आनन्द श्रेष्ठ ।धरान ।
दोश्रो लहरको कोरोना संक्रमणबाट आक्रांन्त नेपालका विकट दुर्गम गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हङकङ नेपाली महासंघले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्टेटर नेपाल पठाएको छ ।
कोरोना संक्रमित गम्भीर विरामीहरुका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्धेश्यले महासंघले पठाएको सो सय थान अक्सिजन कन्सन्टेटरहरु स्थानीय गैर सरकारी संस्थाहरु, पश्चिमका विभिन्न जिल्लाहरुमा पुर्याउने काम थालिएको छ । शुक्रबार विहान दैलेख र कालिकोटको स्वास्थ्य चौकिमा अक्सिजनका कन्सन्टेटर वितरण गरी अछाम र मगलसेनको लागी गाडि हिडेको समाचार प्राप्त भएको छ ।
महासंघकी निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रीता गुरुडका अनुसार महासंघले हङकङ सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैर सरकारी संस्था बीच समन्वय गरेर नेपाल पठाएको हो । उनका अनुसार २०० थान अक्सिजन कन्सन्टेटर नेपाल पठाउने तयारी गरीएकोमा कार्गोको समस्याका कारण एकै पटक पठाउन नसकिएको हो । अब एक दुई दिन भित्रै थप एक सय थान अक्सिजन पनि पठाउने तयारीमा रहेको बताईन ।
सो मेडिकल उपकरणहरुको वितरणको व्यवस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानिय सामाजिक संस्थाहरुको समन्वयमा भईरहेको कुरा महासंघका वर्तमान अध्यक्ष टंक रानाले बताए । कोरोना महामारीले आक्रान्त गराएको विषम परीस्थितिमा पनि हेल्प नेपाल फाईट कोभिड १९ नाराका साथ महासंघले १० लिटर प्रतिमिनेट आफै अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्टेटर वितरण चाँडो गर्न प्रत्येक प्रदेशका लागि ढुवानी ट्रकको पनि व्यवस्था महासंघ आफैले गरेको अध्यक्ष रानाले बताए ।
चीनको कुनमिन शहरबाट प्रति कन्सन्टेटर १ हजार १ सय ५० अमेरीकन डलरमा खरीद गरीएको सो अक्सिजन एउटैको तौल ३० केजी रहेकोले एकै पटक कार्गो गर्न अप्ठयारो परेको बताए ।
सके सम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक एक एक थान अक्सिजन कन्सन्टेटर पुर्याउने लक्ष राखिएको कुरा महासंघका पुर्व अध्यक्ष प्रदिप थापाले बताए । नेपालीहरुलाई अप्ठयारो परेको वेला अक्सिजन उपलव्ध गराउने हङकङको चिनिया सामाजिक संस्था सोअर्सलाई धन्यवाद दिदै अर्को चरणमा १ लाख एन्टिजेन टेष्टिड किट पनि पठाउने तयारी भईरहेको गुरुङले बताईन ।

