रामकुमार डिसी
काठमाडौं । अनेपक्षित तवरले वागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सत्तायात्रा अल्पकालमै टुंगिएको छ । मुख्यमन्त्री बनेको ७१ दिनमा नै उनी राजीनामा दिएर हिँड्न वाध्य भइन् । उनको बर्हिगमन सँगै एमालेले तेस्रो प्रदेश सरकार गुमाएको छ ।
नेकपा (एमाले) विभाजनको डिलमै पुग्दासम्म माधव नेपाल समूहकी एक हस्ति थिइन् शाक्य । तर, मुख्यमन्त्रीको अफर आएपछि उनी गुट परिवर्तन गर्दै संस्थापन पक्षमा समाहित भइन् । शाक्य मुख्यमन्त्री त बनिन्, तर सपथग्रहण गरेकै दिनदेखि उनको दिनगन्ति सुरु भएको थियो । सत्ता लम्ब्याउने राजनीतिक उपाय नभेटेपछि कुनै अनैतिक कसरत नगरी उनले सहज अवतरण गरेकी छन् ।
शाक्य मुख्यमन्त्री बन्दाको राजनीतिक समिकरण रोचक थियो । तत्कालीन नेकपा हुँदा पार्टी संसदीय दल नेतामा चुनाव हराउनेले नै उनलाई मुख्यमन्त्री प्रस्तावित गरेका थिए । अनि, जसले पहिले मुख्यमन्त्रीमा उनलाई अगाडि नबढाएको भन्दै पार्टीमा विद्रोह गरे, शाक्यले उनीहरुको साथ छोडेकी थिइन् ।
एमाले र माओवादी गठवन्धनले देशव्यापी बहुमत पाएपछि मुख्यमन्त्रीको स्वभाविक दावेदार थिइन् शाक्य । वागमती प्रदेशको मुख्यमन्त्री एमालेले नै लिने भएपछि उनी नै बन्ने पक्का जस्तै थियो । तर, अन्तिम समयमा आएर अष्टलक्ष्मीविरुद्ध पार्टी संस्थापनबाट डोरमणि पौडेल खडा गरिए र उनी पराजित भइन् । पछि नेकपा विभाजनका कारण उत्पन्न जटिल राजनीतिक परिस्थितिमा उनको मुख्यमन्त्री बन्ने धोको पुरा भएको थियो ।
नेकपाको प्रारम्भिक विवाद नै शाक्य र आचार्यलाई मुख्यमन्त्री नबनाएको विषयमा थियो । माधव नेपालले यो विषयलाई निकै जोडदाररुपमा उठाएका थिए । तर, अन्तिममा नेपाललाई नै छोडेर उनीहरु मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो । कतिपयले यसलाई ‘माधव नेपाल छोडे वापतको पुरस्कार’ भनेर समेत टिप्पणी गरेका थिए ।
शाक्य २ भदौमा डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्री नियुक्त भएकी थिइन् । त्यही दिन एमालेको माधव नेपाल समूह छुट्टै दल दर्ताको तयारी पुरा गर्दै निर्वाचन आयोगमा गएको थियो । शाक्यको मुख्यमन्त्रीमा नियुक्तिप्रति एकीकृत समाजवादी दल बनाउँदै गरेका नेताहरुको टिप्पणी थियो, ‘दुई दिनको रमझम हो, यसको कुनै अर्थ छैन ।’
नभन्दै शाक्यको कार्यकाल लामो हुन सकेन । सामान्यतया सरकार गठनको तीन महिनासम्मको अवधिलाई ‘हनिमुन पिरियड’ मानिन्छ । त्यो पनि पुरा गर्न नपाउँदै उनी बाहिरिनु परेको छ ।
मुख्यमन्त्रीका रुपमा शाक्यका चर्चा गर्नलायक उपलब्धी केही छैनन् । सरकार कसरी जोगाउने भन्ने चिन्तामै उनका ७१ दिन बिते । देशको पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड राख्नेबाहेक सन्तोषको विषय अर्को भएन । यति छोटो अवधिमा कुनै महत्वपूर्ण उपलब्धी हासिल गर्न सम्भव पनि थिएन ।
राजीनामाअघि प्रदेशभामा सम्बोधन गर्दैगर्दा उनी स्वयम्ले पनि आफ्नो उपलब्धीका ठोस विवरण सुनाइनन् । फगत यति भनिन्, ‘समाजवादतर्फ यात्रा तय गर्न खाका कोरेकी छु ।’
आफ्नो संघर्षपूर्ण राजनीतिक जीवनमा सादगी छवि बनाएकी शाक्यले बुढेसकालमा मुख्यमन्त्रीका लागि सम्झौता गरेको भनेर आलोचना समेत भएको थियो । उनी नियुक्त हुँदै अल्पमतमा परेकी थिइन् । एमाले विभाजनसँगै पार्टीको हातबाट मुख्यमन्त्री फुत्किने आँकलसहित पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सजिलोसँग मुख्यमन्त्री त्यागेका थिए । त्यो शाक्यले नबुझ्ने कुरा थिएन । त्यति हुँदाहुँदै पनि अल्पकालीन मुख्यमन्त्री बन्न शाक्य किन लोभिइन् भन्ने प्रश्न उठेको थियो । यसको स्पष्ट जवाफ उनले दिन सकेकी छैनन् । अल्पकालीन सत्तामोहले उनको राजनीतिक प्रतिष्ठामै धक्का लागेको छ ।
माधव नेपाललाई साथ नदिएको सन्दर्भमा भने अरुले जस्तै आफू पार्टी विभाजनको विपक्षमा उभिएको भन्ने उनले जवाफ दिने गरेकी छिन् । जे होस्, अब शाक्य राजकीय जिम्मेवारीबाट मुक्ति भएकी छिन् र अब उनी पार्टीमै फर्किनुपर्ने छ ।
एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेका १० नेताको समूहमा छिन् शाक्य । यो समूह अहिले पनि अध्यक्ष केपी ओलीको पेलाईमा छ । १० बुँदे सम्झौता अनुसार उनीहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली इच्छुक छैनन् । तसर्थ यो पार्टीभित्र यो समुह कठिन अवस्थाबाट गुज्रिरहेको छ । न उनीहरु एमाले छोडेर हिँड्न सक्छन्, न एमालेमै उनीहरुलाई अनुकुल माहोल छ ।
एमाले भित्रको संघर्षका बेला शाक्य अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचकमध्येकी एक थिइन् । उनीसँग कुरा गर्दा घण्टौसम्म ओलीको आलोचनामा आफ्ना तर्कहरु पस्किन्थिन् । अब उनले अध्यक्ष ओलीसँगै सहकार्य गरेर पार्टीमा काम गनुपर्नेछ ।
यद्यपि उनको सुषुप्त असन्तुष्टि अहिले पनि प्रकट भइरहेको छ । यसले पटक(पटक अध्यक्ष ओलीसँग उनको मतभेद देखिएको छ । पार्टी एकताका लागि गरिएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएकी छन् । यसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले ‘१० बुँदेको बाजा धेरै ट्याउ-ट्याउँ’ नबजाउन भनेका थिए ।
पार्टीका वडा र पालिका अधिवेसनलाई लिएर असन्तुष्टि जनाएकी छन् । विवाद नमिलेका ठाउँका वडा र पालिका अधिवेशन हतारमा गर्नुहुँदैन भन्ने उनको भनाइ छ । तर, ओलीले सबैतिर सहमति र सहमझदारीमा नेतृत्व चयन भएको भन्दै कुनै विवाद नरहेको दावी गरेका छन् ।
एकपटक एउटै मञ्चबाट भाषण गर्दा माधव नेपालका सन्दर्भमा शाक्य र ओलीका विपरित भनाइ आएका थिए । शाक्यले माधव नेपाललाई एमालेमा फर्किन आह्वान गरेकी थिइन् भने ओलीले नेपालको एमालेमा कुनै स्थान नरहेको बताएका थिए । यसप्रकार एमाले भित्र आगामी दिनमा शाक्यले जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । नेपाल प्रेसबाट