स्रष्टा,संचारकर्मी र पछिल्लो समय उहाँसग गासिएर आउने उपमा सगरमाथा आरोही हो । खासगरि प्रकृतिसँग नजिक रहन चाहाने देउराली चाम्लिङ्गसँग सगरमाथा चढ्दाको अनुभव र नेपाली समाजमा महिलामुक्ती र चुनौतीहरु के के छन् भन्ने बिषयमा केन्द्रित रहेर हङकङ खबरले गरेको कुराकानी ।

सगरमाथा चढेरै छाडनुभयो,के कस्तो चुनौतीहरु आए उसबेलाको अनुभब बताइदिनुहोस न ?

विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा अर्थात सगरमाथाको शिर चुम्ने सौभाग्य मिल्यो मलाई, खुशी नहुने कुरै भएन । तर म आफुले भन्दा चाँही चोमोलुङ्मा चढेको भन्नुको सट्टा पितृ प्रकृतिको आशिर्बाद,सगरमाथाको बोलावाट,देशबिदेशमा बसोबास गर्नुहुने नेपाली दाजुभाई,दिदिबहिनीहरु साथै बिदेशी मित्रहरुको सहयोग,स्नेह ,शुभकामना,आमाहरुको तपस्या,शेर्पा दाजुभाईहरुको बिशेष भूमिका अनि आफ्नो साधनाले चोमोलुङ्माको साक्षात दर्शन गर्ने सुनौलो अवसर जुरेको ठान्छु ।

यो सवालमा आफुलाई शौभाग्यशाली मान्छु । तपाईंले भन्नु भए जस्तो चुनौतीहरु हुन्छन् आरोहणको क्रममा । तर म त्यसलाई चुनौतीको रुममा भन्दा पनि प्राकृतिक नियम भनौ अथवा सामान्य प्रकृयाको रुपमा स्विकार गर्छु । हिमालको हिँउ पग्लेर पानी बन्छ । त्यो पानी बग्दै बग्दै जान्छ बग्ने क्रममा कति जमिनमा सोसिएला फेरी नयाँ नयाँ पानीको साथ मिल्दै जाला यसरी पानीले आफ्नो बाटो हिड्दै गर्दा कुलो ,झरना,खोला हुँदै समुन्द्रमा मिल्छ ।

त्यसरी हिँमनदीको समुन्द्र सम्मको यात्रामा कति ठोकिन्छ होला । कति कष्ट आईलाग्ला । कती बखत रणभुल्लैमा नि पर्ला तर त्यो त जल यात्राको प्रकृया हो । कुनै पनि कार्यको थालनी पछि शिखरमा पुग्नुलाई कार्यनुसारको प्रकृया अवश्य पालना गर्नुपर्छ र अझ सगरमाथा आरोहणको क्रममा यी कुराहरु बिषेश ध्यान दिनुपर्छ । त्यसैले सगरमाथा आरोहणको क्रममा आईपर्ने कठिनाईहरुलाई चुनौतिको रुपमा नभएर कार्य सम्पादन प्रकृयाको रुपमा लिन्छु ।

भावी योजनाहरु के कस्तो छ फेरि अर्को हिमाल चढने योजना कस्तो छ ?
म योजनाबद्ध तरिकाले जिउने मनुष्य नै होईन । मैले त मेरो जीवन समयलाई छोडिदिएको हुँ । कारण, हाम्रो बसमा केही छैन । जे हुनु छ,जे हुन्छ यी सब समयले गर्छ,गराउछ । तै पनि केही थान योजनाहरु छन् । यी योजनाहरु समयलाई छोडिदिएको छु । भयो भने राम्रो होला नभए नि कसैसँग गुनासो छैन । हिमाल आरोहणको योजनाको बारेमा चाँही पहिलादेखिकै सगरमाथा आरोहणको सपना थियो । यही सपना पुरा गर्ने सिलसिलामा रामदुङ हिमाल र यलुङरी हिमालको सफल आरोहण गरे । तर, अब चाँही हिमाल आरोहणको अनुभवले फेरि आरोहणको तृष्णा पो कता कता जगायो । हिमाल आरोहणको तृष्णा रुझाए पनि तत्काल आरोहणको योजना भने छैन ।

भोगाईको यो अवस्थामा आईपुग्दा आखिर जीवन के रहेछ ?

मैले त जीवन भोग्न बाँकी नै छ भन्ठान्छु, जिवन भर्खर शुरु भएको जस्तो महशुस हुन्छ । म जीवनको परिभाषा कसरी गर्न सक्छु । लाग्छ जसले जस्तो जीवन बाँच्यो,भोग्यो त्यस्तै हो कि । धनीको निम्ती सुखै सुख, गरिबको लागि पसिना हो । साधकको लागि साधना होला अनि भोकले पेट पोल्नेको लागि भात होला । तर, प्रकृतिले पृथ्वीमा हामीलाई मनुष्यको भेषमा केही समय खाईखेली हाँसखेल गर्न पठाएको हो । हामीलाई भिषा कती समयको लागि दिएको छ त्यो अदृश्य छ जुन पल भिषा सकिन्छ पुन हामी प्रकृतिको काखमा बिलिन हुन्छौ यो कुरामा म प्रष्ट छु । एउटा कुरा मृत्‍यु अदृश्य भएर नै जीवन जिउनुको मज्जा भएको हो ।

ब्यापार गरिरहेको मान्छे एक्कासी हिमाल चढने योजना कसरी आयो दिमागमा ?

देख्दा तपाईंले भन्नुभएको जस्तो देखिएला तर सगरमाथा आरोहणको सपना म भित्र सन् १९९३ मा पलाएको थियो । कसरी भन्नुहुन्छ भने, म सानो छदा हाम्रो ममी तारा देवी लावतीले भन्नु भएको एउटा वाक्य अझै याद छ- मान्छे जन्मदा अजम्बरीको बुट्टी लिएर जन्मेको हुँदैन । मान्छेको जन्म अजम्बरी छैन तर यो शेर्पेनी चाँही अजम्बरी भयो है । मान्छेको चोला भएपछि यस्तो हुनुपर्छ भनेर टुवाक्क जिब्रो पड्काउनु हुन्थ्यो । उहाँको उक्त भनाई सुनेँ तर अर्थ बुझिन र सोधिन पनि ।

हाम्रो समाजमा नजानेको नबुझेको कुरा सोध्नुपर्छ भनेर सिकाइन्दैन सायद त्यसैले सोधिन । बुझ्ने भएपछि बुझे उक्त भनाइको अर्थ । उहाँले सगरमाथाको आरोहण गर्नुहुने प्रथम नेपाली छोरी पासाङ्ग ल्यामु शेर्पाको सपना, साहस, सफलता र मृत्‍युको बर्णन गर्नुभएको रहेछ । यो बुझाईसँगै ममा सगरमाथा आरोहणको सपना सजिएको हो । मैले सन २०१८ मा सगरमाथाको सफल आरोहण गर्न सफल भएँ । तर यो भन्दा अगाडि पनि सगरमाथा आरोहणको बिषयमा प्रकृया,आर्थिक व्यय आदिको बारेमा बुझ्दै अगाडि बढने प्रयास गरिनै रहेको थिए ।

पत्रकारिता, ब्यापार ,लेखन फेरी अचानक हिमाल चढने योजना जीवनको यो एन्टिक संयोग यसरी सोचेर ल्याउदा चाँही तपाईं आफ्नै रुचिहरुलाई कसरी बुझ्नुहुन्छ ?

पत्रकारिता अघि साहित्य लेखनको अभ्यासमा थिएँ । अहिले फर्केर हेर्दा यस्तो लाग्छ तर त्यो समय त म पनि कता कता कवि लेखक साहित्यकार नै पो हुँ कि भनेर गम खान्थे । पत्रकारिता छापाबाट शुरु गरेँ । रेडियोको अनुभव सँङ्गाले दुबैमा फरक अनुभव र आनन्द महशुस भयो । हिमाल आरोहणको बिषयमा अगाडी बताइहाले । जीवनको एन्टिक संयोग भन्नाले केलाई बुझाउछ यो बिषयमा अज्ञान छु । मलाई मनुष्यको जीवनमा आउने संयोगहरु जुनसुकै बाहना वाध्यताको नाममा नै आएको किन नहोस् ति सबै समयले व्यक्तिलाई सुहाउदो दिएको रङ्हरु हुन् । यसलाई स सम्मान स्विकार गर्नुको विकल्प हुँदैन ।

म मेरो रुचिहरुबीच जीवन बुझ्छु । म हुनु भनेको मेरो निम्ती मेरो रुचिहरु हुन् रुचि अनुसार जीवन जिउनु मेरो खुशी हो । मान्छेले जीवनमा खोज्ने खुशी आनन्द नै होला । म मलाई मन लागेको कुरा गर्छु तर मनपरी गर्दिन । आफ्नो जीवन आफ्नै तरिकाले जिउनुपर्छ,जिउनु पाउनु पर्छ भन्ने सोच राख्छु । त्यसैले मेरो जिवनको मालिक, नोकर दुबै मै हुँ । म मेरो जिन्दगीको संविधान नियम आँफै बनाउछु ।

अब अलिकता हामी सामाजिक अवस्थातिर फर्कौ । समग्र नेपाली समाज र जनजाती समाज यी दुई फरक परिस्थितीमा खास जनजाती महिलाको चुनौती कति जटिल परिस्थितीमा छ ?

पहिले हामी मनुष्य हौं अनि नेपाली । हो ! मेरो बुझाई यस्तो छ । नेपाली समाज विभिन्न जातजाती धर्मलम्वी समुदाय सँस्कृतिको सुन्दर समिश्रण हो । सबैको आ आफ्नो सौन्दर्य र विशेषता छ । यसलाई हेर्ने र बुझ्ने भनेको ब्यक्तिको सोच र चेतनामा निर्भर गर्छ । जहाँसम्म जनजाती महिलाको चुनौती र जटिलता भन्ने छ, वास्तवमा केलाई चुनौती अनि केलाई जटिलता बुझ्ने ?

कुनैपनि चुनौती र जटिलता एक नाश हुँदैन । तपाईंले सोध्नु भएको छ जनजाति महिलाको बिषयमा । यसभित्र पनि जात, भुगोल,धर्म, बर्ग, शिक्षा आदिमा फरक फरक समस्या र बाध्यता हुन्छ । साथै, अवसरको पहुँच पनि उसैगरी समान हुँदैन । नेपाली समाज समग्रमा हेर्दा जनजाती महिलाको स्थान त सबै भन्दा उचो भन्ठान्छु । जनजाती समुदाय मातृसत्ता भएको समुदाय हो । जनजाती समुदायमा परिवारको सत्ताको संचालन स्त्रीले गर्छ । पुरुषले आयआर्जन गर्छ र त्यसको भोगचलान सन्चालनको सम्पूर्ण अधिकार स्त्रीलाई दिइन्छ । आमा ,श्रीमती,दिदिबहिनी,फुपु आदि ।

जनजाती महिलाले महिनावारीको नाममा आफ्नै घरपरिवार,भान्छा ,भगवान देखी आछुत हुनुपर्दैन । नेपाली समाज समग्रमा हेर्दा जनजाती महिलाले स्वतन्त्रता र अधिकारको साथ बाच्न पाएको छ । नाता सम्बन्धको सम्मानको नाममा घुम्टो ओड्नु पर्दैन । श्रीमानले खाना खाईसकेपछि मात्रै फेरी श्रीमानले खाएको थालमा खानुपर्छ भन्ने हुँदैन । विवाहित या अविवाहित सबैले सोल्टी सोल्टिनी आपसमा हासखेल ख्याल ठट्टा गर्दैमा बात लगाइहाल्दैन । यो सोल्टी सोटिनीको साईनो सम्बन्ध आँफैमा प्रिय लाग्छ मलाई ।

आजभोलि शहरमा पप, डिस्को, नाइट क्लबहरु रोधी ,साकेला ,धाननाचको आधुनिक रुप न हो । रोधीमा तीन दिन तीन रात गीत गाउँने र नाच्ने चलन छ । त्यसैगरी हाट बजार , मेला या गाँउघरमा विवाह भोज आदि अवसरमा भेट भएको पाहुनासँग पालाम गाउदै हात हात समाई गोलाकार आकारमा घुम्दै धाननाच नाच्ने सँस्कृति जनजाति समुदायमा छ । श्रीमान यता सोल्टिनीसँग धाननाच नाचिरहेको हुन्छ अर्को तिर श्रीमती उसैगरी सोल्टिसँग धाननाच नाचिरहेको हुन्छ । अरु त के साकेलाको समयमा ढोल झ्याम्टाको तालमा साकेलाशिली गीत गाउदै गाउदै महिना दिनसम्म साकेला नाच्दै हिंड्ने मै हुँ । तपाइले भन्नु भएको जस्तो समग्रमा नेपाली समाजलाई पढ्दा मेरो बुझाई यस्तो छ । सधैं नै राज्य सत्तामा रहेका र तिनका सन्तती ,सत्ताको वरिपरि रहेकाहरु र उनका सन्तान बाहेक अरुहरुको अवस्था समान नहोला तर खासै अन्तर छैन ।

अबको भावी योजनाहरु के कस्तो छ ? र अन्तमा केही भन्नु छ कि ?
भावी योजनाहरुको बारेमा माथि भने फेरी भन्नलाई म सँग त्यस्तो कुरा के नै पो हुन सक्छ तर एउटा कुरा भन्न मन पर्‍यो ।तपाइले मलाई अन्य कुराहरु भएपनि विशेष सगरमाथा आरोही भएकोले अन्तवार्ता गर्नुभयो यही सम्बन्धी कुरा भन्छु । म आरोही हुँ । रम्दुङ हिमाल र यलुङरी हिमाल र सगरमाथाको सफल आरोहण गर्न सफल भएँ। हिमालको शिखरमा पुगेको मै हुँ । शिखरको शिरबाट फेदिमा ओर्लेको पनि म नै हुँ । यो आरोहण अनुभवले म यति भन्छु, आरोहणको क्रममा आरोहीको लक्ष्य भनेको शिखर पुग्नु हुन्छ । एउटा आरोहीको लक्ष्य पूर्ण गर्न शेर्पाको आरोहणमा (शेर्पा भनेको पद हो )भूमिका महत्वपूर्ण हुन्छ । म बिना शेर्पा हिमाल चढ्न या ओर्लन सोच्न पनि सक्दिन । हिमाल शेर्पाहरुको हो । शेर्पा भनेको हिउमाझी हुन् । बिना अक्सिजन सगरमाथाको आरोहण गर्न सम्भव होला तर शेर्पा बिना सम्भव छैन ।

तपाईको प्रतिक्रिया