– डा. गोविन्दराज भट्टराई
भाग— १
भोलि हामी ग्रीसको लामो यात्रामा निस्कने भएका छौँ । त्यसैले बिहानैदेखि झोला सुटकेश मिलाई यात्राको अन्तिम तयारी गर्नु परेकाले गर्दा आज अति व्यस्त हुनुपरयो । लामो यात्रा छ हाम्रो, तीन हप्ताको ।
ग्रीसको नाम मात्र लिनाले पनि मेरो हृदयमा आनन्द र उत्साहको संचार हुन थाल्छ । यो मानव सभ्यताको आदिम कोक्रो, यसको सम्झनाले सबको हृदयलाई छुन्छ । मेरो यस भूमिप्रति गहिरो प्रेम र श्रद्धा छ । त्यसैले मलाई एक अज्ञाात तृप्तिले ढाकिदिन्छ । ग्रीस जाने भन्ने अन्तिम निर्णय लिएदेखि मलाई त्यस्तो हुँदै आएको थियो ।
मैले अंग्रेजी भाषा र साहित्यको अध्ययन गर्ने क्रममा वर्षाैंदेखि ग्रीसबाट कति सन्दर्भ उद्धृत गरेँ हुला, कति कति वर्षदेखि । पाश्चात्य शिक्षा र ज्ञानको जुनसुकै क्षेत्र रोजेपनि त्यो प्राज्ञिक यात्रा ग्रीसबाटै आरम्भ हुन्छ । राजीतिशास्त्र होस् या औषधी–विज्ञान, भाषा साहित्य वा समालोचना, खेलकुद, दर्शन वा नाट्यशास्त्र । त्यसैकारण हामी बारम्बार अल्फ्रेड नर्थ ह्वाइटहेडको भनाइको उद्धरण गर्छौ: युरोपेली दर्शन परम्पराको एक सुरक्षित विशेषता के छ भने यो चाहिँ प्लेटोको अनेकौँ पादटिप्पणीले बनिएको हुन्छ ।
यो कहिल्यै कल्पना नगरिएको अवसरका लागि म आफ्नो विश्वविद्यालयप्रति आभारी छु । विशेष गरी एक स्वतन्त्र प्राज्ञिक व्यक्तित्व डा. मनप्रसाद वाग्ले र डीन प्रा.डा. नरेन्द्रबहादुर महर्जन । (दुःख लाग्छ प्रा. महर्जन केही वर्ष अघि दिवंगत हुनुभयो ।) यो सम्मानित संस्था (त्रिवि) मा मचाहिँ एक सहायक डीनको रुपमा सेवा गर्दैछु ।
यो मेरो युरोपतर्फको प्रथम यात्रा हो । यद्यपि मैले यो वर्षको शुरुमा अर्थात् गत मार्च महीनामा अमेरिकाको भ्रमण गर्ने अवसर पाएको थिएँ । नेल्टा (नेपाल अंग्रेजी भाषा शिक्षक संगठन) को अध्यक्षको नाताले म टिसोलद्वारा प्लोरिडामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको थिएँ । त्यसबाट मैले एक उत्तेजक र आनन्दकर अनुभव ग्रहण गरेको थिएँ । त्यो विश्वभरिका पाँचहजार अंग्रेजी शिक्षकले भाग लिएको तीन दिने सम्मेलनमा चारसय सेसन चलेका थिए । यो अवसर मेरो निमित्त एक दैवी कृपा र आशीर्वादको परिणाम जस्तै थियो ।
यसपालिको यो यात्रा मेरो निमित्त युरोपको प्रथम भ्रमण हो । एयरपोर्ट पुगेर मैले काठमाडौँ शहरतिर एक अन्तिम दृष्टि दिएँ । यो प्राचीन उपत्यका वरिपरिका हरिया जंगलले वेष्ठित छ र ती जंगलहरु विस्तारै उठ्ने पहाडहरुलाई हरियो न हरियो पार्दै उकालिन्छन् । तिनै डाँडाहरुको काखमा अनन्तसम्म फैलिने जसरी एउटा जंगलको विस्तार हुन्छ । त्यो जंगल हो कङ्क्रिटको, घरैघरको । झलक्क हेर्दा यो एक भव्य विस्तृतिको अमूर्त कला जस्तो लाग्छ । मैले शिर निहुराएर मेरो प्यारो आवाश यो काठमाडौँसित बिदा मागेँ ।
अक्टोबर महीना भर्खर आरम्भमा छ । अब ठूलाठूला पर्वहरु शुरु हुनेछन् । दशैँ छ, सामनेमा तिहार छ । यो शरद मासका अति आनन्दकर, तथा रमणीय समशीतोष्ण जलवायुले उपत्यकालाई स्वागत गर्नेछ । ग्रीसको त्यो उष्णकटीबन्धीय (ट्रपिकल) भूमिमा यतिखेर कस्तो जलवायु होला म भन्न सक्तिनँ ।
हामी बाह्र जना मित्रको एक मण्डली थियो, सबै त्रिविका अध्यापकको । त्यसदिन त्रिभुवन विमानस्थलबाट एकाबिहानै जेट प्लेन उड्ने भनेर त्यहाँ भेलिएका थियौँ । आज हाम्रो पालामा परेको यो कतार वायु सेवाको जहाज रहेछ । कतार एयर नामको यो जेट प्लेनमा हामी कौतुहलतासाथ चढ्यौँ । मेरो लागि आज तेस्रोपल्ट म यत्रो जेट प्लेन चढ्दैछु । मलाई पहिलोपल्ट सन २००३ मा पाकिस्तानसम्मको जेट प्लेन चढाउने व्यक्ति आफ्नै गुरु प्रा. डा. जयराज अवस्थी हुनुहुन्थ्यो । दोस्रोपल्ट ता त्यसको चारवर्षपछि नेल्टा अध्यक्ष भएको मलाई अमेरिकी सरकारले उडाएको थियो । (सबै मेरा गुरुहरुकै कृपा हो ।)
यो काठमाडौँ उपत्यका दश लाख देवी–देवता अनि बीस लाख मानिसको वासस्थान हो । मैले शिर निहुराएर यस्तो काठमाडौँ उपत्यकासँग हिँड्ने बेलामा पुनः बिदा मागेँ ।
कतार एयरमा चढेर लहरै बस्यौँ । आज पनि क्याबिनको पर्दामा ‘ओरिक्स’ नाच्न थाल्यो । मिर्ग वा जरायो वर्गको, अलिकति गधा जस्तो पनि लाग्ने मरुभूमिको जीव त्यो ओरिक्स कतारको राष्ट्रिय जनावर रहेछ । पर्दामा उफ्रेको अलेलि होइन त्यो ।
हाम्रो यान दुई घण्टा विलम्ब थियो । छुट्ने बेलामा कर्मीदल (क्रू) ले विलम्ब भएकोमा क्षमा याचना गरे । जहाजले जमीन छोड्दा ९ः३० भएको थियो ।
हामीमध्ये एक जना त्रिविका मित्र प्रोफेसर तुलाधर पनि थिए । उनी फ्रान्सको प्यारिस जान उडेका । उनको सीट मेरो नजिकै परेछ । दोहाको ट्रान्जिट (कतार) सम्म उनी एकै प्लेनमा हुनेछन् । त्यसो त दोहामा पुगेर झन्डै आधी जस्तो यात्री ओर्लिने छन् ।
सबै कुराको सुनिश्चित भइसकेपछि त्यो भीमकाय यन्त्रले धर्ती छोड्यो । धर्ती छोडेपछि पनि त्यो भीमकायले शहरका छाना माथि माथि फन्का मार्दै उक्लेर अझै माथि फन्का मार्न थाल्यो । अनि झन्झन् माथि उचालिँदै झन माथि चढ्दै उपत्यकाभन्दा धेरै माथिको गगनाञ्चलमा पुगेर फनक्कै घुम्यो अनि दक्षिण दिशातिर कोल्टियो । त्यो गहिरो शारदीय नभोनीलमा पसेर टाढा दक्षिणतिर कतै अदृश्य भयो। अर्थात् हामीले उपत्यका र परिवेश देख्न छाड्यौँ । माथिबाट हेर्दा यो धर्तीमा अब कताकति हरिया टाटा देखिन्थे, कतिबेला नग्न उजाड स्थान जस्तो आउँथ्यो, बोक्रा ताछेको कुनै नाङ्गो जिनिस जास्तो ।
नदीका ससाना नीला डोराले घुम्दै सर्पिल मार्ग बनाएका, तिनीहरुलाई फुस्रो खैरो रङले चुमेको जस्तो । माथिबाट हेर्दा देखिएको कस्तो रमाइलो !
काठमाडौँदेखि साढे चार घण्टाको उडान साँच्चै आनन्दकर थियो । धेरै माथि नील गगनको असीम दहभित्र पसेर हाम्रो यान शायद धर्तीबाट हेर्नेहरुको लागि अदृश्य भयो होला । ससाना छुट्याउन नसकिने वस्तु र आकृतिहरुले टाढाटाढा धेरै तलको पृथ्वीलाई सजाएको देख्यौँ ।
उडेको आधा घण्टा पश्चात् एक युवती आइन र हामीलाई कागजका न्याप्किन बाँड्दै हिँडिन् । ती रुमाल वासनदार थिए, केको हो म भन्न सक्तिनँ । ती रुमालले हात पुछ्यौँ, अनुहार पुछ्यौं। यसले अब हाम्रो दिवाभोजनको समय भयो भन्ने सङ्केत गरयो । मैले टिकट काटता ‘शाकाहरी’ लेखाएको थिएँ ।
तर वास्तवमा यो पनि आजको दिन मैले खानु नहुने हो । आज घरमा पिताजीको श्राद्धको दिन छ । म पनि घरै बसेर त्यो संस्कार सम्पन्न गर्नुपर्थ्यो,सम्झेर मन कटक्क हुन्छ । हेर्नु नि यो सारा कसरी परिवर्तन भएर आयो । अहिलेको मानिससँग आफ्नो इच्छा छैन, ऊ ता परिस्थितिको दास मात्र भयो । म देख्तैछु प्राचीन सांस्कारिक नियमहरु टुट्तै छन् । मनमनै दुखित हुन्छु तर फेरि उता असहाय जस्तो पनि भएको छु भन्ने सत्य पनि स्वीकार्छु । विश्वमानव यस्तै छ; ऊ विवश छ । मेरो लागि यात्रा मिति सार्ने कुरा आउँदैन थियो ।
मेरो शाकाहारी खानाको बट्टामा मलाई भिजिटेबल कटलेट ल्याएर दिए । सोध्ने कुरा भएन केको तेलमा पकाए । एक गिलास जूस थियो, सुन्तलाको, दुई टुक्रा गहुँका रोटीमा सानो एक कटौरा फलफूलका चाना, पानी, कोक यस्तै पदार्थ थियो । मैले खानु हुँदैन थियो त्यो खाएँ, घरैमा बसेर श्राद्ध गर्नुपर्ने आजैको दिन यात्राको साइत बनाएँ तर मैले होइन । मेरो पछिल्तिर एक दुर्दमनीय परिस्थिति छ ठडिएको । यो सोह्र श्राद्धमा पनि अकासैभरि जेट विमान उडिरहेका छन्, म जस्ता श्राद्धको दिन उड्न बाध्य अरु पनि कति होलान् आकाशभरि भनेर चित्त बुझाएँ ।
संयोगवश बेलायत जान लागेका वृटिश गोर्खामा काम गर्ने एक जना सिपाही पनि हाम्रा साथमा उड्दै रहेछन् । उनको नाम हो जगत् नबोदित (राई) । म उनलाई एक कविको रुपमा चिन्दथेँ । उनी मेरा साहित्यिक कर्मसित पनि सुपरिचित रहेछन् । यतिखेर बेलायतको कुनै भागमा खटाइएका एक वृटिश सेनानि उनी । उनी र अर्का स्रष्टा मिजास तेम्बे एकै पल्टनमा रहेछन् । बेलायती सैन्य सेवामा कार्यरत एक युवा समूहले सीमाहीन विम्बहरु नामको एक युद्ध कविताको पनि संग्रह निकालेका छन् । यसभित्र दुइ दर्जन नेपाली सैन्य कवि रहेका छन् । मैले यस कृतिमा पनि भूमिका लेखेको थिएँ । यसका मिजास र जगत दुवै सम्पादक हुन् । त्यसकारणले जहाजभित्रै वर्तिर–पर्तिर बसेर हामीले बात मारयौँ अनि साहित्यिक चर्चा गरयौँ । मलाई जगतले एउटा प्रश्न सोधे— अब हामी नेपाली साहित्यमा कसरी अघि बढ्न सकौँला सर ?
सो प्रश्नको उत्तरमा मैले भनेँ— प्रिय भाइ जगत्, तपाईंहरुको प्रथम कर्तव्य नै नेपाली साहित्यको अध्ययन हुनेछ । घरदेश र परदेश दुवै भूमिबाट उत्पादित सारा नेपाली साहित्यबारे जानकारी राख्नुहोस् । अनेक डायास्पोरिक केन्द्रबाट आज नेपाली भाषामा सिर्जना हुँदैछ, ती सारा पढ्नुपर्छ, पढ्नुहोस् । आज नेपाली जाति जगतभरि वितरित छन् । मेरो सल्लाह छ, हामी जस्ता अरुको पनि पढ्नोस् । सल्मान रुश्दी पढ्नुहोस्, भिएस नैपल पढ्नुहोस्, रोहिन्टन् मिस्त्री, झुम्पा लाहिरी । यस्ता महान् लेखकहरुको अध्ययनबाट हाम्रा विविध नेपाली डायास्पोरामा नेपाली भाषा साहित्य कहाँनेर छ भन्ने कुराको ज्ञान मिल्नेछ । अर्थात् हाम्रा डायास्पोरिक लेखनको स्तर के छ भन्ने तथ्य बुझिनेछ ।
त्यसपछि साथसाथै म टीभीको स्क्रीनमा हेर्छु— यो जहाज कहाँनेर कुन गतिमा उड्दैछ भन्ने देखाउँछ । यतिखेर दोहाको चुच्चे द्वीपको सीधा माथि पुगेको रहेछ । हामीले चार लामा घण्टा वायुमण्डलमा व्यतीत गरिसकेछौँ । त्यसपछि कर्मीदलहरु आए आफ्ना कम्बल उठाए, ‘सीटका पेटीहरु कस्नुहोस्’ भन्ने सूचना सुनाए । पेटी कस्यौँ, सीट ठड्यायौँ । अब निकै टाढा यहाँबाट एउटा भूआकृति जस्तो देखिन्छ । समुद्र सकियो होला । अब दोहाको नजिक पुगिएको हुनुपर्छ ।
बेलाबेला बोल्दै अरुबेला म एक नर्वेजियन लेखक जोस्टेइन गार्डरको मास्टरपिस् सोफिज वल्र्ड पढ्दै बसेँ । जीवनमा एक अपरिहार्य र अति पठनीय कृति; यसको कथाले पनि भर्खर ग्रीसको वर्णन छोएको मात्र थियो । कस्तो शक्तिशाली भाषा, यस्तो लेख्न जाने पो । यसको सुललितता यसका महान् दार्शनिक विचार कति सरल भाषामा प्रस्तुत छन् । यसले पाठकको हृदयको दृष्टि खुलाउँछ खासगरी ग्रीसेली र रोमन सभ्यताको एक जीवन्त चित्र देखाउँछ । तर यसलाई मैले आज धेरै ता पढ्न सकिनँ । फेरि पढौँला ।
हाम्रो जहाज दोहा पुग्दा एक बज्नै लागको थियो । सारा बाह्य जगत कुहिराले ढाकेको देखिन्छ । तर नजिक पुगेर हेर्दा मात्रै त्यो प्रस्ट भयो त्यो त कुहिरो होइन रहेछ तर केवल बालुवानी थियो । अनि बालुवाका अगणित ढिस्का थिए । सर्वत्र सारा स्वेत मरुभूमि कताकति ताडीका वृक्ष माथि न माथि आकासमा बयेली खेल्दैछन् । कताकति नरिवलका बोटहरु तिनीहरु
(ताडी) सित नारिएर उभिएका छन् ।
हामीले केवल चिनीका सेता थुप्रा देख्यौँ कि ता नूनका कि त हिउँको पत्र पो हो कि कहिल्यै नदेखेको यस्तो विस्तृति ! होइन, गहिरिएर हेर्दा यो अनन्तता सारा बालुवाको विस्तृति रहेछ; अनन्त मरुभूमिको एक छेउ । हजारौँ नेपालीहरु यही भूमिमा छन्— कस्तो शितल स्वच्छ प्रदेशमा जन्मे हुर्केका हाम्रा नेपाली नागरिकहरु आज यस्तो मरुभूमिमा छन् । उनीहरुले यस्तामा कसरी काम गर्दा हुन् । कस्तो पाराले जोगिएर बानी परेर यस्तो मरुभूमिमा ! यहाँभित्र पसेर तिनीहरुको जीवन र कर्मको अध्ययन गर्ने मन थियो, कहिले होला !
तर हामी आज अर्कै उद्देश्यले बाँधिएका छौँ । त्यसैले तत्कालै ट्रान्जिट भित्र पस्यौँ । त्यहाँ एकैछिन सुस्ताउन पाइयो, फोटाहरु खिच्यौँ डिजिटल क्यामेरा बोकेका थिए । रील नचाहिने खालका । अब हाम्रो यात्राको दिशा परिवर्तन गर्ने बेला भएको थियो । अब ग्रीस जाने अर्काे उडान पक्रिनु थियो । दुई घण्टाजति समय चेकिङ्ग इत्यादिमा लगाएपछि हामीले अर्काे जहाज चढ्नुपर्ने भयो । एउटा कतार एयरभन्दा निकै सानो जहाजले हामीलाई पर्खिरहेको थियो । यो ता ग्रीसको राजधानी एथेन्स शहर जाने जहाज रहेछ । हामी स्थानीय समय १२ः३० मा चढ्यौँ । धेरै नेपाली दोहामै ओर्लेका थिए । कोही फ्रान्स लागे कोही बेलायततिर छुट्टिए, केही रसिया, अनि कता कता । संसारको अन्य भागतिर जानेहरु त्यहीँबाट छरिए । यो एक ठूलो अन्तर्राष्ट्रिय हवाइ अड्डा रहेछ । हामी लाग्यौँ ग्रीसको राजधानी एथेन्सतिर ।
८ सेप्टेम्बर २००६
सामोस, ग्रीस
( प्राध्यापक डा. गोविन्दराज भट्टराई नेपाली साहित्यका एक विशिस्ट समालोचकको रूपमा स्थापित नाम हो । उपन्यास, नियात्रा र निबन्ध विधामा उहाँको लेखन कारिगरिता उपल्लो कोटि कै मानिन्छ । लामो समयसम्म भाषा–साहित्य र शिक्षाको अध्यापनपछि त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त भट्टराईका मुग्लान, मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरीजस्ता उपन्यास, तथा उत्तराधुनिक ऐना, उत्तराधुनिक विमर्श, समयबोध र उत्तराधुनिकता, काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तराधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीको बाछिटा आदि समालोचनाका अनेक ग्रन्थ प्रकाशित छन् )