बि स २०५५ साल मै ‘जीवन अनुभुती’ कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा पदार्पण गरेका कवि जगत नवोदित, बेलायतमा बिगत बीस बर्ष देखि साहित्य सिर्जनामा कृयाशिल छन। बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कविता प्रतियोगिताहरुमा पुरस्कृत उनी नेपाल प्रज्ञा प्रतिष्ठान , तथा बिमल स्मृति पुस्तकालय धरानबाट आयोजित कविता महोत्सबहरुमा समेत पुरस्कृत हुन। अन्तरास्ट्रिय साहित्य समाजको केन्द्रिय उपाध्यक्ष्य (युरोप कोर्डिनेटर) समेत को भूमिका निर्बाह गरिसकेका कवि कुनै समय ‘भावना’ साहित्यिक त्रैमासिक पत्रीकाको सम्पादक भएर कृयाशिल थिए। हाल ब्रिटिश आर्मीको क्याप्टैन पदमा कार्यरत उनै प्रतिनिधी युवा कविको सिर्जनाहरु यहाँ प्रस्तुत गरिएको छ।
जुवाडे
महोदय
चिन्नुहुन्छ ?
सब भन्दा खतरनाक
जुवाडे को हो संसारको ?
कसैलाई नसोच्नुको भाग्यको दाउ लगाइदिन्छ
झुन्डाउछ बिच बाटोमा कसैलाई
क्षणभरमा बनाईदिन्छ कसैलाई बर्बाद
को हो त्यो ?
शक्तीको मातमा पागल शाशकहरु
वा बैंसको मादकताले लठाउने सुन्दरीहरु
आँधीहुरी झै चलायमानहरु
वा हुन बलिया पहलमानहरु
र
स्वयम युगको शकुनी पनि
हारेका छन उसँग जुवामा
त्यो मर्द जुवाडे
नभएर कोही
टास्सिएर बसेको छ हामी साथ
तर किमार्थ सकिएको छैन रोकी राख्न
उर्फ
समय हो समय !
निर्दोष पातमा उनिएर
मेरो प्रिय फुलको एउटा पात
झुसिल्किराले आधी खायो
अरु पातहरु जोगाउन
मैले हतार बगैचामा छरे औषधी!
घटनाको भोलिपल्टै
मेरो मालिकले
घाइते पात अडिएको डाठ भाचेर
मलाई सुनायो
ए माली !
“कुरुप पात भएको डाँठ मलाई मन पर्दैन
जसले बगैचाको शोभा घटाऊछ”
नाजवाफ म-
मालिकको निष्ठुरीपन हेर्दै
उसको कुरुप भावना नियालीरहे
निर्दोष फुलको घाऊमा मर्माहत
म भित्र
एउटा प्रश्न जन्मिरहयो
यदी फुल सहनसिल नभएर
आक्रमक हुदो हो त – मालिक जस्तै
गनी नसक्नु उसका कुरुप डाठहरु
कती ठाउँ भाचिन्थे?
एउटा अक्षरको माग
जीवन मुछिएको हाम्रो माटोमा
सुरक्षित छन्
सुकिलो पोसाकमा षड्यन्त्रकारी अक्षरहरु
साम, दाम, दण्ड र भेद लाएर
अक्षर पूर्न खाल्डो खन्ने बिश्वासघाती अक्षरहरु
टालेको आमाको चोली उधार्दैछन् शकुनी अक्षरहरु
शालिक भएकाछन् -क्रान्तिकारी अक्षरहरु
शरणार्थी भएकाछन् – इमान्दार अक्षरहरु
नयाँ बाटो खन्ने नाममा
आफ्नै घर भत्काइरहे – राता अक्षरहरु
डढेलो सल्किएको छ बस्तिमा
पहिरो गएको छ हाम्रो भबिस्यमा
गरीब अक्षर पसिनाको मुल्य नपाएर
एकमुठी उसिना चामल मागिरहेछ
र
शोकमग्न कलीला अक्षरहरु
पर्खिरहेछन् – चिशो चुल्हा
आतङ्कित निर्दोश अक्षरहरु
मागिरहेछन् – रगत नलत्पतिएको बिहान
खोजिरहेछन्- आँसुले नभिजेको साँझ
हाम्रो खेत र बारीमा
बाटो अनी फुलबारीमा
कालो परिबेश फुलिरहेको बेला
युगले हरेक घडीमा
मागेको छ एउटा अक्षर
जो
सम्पूर्ण कालो परिवेशको बिरुद्ध
हुन सकोस – उज्यालो घाम!