काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेको छ ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईले विज्ञप्तिमार्फत घोषणा गरेका थिए ।
थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंले दिने भनेको सहयोग आवश्यक नपर्ने परिवारले जनाएको छ ।
आज शनिबार बिहान विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका थिए ।
थापाको मेडिसिटी अस्पतालमा इसइएमओ प्रविधिबाट उपचार भइरहेको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको उपचारका खर्च बढी लाग्ने भएपछि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको छ ।
गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको पनि उनको परिवारले जनाएको छ ।