वास्तविक नाम भरत बहादुर भण्डारी तर नेपाली साहित्यको क्षेत्रमा सोझो गाउँलेको नामबाट स्थापित २०४४ सालमा बझाङको थलारामा जन्मीएका कवि गाउँले प्राध्यापन पेशामा सम्लग्न छन् हालसम्म उनको “मनको बाँसुरी” कविता सङ्ग्रह २०६४ “मरुभूमिमा हिमपात” कविता सङ्ग्रह २०७७ गरि दुई कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता
आँसुले भिजेको मरुभूमि
आमाको माया जस्तो घाम उतै छ
बाबाको छाया जस्तो जून उतै छ
प्रीयसीको स्पर्श जस्तो हावा
र बहिनीले बनाएको सर्बत जस्तो
पानी उतै छ.
सम्झनाको तरेलीमा अल्झिएको
एक मुठी सास छ मसँग यहाँ
खल्तीको घाउ दुखेर खपिनसक्नु भएपछि
हजुरबाको हस्तीहाड बन्दकी राखेर
आँसु लुकाउँदै अरब आएको हुँ
आगो पठाउन अँगेनोमा
भोकको भूकम्पले हल्लाएपछि घरको जग
पुरै जिन्दगी दाउमा लगाएर
कलिलो उमेरमा गाण्डीव उठाएको हुँ
प्राण बचाउन परिवारको
जीवनको जङ्गलमा सपनाका सुसेलीहरु हाल्दै
आफ्नै आगनमा वसन्त बोलाएर
बैँशको गीत गाउनु पर्ने बेला
बिरानो बस्तीमाआएर
आँसु बगाइरहेको छु
समयको सागरमा सम्भावनाको डुङ्गा खियाउँदै
विश्वविद्यालयका उज्याला भित्ताहरुमा
सुन्दर भविष्य सजाउनु पर्ने बेला
तातो बालुवामा छाती धसिरहेको छु
बाँझो पल्टाइरहेको गोरुले
निर्दयी हलीको चुटाइ खाएझैँ
अरबको लगातारको लात सहनु पर्दा
सुरु -सुरुमा अमरसिंहको आत्माले
आफुलाई धिक्कारे जस्तो लाग्दथ्यो
उँटहरुको बथानमा वर्षौं बिताउँदा
कतिबेला आफैँ उँट भइसकेछु
अब त यातनाहरु मेरा लागि
घोडालाई कोर्रा सरह भएका छन
अदक्ष डाक्टरहरुको असफल उपचारद्वारा
भेन्टिलेटरमा पुर्याइएको देशलाई
आवश्यक अक्सिजन जुटाउन
पचास डिग्री सेन्टिग्रेडमा म
मरुभूमिमा परेड खेलिरहेछु
हरेक वर्ष बर्खा लागेपछि
सपनाको खेती गर्ने सरकार
रगतसँग साँटेको रेमिटान्समा
रयाल चुहाइरहेछ ।।
डोको बुन्ने दाइ
जसले हुरीसँग मितेरी लायो
भीरलाई जिन्दगीको गोरेटो बनायो
भुमरीमा पनि उभिन सक्ने
महान योद्धाका अगाडि
यी अग्ला-अग्ला हिमालहरू
कति होचा र पुड्का लाग्छन
सगरमाथा तिम्रो कम्मरमुनि देखिन्छ
डोको बुन्ने दाइ !
सबै भन्दा शक्तिशाली मानिस हौ तिमी
कमजोर नठान आफूलाई
जसले पखान खोदेर पानी निकाल्यो
बन्जरलाई बस्तीमा बदल्न
जसले पसिनाको बादल खसाल्यो
उसैलाई खडेरीले खाएको देख्दा
यी हरिया–हरिया पहाडहरू
कति सुक्खा र उजाड लाग्छन
माहुरीले तिमीलाई गुरु मानेको छ
डोको बुन्ने दाइ !
सृष्टिकै श्रेष्ठ प्राणी हौ तिमी
अभिशप्त नसम्झ आफूलाई
सिपको बदला जसले सजाय पायो
सापटीमा जसले सर्वस्व गुमायो
पेटको घाउ दुखेर उसको
आँखाको बाढी जब उर्लेर आउँछ
यी स्वच्छ र निर्मल नदीहरू
कति फोहोर र दूषित लाग्छन
तिम्रा धमिलाआँसु निख्रिएर
बनेको हो नीलो समुद्र
डोको बुन्ने दाइ !
मेघ भएर गर्जिनु पर्छ अब
वाष्पीकरण गर आफूलाई
विधेयक र अध्यादेशका मस्यौदाले जहाँ
व्यापारीले आफ्नो डायरी भर्छ
समाजवादी पार्टीको सरकारले जहाँ
बहुराष्ट्रिय कम्पनीको विज्ञापन गर्छ
कात्रो किन्दा पनि कमिसन खोज्ने
कुनै घुस्याहा मानिस जस्तो
यो सिङ्गो विश्वव्यवस्था
कति भ्रष्ट र निकृष्ट लाग्छ
बाँस चिर्दाचिर्दा आफैँ चिराचिरा भयौ
डोको बुन्ने दाइ !
चिर्नै पर्ने चिज अर्कै रहेछ
अर्जापेर राख आफूलाई
माटो मुछ्नेहरूको मुटुमा नङ्ग्रा गाडेर
जहाँ गिद्दले लान्छ
भुईं पुछ्नेहरूको आन्द्राभुँडी सोहोरेर
जहाँ ब्वाँसोले खान्छ
जहाँ मान्छेले मान्छेलाई स्वादले चपाउँछ
मान्छेकै खुन खाएर जहाँ मान्छे मताउँछ
सपनामा समेत तर्साउन आउने
अत्याचारी शासकको अनुहार जस्तो
यो सभ्यता र समृद्धि
कति क्रुर र बर्बर लाग्छ
भालुसँग भिडेर जसरी
निगाला ल्याउँछौ लेकबाट
डोको बुन्ने दाइ !
आसुरी युगसँग लडेर त्यसैगरी
एक एक हिसाब लिनुपर्छ
इस्पात बनाऊ आफूलाई
प्रभुका चरणमा प्रसाद चढाएपछि
जहाँ सारा पापमोचन हुन्छ
कालोलाई सेतो बनाउन जहाँ
अनेक प्रपञ्च रचिन्छ
भगवानको नाममा भावनाको व्यापार हुने
यी मन्दिर, मस्जिद, गुम्बा र चर्चहरू
कति कुरूप र अपवित्र लाग्छन
चोया गाँछेर बुनेका हौ तिमीले
यो डालो जस्तो दुनियाँ
ए डोको बुन्ने दाइ !
असली ईश्वर त तिमी रहेछौ
मेरो सलाम छ तिमीलाई ।।
काफल बेच्ने केटी
अँध्यारो ढलिनसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरी लेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवन जस्तो घनघोर जङ्गलभित्र
वन्यजन्तुुसित डर लाग्दैन उसलाई
बरु सिकारीसँग डराउँछे
यसरी एकान्तमा एक्लै भेट्टायो भने
बाघले मृगलाई झैँ झम्टिन्छ सिकारीले
लक्खान चप्पल लतार्दै ओराले झर्छे
दुख्खको देउडा गाउँदै लेक बेँसी गर्छे
बाख्रा चराउँदा पाठीसित रमाउँछे
गाईलाई घाँस लाउँदा बहरसँग धकाउँछे
जिब्रोमा काँडो गाडेर गुजारा चलाउने हरिना
बस बिसौनी नजिक बसेर
कपडा किन्न काफल बेच्छे
जय पृथ्वीराजमार्गसँग जोडिएको
सुकुमबासीे बस्ती जस्तो बजारमा
मन अमिलो बनाउँदै
गुलिया काफल बेच्नुपर्छ
किनकि काफल किन्नेको आँखा
काफलको दानामा कम
उसको छातीमा बढी पर्छ
पचास रुपियाँ मानोको दरले
एक पाथीका फल बेचि सकेर
पेटिकोट किन्न कपडा पसलमा जाँदा
भदौको राँगोजस्तो पसलेले–
“लुगा सिउने सियोमा धागो छिराउन आउँछ ?”
भनेर चार चोटि सोध्छ
र चारै चोटि उसले
क्षितिजमा उल्झेको आकाश हेर्नुपर्छ
साहुको ऋणले थिचेर
सास फेर्न मुस्किल परेपछि
सात फेरो लाएको सात दिन मै
बम्मई लागेको लोग्ने
दिल्लीको देस्यानीसित सल्किएर
उतैतिर हरायो
न फर्केर आउँछ
न रैबार पठाउँछ
मात्र सुइनामी बोलाउँछ
बेकारमा मध्यरातमा जगाउँछ
अग्लो डाँडाले छेकेको छ माइतीगाउँ
त्यहीँ डाँडाजस्तै छ माइतीको मन
जहाँबाट आइरहन्छ एउटै सन्देश–
“घर खा छोरी घर खा !”
यता बैँसको बोझले थिचिएको हरिना
कुलको इज्जत जोगाउन
माइतीको नाक बचाउन
अस्पतालको वार्ड जस्तो घरमा
बुढी सासू रुँगेर बसेकी छे
पढाइ छुटाएर परिवारले
पन्ध्र वर्ष मै कन्यादान गरिदियो
अपरिचित युुवकलाई जीवन सुम्पेर
जन्मघरबाट बिदा भएकी थिई
तर अल्जाइमरको बिरामीले झैँ
बिर्सियो बैगुनीले उसलाई
बैगुनीले बिर्सिएको थाहा पाएपछि
डस्न थालेका हुन पराई आँँखाहरुले
जिन्दगीको यस्तो जोखिमपूर्ण यात्रामा
कहिलेसम्म एक्लै हिँड्न सक्छे ऊ ?
सैपालको शिरमा जमेको हिउँजस्तो उसको जवानी
कुनै बिरानो बादलले जुनसुकै बेला पगालि दिनसक्छ
खप्तडको पाटनमा फुलेको भुइँफुल जस्तो उसको परानी
कुनै विषालु शीतले जुनसुकै बेला सुकाइ दिनसक्छ
कर्नालीको तीरमा थुप्रिएको बालुवाजस्तो उसको जिन्दगानी
कुनै बौलाहा हुरीले जुनसुकै बेला उडाइ दिनसक्छ
शिशिरको सिरेटो जस्तो लाग्छ उसलाई समय
डढेलोले खाएको वनजस्तो लाग्छ गाउँघर
सेतीको बगरजस्तो लाग्छ जिन्दगी
र लुटेरा समूहको नाइकेजस्तो लाग्छ
उसलाई यो नकाबधारी दुनियाँ
तर धरतीको छातीमा टाउको राखेर
रुन सक्दिन ऊ !
भासुको भिरजस्तो भविष्य देखेर
मन बेचैन भइरहन्थ्यो उसको
तेल्या लेक नाघेर आएको बताससँग
अन्तिम पटक बात मारेपछि
उद्वेलित भएकी हरिना
अब पनि सासूकै छायामा सुस्ताउँछे ?
या नौ डाँडा काटेरै भएपनि मुस्काउँछे ?
अथवा काफलको हाँगोमा अस्ताउँछे ?