हङकङमा बसेर साहित्य लेखनमा सकृय सर्जक सुनिता गिरी डायस्परीक नेपाली साहित्य लेखनमा प्रसिद्ध नाम हो । साहित्यको सबै बिधामा सक्रिय उहाँको लेखनले प्रेम, बिरह र समानताको निम्ति जिकिर गरिरहेका हुन्छन् प्रस्तुत छ साताको तीन कविता ।

देशको माटोमा

जरुर आउनेछु फर्किएर
उजाडिदै गएका गुँरासघारीका रंग बोकेर
कलेटी परेका निर्दोष र निमुखा ओठहरुमा गीत बोकेर
फाट्दै गएका मनहरु जोड्ने प्रीत बोकेर
आउन त जरुर आउनेछु फर्किएर ।

मेरो देश !
म आफ्नो माटोमा सुरक्षित उभिन सकुँ
म आफ्नो बाटोमा निश्चिन्त हिड्न सकुँ
उडिरहेका चराहरु झैं स्वतन्त्र
बहिरहेका पवन झैँ निर्मल
फुलिरहेका जंगली फुल झैँ सुन्दर
बगिरहेको पानी झैँ स्निग्ध
म मेरो रहरको साइतमा
स –सम्मान पाईला राख्न सकुँ

गाउँ , सहर
एकान्त या भिड
सर्वत्र आफ्न्त भेटियोस
स्वतन्त्र आँखाले हिमालको उचाई नाप्न सकुँ
हरेक बाँसुरीबाट शान्तिको धुन निकाल्न सकुँ
मेरो देश !
आउन त जरुर आउनेछु म फर्किएर ।

म आफै खोला हुँ
म आफै ताल हुँ
म आफै हिमाल हुँ
म आफै सितल हुँ
मलाई कुनै अरु सुन्दरताको मोह छैन
केवल हरेक रात ऐठनहरुले
सपनाहरुको हत्या नगरोस्
हरेक प्रहर यी दुई आँखामा
आत्मसम्मानको घाम उदाओस
आउन त
जरुर आउनेछु म फर्किएर
मेरो बाकी जीवन
मेरो माटोमा फुलाउन
मेरो बाकी सपना
मेरो बाटोमा सजाउन
मेरो बाकी आँसु खुन र पसिनाले
मेरो पखेरु भिजाउन
मेरो देश !
आउन त जरुर आउनेछु फर्किएर
तर बिन्ती !
देशको माटोमा टेकेपछी
फर्किएर हेर्न नपरोस्
म आफू आएको अर्को देशको बाटो ।

देशलाई सम्झिन मैले रात पर्खिनु पर्छ

समुन्द्र पारीको यो अध्यारो शहरबाट
मेरो उज्यालो देश सम्झन
मैले रात पर्खिनु पर्छ !
जब कि
यो कन्क्रीट्को शहरमा
बिहान दिउसो अथवा साँझ
मैले आफैलाई बिर्सिनु पर्छ
कहिले आफै लाई लाग्छ
म मेशिन हुँ
प्राणहिन तर गतिशिल
कहिले सम्झन्छु आफैलाई
म कारखाना हुँ
अनुत्पादक तथा मुल्यहिन
तर
म त जिवित मानिस हुँ
मलाई मानिस कै रुपमा चिन्न
प्रथमतः
मेरो संघर्ष र दुखको घाउ चिन्नु पर्छ
मेरो रगत पसिना अनि चहर्याइरहेको तातो आँशुको रङ चिन्नु पर्छ ।

को हुँ म भनेर चिन्न
कहिले आफैलाई बेस्सरी चिमोटेकी छु
कहाँ छु भनेर बुझ्न कहिले
हिडिरहेका आफ्नै पैतालाका डोबहरुलाई फर्की फर्की हेरेकी छु
जब स्पष्ट चिन्छु आफुलाई
मेरो माटोको माया बल्झेर आउँछ
तर,
यो उजाड परदेशबाट
आफ्नो देश सम्झिन मैले रात पर्खिनु पर्छ !

संसार मै कृतिमान राख्ने
मेरो अग्लो त्यो सगरमाथा
चाँदी झै टल्केको हिमशिखरबाट
सर्दै आएका ताराहरु गन्दै
मैले त्यो निस्पट्ट रातमा
आसु पुछेको कसैलाई थाहै छैन ।

मेरो झरनै झरनाको देशबाट
बग्दै आएर यहाको समुन्द्रमा तैरिएका
मेरा प्रीयजनहरुको अनुहार हेर्दै
मैले चिच्याएर रोएको यहाँ कसैलाई वास्तै छैन

हिड्ने साइतमा बाबाको ढाडस
आमाको टिका र आशिष
आफन्तको मलिन अनुहार
देवीदेउराली शिरमा राखी

सिरानी भिजेको र अनिदो रात
यहाँ कसैलाई पत्तै छैन
त्यसैले ,
यहाँ आवाज निकालेर रुनलाई
मैले रात पर्खिनु पर्छ
र,
रातलाई आफ्नो बनाउनलाई
मैले मेरो प्रीय दिनलाई बिदा गर्नु पर्छ ।

अनिदो रात

झिलिमिली बत्ती
र,
जूनताराको उज्यालोभित्र पनि
अँध्यारो रात किन अनिदो छ ?
बाहिर
कराइरहेछन् रातका किराहरु
सुसाइरहेछ रातको हावा
निदाएका छन् सुनसान बाटाहरु
तर,
यो घनघोर शून्यताबीच अनिदै छ रात ।

यसरी सधैँ रात ननिदाउँदा
आकाश पनि अनिदै हुन्छ
जूनतारा पनि अनिदै हुन्छन् ।

रात किन निदाउँदैन
कसले चोर्छ रातको निद्रा ?
अब निदाउनुपर्छ रात
रात निदाए मात्र बिहान झुल्किन्छ पृथ्वीमा ।

तपाईको प्रतिक्रिया