सञ्जय तुम्बाहाङफे

हु…..!
हु…….!!

मध्यरातको चकमन्नलाई बिथोल्दै माकलुङ्गे डाँडाको ठुलो कटुसको बोटमा बसेर एकोहोरो कराइ रहेको हुचिलको अवाजले खेसेमा ब्युझिन्छिन्। खेसेमा ब्युँझिदा टाउको,ढाड,तिग्रा,देखि हातखुट्टा सम्मै चसक्क चसक्क दुखीरहेको थियो । दुखेका यी शरीरका सबै भागहरुमा ध्यानपुर्वक छाम्न थाल्छिन्।

टाउकोमा निक्कै ठुलो चोट लागेको रहेछ। ढाडमा दुई ठाउँ नीलडाम। त्यसैगरि लुङ्गी नै छिचोलेर तिग्रा र खुट्टामा दुइ ठाउँमै गहिरो चोट लागेको रहेछ। टाउकोबाट त अझैसम्म पनि रगत चुहिरहेको थियो । खेसेमाले पाँच घण्टा अगाडिको घटनालाई जब्बरजस्ती सम्झीन थाल्छिन्।

त्यो समय पनि लाहाङ जाँडले मातेर आएको थियो । रडाको मच्चाएको थियो सधैं झैं । खेसेमा पनि उत्रीएकी थिइन् प्रतिकारमा । लाहाङ मातेपछि स्वास्नी प्रति जाई लाग्नु र लोग्नेको शोषणमा खरो र दह्रो भएर खेसेमा प्रतिकारमा उत्रीनु त्यो घरको नियमित प्रक्रिया जस्तै भइसकेको थियो ।

खेसेमाको होचो कद भए पनि उनको शरीर खँदिलो थियो र उनि एकदमै फुर्तिली थिइन । नशाको अर्धहोसमा कुनै हालतमा पनि लाहाङले खेसेमा लाई हराउन सक्दैन थियो । लाहाङले दुई मुक्का हान्दा खेसेमाले पाँच लात हानि सक्थिन।

यो पटक लोग्नेको हातमा निक्कै ठुलो चिर्पट थियो । खेसेमा माथि उसले अन्धाधुन्ध त्यो चिर्पट प्रहार गर्न थालेकोले खेसेमाले छल्दाछल्दै पनि कसो कसो चिर्पट खेसेमाको टाउकोमै बज्रीन पुगेको थियो।

चिर्पटको प्रहारले खेसेमालाई रिंगटा लागेको थियो र उनि चुल्हो नजिक ढलेकी थिइन। त्यसपछि पनि लाहाङले उनिमाथि निक्कै पटक जथाभावी चिर्पट प्रहार गरेको थियो। त्यसपछि खेसेमा अर्धचेत अवस्थामा पुगेकी थिइन।

प्रत्येक अङ्ग चसक्क-चसक्क दु:खीरहेको थियो । खेसेमाले दाह्रा किट्दै मनमनै बोल्छिन्। “तँलाई आज जिउँदो कहाँ छोडुंला।” जतिजति दुखाइहरु बढ्दै जान्थ्यो उ भित्रको बदलाको आगो उतिनै झन झन बढेर आउँथ्यो।

यसले एकदिन पनि शान्तले बाँच्न दिएन दुखाइले शरिर गह्रुँगो भएपनि मन भित्रको आवेगले गर्दा गह्रुँगो शरीरलाई जुरुक्क उठाउँदै खेसेमा मनमनै बोल्छिन् ” म माथि यति ठुलो अत्याचार गर्नेलाई त्यतिकै त कहाँ छाड्छु।”

एउटा दैलो बन्द थियो भने अर्को चाहीँ खुल्ला थियो । एउटा खुट्टा खाटबाट तल भुइँमा लतारेर लम्पसार परी लाहाङ सिकुवाको खाटमा मस्तले घुरिरहेको थियो । दैलामा उभिएर उसको घृणित अनुहार नियाल्दै खेसेमा अनेक सोच्न थाल्छिन ।

यसलाई म के गरौँ ? जसरी मलाई चिर्पटले हिर्काएको थियो त्यसरीनै हिर्काउँ की ? अहँ ! त्यो पनि कम हुन्छ। की खुकुरीले छप्काउँ त्यसको गर्दनमा ? त्यसरी त यो मर्छ होला ! यो बाँचेर त मलाई जीवनभर चोट दिईरहन्छ। यो मर्यो भने त मलाई पक्कै शान्ति मिल्छ। की यसलाई साँच्चै मारिदिउँ ?

खेसेमाको मनमा अब अघिको भन्दा दोब्बर बदलाको आगो दन्किन थाल्छ। बदलाको आवेगमा कतिबेला उसको मनमा अपराध टुसाएको उसलाई नै थाहा हुदैन।

“हो यो साँच्चै मर्नुपर्छ। यो मर्यो भने जीवनमा मैले दिनदिनै झगडा गर्नुपर्ने छैन। हरेक चोटी मुक्का र लात सहनुपर्ने छैन।” खेसेमाको मनमा अनेक कुराहरु बेगन्ती खेल्न थाल्छन। दैलाबाट निस्किएर पाइखानामा छिर्छिन र पिसाब फेर्दै सोच्न थाल्छिन ।
पाइखानाबाट निस्किएर सुंगुरको खोर नजिक केहिछिन उभिएर अर्को कुरा सोच्न थाल्छिन् “यसलाई मारेपछि जेल त जानैपर्छ सजाय भएपनि आधा मिनाहा होला । ज्यान नै तलमाथि हुन सक्ने गरि पिट्न थाले पछि बच्नको लागि आफुले नि हात फर्काउँदा अन्जानमा कुठाउँ मै लागेर लोग्नेको ज्यान गएको भन्ने भएपछि कसो सजाय आधा मिनाहा नहोला !”

त्यसपछि खेसेमा पिँढीमा थ्याच्च बस्छिन। र घर,गोठ,कोठेबारी,सबैतिर हेरेर फेरी सोच्न थाल्छिन।

“तल्लो घरकी फिपेको आमालाई यो सब जिम्मा लगाईदिन्छु केहि साल छाड्दैमा यी सब हराउने हैनन बिलाउने हैनन।”

पिँढीबाट जुरुक्क उठेर खेसेमा चढछिन घरको बिच तलामा। एक कुनामा राखिएको घैंटोको स्याउलाको बिर्कोलाई खोलेर भर्खरै छिप्पिएको जाँड झिक्छिन र दुई बटुका जति छान्छिन।

एक बटुका स्वाट्टै पारेपछि फेरी सोच्न थाल्छिन् ।” के ले हान्दा छिटो त्यसको सास जाला ? खुकुरीले धेरैपटक छप्काउ की ! चिर्पटले त एकै पटकमा सास जान गाह्रो छ। की टाउकोमा ठुलो ढुंगाले हानुम ? फेरी किचिक मिचिक होला र त्यसको अन्त्येष्टिमा आउने आफन्तहरुले उसलाई राम्ररी हेर्न नपाउलान। की बन्चरोले एकैपटकमा त्यसको घाँटी छिनाल्ने ।”

अर्को एक बटुका जाँड थप्छिन र आधा बटुका स्वाट्ट पारेर खेसेमा फेरी मनमनै बोल्न थाल्छिन “यसलाई मारि सकेपछि म सरासर चौकी जानेछु र सम्पुर्ण कुरा प्रहरीलाई स्पष्ट भन्नेछु। मेरो यो इमानदारीतालाई देखेर कानुनले पक्कै पनि आधा सजाय मिनाहा गर्ने नै छ।”

बटुकामा रहेको बाँकी आधा जाँडलाई पनि एकै सासमा तानिसकेपछि खेसेमा बन्चरोको खोजिमा घरदेखि बाहिर निस्कन्छिन। सुंगुरको खोर माथि राखिएको दाउराको चाङमा हेर्छिन तर त्यहाँ बन्चरो देख्दिनन।

बाख्राको खोर नजिकै राखिएको दाउराको ठुलो चाङमा हेर्छिन। त्यहाँ पनि बन्चरो हुँदैन।ढिकीसार र कुखुराको खोरको छानामा हेर्छिन।बार्दली देखि घरको बीच तला, सिरान तला कुना काप्चा सबैतिर हेर्छिन तर बन्चरो त्यहाँ कहिँ पनि भेटिन्दैन।

खेसेमा फेरि चढछिन मतान घरको बुइगलमा। बुइगल भरी मकैको खोस्टा फिजाएर राखिएको हुन्छ। त्यहीँ खोस्टाले पुरिएर राखेको अवस्थामा बल्ल बन्चरो भेटछिन।

बन्चरोको बिँडतिरबाट दुबै हातले उचालेर बन्चरोको मुखलाई घुमाइ घुमाइ केहि बेर नियाल्छिन। कतिको लाग्छ या लाग्दैन भनेर बन्चरोको धारतिर हातको चारवटा औँलाहरु खेसेमाले बिस्तारै चलाउँछिन।

एकहप्ता अघि मात्र अर्जापेको बन्चरो निक्कै लाग्ने थियो। बुइगलबाट खेसेमा भुइँतलामा झर्छिन र बन्चरोको बिँड लाई जोडले समाएर दुई पटक बन्चरो माथि उज्याउँदै पुर्व अभ्यास गर्छिन। त्यसैबेला कुखुराको खोरबाट पखेटा फटफट्याउँदै भाले बासेको आवाज सुनिन्छ।

कुखुरी काँ…..

लगत्तै भालेको आवाजसँगै खेसेमाले अर्को आवाजपनि सुन्न पुग्छिन।

“लुहै केटी उठ आज म बाटो लाग्नुछ।”

त्यो आवाज लाहाङको हुन्छ “उ अघिनै निन्द्राबाट ब्युँझि सकेछ ।अब के गर्ने ?” खेसेमा अतालिन थाल्छिन।

“हाउ सुनिनस ! म छिट्टै हिन्नुछ भन्या।मेरो कतारको भिसा लागेछ। हिजोमात्रै एजेन्टले फोन गर्याथ्यो। आज झट्ट बाटो लाग्नु भन्या छ। ”

लाहाङ्ले बिदेश जाने कुरा खेसेमासँग कहिल्यै गरेको थिएन। घर खर्चको लागि समेत कहिल्यै चासो र ख्याल नगर्ने लाहाङले “आज पैसा कमाउन बिदेश जान्छु “भनेको सुन्दा खेसेमा लाई एकदमै आश्चर्य लाग्छ। “म यहाँ बसेर पनि के गर्नु ? त्यै जाँडरक्सी खानु अनि तँ सँग बाझ्नु जुध्नु। तँलाई दुख दिनु त हो नि। त्यै भएर अस्ति सदरमुकाम जाँदा सप्पै कागजात मिलाएर पेसेको थिएँ। भिसा लागेछ।”

खेसेमाको भर्खरसम्म बलेको बदलाको आगो एकाएक चिसिएर बरफ बन्न पुग्छ। उ चुपचाप उभिरहन्छे। बाहिर खाटमा लगाउने कपडाहरु मिलाउँदै लाहाङ बोलीरहेको थियो।

“सदरमुकाममा छ्यामासँग बसेर पढने छोराको पनि त पढाई खर्च हेर्नुछ। तैँले कानमा पिँजडा र घाँटिमा घटेसो झुन्ड्याउँछु भनेको पनि दस साल बितिसक्यो।”

जाँड खाएर दिनरात आफुसँग जुध्ने लोग्नेले आफुलाई यति साह्रो माया गर्दोरहेछ ? उसको हातको बन्चरो अचानक भुइँमा खस्न पुग्छ । आँखाबाट बर्सिन थाल्छन लोग्नेप्रतिको प्रेमिल बाछिटाहरु। त्यसपछि हत्तार हत्तार खेसेमा घरभित्र छिरेर चुल्होमा आगो जोडन थाल्छिन।

धारामा हातखुट्टा धुँदै लाहाङ बोल्छ। “फस्ट गाडी भेटिन्न म हिडी हाल्छु। केहि तयार पार्नु पर्दैन। भात र खाजाको लागी उतै गाडीले ठाउँ ठाउँमा रोकीहाल्छ।”

लोग्नेले तयार पारेका लगाउने कपडाहरु खेसेमाले झोलामा हालिदिन्छिन्।

झोला भिर्दै लाहाङ बोल्छ । “चिन्ता नगरी बस्नु। छोरालाई पनि म उतै भेटेर जान्छु।”

खेसेमा केहि पनि बोल्दिन। तर उसका आँखाहरुबाट छुटिनुको पिडाहरु एकएक गर्दै खस्न थाल्छन्।

“लु हिंडे है ।” यति बोलेर लाहाङ बाटो लाग्छ।

बिहानीको प्रथम स्पर्शसंगै भुइँमा मधुरो उज्यालो अवतरण भईरहेको थियो। खेसेमाको मनमा भने लाहाङले अचानक आफुलाई यसरी छाडेर गएकोमा किन-किन साह्रै नरमाइलो भईरहेको थियो।

अघि भर्खरसम्म बन्चरोले उसको घाँटिमा प्रहार गरेर मारिदिन मन लागेको त्यो लोग्ने , केहि समयको लागि टाढा जाँदै गर्दा खेसेमालाई किन त्यस्तरी नमिठो लाग्न थालेको हो ?

लाहाङ फटाफट बाटो लाग्छ। खेसेमाले लाहाङको चेहरामा एकपटक नियाल्छिन। छुटिनुको पिडाका धमिलो छायाँ उसको चेहरामा पनि प्रष्ट देख्छिन। खेसेमालाई लाहाङसँग केही भन्न मन लाग्छ तर उसका ओठहरु खुल्न सक्दैनन। उसको अंगालोमा बेरिएर एक खेप रुन मन लाग्छ तर उसका पाइलाहरु चल्मलिन सक्दैनन।

खेसेमा हतार हतार घरको पछाडी जान्छिन र घरपछाडीको पिँढीमा ठिङ्ग उभिएर लाहाङ गएको निर्निमेषले हेरिरहन्छिन।

तपाईको प्रतिक्रिया