पछिल्लो समय समसामयिक विषयमा गम्भीर कविता लेखिरहेका वाक्सेली थापाको भस्मासुरको देशु कविता सङ्ग्रह प्रकाशित छ । विषयवस्तुको मिहिन प्रकटीकरण, पृथक बिम्ब छनोट र सफ्ट व्यग्यशैली उनका कविताका विशेषता हुन् । प्रस्तुत छ ओखलढुङ्गाका कवि वाक्सेली थापाका तीन कविता।

आगोको दर्शन

वर्षौंदेखि
एउटा पुरानो किताब
ओथारेर छातीमा आगोको दर्शन
पुस्तकालयको पुरानो र्‍याकको कुनामा
चुपचाप गुँडुल्किरहेथ्यो ।

संयोगवश एकदिन
किताब फेला पार्‍यो एउटा पाठकले
र, पढ्यो पानाका प्रत्येक नसाहरू
थुतेर हरफ हरफबाट
राता रङ्गका विचारहरू
थपक्क राखिदियो किताब उसै ठाँउमा
जसले सिकायो उसलाई
कुशलतापूर्वक आगो ओकल्न ।

सायद बुझ्यो उसले –
क्रान्तिको पहिलो हरफ स्याबोटेज् हो

र त विनासको उराठलाग्दो कोखबाट
विकासको लहलह मुना पलाउँछ
त्यसैले,
निस्कनु अघि डरलाग्दो एउटा यात्रामा
एकाएक रोपिदियो आगोको पहिलो बिउ
पुस्तकालयको बूढो छातीमा ।

यसरी किताब भित्रको आगो
एकाएक यात्रामा बाहिर निस्कियो
र, क्रमशः दनदनी सल्किदै गयो परसम्म
पूर्णरूपमा खरानी हुनु अघि
अभागी पुस्तकालय
सल्क्यो निठुर आगोको अन्तिम झिल्को
त्यही पुरानो किताबको शिरमा
जसले सङ्गाली आएथ्यो वर्षौंदेखि
प्रेमपूर्वक आगोको दर्शन ।

कीन ?

ओ नयाँ अनुहारको महाराज !
किन मदेखि क्रुद्ध छौ यसरी ?
मानौँ कि
बाथरुमको भित्तामा टाँगेर
कुनै कामुक सुन्दरीको अर्धनग्न फोटो
हस्तमैथुन गर्दा हतार हतार
पर्‍यो तिम्रो निधारमा वीर्यको सिर्को ।

म त एउटा कवि हुँ
फगत कविता लेख्ने कवि
यसरी कविता लेखेँ भन्दैमा
मसँग तर्सिनु पर्दैन त्यसरी,
र यो पनि होइन म कि
तिम्रो शक्तिशाली सत्ता हल्लाउन सकूँ
र, मलाई मतलब पनि छैन यहाँ
कि बजार चलोस् भ्रमको
कि बजार चलोस् टुक्काको
वा बजार नचलोस् इमान्दारिताको
वा बजार नचलोस् नैतिकताको ।

ओ महाराज !
सुत सुतिराख
रोइरहेकी आमाका सन्तानहरूको दुःखको
गहिरो समुन्द्रमाथि ठडिएको अग्लो पलङमा
सापटी लिएर कुम्भकर्णको निन्द्रा
म कदापि बाधा गर्ने छैन
तिम्रो सपनाको अविच्छिन्न यात्रामा ।

मेरो चासोको विषय पनि होइन कि
जति तन्काएर हानिन्छ गुलेली
पुग्नेछ मट्याङ्ग्रो टाढासम्म
घनत्व बढी भएको बारुदको डल्लो
हुन्छ धमकेदार बिष्फोट
वा ब्याक भएको समयले हान्नेछ जम्प
र, पुग्नेछ उत्कर्षमा एकदिन ।

अन्यथा सोच्दै नसोच महाराज !
यो उत्तेजित लाम्चो चिज
मेरो लिङ्ग होइन कलम हो
यसबाट निस्केको रसिलो पदार्थ
वीर्य होइन मसी हो
मलाई मतलब पनि छैन
कि कसैको खुलोस् नखुलोस्
विवेकको ढोका वा मगजको बिर्को
तर किन रिसाइरहेछौ यसरी ?
मानौँ कि हस्तमैथुन गर्दा पर्न गयो
तिम्रो निधारमा वीर्यको घिनलाग्दो सिर्को ।

विष

एकाएक
ढलेकी छे प्रियसी बलेसीमा
जीवनको अन्तिम सहारा ढलेसँगै
बाआमा बज्रपातमा पिटिरहेछन् बूढो छाती
शोकमग्न छन् आफन्तहरू
छिमेकीहरू डुबिरहेको पीडाको पोखरीमा
मौसमले शोक धुन बजाइरहेछ
अनिष्टले पोलेको छ
समुद्रपारिसम्म सङ्गीहरूलाई
र फेसबुकमा धमाधम लेखिरहेछन् ‘रिप’
तर,
देखेर पनि सबै दृश्यहरू
आफ्नैँ आँगनमा मसानघाटको यात्रापूर्व
चुपचाप उत्तानो सुतिरहेको युवकको आँखामा
छैन कुनै प्रतिक्रियाको तस्वीर
र, छैनन् कुनै पश्चतापका अक्षरहरू
मानौँ कि
आत्महत्याको निर्णय लिनुअघि
गम्भीरतापूर्वक निष्कर्षमा पुगेको हो
र लेखेको हो उसले सुसाइट–नोट
छामेर पटक पटक आफ्नो छाती
‘बाँच्नलाई हजार विषहरू पिउनुभन्दा
मर्नलाई एउटै विष पिएको जाती ।’

 

तपाईको प्रतिक्रिया