काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि आकस्मिक बैठक बोलाएका छन् ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन् ।
यस्तै एमालेले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।
सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।