग्छौ ?”
अन्धकारले दुइ हात जोडेर बिन्तीभावमा भनेछ “भगवान म थाकीसकेँ, म हारीसकेँ, म गलिसकेँ, म अनन्तकालदेखि भागीरहेको छु । मलाई यो सुर्यबाट मुक्ती दिलाइदिनहोस । म जहाँ जान्छु यो सुर्यले मेरो पिछा गर्छ । मलाई एकक्षण टिक्न दिदैन । म कहाँ जाउँ।”
भगवानले तत्काल सुर्यलाई बोलाएर सोधेछन । “सुर्य यो के हो अन्धकारलाई तिमी सताइरहेको छौ रे । जहा पनि उसको पिछा गरेका छौ रे । यस्तो किन भइरहेको छ ।”
भगवानको कुरा सुनेर चकित भएको सुर्यले भनेछ “भगवान माफी चाहान्छु अन्जानमा म बाट भुल भएको भए, परन्तु आज सम्म मैले अन्धकारलाई कहिले देखेको छैन । मैले चिनेको समेत छैन । म उसको पिछा कसरी गर्न सक्छु । तथापि भुलवस म बाट गल्ति भएको भए म अन्धकारसंग माफी माग्न चाहान्छु। कृपया अन्धकारसंग मेरो परिचय गराइदिनुहोस ।”
सुर्यलाई अन्धकारसंग परिचय गराउन नसकेका भगवानको कार्यलयमा अन्धकारको उक्त उजुरीको फाइल हमेसाको लागी बन्द गरियो ।
हामीले पनि सामान्यतया बुझेको यही नै हो कि अन्धकार छ । तर माथीको कथांशबाट हामीलाई थाहा हुन्छ कि अन्धकार वस्तुतः प्रकाशको गैरमौजदगीमा मात्र उपस्थित हुने हो । अन्धकार जस्तो कुनै यथार्थको अस्तित्व यो दुनीयामा छैन । मृत्य पनि केवल जीवनको गैरमौजदगी मात्र हो । जीवन र मृत्यको बारे यती बुझ्नु वास्तवमा तिर्खाले ब्याकुल बनेको मान्छेलाई पानी देखाउनु जस्तो मात्र हुन जाला । तथापि सारमा जीवनको गरिमा बुझ्न नसक्दा मानिस अनादीकाल देखि अन्धकार जस्तै भौंतारीरहेको छ । भनिन्छ जीवनको सत्ता अद्वैतमा फलित हुन्छ । समाधीमा घटित हुन्छ । मौनता र शुन्यतामा उद्भासित हुन्छ । महावीर, बुद्ध, क्राइस्ट, लाओत्से र कृष्णहरुले जीवनको त्यो सत्ता हासिल गरेका थिए । उनिहरुले आफ्नो जीवन हरक्षण उत्सवपूर्ण बाँचे ।
सन्दर्भ किसन राईको असामयीक र अकल्पनीय मृत्यको परेको छ । आज पचासको नेटो काटदै गर्दा मैले थुप्रै मृत्यहरुसंग प्रत्यक्ष या परोक्षरुपमा साक्षात्कार गरेको छु । परन्तु किसनको मृत्यले जसरी मलाई भित्रदेखि हल्लाइदियो म किंकर्तब्यबिमुढ सोचिरहेको छु । म मात्र होइन पुरै हङकङ शोकमा डुबेको छ । फेसबुकका पानाहरु किसनमय भएका छन । हरेकको अनुहारमा किसनको मृत्यको बिसाद टासिएको छ । मैले मृत्यबारे निकै चिन्तन गरेँ । मलाई लाग्थ्यो म जीवनलाई निकै गहिराइमा बझ्दछु । फलस्वरुप म मृत्यलाई स्वाभाविकरुपमा लिन सक्छु । आज मैले थाहा पाएको छु वास्तवमा म कति गलत रहेछु । किसनको यो अकल्पनीय मृत्युले मेरो हृदय निकै दुख्नेगरी गिजोलिदिएको छ । मानसमा उसको अटल बिश्वासले भरिएका तेजस्वी आँखाहरु अनवरत नचिरहेका छन ।
किसन मेरो साथी मात्र थिएन । हङकङ नेपाली समाजको एउटा भरोसामन्द रखवारी थियो । पत्रकारिता र सामाजीक अभियन्ताको माध्यमबाट उसले समाजका गलत प्रवृति उपर निरन्तर खवरदारी गर्यो । पटक पटक औंला उठायो । हात उज्यायो । टेबल ठोक्यो । कयौंको धज्जी उडायो । धम्की र चनौतीहरुसंग किञ्चित नडगमगाउने एउटा साहसी पात्रको नाम हो किसन राई ।
आज किसन हामी माझ छैन । सिंगो समाजले बिटुलो महसुस गरेको छ । साहस केवल सत्यबाट निसृत हुन्छ । जब हृदयमा सत्यले बास गर्छ त्यहाँ साहसले डेरा जमाउँछ । किसनको हृदयमा सत्यले वास गरेको प्रतित हुन्छ । जसरी उ वेधडक आफ्ना कुराहरु बोल्थ्यो । परिणामको लेसभर पर्वाह नगरी आफ्नो ब्रम्हले देखेको कुरा भन्न सक्ने थोरै पात्रहरु मध्ये उ पनि एउटा थियो ।
किसन सर्वगुण सम्पन्न थियो, उसमा कुनै खामीया थिएन , उ कमजोरी रहित थियो आदि भन्नु सर्बथा गलत हुन्छ । समग्रमा मान्छे गुण र दोषको एउटा प्याकेज हो । किसनका पनि कमजोरीहरु थिए । भन्नेहरु भन्छन उ जिद्धि थियो,घमन्डी थियो, अहंकारी थियो ।
वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । सत्य तितो हुन्छ भन्छन मान्छेहरु, परन्तु सत्य सुन्दरताको अभेद रुप हो । सत्यको गहिराइमा प्रबिष्ट भए पश्चात यसको असलीरुप प्रतित हुन्छ सायद । अन्यथा सत्य हमेसा मान्छेलाई तितो लागीरहने छ ।
जीवनको उर्वर समय किसनले समाजको निम्ति समर्पित गरयो । हामी सबै पैसाको पछाडी लाग्यौं । तर उसले पैसा र बैभवलाई आफ्नो जीवनमा उस्तो स्थान दिएको देखिएन । पच्चिसौं बर्ष लगातार समाज सेवामा लागीरहनु सानो आँटले सम्भव हुने कुरा थिएन। तर किसनले यो असम्भवप्राय: लाग्ने कुरा गरेर देखाइदिएका छन । समाजलाई त्यागको एउटा परम नमुना पेश गरेर किसन नामको सुर्य हमेसाको लागि अस्ताएको छ । कती दुःख लाग्दो कुरा ! त्यागी साहसिलो र सत्य बोल्ने मान्छेको चरम खडेरी लागेको बेला किसनले हाम्रो साथ छोडेको छ । यो रिक्ततामा अब हडकड नेपाली समाज अगाडी बढनु अभिशप्त छ । यो दुनियाँ रगंमचं हो शेक्सपियरले भनेका छन । पात्रहरु आइरहन्छन गइरहन्छन । दुनियाँ आफ्नो गतिमा अगाडि बढिरहन्छ। दुनियाँको बिधान हो यो । तर एकाध पात्रहरु यस्ता हुन्छन जसले समाजमा अमिट छाप छोडेर जान्छन । तिनको अवसानले समाजको मन दुख्छ । सिंगो समाज बखलाउँछ । हरेकको मन बिषादले भरिन्छ ।
आफ्नो जीवनकालमा किसनले तय गरेको बाटो सजिलो अवश्य थिएन, धनसम्पती, बैभव, ऐसआरामलाई तिलान्जली दिएर उसले समाजमा आफ्नो जीवनको गरिमा स्थापीत गरयो । उसले देखाएको बाटोलाई सम्मानपर्वक अनुसरण गर्नु वास्तवमा उसप्रतिको सच्चा श्रद्धान्जली हुने छ ।
प्रिय साथी ! तिम्रो लागि श्रद्धाको दुई थोपा आँसु मैले आफ्नो मनभित्रको बलेसीमा खसालेँ । श्रद्धाको दुई थुँगा फुल मैले अफ्नो मनको देउरालीमा चढाएँ । तिम्रा पाइतालाको छापहरु मैले आफ्नो मनको गोरेटोहरुमा खोजेँ । बिताएका अन्तरंग पलहरुको सम्झनामा मैले आफ्नो मनभित्र तिम्रो मन्दिर बनाएंँ । तिम्रो चिर शान्तीको कामना सहित अलविदा ।