रमेश के.सी.
मानसिक रोग आज संसारमा प्रकोपको रुपमा फैलदो छ । जनसंख्याको ३० प्रतिशत नेपालीहरु यस प्रकारको रोगबाट पिडीत छन । तर सरकारले मानसिक चिकित्सालाई प्राथमिकतामा राख्न सकेको छैन ।
आज एक्काईसौ शताब्दीको दोस्रो दशकमा संसारमा सडक दुर्घटना भन्दा आत्महत्या गर्नेहरुको संख्या धेरै छ । वातावरणीय विनाश, नयाँ प्रकारको सभ्यताको विकासले ल्याएको सकस, अमिल्दो जीवन शैली र चिन्ता निराशाले मानिसलाई मानसीक रोगी बनाएको छ ।
मानसीक रोगका आन्तरिक कारणहरुमा आनुवंशीक, जैविक र स्नायूगत गडबडी पनि प्रमुख रुपमा छन । मानिसको जीवनलाई नै समाप्त पार्न सक्ने कडा खालका मानसिक रोगहरुको अझै पनि वैज्ञानिक निदान हुन सकेको छैन ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार मानसिक रोग १३ प्रतिशत स्वास्थ्य बोझ हो । यसै क्रममा नेपालका मनोचिकित्सक डा. विश्ववन्धु शर्माको कृति “मान्छेको मन” प्रकाशन भएको छ । आफ्ने दशकौ लामो मानसिक चिकित्साको अनुभवलाई लिपीबद्ध गरिएको यो पुस्तक डा. शर्माको आत्मजीवनी पनि हो ।
विशेष गरेर आधुनिक कालखण्डमा शुरु भएको नेपालको मनोरोग चिकित्साको इतिहास र अवस्थालाई यो पुस्तकले बुझ्न मद्दत पुरयाँउछ । सिजोफ्रेनियाका विरामीहरुको प्रसङ्ग बारम्बार पुस्तकमा आईरहन्छ । मनोचिकित्सक युजीन ब्लुलियरले पत्ता लगाएको सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो ।
४ प्रकारको हुने यो रोगमा बिरामीलाई विभ्रम, डर, दुश्चिन्ता, नभएको आवाज सुन्ने र दृश्य देख्ने जस्ता लक्षणहरु हुन्छन । विश्वको हरेका समाजमा पाइने यो रोगको उपचार मात्र हुन्छ भने पुर्ण रुपमा निको हुन सक्दैन ।
डा. शर्माले यही सिजोफ्रेनियाबाट ग्रस्त कैयौं रोगीहरुको उपचारका क्रममा आफुले संगालेका अनुभवहरु पस्किएका छन । कतिपय विरामीहरु घरै छोडेर हिडेका छन । कतिपयले आत्महत्या सम्म गर्दछन ।
विषादका विरामीहरुको आफ्नै कथा छ भने बाइपोलरका विरामीहरुको दुखदायी मनस्थितीको चित्रण पनि गर्दछन । मध्य युगमा मानसिक रोगीलाई धार्मीक दृष्टिकोणले हेरिन्थ्यो । दानवले आत्मालाई कब्जामा लिएपछि उक्त व्यक्ति मानसिक विरामी हुन्छ भन्ने भ्रम थियो । प्रशिद्ध फ्रान्सेली विचारक मीसेल फुकोले सभ्यता र पागलपन भन्ने पुस्तकमा १२औं र १९औं शताब्दीमा फ्रान्सका मानसिक रोगीहरुलाई कसरी राखिन्थ्यो र उपचार गन्थ्यिो भन्ने विवरण दिएका छन ।
उनका अनुसार मानसिक रोगीहरुलाई बन्दीगृहमा कैद गराईथ्यो । उनिहरुलाई अमानविय ढंङ्गले व्यवहार गरिन्थ्यो । र “अन्य” वर्गमा रुपान्तरीत गरिन्थ्यो । सन् १९५० यता अमेकिामा मानसिक रोगका नयाँ औषधीहरु पत्ता लागेपछि यसको आधुनिक ढंङ्गले उपचार शुरु भएको हो ।
बैज्ञानिक अनुसन्धानले आज मानसिक रोग ब्लड प्रेसर र चिनी रोग जस्तै शारिरिक रोग बनेको छ । मानसिक रोगको बारेमा अझपनि समाजमा भ्रमहरु छन जसका बारेमा डा. शर्माले पुस्तकमा लेखेका छन् ।
उनका अनुसार नियमित चिकित्सकको सम्पर्कमा औषधी सेवन गरे र जीवनशैली सन्तुलीत बनाएका यस रोगका उपचार सम्भव छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २२ लाख नेपालीहरु कुनै न कुनै प्रकारका मानसिक रोगबाट पिडीत भेटीन्छन । सरकारले जसका लागि ४.२९ प्रतिशत बजेट २०१८–२०१९ का लागि छुट्याएको थियो ।
नेपालका ३० प्रतिशत जनसंख्या मानसिक रोगबाट पीडीत हुँदा ९० प्रतिशतलाई उपचार सम्म पहुँच छैन । जसका लागी २ प्रतिशत डाक्टर र नर्सहरु कार्यरत छन । नेपालमा १३० जना मानसिक चिकित्सकहरु छन । जसमा ३० जना मात्रै सरकारी अस्पतालमा कार्यरत छ्न । यसले नेपालमा मानसीक रोग चिकित्साको दयनिय अवस्था देखाउँछ ।
साधन स्रोतको कमीले पुनस्थापना गर्नु पर्ने कार्यका समस्याहरु छन । चिकित्साको लागि मानवीय स्रोत आर्थिक लगानी र क्लिनीकहरुको अभाव देखिन्छ । रुसबाट मानसिक चिकित्सामा डिग्री हाँसील गरेका डा. शर्मा नेपालमा मानसिक उपचारको बैज्ञानिक विधी अपनाउने पहिलो पुस्ताका चिकित्सक हुन ।
जागीरे जीवन र स्वतन्त्र अभ्यास मार्फत नेपालमा मानसिक चिकित्सा गर्दै आएको उनको अनुभवको यो पुस्तकले मानसिक रोग साहित्यमा योगदान गरेको छ । नेपाल जस्तो अन्धविश्वासी अविकसीत र कृषि प्रधान समाजमा मानसिक चिकित्सकको रुपमा कार्यरत डा. शर्माको अनुभव पक्कै पनि पश्चिमी परिवेशका डाक्टरहरुको भन्दा भीन्न र मौलिक छ ।
विश्वमा हरेक वर्ष बढदो यस रोगका बारेमा अझै पनि जनसमुदाय सुसुचित छैनन। न्यायधिश देखि सर्वसाधारण सम्मका उपचार गरेका उनिसँग कतिपय मानसिक रोगीहरु सडकमै बेवारीसे भएको अनुभव पनि छ ।
विगत ३८ वर्ष देखि नेपालीहरुको मानसिक उपचारमा संलग्न डा. शर्माको अनुभवबाट भविष्यका मानसिक रोग चिकित्सकहरुले पनि सिक्न सक्छन भने मानसीक रोगका पीडीतहरुले यो पुस्तकबाट धेरै शिक्षा लीन पनि सक्छन ।
मानसिक रोग लाग्दैमा जीवन सकिदैन भन्ने सन्देश उनले पुस्तक मार्फत दिएका छन । मानिसको जीवन चक्रलाई नै आघात पुरयाउने यो रोगका लक्षणहरु अदभुत र असाधारण हुने कुराबाट पाठकहरुले मानसिक रोगको पुर्व लक्षणहरुको बारेमा जानकारी प्राप्त गर्नेछन ।
अझैपनि मानसीक रोगलाई धामी झाँक्रीको झारफुक मार्फत उपचार गराउने चलन रहेका बेला यसको बैज्ञानिक उपचार तर्फ मानिसहरुको विश्वास पुस्तकले बढाउछ ।
विश्व प्रसिद्ध लेखक अलवेयर कामुले भनेका थिए कि आत्महत्या आधुनिक दर्शनको समस्या हो । मानसिक रोग चेतनामा वा मानीसको बीइङमा आघात पुरयाउने रोग हो । यसर्थ यसको दार्शनिक प्रश्न झन बढदो छ । किनकि सभ्यताको विकास हुँदा पनि मानिसहरु मानसिक रोगबाट पीडीत छन र प्रश्न यथावत छ ।
नेपाली समाजमा पनि आश्चर्य जनक रुपमा बढदो यस रोगको सामाजीक, जैविक र वातावरणीय कारणहरुबारे बहस हुन जरुरी छ । यही बहसलाई पुस्तकले थालनी गरेको छ ।
मस्तिष्कमा जैविक रसायनहरुको कमी कमजोरीले हुने वैज्ञानिक धारणा छ । स्नायू विज्ञानको क्षेत्रमा भएको विकासले यस क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सक्छ । आज अमेरीकामा मस्तिष्कको सम्पुर्ण अवयवका बारे बैज्ञानिकहरु अध्ययन अनुसन्धान गरीरहेका छन । यसबाट प्राप्त हुने परिणामले निश्चय पनि मानसिक चिकित्साको क्षेत्रमा योगदान दिने छ भन्ने आशा राख्नु पर्छ ।