क्रान्ति सुब्बा
चेतना के हो ? भन्ने प्रश्न सर्वकाल कठिनसिद्ध अनुत्तरित प्रश्न हो। मानिस भएको नाताले हामीलाई थाहा छ हामी चेतनशील छौं किनकि हामी अनुभव गर्न र चिजहरुलाई महसुस गर्न सक्छौं । वैज्ञानिक देखि दार्शनिक सम्मले चेतना के हो? ब्याख्या गरेका छ्न आफ्नो पारामा तर प्रमाणित गर्न सकेका छैनन र यो कताबाट आएको हो भन्ने खुल्दुलीले उनीहरुलाई पनि उत्तिकै सताएको छ। अहिले ब्रह्माण्डको पनि हाम्रो जस्तै आन्तरिक जीवन हुन्छ कि हुन्न भन्ने खोजीमा केहि प्रसिद्ध वैज्ञानिकहरु लागेका छ्न।
मानिस र ब्रह्माण्ड बीचको सम्बन्धको खोजीमा लाग्दा न्युटनले जुन नियम पालना गर्दै स्याउ रुखबाट खस्दछ त्यही नियम पालना गर्दै आकाशको जुनले पृथ्वीको चक्कर लाउने कुरा पत्ता लाए। कार्ल सगनले “हामी तारा जेले बनिएको छ त्यसैले बनिएका छौँ ” भने। अर्थात हाम्रो शरीरका एटमहरु अरु ताराहरु जुन न्युक्लियर भट्टिमा खारिएका हुन तेहि भट्टीबाट खारिएर बनेका हुन।
धर्म र दर्शनले सबै चिजबिजको सैद्धान्तिक बखान गरिसकेका छ्न। कुनै पनि सिद्धान्तलाई प्रमाणित गर्न भौतिक विज्ञान चाहिन्छ । भौतिक विज्ञानले कसी नलाएका विषयहरु हाइपोथेसिस अर्थात काल्पनिक सत्यका रूपमा रहन्छ्न। अहिले ज्ञानको पासा भौतिक विज्ञानले ब्रह्माण्डमा भएका सबै परिघटनालाई व्याख्या गर्दछ ,गर्नु पर्दछ भन्नेतिर पल्टिएको छ ।
कसी नलागेका कुराहरु रियालिटी बन्दैनन । र यदि चेतना पनि ब्रह्माण्ड कै अंश हो भने अवश्य भौतिक विज्ञानले चेतनाको पनि सल्यक्रिया गर्दछ। तर कसरी ? यही कुरा अहिले विज्ञानको लागि ” हार्ड प्रोब्लेम अफ कन्ससनेस” भएको छ।
फेरि शुद्ध भौतिकवादी मात्र भएर काम गर्दा सिद्धान्त नै टाक्सिएको पनि देखिएको छ। जस्तै समीकरणबाट मस्तिष्कलाई हटाइदिने हो भने चेतनाको अस्तित्व रहदैन। मस्तिष्क टिभी सेट हो तर टिभी सेटमा पावर सप्लाइ भएन भने हेर्ने चिज नै आउदैन । यो भौतिक दुनियाँ मात्र लिन्ठिङ्ग भयो र यसलाई हेर्ने कुनै दर्शक भएन भने मैले अहिले लेखेको कुनै अर्थ रहन्न । त्यसकारण चेतना के हो भन्ने पत्तो नलागी जिवनको उदेश्य पनि अर्थिने अवस्था छैन।
प्राणी , ढुंगामुढा मात्र होइन सिंगो ब्रह्माण्ड नै चेतनाले भरिपुर्ण छ भन्दा हामीलाई उदेक लाग्न सक्छ। तर न्युरो र भौतिक वैज्ञानिकहरु अहिले ब्रह्माण्डको चेतना पत्ता लगाउन तिर लागेका छ्न। हाम्रो वरिपरिको कुनै पनि वस्तुमा पनि उनीहरुको आफ्नै किसिमको मन हुन सक्ने संभावनाको खोजीमा वैज्ञानिक वृत्त लागेका छ्न।
न्युयोर्क सिटि कलेज अफ टेक्नोलोजीका नामुद भौतिक शास्त्री ग्रेगोरी म्याटलोफ( Gregory Matloff) ले जुन पदार्थ र आत्मा (substance and spirit )ले मानिस बनिएको छ त्यसैले ब्रह्माण्डको अन्य भाग पनि बनिएको हुनसक्छ भनेका छ्न। चेतनाको यही आदि स्वरुप (proto-consciousness field ) ले सारा अन्तरीक्ष भरिएको छ भन्ने तर्क उनले सारेका छ्न। ताराहरु पनि हामी जस्तै सोच्ने पदार्थ हुनसक्छन जसले मनसायपुर्वक आफ्ना गोरेटाहरुलाइ नियन्त्रण गर्छन। अझ यसो भनौं न ! यो सिंगो जगत आफैमा स्व जागरुक पनि हुन सक्छ उनको तर्क छ।
कतिपय वैज्ञानिकले त कालो पदार्थ ( dark matter-जसले ब्रह्माण्डको ९०% क्षेत्रफल ओगटेको छ )को सिद्धान्तको स्थान अन्ततः प्रोटो कन्ससनेस फिल्ड थेउरीले लिने कुरामा विश्वास गर्छन।
हुन त चेतना के हो भन्ने बारे वैज्ञानिक जमातको कुनै एउटा सिंगो एककृत सिद्धान्त ( unified theory ) छैन आजको दिन सम्म । त्यसकारण यो कताबाट आएको हो ? वा यो केले बनेको छ ? खोजीको विषय छ्दै छ।
मानिस त चेतनशील प्राणी भएको कुरा छर्लङ्ग छ । तर अन्य सजीव र निर्जीव वस्तुमा चेतना नै हुन्न भन्ने कुरा सोह्रै आना ठोकुवा गर्न सकिन्न । कल्पना क्षमता हुनु चेतना हुनुको एउटा दशी हो । के पशुमा कल्पना क्षमता हुन्न त ? पटक्कै हुन्न भन्न गाह्रो छ। अन्यथा कुकुर , बिरालो आदिले अनुहार बिगारेर मनोभावना पोख्न कहाँ सक्थे र ? फेरि केही हदसम्म त पशुले पनि निर्णय क्षमता प्रदर्शन गरेको पाइन्छ । यसर्थ पशुमा केहि हदसम्मको चेतना हुन्छ भनेर हामी गम काटन सक्छौं।
त्यसो त न्युरो वैज्ञानिक क्रीस्टफ कोले पनि हालसम्मको चेतना सिद्धान्तले हामी र हाम्रो संसारमा विभिन्न स्तरको चेतना विद्यमान छ भनेका छ्न। जस्तै सुक्ष्म जिवले पनि नयाँ वातावरणलाई सामना गरेपछि सोही अनुसार आफ्नो व्यवहार पनि बदलेर अगाडि बढ्छ। अतः यस्ता सुक्ष्म जीवमा कुन स्तरको चेतना व्याप्त हुन्छ भन्ने कुराको खसखस अहिले क्रीस्टफलाई छ। तर ढुंगामुढा , समुद्र या त रातको आकाशले आफू चेतनशील भएको प्रमाण हामीलाई दिएको छैन भन्दैमा उनिहरुलाई अचेतनशील कोटिमा दरयाउन मिल्दैन ।
“चेतना अथवा सचेत अनुभव स्पष्टत: वास्तविकता कै एउटा अंश हो।” भन्छ्न म्युनिक सेन्टर फर म्याथमेटिकल फिलोसोफी , जर्मनीका गणितज्ञ तथा सैद्धान्तिक भौतिक शास्त्री जोहान्स क्लेनर (Johannes Kleiner)। ” हामी सबैसँग यो हुन्छ तर यो चेतनाको सम्बन्ध भौतिक दुनियाँसँग कसरी गाँसिएको हुन्छ भन्ने कुरा चाल पाइएन भने ब्रह्माण्डको बारेमा हाम्रो बुझाइ अपुरो रहँदछ।”
चेतनालाई ठिक ढंगले व्याख्या गर्न गणितले मद्दत गर्दछ भन्छ्न क्लेनर। क्लेनरले अहिले गणितीय चेतनाको बारेमा शोधकार्य जारी राखेका छ्न। उनिसंग अर्का गणितज्ञ सिन टुल(Sean Tull) पनि छ्न जो अक्सफोर्ड युनिभर्सिटीका गणितज्ञ हुन। यी दुइले एक प्राचिनतम दर्शन सर्वमनोवाद अर्थात पानसाइकिजम (panpsychism) दर्शनलाई पनि आफ्नो सिद्धान्तलाई प्रमाणित गर्न प्रयोग गरेका छ्न।
सर्वमनोवाद सिद्धान्तले पदार्थको सुक्ष्मतम इकाईमा धरी चेतना हुन्छ भन्छ । वास्तविकताको आधारभूत इकाईमा पनि चेतनालाई अनुभव गर्ने क्षमता हुन्छ भन्छ। यस मानेमा यत्रतत्र सर्वत्र सारा ब्रह्माण्ड भरि चेतनाको उपस्थिति रहेको दावी यस सिद्धान्तले गर्दछ।
अर्थात चेतना मस्तिष्कको मात्र पेवा होइन, सबै पदार्थको हो – जस्तै टेबल, ढुंगामुढा आदिको पनि हो।
सर्वमनोवाद अहिलेसम्म दर्शन कै कोटि भित्र छ। धर्मको हिसाबले हेर्दा सर्वमनोवाद हिन्दु ,वौद्व वा बाइबलीय दर्शन नजिक छ। अध्यात्मिक दर्शनले मन र शरीरको कुरा गर्छ। अथवा पदार्थ र चेतना छुट्टाछुट्टै विषय हो भन्छ। शरीरको एउटा अंश चेतना अथवा धर्मको भाषामा चेतनालाई आत्मा भनिन्छ । तर सर्वमनोवादले यो सारा ब्रह्माण्ड चेतनाले भरिएको छ भन्छ।
केहि वर्ष अघि म्याटलोफले सर्वमनोवाद सिद्धान्तलाई दर्शनबाट झिकेर अवलोकनिय खगोलभौतिक शास्त्र तिर लाने अभियान शुरु गरे। न्युयोर्क युनिभर्सिटीका दार्शनिक तथा संज्ञानात्मक मनोवैज्ञानिक (cognitive scientist ) डेभिड चाल्मर्स ( David Chalmers) , आलेन ईन्स्टिच्युट फर ब्रेन साइन्सका न्युरो वैज्ञानिक क्रीस्टफ को (Christof koch) र भौतिक शास्त्री सर रोजर पेनरोज(Sir Roger Penrose)अहिले यो क्षेत्रमा फरक एप्रोचका साथ सक्रिय छ्न। टुल र क्लेनर पनि अहिले यसै अभियानमा लागेका छ्न।
क्वान्टम मेकानिक र चेतना
शोधकर्ताद्वारा प्रतिपादित सिद्धान्त लागु गरेर जसरी हाम्रो दिमागले जन्माएको व्यक्तिपरक अनुभवलाई जाँच्न सकिन्छ , हो त्यसैगरी तिनै गणितीय मोडेल लागु गरेर निर्जीव पदार्थको अनुभवलाई पनि संकलन गर्न सकिने प्रबल संभावना रहँदछ वैज्ञानिक द्वय क्लेनर र टुलले बताएका छन।
“कुनै एक गणितीय मोडेललाई अन्य बिभिन्न प्रणालीहरुमा पनि लागू गर्न सकिन्छ, मस्तिष्कमा मात्र होइन,” क्लेनरले भने। ” मस्तिष्कबाट प्राप्त भएको डाटाको आधारमा यदि तपाईंले चेतनाको गणितीय मोडेल विकास गर्न सक्नु भयो भने त्यही मोडेललाई अरु प्रणालीमा पनि प्रयोग गर्न सकिन्छ । जस्तै कम्प्युटरमा, थर्मोस्टेटमा। यसरी अरु चिजले पनि आफ्नो सचेत अनुभवलाई कसरी अभिव्यक्त गर्दा रहेछ्न हेर्न सकिन्छ ।”
अक्सफोर्ड युनिभर्सिटीका भौतिक शास्त्री,गुरुत्वाकर्षण तथा ब्लाक होलविद सर रोजर पेनरोज(Sir Roger Penrose)ले पनि चेतनाको सन्दर्भमा कुरा गर्ने हो भने न्युरोसाइन्स भन्दा पर जानू पर्ने आग्रह गरेका छ्न।
चेतना उत्पादन हुनमा क्वांटम मेकानिक्सको पनि विशिष्ट भूमिका हुने कुरालाई भुल्न नहुने दलिल उनी अघि सार्छन। आफ्नो तर्कलाई सबिस्तार राख्न उनले १९८९ मा एउटा पुस्तक नै प्रकाशित गरे – “द इम्पेरर्स न्यु माइन्ड : कन्सर्निङ कम्प्यूटर, माइन्ड एन्ड द लज अफ फिजिक्स ।” उनको तर्क छ – मानव चेतना गैर-एल्गोरिदमिक छ र चेतना क्वांटम प्रभावको उत्पादन हो।
अर्केस्ट्रेटेड अब्जेक्टिव रिडक्सन (orch OR)भन्ने हाइपोथेसिसमाथि एनेस्थेसियोलोजिस्ट र मनोवैज्ञानिक स्टुअर्ट हामेरफसंग सहकार्य गर्दा यो विचारको जन्म भएको हो।
यो सिद्धान्तको दावी छ- चेतना संभवत मस्तिष्कभित्र हुने न्युरोनको गहिरो तह(सिन्याप्स) मा भएका सुक्ष्मतम नलिकाहरुमा क्वांटम कम्पन हुँदा जन्मन्छ । तर चेतनाबारे परम्परागत बुझाइ के छ भने न्युरोनहरुको आपसी सम्बन्धका कारण चेतनाको जन्म हुन्छ।
चेतनाको बारेमा पेनरोजको एउटा प्रसिद्ध भनाइ छ – ” भौतिकीका नियमले जटिल प्रणालीहरुलाई जन्माउदछ र ती जटिल प्रणालीहरुले चेतना तर्फ डोर्याउदछ जसले गणितलाई जन्माउदछ , त्यसपछि त्यो गणितले आफुलाइ जन्माउने भौतिकीका नियममा अन्तर्निहित नियमहरुलाइ संक्षिप्त र प्रेरक तवरले कोड भाषामा लिपिबद्व गर्दछ।”
सन २००६ सालमा रोजर पेनरोजको आइडियालाई अर्का जर्मन भौतिक शास्त्री बर्नाड हाइस (Bernard Haisch) ले एक स्टेप अगाडि लगेका छ्न। उनिद्वारा प्रस्तावित शोधपत्र अनुसार अन्तरीक्षको सम्पूर्ण खाली जग्गा ओगटेर बसेको तत्व – जसलाई क्वान्टम फिल्ड ( क्वान्टम भ्याकुम) भनिन्छ – ले नै चेतनाको उत्पादन र संचारण सर्वत्र गर्दछ। र उर्जाको निरंकुश प्रवाह हुने यथेष्ट जटिल प्रणाली स्थापना भएको कुनै पनि स्थानमा चेतनाको उदय हुन सक्दछ। र त्यो स्थान मस्तिष्क नै हुन जरुरी छैन , कुनै भौतिक संरचना भएको भए नि हुन्छ।
त्यसो त अर्केस्ट्रेटेड अब्जेक्टिव रिडक्सन सिद्धान्तले मस्तिष्कको जैव-आणविक प्रक्रिया र ब्रह्माण्डको मुल संरचना बीच सम्बन्ध रहेको हुन्छ भनेको छ।
क्लेनर र टुलले पनि यही सिद्धान्तमा आधारित भएर काम गरि रहेछ्न। युनिभर्सिटी अफ विस्कन्सनका न्युरोसाइन्टिस्ट तथा मनोचिकित्सक जिलियो टोनोनीबाट पनि उनीहरु प्रेरित छ्न।
बीएमसी न्यूरोसाइंस पत्रिकामा प्रकाशित टोनोनीको एकीकृत सूचना सिद्धांत ( integrated information theory- आईआईटी) निकै आशाजनक सिद्धांत रहेको भन्दै क्लेनर थप्छ्न -“आईआईटी पुरै गणितीय सिद्धांत हो।”
आइआइटी सिद्धान्तले पनि चेतना जताततै हुन्छ भन्छ। तर यो चेतना यस्ता स्थानहरुमा मात्र जम्मा हुन्छ जहाँ यो चेतना आफैले फरक फरक संबंधित प्रणालीहरुलाई एकै ठाउँमा भेला हुन मद्दत गर्नु पर्ने हुन्छ।
मानिसको शरीर पनि टन का टन सिस्टमहरुले खचाखच भरिएको छ र मानिसको शरीरमा थुप्रीएका सबै सिस्टमहरु एकाआपसमा संबंधित छ्न। यसर्थमा मानिसको शरीरमा टन्नै चेतना थुप्रीएको हुन्छ । यो सिद्धान्तले अपनाएको पद्धति अनुसार कति चेतना भन्डारण भएको छ फाइ (मेट्रीक युनिट मापन गर्न यस सिद्धान्तले प्रयोग गरेको ग्रीक अंक) मार्फत गन्न वा लेखाजोखा पनि गर्न सकिन्छ ।
वास्तवमा आइआइटी चेतनाको मामलामा ज्यादै महत्वाकांक्षी र अहिलेको एउटा लिडिङ सिद्धान्त हो। यो सिद्धान्तलाई मस्तिष्कको हकमा मात्र होइन सबै किसिमको पदार्थमा लागू गर्न सकिन्छ । चेतना भन्ने कुरा जैविक तत्व होइन भन्ने नयाँ बुझाइ यो सिद्धान्तले दिएको छ । यस मानेमा यो निकै क्रान्तिकारी छ।
फाइ( मेट्रीक युनिट ) भन्ने तत्व जहाँ भेला भएको हुन्छ त्यहाँ चेतनाको उपस्थिति भैहाल्छ। भन्नुको अर्थ जसरी मस्तिष्कमा अनगिन्ती प्रणालीहरु अन्योन्यास्रीत तवरले बसेका हुन्छ्न त्यसरी नै सारा ब्रह्माण्डको अनेकौं कुनामा अशेष प्रणालीहरु अन्तरसंबन्धित भएर बसेका हुन्छ्न ।
चेतना भनेको अनेकौं अन्तरसम्बधित प्रणाली मिश्रित भएको ठाउँमा नै जन्मने हो । ब्रह्माण्डभरी यस्ता प्रणालीहरुको संघटन अनगिन्ती भएको अर्थमा ब्रह्माण्ड पनि चेतना युक्त छ भनेको हो यो सिद्धान्तले।यो सिद्धान्त पानसाइकिजमलाई प्रयोगशाला मार्फत सत्य ठहर्याउने खेलमा लागेको छ भन्दा हुन्छ।
“हामी अत्यन्तै जटिल वस्तु हौं । स्व जागरुकता हामीमा अटेसमटेस छ। अरु बस्तुमा पनि जागरुकता भन्ने चिज हुन्छ। हामी र अन्य वस्तुले समान ढंगले अनुभव गर्ने जागरुकता भन्ने तत्वलाई नै चेतना भनिन्छ । जुन अनुभव क्षमताभित्र मामुली कुराको अनुभव देखि अति उच्च कोटिको धार्मिक अनुभव सम्म पर्दछ ” भन्छ्न क्रीश्टफ को।
आईआईटी (IIT) सिद्धान्तले भन्छ – चेतना वास्तविकताको एक आधारभूत अङ्ग हो। यसको स्वतन्त्र अस्तित्व हुन्छ । यसको संरचना हुन्छ। जस्तै कुनै पनि अनुभव आफ्नै संरचनाले बनेको हुन्छ। यो विशिष्ट किसिमको हुन्छ । यो अक्षुण हुन्छ । यो सुनिश्चित हुन्छ।
चेतनाको उदय त्यसबेला हुन्छ जब सिंगो प्रणालीमा अन्तर्निहित उप प्रणालीको बीचबाट सूचनाहरु बग्दछन। चेतनशील हुनको लागि संबंधित तत्व एकल र एककृत हुन जरुरी छ । र यसमा फाइ भन्ने तत्व अनिवार्य हुनुपर्दछ। यो तत्वको परिमाण उप प्रणालीहरु बीच हुने अन्तरनिर्भताको स्तरमा निर्भर रहेर बसेको हुन्छ।
अर्को शब्दमा भन्ने हो भने मानी लिउँ तपाइँको डेस्कमा सिक्काहरुको एउटा गुच्छा छ र प्रत्येक गुच्छा माथि न्युरोनहरुको गुच्छा राखिएको छ। यदि ती न्युरोनको मार्ग भएर बहने सूचनाहरु ती सिक्काको जिवनमा अर्थपूर्ण साबित हुन्छ्न भने ती सिक्कामा उच्च परिमाणमा फाइ छ भनेर बुझ्नु पर्दछ र सोही अनुरुप उच्च तहको चेतना पनि। फाइ भनेको चेतनालाई जनाउने एउटा ग्रीक शब्द हो।
तर यदि ती सिक्काहरु बिल्कुल अच्छा तरिकाले सबसिस्टमको रूपमा स्वतस्फूर्त काम गरिरहेका हुन्छ्न न्युरोनको उपस्थिति भए या नभए पनि र एउटा सिक्काले अर्को सिक्कासंग सूचना आदानप्रदान गर्न आवश्यक पनि हुदैन भने त्यहाँ फाइ तत्वको उपस्थिति हुन्न र यो फाइ तत्वको अनुपस्थितीमा चेतनाको पनि उपस्थिति हुन्न। कुनै पनि उपप्रणालीहरु बीच जति धेरै अन्योन्याश्रितता हुन्छ त्यति धेरै चेतनाको मात्रा पनि हुनेछ।
“एककृत सूचना आफैमा एक अमूर्त परिमाण हो तर यदि तपाईसंग एउटा विस्तृत विवरण सहितको प्रणाली छ भने यसको अमुर्ततालाई हिसाबकिताब गर्न सक्नु हुन्छ।” क्लेनरले भने र यो प्रणाली बायोलोजिकल नै हुनु पर्छ भन्ने छैन उनले थपे।
“मुल कुरा चाहिँ फाइद्वारा उत्पादित परिणामको रूपमा आएको अंक नै हो । यदि तपाइँसँग एउटा स्याउ छ भने तपाइँ सोध्न सक्नुहुन्छ कि त्यहाँ कति एकीकृत जानकारी छ, त्यहाँ कति ऊर्जा छ। एउटा कम्प्यूटरमा, या एन्ट्रोपीमा कति एककृत सूचना सन्निहित हुन्छ भन्ने बारेमा छ्लफल गर्न सकिन्छ । “
तपाईंको मस्तिष्कमा अगणित अन्तरसंबन्धित सिस्टम बसेको छ भने यो सिंगो ब्रह्माण्डमा झन कति अपरम्पार सिस्टम बसेका होलान ? सिस्टमहरु जम्मा हुने स्थानमा स्वतः चेतनाको उपस्थिति हुन्छ नै।
एककृत सूचनाको सिद्धान्त ( IIT ) ले धेरै हदसम्म सर्वमनोवाद ( panpsychism ) लाइ समर्थन गरेको देखिन्छ । यस सिद्धान्तले एउटा प्रोटोनमा समेत फाइ( phi) अर्थात चेतना हुन सक्छ भन्छ। स्याउ, थर्मोस्टेट , कम्प्यूटर, कुर्सी र डेस्क आदिमा मात्र होइन ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै चीजहरुमा चेतना लुकेको हुन सक्ने दावी यो सिद्धान्तले गर्दछ।
“अब रहयो प्रयोगात्मक प्रमाणको कुरा,धेरै किसिमको स्वतन्त्र अध्ययनहरुले एकीकृत सूचना र चेतना बीच पारस्परिक सम्बन्ध रहेकोे देखाएको छ” क्लेनरले भने।
के उसो भए उप प्रणालीहरुमा पनि चेतनाको अनुभव हुन्छ त ? हुँदैन । के सबै प्रणालीहरु सचेत हुन्छ्न त? हुदैनन ।
” यो एउटा ज्यादै जटिल एल्गोरिदम बोकेको सिद्धान्त हो । जब यस सिद्धान्तलाई एक विस्तृत गणितीय विवरणयुक्त भौतिक प्रणालीमा लागू गरिन्छ तब यसले त्यो प्रणाली सचेत छ वा छैन र यदि सचेत छ भने के कुरामा कति सचेत छ सो बारेमा जानकारी प्रदान गर्दछ,” क्लेनरले भने।
“यसको गणित यस्तो छ – यो सिद्धान्त अनुसार कुनै पनि वस्तु चेतनशील छ भने त्यो वस्तुभित्रको प्रणाली जे चिजले बनिएको छ त्यो चिज आफै चाहिँ चेतनायुक्त रहेको हुन्न। सम्पुर्णतामा चेतनाको अनुभव हुने हो अंशमा होइन । यही कुरा मस्तिष्कको हकमा लागू गरेर हेरौं । जस्तै तपाईंको दिमागको कुनै कोर्टेक्स सचेत हुन सक्छ तर जे चिजले कोर्टेक्स बनिएको छ त्यो चिज आफैंमा सचेत रहेको हुन्न।”
आफ्नै वास्तविकता बोकेको ब्रह्माण्ड
क्लेनरले भने, “यदि अंतरिक्षको कुनै एक कुनामा कणको एक अलग जोड़ी तैरिरहेका छन र त्यो जोडीले सहि तरिकाले अन्तरक्रिया गरिरहेका छ्न भने उनीहरुसंग अल्पविकसित प्राथमिक चेतना हुन सक्दछ।”
यस हिसाबले हेर्दा एककृत सूचनाको सिद्धान्त ( IIT) अनुसार यो ब्रह्माण्ड वास्तवमा चेतनाले भरिपुर्ण छ। तर के यसको असर ब्रह्माण्डको भौतिक क्षेत्रमा पनि पर्दछ ? यस सिद्धान्तको गणितले भने अनुसार भौतिक अंगमा यसको असर पर्दैन । चेतनाको अनुभुति भए पनि नभए पनि भौतिक प्रणाली भने स्वतन्त्र ढंगले आफै परिचालित भएको हुन्छ।
उदाहरणको रूपमा क्लेनरले एक कम्प्यूटरलाई अघि सार्छन । आईआईटीको गणितले कम्प्युटरमा चेतना हुन सक्छ भनेको छ । तर चेतना छ भन्दैमा कम्युटरले आफ्नो काम गर्ने तरिकालाई बदल्दैन भन्छ्न क्लेनर।
क्लेनरले भने, “यो सिद्धान्तको अध्यात्मिक आधारशिला अजिव किसिमको छ जुन एकदमै आदर्शवादी प्रकृतिको छ। यसले चेतनालाई पहिलो र पदार्थलाई दोस्रो स्थानमा राख्दछ। यो सिद्धान्तको अध्यात्मिक आधारलाई सठिक ढंगले नियाल्नको लागि हामीले यस उपर भएको गणितको प्रयोगमा केहि फेरबदल ल्याउदा झन सफासंग यसको अवस्थालाई बुझ्न सक्छौं सायद । “
हो ! यही कुराको गुत्थीलाई टुल र क्लेनर आफ्नो अध्ययनद्वारा सुल्झाउन लागि परेका छ्न ।
चेतनाको आकस्मिकतावादी सिद्धान्तहरुले भने जताततै भौतिकता मात्रै रहेको दाबी गर्दछन।
“चेतना पदार्थ भन्दा अलग हो र पदार्थ भन्दा प्राचीन हो भन्ने कुरालाई आकस्मिकतावादीहरु स्विकार्दैनन। उनीहरुको विचारमा चेतना एक विशिष्ट भौतिक घटना सिवाय केही होइन जसको उदय निश्चित परिस्थितिमा आधारभूत भौतिक मात्राहरु बीच भएको अन्तरक्रियाबाट हुन्छ भन्छ्न। ” क्लेनरले स्पष्ट पारे।
टुल र क्लेनरद्वारा प्रतिपादित आईआईटी (IIT)को गणित संस्करण भने यस मानेमा पृथक छ। यसलाई चेतनाको एक आधारभूत सिद्धान्त मान्न सकियोस भन्ने मनसायले अध्ययन गरिहेछ्न वैज्ञानिक द्वय ।
” यसले एउटा अति विशिष्ट शैलीमा चेतनालाई वास्तविकताको बनावटमा उन्न खोजेको छ।” क्लेनरले आफ्नो सिद्धान्तको बारेमा थप स्पष्ट पारे।
र यदि साच्चै यो ब्रह्माण्ड चेतनशील भएको प्रमाणित भयो भने ? त्यसपछि स्थिति के होला ? यो बुझाइले के कस्ता परिणामहरु ल्याउलान?
क्लेनरले भने, “यसका नैतिक प्रभावहरु हुन सक्छन। स्थिति त्यस्तो भयो भने हामीले चेतना भएका र चेतना नभएका प्रणालीहरुलाई एक आपसबाट छुट्याउनु पर्दछ र उनीहरुलाई फरक फरक ढंगले व्यवहार गर्नु पर्दछ।”
यदि यो ब्रह्माण्ड संचालन हुनमा चेतनाको भुमिका रहेको प्रमाणित भएमा यसको असर विश्वको वैज्ञानिक दृष्टिकोणमा भयंकर पर्ने कुरा क्लेनरले बताएका छ्न।
“यो ग्यालीलियो ग्यालीलीद्वारा शुरू भएको वैज्ञानिक क्रान्ति जत्तिकै भुकम्पनकारी हुनेछ।”