हाल सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्दै आएकी कवि मिश्रा गुरुङ् २०४५ साल देखी निरन्तर कविता लेखनमा सकृय नाम हो । तर त्यती मिडीयामा आउन नरुचाउने उनको कविता आफ्नै गति लिएर एक्लै हिडीरहेको बटुवा जस्तो छ । प्रस्तुत छ साताको तीन कविता
वियोग सौन्दर्य
भनिन्छ वियोग कुरुप हुन्छ
अपृय हुन्छ
वियोगले पिडा दिन्छ
प्रताडना दिन्छ
तर वियोग सदैव असुन्दर पनि त हुदैन
वियोगको दृष्टान्तहरुमा पनि
निर्माण हुदो रहेछ सौन्दर्यका प्रतिरुपहरु
जब दुई पलकको बिछोड हुन्छ
आखा भित्र प्रवेश गर्छ ब्रम्हाण्ड
त्यसै गरी दुई अधर एक आपसमा छुट्दा पनि
मुस्कानमा बद्लिन्छ बिछोड
गुलाफ भित्र अटाउछ धर्ति
पिउछ पहराले सृष्टिको माधुर्य
उघाउछ नयनले इन्द्रेणीको रंग
त्यसपछि नै बद्लिदो रहेछ
मान्छेहरुको जीवन जीउने ढंग
कुनै मन सिमल जस्तै कोमल
किन नहोस्
ढुंगा जस्तै कठोर नै किन नबनोस्
त्यहीबाटै छुटेर
जब पोखिन्छ भावको गंगा
सयर गर्दो रहेछ सगरमा
मनको स्निग्ध डुंगा
तब बतासमा बहदो रहेछ कविता
कन्दरामा गुन्जिदो रहेछ संगीत
महफिलमा मगमगाउदो रहेछ गजल
जस्तो की कला नै हो जिन्दगीको फसल
मुम्ताजसँगको वियोगले
बने जब सारजहाँ बिह्वल
तब ठडिएको हो बहुमुल्यरत्न जडित
सिंगमर्मरको ताजमहल
निधारबाट खसेपछि
पसिनाको असंख्य भिड
उभिएको हो इजिप्टका बिशाल पिरामिड
सिद्धार्थले छोडे पछि सुद्धोधनको दरबार
ज्ञानको दियोले देदिप्य बनेको हो संसार
वियोगका यी दृष्टान्तहरु नहुनु हो भने
नबज्दो हो सौम्यताको अदभूत यो झंकार
पग्लिएर आफ्नै समाप्ति तिर गएपछि नै
बल्ने हो मैनको शिखा
पहराको उचाईसित बिद्रोह गर्दै
झर्ना खसेपछिनै
निर्माण भएको हो सौन्दर्यको छटा
कलमको पेट भित्रको गाडा कहर छोडेर
फुटे पछि मसीको मुल
अक्षर बनी कुँदिएको हो कागजमा
भावनाको मनोहर फूलहरु
युगहरुको सुदूर सन्ध्या देखि नै
अनन्त प्यास बोकेर
जब छोडीदिए नदिहरुले बगर
त्यहीँबाट देखि बनिए अनन्त सागर
जब छोडीदियो केही हिस्सा पानीले
आफु बग्दै गरेको धार
तब उठ्यो समुन्द्रमा सुन्दर लहर
जब जब अध्यारोलाई छाडी
निक्लन्छे बिहानी
पोखिन्छ हिमालमा सुनको लाली
साँच्चै बियोगका दृष्टान्तहरूले पनि
भरिदो रहेछ सौन्दर्यको डाली
युगका छातीमा ईतिहासका
प्राचिन छापहरु छोडेर
समयले बेलगाम कुद्नु
हिउँले हिमाल छाडी हिउँखोला बग्नु
अनन्त जलासयहरुलाई छोडेर
बाफले माथी माथी उड्नु
बादलबाट छुट्टिएर बर्षातले धर्तिमा खस्नु
फुललाई छाडी सुवासले बतासिनु
लम्पसार बाटाको छाती चुम्दै
पैतालाहरु छुट्नु
सिरानी छाडी सपनाहरुले
गन्तब्यहरु खोज्नु
बियोगकै दृष्टान्तहरु हुन्
सदियौं साल पहिले सुर्य फुट्नु
हजारौं हजार ग्रह नक्षत्रहरु पराकर्षित भई
सौर्यमण्डल बनाउन जुट्नु
वियोगकै दृष्टान्तहरु हुन्
समयले अबिरल बगिरहनु छ
र सृष्टिले निरन्तर चलिरहनुछ भने
बियोग अपरिहार्य रहेछ
वियोग नहुनु भनेको त
सुन्दरताका अनगिन्ती श्रृखंलाहरुको
प्रादुर्भाव नहुनु पो रहेछ
वियोगका दृष्टान्तहरुमा पनि
निर्माण हुदोरहेछ सौन्दर्यका प्रतिरुपहरु ।
सुर्यग्रहण
सृष्टिको आदिम युग देखि
माथी आकासमा तिमी
आफ्नै गतिमा घुमिरहेकाछौ
यहाँ म मेरै गतिमा कुदिरहेछु
जसरी ब्रम्हाण्डका अन्य हजारौं ग्रह उपग्रहहरु
आफ्नै परिधि भित्र घुमिरहेका हुन्छन्
तिमी ज्यादै उष्ण छौ र उज्जर पनि
तिमी भन्दा म मधुरो हुँला र गम्भिर पनि
अवस्य होला तिम्रो पनि
केही पीर ब्यथा केही बाध्यता
त्यसैले त सुस्केराहरु फाल्दै
अस्ताउछौ हरेक साँझमा
हजार ब्यथा र बेदना छन् मेरा पनि
अडेकै छु ज्वालामुखीहरु बोकेर आत्मा भरी
सायद तिमिमा पनि होला
केही खुशी केही मुस्कान
त्यसैले रक्तिम लाली बोकेर
उदाउछौ प्रत्येक बिहान
छन् केही अवयवहरु ममा पनि
त्यसैले एउटै देहमा पनि
फरक तापमान लिएर बाँचिरहेछु
सयौं बाध्यताहरु छन्
त्यसैले गर्भ भित्र
चट्टान थोपरेर पनि हाँसीरहेछु
होला दुबैमा केही पश्चाताप केही गुनासाहरु
होलान् केही आवेग केही संवेगहरु
सायद तिमिलाई मेरो कुनै पर्वाह नहोला
नहुन सक्छ मलाई तिम्रो पनि
तर जरुर होला कुनै सम्मोहन
होला केही अनौठो अनुराग
यो अन्धताको प्राचिन युगमा
हाम्रो निकटता समाजको लागी
असामाजिक हुनसक्छ
हाम्रो नियमितता नीतिको लागी
अनैतिक हुनसक्छ
हाम्रो धारणा धर्मको लागी
अधार्मिक हुनसक्छ
हाम्रो आवेग
आवादिको लागी आपत्ति हुनसक्छ
हाम्रो चाहत
ब्रम्हाण्डको लागी चरम चुनौती हुनसक्छ
फरक अस्तित्व
फरक ब्यक्तित्व
फरक प्रकृति
फरक प्रवृत्ति बोकेर
अनवरत यात्रामा छौं हामी
कुनै पल
यावत बिषयहरु बिर्सेर
बिश्व अन्धकार पारी
तिमिले अंगालेको क्षण
एउटा ब्रम्हाण्डिय आमोदको
पृथक अनुभूति हुनेछ मलाई ,
जब अन्तिम उत्कर्षले शिखर चुम्नेछ
अविरल बगीरहने समयको यो गोलार्धमा
एक पल सम्पुर्ण पाउनेछौ
तिमिले मलाई
मैले तिमीलाई
जजस्ले जे जे भने पनि
त्यो अनुपम परमानन्द अलौकिक हुनेछ
या अति विस्मयकारी
कालान्तरमा दोहोरिनेछ छ
रहने छ रहेसम्म तिमी
रहेसम्म म
राखिनेछ ब्रम्हाण्डको बहीखातामा
लेखिने छ वेद वेदान्तहरुमा
स्मरण हुनेछ
युगौ युग सम्म
किनकी त्यो क्षण
तिम्रो प्रचण्ड कलुषितताको
सगरमाथालाई
म समाहित गराउने छु
मेरो भिषण सहनशिलतामा
जस्लाई यो बिश्वले एक नाम दिनेछ
खग्रास सुर्यग्रहण
प्रशवको त्यो घडी पश्चात भने
म जन्माउने छु
एउटा प्रदिप्त दिवा
जस्ले यो ब्रम्हाण्डमा
तिम्रो अस्तित्वलाई
बुलन्द राख्नेछ ।।।
खुल्ला आकाश मुनि बन्दी छ शहर
सँधै जस्तो आकाशमा
जहाजहरु उडेका छैनन्
सदाझै जमिनमा
गाडीहरु गुडेका छैनन्
मन्द मन्द झै लाग्छ , जीवनको लय
मन्द मन्द झै लाग्छ , हावाको गति
जस्तो की
हजारौं प्रश्नहरुको अन्योलतामा
अल्झेको छ सृष्टि
स्वप्निल आँखाहरुमा
बद्लिएको छ सपना
उमङ्गित मनहरुमा
फेरिएको छ रहर
खुल्ला आकाश मुनी बन्दी छ शहर
सदाझै मुस्कुराएको देखिदैन हिमाल
सदाझै जुर्मुराएर उठ्दैन बिहान
अत्यासिलो क्षितिक्ष टेक्दै
ढल्किन्छ साँझ
रापिलो छटपटी बोकेर
लम्किन्छ रात
मेहनती श्रमिकहरुको शरिरमा सधैँ बग्ने पसिनाको लहर निदाएकोछ
हरेक बिहान सबेरै
घाम टिप्न हिड्ने खेतालाहरुको
गुन गुनको महकिलो धुन
हराएकोछ
जस्तो की दिनहुँ चल्ने स्वाससँग नै
मान्छेको भरोसा टुटेकोछ
सुनसान छ बस्तिहरु
मौन छन् गाम बेँसीहरु
छैन पधेरोमा पधेँर्नीहरुको हल्ला
छैन मेलामा पर्मेलीहरुको सल्लाह
स्कुले नानीहरुको
पैतालाको आवाज बिना
शुन्य शुन्य छ बाटो हरु
जस्तो की आफ्नै सुगन्ध देखी
त्रसित छन माटाहरु
हो ! यति बेला झेलिरहेछ बिश्वले
कोरोनाको भयानक कहर
खुला आकाश मुनी बन्दी छ शहर
अब झ्यालबाटै चिहाउनु
रविको सुनौलो किरण
कौशी बाटै नियाल्नु
जुनको निलम यात्राहरु
बार्दलीबाटै छर्नु ईन्द्रेणीको रंग
संघारबाटै बटुल्नु फूलको सुवास
बलेँसीबाटै उघाउनु जीवनको सागर
मझेरी बाटै साट्नु
प्रेमको कोसेली
फटाउनु छ अब सबै मिलेर
धर्तिमा लागेको
सन्त्रासको निस्पट्ट तुवाँलो
हटाउनु छ संयमित भइ
कोभिडको विषालु जहर
उज्यालो बनाउनु छ अब
सबैले आ- आफ्नो घर
फेरी सुदुर सपनाहरु भर्नु छ आँखाहरुमा
फेरी जीवनको ज्योती छर्नु छ हृदयहरुमा
जँहा छन् भविस्यको सुकोमल रहर
फेरी सँधैलाई उघार्नु छ
खुल्ला आकाश मुनीको बन्दी शहर
मानव हुनुको अर्थ राखी
पाइला पाइलामा नगुमाई संवेदना
संयमको हतियार बोकी
समयको युद्ध लडे
अवश्य हार्नेछ विषको साम्राज्य