रमेश के.सी.
प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तराष्ट्रिय मामलाका प्राध्यापक स्यामूयल हन्टिङटनले सन् १९९३ को “फरेन अफेयर्स” पत्रिकामा अनौठो एउटा लेख छपाए । उक्त लेखको शिर्षक थियो “दि क्ल्यास अफ सिभीलाइजेसन्स ?” “सभ्यताको द्वन्द ?” उत्तर शीत युद्धको विश्वलाई केन्द्रित गरेर लेखिएको उक्त लेखले विश्व बौद्धिक जगतमा नयाँ विवाद ल्यायो ।
एउटा पनि गोली नचली अन्त्य भएको शीतयुद्ध पश्चात विश्व राजनीतिको रुपरेखालाई केलाउन खोजीएको उक्त लेखले अब विश्व वैचारिक द्वन्दबाट सभ्यताको द्वन्दमा प्रवेश गरेको दाबी गरेको थियो । शीतयुद्धमा साम्यवादी विचारधारा पराजीत भएपछि तात्कालिन अमेरीकी राष्ट्रपति जर्ज बुसले नयाँ विश्व व्यवस्थाको उदय भएको दाबी गरेका थिए । यो नयाँ विश्व व्यवस्थामा अमेरिका र यूरोप जसलाई स्वतन्त्र विश्व भनिन्थ्यो , त्यो विजय भएको थियो ।
अर्को अर्थमा सर्वसत्तावादी साम्यवादलाई प्रजातन्त्र र उदार अर्थव्यवस्थाले पराजीत गरेको थियो । पूर्व र पश्चिम जर्मनी छुट्याउने वर्लिनको पर्खाल ढलेको थियो । साम्यवादी सोभीयत संघ विघटन भयो । पुर्वि यूरोपबाट साम्यवादी सत्ताहरु तासको पत्ता ढले जस्तै ढले । विश्वमा युगान्तकारी घटना भयो । यसलाई शीत युद्धको विधिवत अन्त्य मानियो । जसलाई स्वयं विद्वान हन्टीङटनले प्रजातन्त्रको तेस्रो लहर भन्ने पुस्तकमा लेखे ।
त्यस बेला नेपाल लगायत विश्वका अधिकांश राष्ट्रहरु संभवत इतिहासमै धेरै संख्यामा प्रजातान्त्रिक बने । यो प्रजातन्त्रको तेस्रो लहरलाई मध्यनजर राखेर राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य भने । उनको भनाई अनुसार इतिहास भनेको विचारधाराहरुको लडाई हो । यो लडाइमा प्रजातन्त्रले वंशीय राजतन्त्र, फाँसीवाद हुँदै साम्यवादलाई पनि पराजीत गरेको छ ।
अब विश्वमा प्रजातन्त्र र उदार अर्थव्यवस्था मानव समाजको अन्तिम निकास हो भनी दावी गरे । पुँजीवादी विचारधाराको भूस्वर्ग निर्माण हुने भविष्यवाणी गरे । यहि इतिहासको अन्त्यको विवादस्पद अवधारणालाई कतिपय विद्वानहरुले मूर्खताको संज्ञा दिए ।
अहिले आएर हेर्दा फुकुयामा गलत प्रतित हुन्छन । यो उत्तर शितयुद्धको अवस्थालाई ध्यानमा राख्दै हन्टिङटनले अब विश्व विचारधाराको द्वन्दमा होइन सभ्यताको द्वन्दमा जाने भविष्यवाणी गरे । जुन फुकुयामाको प्रस्तावना पश्चात नयाँ सिद्धान्त दिने प्रयत्न गरिएको थियो । जसलाई भारतका रक्षा विश्लेषक के. सुब्रमन्यमले फुकयामाको प्रस्तावनाको पुरक भनी टिप्पणी गरेका थिए । जसका पछाडी अमेरिका शीतयुद्ध पछि नयाँ शत्रुको खोजीमा थियो । त्यो शत्रुलाई सभ्यताको द्वन्दको नाममा हन्टिङटनले इस्लाम हुने बताए । जसमा उनले कन्फुसियाली चीनलाई पनि पश्चिमको विरुद्ध वैरभाव राख्ने सभ्यताको रुपमा चित्रित गरे । यो सभ्यताको द्वन्द अवधारणा पश्चिमको रणनीतिक सोचाईलाई ध्यानमा राखेर ल्याइएको थियो ।
हुन त सभ्यताको द्वन्द भन्ने विचार अमेरिकाका मध्यपूर्व विशेषज्ञ वनार्ड लुइसले प्रचलनमा ल्याएका थिए । लुइसको तर्क थियो कि इस्लामीक सभ्यता कहिल्यै प्रजातान्त्रीक हुदैन । यो जहिल्यै पनि पश्चिमी मुल्य मान्यताको विरुद्ध हुन्छ । यहि अवधारणालाई टिपेर हन्टिङटनले सभ्यताको द्वन्द भन्ने अवधारणा विकास गरे । प्रारम्भमै आलोचनामा परेको यो अवधारणा उत्तर शितयुद्धकालिन अमेरिकालाई निर्देशन दिन ल्याइएको थियो ।
आखिर सभ्यताको द्वन्द के हो ? र हन्टिङटनका अनुसार संसारमा ८ वटा प्रमुख सभ्यताहरु छन । ति हुन इसाई, यहुदीको पश्चिमी सभ्यता, कन्फुसियाली सभ्यता, जापानी सभ्यता, इस्लामीक सभ्यता, रुसको अर्थाेडक्स सभ्यता, भारतको हिन्दु सभ्यता,अफ्रिकी सभ्यता र ल्याटीन अमेरिकी सभ्यताहरु हुन । यी सभ्यताहरु बीच इतिहास देखिनै द्वन्द, प्रतिस्पर्धा र वैरभाव छन । जुन विचारको द्वन्दपछि विश्वमा प्रकट हुन्छ ।
सभ्यताको आधारमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीति संचालन हुन्छ । जुन भाषा र सँस्कृतिमा आधारित हुन्छ । यस्तो किसिमको द्वन्द भने यथार्थवादी विचारधाराका सिद्धान्तकारहरुले मान्थे । यस्तै प्रस्तावना जस्तै विचारहरु अमेरीकि विद्वानहरु जोन मीयरसीमर र रोबर्ट डी काप्लानले पनि राखेका छन । उनिहरुको विचारमा उत्तर शीतयुद्धकाल विश्व बढी उथल पुथलले भरीने छ । कम्तीमा शीतयुद्धको बेला अमेरिका र सोभीयत संघबिच शक्ति सन्तुलन थियो । अब त्यो रहदैन । उत्तर शितयुद्धमा शक्ति सन्तुलन हुदैन ।
विश्व बहुध्रुवीय हुदैछ र राष्ट्रहरु सभ्यता, सँस्कृति र भाषाका नाममा प्रतिस्पर्धा गर्दैछन । प्रमुख सभ्यताका राष्ट्रहरु जस्तै अमेरिका यूरोप, रुस, चीन र भारतसँग आणविक हतियारहरु पनि छन । यो दृश्य हेर्दा आकर्षक लागेपनि शीतयुद्ध समाप्त भएको ३० वर्षमा प्रभुत्व राष्ट्रहरु बीच सभ्यताको द्वन्द भएको छैन । यसर्थ यो सिद्धान्त गलत लाग्छ ।
सन २००१ मा अलकायदा आतंकवादी संगठनले अमेरिकामा आक्रमण गरेपछि सभ्यताको द्वन्द प्रस्तावना चर्चामा आयो तर अलकायदा कुनै राष्ट्र थिएन । यो गैर राज्य पात्र थियो । अमेरिका इस्लामीक आतंककवाद मास्न आतंकवाद विरुद्धको युद्धमा होमियो । अन्ततगोत्वा बिन लादेन पाकिस्तानमा मारिए ।
अलकायदा अहिले प्रभावकारी छैन । यहि अलकायदाको आक्रमणको निहुँमा अमेरिकाले इराक र अफगानीस्तानमा आक्रमण गरयो । इराकका राष्ट्रपति सदाम हुसेन मारिए । इराक आक्रमण गलत सुचनाको आधारमा भएको थियो । इराकासंग आमनरसंहार गर्ने हतियार भएको आशंकामा आक्रमण गरिएको थियो ।
त्यस्तै अफगानीस्तानमा तालिवानलाई अपदस्थ गरियो । विगत १९ वर्ष देखि अमेरिकी सेना अफगानीस्तानमा छ । तर तालीवान परास्त भएको छैन । अहिले युद्ध विराम भएको छ । यी युद्धमा अमेरिकाले अरबौ डलर जनताले कर तिरेको पैसाबाट खर्च गरयो । इराक र सिरीयामा इस्लामीक स्टेटलाई पराजीत गर्न सक्यो अमेरिकाले ।
तर के यी आतंकवाद र इस्लामीक अतिवादीहरु विरुद्धको घटनालाई सभ्यताको द्वन्द भन्न मिल्छ ? अरबौ इस्लामीक जनता शान्त र सरल जीवन यापन गर्न चाहन्छन् ।अमेरिकामा उल्लेखनीय आप्रवासीहरु मुसलमान छन । जो मध्यपूर्वबाट गएका हुन ।
सभ्यताको द्वन्दको प्रस्तावना आएको यतिका वर्ष हुदा हुदै पनि कसैले पनि सभ्यताको द्वन्दको घोषणा गरेको छैन । किनभने राष्ट्रराज्यहरु आ–आफ्नै स्वार्थमा चलिरहेका छन । सभ्यताको द्वन्द हुन्थ्यो भने किन इरान मुस्लीम राष्ट्र हुँदा हुँदै अर्को मुस्लिम राष्ट्र साउदी अरविया बीच द्वन्द हुन्थ्यो ? इस्लाम शत्रु हुन्थ्यो भने इजीप्ट किन अमेरिकाको सहयोगी राष्ट्र भएर करोडौ डलर सेना सहायता लिन्थ्यो ?
अलकायदाको आक्रमणमा संलग्न कैयौं व्यक्ति साउदी अरेवियाका थिए । तर साउदीअरेविया अहिले अमेरिकाको मध्य पूर्वमा प्रिय रणनीतिक साझेदारीको राष्ट्र बनेको छ । प्यालेष्टाइन समस्यालाई लिएर अहिले पक्कैपनि मध्यपूर्वमा अमेरिका विरोधी भावना छ । ट्रम्प प्रशासनले इजारयलका एजेन्डाहरुलाई एक पछि अर्को गर्दै बढाए पछि यो समस्या चर्केको हो । प्यालेस्टाइनहरुले भूमी पाउनु पर्ने अधिकार न्यायोचित हो । इजरायलका विरुद्ध रहेको इस्लामीक विश्वमा अहिले नयाँ ध्रुविकरण देखा परेको छ । इरानका विरुद्ध साउदी अरेविया र इजरायल नजीक हुदैछन । कसरी भयो सभ्यताको द्वन्द यहाँ ? मध्यपूर्वमा सीरीया संकटसंगै रुसको प्रभाव बढेको छ । रुस इस्लाम भन्दा पश्चिमसंग मील्ने सभ्यता हो । कसरी भयो सभ्यताको द्वन्द यहाँ ?
यसर्थ हन्टिङटनको यो प्रस्तावना गलत अध्ययन र मुल्यांकनको उत्पादन हो । चीन कन्फुसीयाली हुदाहुँदै यूरोप र अमेरिकासँग सहकार्य गरेर अगाडि बढीरहेको छ । इस्लामको इतिहासमा इसाईसंग धर्म युद्ध भएका घटनाहरु छ्न । टर्किको अटोमन साम्राज्य अष्ट्रियाको भीयनासम्म पुगेको हो । भारतमा पनि हिन्दु मुसलमान द्वन्दको इतिहास छ । तर यी घटनाहरुलाई मान्दैमा विश्व सभ्यताको द्वन्दमा जान्छ भन्नु अतिशयोक्ति हो ।
बरु सभ्यताका बीच आफ्नो आन्तरीक द्वन्द छ । इसाईमा क्याथोलिक र प्रोटेस्टेन्ट बीच , इस्लाममा सीया र सुन्नी बीच , बौद्धमा महायान र हिनयाना बीच र हिन्दु धर्ममा विभीन्न सम्प्रदायहरु बीच प्रतिस्पर्धा र द्वन्द छ । यसर्थ प्रमुख सभ्यता अन्तर्गत नै प्रतिस्पर्धा देखिन्छ । यसलाई ध्यान नदिने हन्टिङटनको यो अवधारणा अतिसामान्यीकरण गरेर लेखिएको छ । उनले यस अवधारणालाई पछिबाट पुस्तकको रुपमा विकसीत गरे ।
सभ्यताहरु द्वन्द पनि गर्छन तर त्यो प्रमुख रुपमा होइन । किनभने सभ्यताको बीच मीलन, सहकार्य र सहभाव पनि हुन्छ । नत्रभने अमेरिका बहुसाँस्कृतिक र बहुजातिय राज्यको रुपमा किन बाच्थ्यो ? उनले आफ्नै देश हेरेपनि पुग्थ्यो । पछिबाट हन्टीङटनले अमेरिकी जनसंख्या र सँस्कृतिको पहिचान केलाउदै “हु आर वी” भन्ने पुस्तक पनि लेखे जसमा अमेरिकामा गोरा जाती संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन ।
यसर्थ राष्ट्रहरु जुनसुकै सभ्यतामा भएपनि राष्ट्रिय स्वार्थ हावी हुन्छ । नत्रभने किन अमेरिका र युरोप बीच आज मतभेद छ ? चीनको उदयलाई निश्चय पनि पश्चिमाहरुले नयाँ सभ्यताको उदयको रुपमा लिएका छन । चीनको उदय उसको क्षमता र योग्यताका आधारमा भएको हो ।
निश्चय पनि विगत ४ सय वर्ष देखि इसाई यहुदी सभ्यता विश्वको संचालक बनेको छ । उनिहरुको अर्थतन्त्र, विज्ञानप्रविधी, आविष्कार गर्ने क्षमता र विश्वलाई व्यवस्थापन गर्ने योग्यताले गर्दा यस्तो भएको हो । सभ्यताको आधारमा गठबन्धन भन्दा राष्ट्रिय स्वार्थ र सामुदायिक हित नै आजको आवश्यकता हो । विज्ञान प्रविधीको विकासले पनि राष्ट्र राज्यलाई आफ्नो स्वार्थ पुरा गर्नबाट अलग गरेको छैन । यसर्थ विद्वान हन्टिङटनको सभ्यताको द्वन्दलाई समयले यथार्थ होइन कि एउटा भ्रमोत्पादक थेसीस प्रमाणीत गरीदिएको छ ।