रमेश के.सी.
हिजो सत्य लागेका कुराहरु आज कम सत्य र असत्य लाग्न थालेको छ । बीसौं शताब्दीमा आधा विश्व प्रभाव पारेको समाजवादी चिन्तन पनि आज प्रश्नको घेरामा उभिएको छ ।
एक्काईसौं शताब्दीमा समाजवाद के हो ? के यसले मानव समस्याहरु समाधान गर्न सक्छ ? जस्ता प्रश्नहरु आज चारैतिर उठन थालेको छ । विश्वमै प्रभावशाली मानिएको विचारको आज विस्तारै रङ्ग खुइलिदै गएको छ ।
विशेष गरेर ल्याटीन अमेरिका जहाँ समाजवादीहरुको गहिरो पकड थियो, जो आज विलिन हुदै गईरहेको सन्दर्भमा अलजजीरा अंग्रेजी टलिभिजनले एक घण्टा लामो राजनीतिक बृतचित्र प्रशारण गरयो। “ल्याटीन अमेरिका : अ जायन्ट इन टरमोइल” नामक सो बृत्तचित्रले उठाएका प्रश्नहरु नेपाली समाजमा पनि सान्दर्भिक छ । किनभने नेपालमा “समाजवाद उन्मुख” संविधान अन्तर्गत नेपाल कम्यूनिष्ट पार्टीको प्रजातान्त्रीक ढंङले निवाचित दुई तिहाईको सरकार छ ।
ल्याटीन अमेरिका जहाँ क्यूवाको क्रान्तिले सम्पूर्ण भूभागलाई समाजवाद तर्फ आकर्षित गरेको थियो । सन १९५९ मा सम्पन्न क्यूवाली क्रान्ति फिडेल क्याष्ट्रोको नेतृत्वमा सम्पन्न भएको थियो । जसलाई वामपन्थी आइकन चे ग्वे भाराले साथ दिएका थिए ।
क्याष्ट्रो मूलत अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रवादी थिए । जसले पछि मार्क्सवादी लेनिनवादी घोषणा गर्दै आफुलाइ कम्युनिष्ट बनाए । अमेरिकी समर्थित वाटिष्टाको सरकारलाई सत्ताच्युत गरी गुरील्ला युद्ध मार्फत सत्तासीन उनी जीवनकालभरी क्यूवाका नेता भए । उनि संसारमा लामो समय शासन गर्ने शासकमा पनि पर्छन ।
ल्याटीन अमेरिकामा अमेरिकी साम्राज्यवाद विरोधी लहरको क्रममा भेनेजुएला, बोलीभया, पाराग्वे र चीली लगायत राष्ट्रहरु कुनै न कुनै कालखण्डमा समाजवादी शासन प्रणालीबाट गुज्रीसकेका छन् । तर आज पुँजीवादको विरुद्ध ल्याटीन अमेरिकामा कतै दह्रो आवाज छैन । जताततै दक्षिणपन्थी लोकप्रियतावादी शासकहरु छन ।
भेनेजुएलामा संकट छ । निकोलस मडुरोको विरुद्ध अमेरिका समर्थित अर्को सरकार प्रमुख छन । बोलीभियामा इभो मोरालेसको समाजवादी शासन समाप्त भयो । अन्ततोगत्वा उनि अर्जेन्टीनामा शरण लिन पुगे । ब्राजीलमा बोल्सेनोराको दक्षिणपन्थि शासन छ ।
कुनै समय लुला डी सिल्भाको लोकप्रिय बामपन्थी सरकार भएको ब्राजील अहिले संसारकै प्रमुख लोकप्रियतावादी राष्ट्रमा पर्दछ । यहि चिन्तालाई चिन्तन गर्दै अलजजीराको उक्त बृतचित्रले ल्याटीन अमेरिकाको यथार्थलाई देखाएको थियो ।
औपनिवेशीकहरुको विरुद्ध लडेका भेनेजुएलाका सिमोन बोलिभारको गौरवमय परम्परा रहेको भूभागमा आज दक्षिणपन्थीहरु हावी भएका छन । वास्तवमा समाजवादको विघटन बीसौं शताब्दीको प्रमुख घटना हो । धरतीमा स्वर्ग सम्भव छ भन्ने यो चिन्तन पनि मार्क्सको द्वन्दवादमा आधारित “इतिहासको अन्त्यवादी” चिन्तन नै हो । साम्यवादमा सबै अन्तविरोधहरुको हल हुन्छ भन्ने यो दर्शन पराजीत हुनुमा यसमा निहित गैरप्रजातान्त्रिक चिन्तन नै जिम्मेवार छ भन्न सकिन्छ ।
हुन त १९४० मा भीयेनाका दार्शनिक कार्ल पोपरले “खुला समाज र यसका शत्रुहरु” नामक पुस्तक लेखि साम्यवादी चिन्तन जगैदेखि अधिनायकवादी भएको आरोप लगाएका थिए । पोपरले युरोपेली साम्यवाद विशेष गरेर सोभीयत सत्तासर्वसत्तावादी भएको आरोप लगाएका थिए ।
सन १९९० मा युरोपेली समाजवादको अन्त्य भए पनि ल्याटीन अमेरिकामा उनिहरु निर्वाचन मार्फत सत्तामा टिकीनै रहेका थिए । तर एक्काईसौं शताब्दीको दोस्रो दशकमा आईपुग्दा उनिहरु कमजोर बने ।
समाजवादी चिन्तनको स्रोत खोज्दै जाँदा १६औं शताब्दीका दार्शनिक थोमस मुरको “युटोपीया” सम्म पुग्नु पर्ने हुन्छ । यो भू स्वर्ग इसाई धार्मिक चिन्तनसँग पनि जोडीएको छ । तर त्यस्तो युटोपीया हाँसील गर्न कुनै पनि राष्ट्र सफल भएन ।
७० वर्षको राजनीतिक प्रयोग पछि सोभीयत जनताहरु सन् १९९० मा रोटीको लागि लाइनमा बस्नु परयो । त्यो बेला दिग्वीजय हासील गरेको पूँजीवादी प्रजातन्त्र र खुल्ला बजारको विस्तारले पनि मानव समस्या समाधान गर्न सकेन । नवउदारवाद भनिएको त्यो चिन्तनका विरुद्ध अहिले चुनाव मार्फत निर्वाचित तर गैर प्रजातान्त्रीक लोकप्रियतावादीहरु हावी छन ।
यस्ता लोकप्रियतावादीहरुमा अमेरिकाका ट्रम्प, रुसका पुटीन, ब्राजिलका बोल्सेनारो र भारतका मोदी प्रमुख रुपमा छन् । नवउदारवादको असफलताले सामान्य मनिसहरुमा पनि फ्रान्सिस फुकुयामाको “पुँजीवादी इतिहासको अन्त्य” मा रुचि छैन भन्ने प्रष्ट भएको छ ।
संसारका अधिकांश जनता राजनीतिक चिन्तनको स्वप्न लोकमा जिउनु भन्दा दैनिक समस्या समाधान गर्न चाहन्छन् । ल्याटीन अमेरिकामा देखिएको समाजवादको असफलताबाट वर्तमान नेपाली राजनीतले पनि सिक्नु पर्ने हुन्छ । संविधानमा समाजवाद उन्मुख भनिएपनि कस्तो समाजवाद र कसरी प्राप्त गर्ने भन्ने स्पष्ट छैन । त्यो संविधान निर्माण गर्दा वामपन्थीहरुको पहुँच बढेकोले यो उल्लेख गरिएको हो ।
अलजजिराको बृत्तचित्रमा बोलीभीयाका तत्कालिन राष्ट्रपति इभो मोरालेसले समाजवादको सफलताका लागि राष्ट्रबाट अमेरिकी राजदुतलाई निष्काशन गर्नुपर्छ भनेका छन । तर त्यो सम्भव छ ?
अन्तनिर्भरमा रहनु परेको वर्तमान विश्वको जीउदो जाग्दो यथार्थ भनेको पुँजीवाद नै हो । तर कस्तो पुँजीवाद भन्ने विषयमा विवाद हुन सक्छ । किनभने विश्वका विभिन्न कालखण्डमा असफल भइरहेको समाजवादी चिन्तन अहिले घाइते अवस्थामा छ । उसलाई घाउ लागेको छ । सोभियत संघको पतनपछिको पछिल्लो घाउ उसलाई ल्याटीन अमेरिकामा मात्रै होइन कि भारतमा सम्पन्न निर्वाचनमा समेत लागेको छ, जुन निर्वाचनमा एक जना कम्युनिष्टले मात्र चुनाव जिते ।
यसरी पराजित हुँदै गएको समाजवादी चिन्तनको कि त पुन परिभाषा हुनुपर्दछ । नत्रभने बीसौं शताब्दीको घङधङीबाट आजको जटील टेक्नोकल्चरले गाँजेको विश्वमा समाजवाद सम्भव हुदैन ।
नेपालमा साम्यवादीहरुको सरकार भए पनि यो मुलत: लोक प्रियतावादी दक्षिणपन्थी चरित्रको सरकार हो । समाजवाद यसको देखाउने दाँत हो ।
चीनलाई रुपान्तरण गर्ने देङले भनेका थिए कि विरालो कालो होस वा सेतो मुख्य कुरा मुसा समात्ने हुनुपरयो । वर्तमान नेकपाको ओली सरकारका संचालकहरु अहिले बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादमा विवाद गर्ने गरेको पाइन्छ । जुन जनवाद भनेपनि त्यो बिरालोले मुसा समात्नु परयो ।
तर वर्तमान सरकार आसेपासे पुँजीवादीको घेरामा छ । यो सरकार जनताका सामान्य समस्याहरु पनि हल गर्न असफल छ । नेपाली साम्यवादीहरुले निर्वाचन मार्फत पाएको यो अवसर गुम्ने सम्भावना छ । यसर्थ नेकपाका नेताहरुले ल्याटीन अमेरिका हेरे पुग्छ । अन्यथा आफै गैर समाजवादी हुँदै लोकप्रियतावादी र गैर प्रजातान्त्रीक हुदै जाने स्थिति आउदछ ।
आजको विश्वमा समाजवादको कुरा गर्नु गरिब नेपालीहरुका लागि आकर्षणको विषय हुन सक्ला । तर यसले सहि परिणाम ल्याउन सक्दैन । नेपाललाई चाहिएको जनताका आधारभुत आवश्यकता पुरा गर्ने विचार हो । जुन जहाँबाट, जुनप्रयोगबाट सम्भव हुन्छ त्यहीबाट लिनुपर्छ ।
यो कुरा समाजवादको साँघुरो घेराबाट सम्भव छैन । हामीले चीन, सिंङ्गापुर, रुवाण्डा, जापान वा भुटानबाट पनि सिक्न सक्छौं । वादको आग्रह राखेर आज कुनै पनि शासन संचालन नै हुन सक्दैन । आज विश्व उत्तर विचारधाराको युगबाट गुज्रीरहेको छ ।
चीनले आफ्नैखाले व्यवहारवादलाइ प्रयोग गरेर देखायो । हो त्यस्तै नेपाली मौलिक परिवेश र भुगोलमा पनि गर्न सकिन्छ । नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा सुदुर लक्ष्यको रुपमा साम्यवादलाई राखेको छ । जुन असम्भव कुरा हो । जनताको दैनिक जीवनमा आउने समस्याहरु समाधान गर्न नसक्ने गरिब राष्ट्रको एउटा सरकारले कसरी साम्यवाद ल्यानेछ, यो एउटा आश्चर्यको विषय हो ।