रमेश के.सी.
प्रताडित शहरहरुमा
कुन भाषामा वर्षा हुन्छ ?
विश्व प्रसिद्ध बामपन्थी कवि पाब्लो नेरुदाका यी पंक्तिहरुबाट शुरु हुने वैकल्पिक विश्वको खोजी गर्ने लेखिका अरुन्धती रोय प्रताडीत शहरहरुमा अनुवादको भाषामा वर्षा हुने निष्कर्षमा पुग्छिन ।
उनको सन् २०१८ देखि सन २०२० सम्म प्रस्तुत र प्रकाशित भएका क्रमशः सम्भाषण र लेखहरुको संकलन “आजादी: फ्रिडम फासिज्म फिक्शन” समकालिन भारतलाई विश्व आलोकमा हेरिएको पुस्तक हो ।
साहित्य अनुवाद सम्बन्धी विषयमा डब्ल्यू जी सेबाल्ड लेक्चर: २०१८ मा बोल्ने क्रममा उनी आफ्नो पछिल्लो उपन्यास “दि मिनिस्ट्री अफ अटमोस्ट हेपिनेस” विभीन्न भाषामा सोचेर अंग्रेजीमा लेखिएको उपन्यास भएको दाबी गर्दछिन ।
अंग्रेजी भाषा बेलायतीहरुले भारतलाई दिएको उपहार मात्र नभएर विभीन्न करीब ७ सय भाषा भाषिका रहेको भारतको सम्पर्क सुत्र रहेको ठहर छ उनको । पछिल्लो उपन्यास उनले भारतका विभिन्न हिन्दु, उर्दु, अंग्रेजी बंगाली र रैथाने भाषामा सोच्नहरुको गद्य भएको बताउछिन ।
रोय आफु अंग्रेजी भाषाको लेखीका भएपनि भारतको आत्मा, स्थानियता र रैथाने व्यक्तिहरुको मनोभाव र भाषामा रहेको बताउँदै उक्त उपन्यास त्यही जनजीवनको प्रतिविम्ब रहेको बताउँछिन ।
असम राज्यको चिया बगानमा बाल्यकाल विताएकी रोय पछि दक्षिण भारतको केरलामा हुर्कीइन । त्यसपछी दिल्लीमा वास्तुकला पढन आउँदा हिन्दी सँग परिचित भइन भने चियाकमानको भाषा बंगानीया र केरलाको भाषा मलालयालीसँग उनि परिचित थिइन ।
आफ्नो मस्तिष्क ब्राहम्ण्डमा विविध स्थान र भाषाहरुको छाप रहेको बताउदै रोय पछि अंग्रेजी भाषाको लेखिका बनिन । रोय मुलत विश्वनागरकि हुन ।
उनले आफ्ना लेखहरुमा दोस्रो इराक युद्ध, ट्रम्पको उदय, दक्षिण पन्थी राष्ट्रवादको विषयमा खुलेर आचोचना गरेकी छिन । उनी प्रसिद्ध वामपन्थी चिन्तक तथा भाषाशास्त्रि नोम चोम्स्की परम्पराकी बुद्धिजीवी हुन ।
उनी सत्ताको बुद्धिजीवी होइनन, आम जनताकी बुद्धिजीवी हुन । भारतको विषयमा विशेष गरेर नरेन्द्रमोदीको भारतीय जनता पार्टी,हिन्दु राष्ट्रवाद र फाँसीवादी नीतिको खुलेर विरोध गर्छिन ।
प्रसिद्ध नोवेल पुरस्कार विजेता लेखक भी एस नयपाल भारतलाई घाइते सभ्यता भन्दै हिन्दु सभ्यताको अतित मोहमा रम्दथे । नयपाल भारतीय जनता पार्टीका समर्थक थिए । प्रवासी भएर होला हिन्दु परिचयसँग उनी आशक्त थिए । उनको मनोधरातल वैदिक सभ्यता संग जोडिएको थियो । तर रोय भारतको वर्तमानसंग बढी सरोकार राख्दछिन ।
मोदीको भारतमा मुस्लिम, इसाई, दलित र कर्पोरेट पूजीवादबाट थलिएका आदिवासी र शोषणको विरुद्ध लडी रहेका माओवादी प्रति उनि सहानुभुतीशील छिन । मोदीको हिन्दुराष्ट्रवादलाई फाँसीवादको संज्ञा दिन्छिन । आज मोदीको भारतमा स्वतन्त्र बोल्ने नागरिक हुनुभनेको आतंकवादी र देशद्रोही हुनु हो भनिन्छ ।
भारतीय हिन्दु अतिवादीहरुको हिंसामा ज्यान गुमाएकाहरुको विवरण दिन्छिन । मोदीका आलोचकहरुको जेल जीवनको कथा बुन्छिन । वास्तवमा आजादी समकालिन भारतको त्रासदीको चित्रण गर्ने पुस्तक हो ।
हजारौं वर्ष देखि जातीय विभेदको मारमा परेका दलितहरुको पीडा र विभेदको विरुद्ध आक्रोश पोख्छिन । महात्मा गान्धी समेत जातीय हिन्दु समाजको पक्षमा रहेको उनको दाबी छ ।
“आजादी” शिर्षक मूलत: कश्मिरको समस्या र त्यहाँका जनताको स्वतन्त्रताको भावनालाई कदर गर्दै राखिएको छ । करिब २ वर्ष अघि मोदी सरकारले जम्मू कश्मिरको विशेषाधिकारलाई संविधानबाट हटायो । कश्मिर राज्यलाई बन्दि गृह बनाइयो । इन्टरनेट काटियो । राजनिीतज्ञहरुलाइ नजरबन्दमा पारियो । आमजीवन ठप्प भयो ।
कश्मिरमा स्वतन्त्रताका लागि लडनेहरु भारतीय सेनाहरुद्वारा मारिएका छन् । कश्मिरको पहिचानलाई नामेट पार्ने त्यो कदमलाई उनले मोदी सरकारको फाँसीवादी, कृयाकलाप भनेकी छिन् ।
नागरिक संसोधन ऐनको असरबाट खुलेर कुरा गरेकी छिन । जसको विरोध राजधानी दिल्लीमा भइरहँदा तात्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारी भ्रमणमा थिए । ट्रम्प मोदीको फाँसीवादी अंकमालले भारतिय जनताको खील्ली उडाएको उनको टिप्पणी छ पुस्तकमा।
मोदीको भारतमा दलित र अल्लसंख्यक हुनु भनेको खतरा मोल्नु हो भन्छीन । जम्मा ९ वटा निबन्धहरु भएको यो संग्रह बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा दिएको सम्भाषण देखि न्यूयोर्क टाइम्स र फाइनान्सीयल टाईम्सलाई लेखेका रचनाहरु संग्रहित छन ।
अरुन्धती रोयको चिन्ता हिन्दुराष्ट्रवादीको उदय र विस्तार हो । जसलाई उनी विदशी श्रोता सामु राख्दछिन । उनका “दि मिनीस्ट्री अफ अटमोष्ट हेप्पीनेस” मा पनि यी चासोहरु आएका छन् ।
हिन्दु राष्ट्रवादको प्रेरणाले जर्मनीको दोस्रो विश्वयुद्धताका हिटलरले आर्यन जातीको पवित्रताकालागी यहूदिहरुको नरसंहार गरेको बताउछिन । तर भारत बहुजातिय, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएकाले हिन्दु पहिचान मात्र काम नलाग्ने उनको ठहर छ ।
स्वतन्त्रता संग्रामको सेरोफेरेमा जन्मिएको हिन्दु राष्ट्रवाद सन् १९९० मा नवउदारवादी आर्थिक कार्यक्रम लागु गरे पछि फस्टाएको उनको ठहर छ । उनी कर्पोरेट पूजीवाद, मोदी मिडीया र हिन्दु अतिवादीको साँठगाठका विषयमा खुलेर बोल्छीन ।
उनको चिन्ता टर्कीका इरीडोवान, रुसका पुतिन, ब्राजिलका बोल्सेनारो र हंगेरीका ओर्वानहरुको दक्षिणपंथी राजनीतिक प्रति छ ।
सन् ९० को दशकमा भारतीय जनता पार्टीका अटल बिहारी बाजपेयीका सरकारले गरेको आणविक परिक्षणको विरोधमा “द इन्ड अफ इमेजीनेशन” निवन्ध लेखेर गैर आख्यान साहित्यमा हात हालेकी रोय जुनियर जर्ज बुसको इराक युद्धको अत्यन्त आलोचक बनिन । आज उनका विचारहरुलाई चासोका साथ लिइन्छ ।
अरुन्धती रोय सिमान्तकृत वर्गकालागी बोल्ने लेख्ने गर्छिन । २१औ शताब्दीको दोस्रो दशक सकिदा आज संसारमा हुने खाने र हुँदा खाने बिच गहिरो खाडल छ । यो खाडल भारतमा झन गहिरोछ । यही खाडलमा परेको मानिसहरुको बाणीलाई यस पुस्तकमा स्थान दिएकीछिन् ।
पुँजीवादकृत युद्ध लोभ र विवेकले विश्व जनसंख्या आतंकित भइरहदा भारतमा हिन्दु राष्ट्रवादको उदयले आम नागरिकहरु मारमा परेका छन् । मोदीको बहुसंख्यकवादले आतंक श्रृजना गरेको छ । रोय विविधताले भरिएको भारतमा बहुलताको वकालत गर्दछिन । यहि आवाजले गर्दा उनले अन्तराष्ट्रिय ख्याती पाएकी छिन । आजादीको शुरुवातमा उनी एडवार्डो ज्ञालिनोको एउटा पंक्ती राख्छीन ।
भोली आजको लागी अर्को नाम भन्दा बढी हुन सकोस ।
नाम – आजादी
लेखिका – अरुन्धती रोय
प्रकाशक – पेन्गुइन
मूल्य – ८०० ने.रु.