रमेश के.सी.
सन १९७२ मा बेजिङमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्शनको भ्रमणका बेला चीनीया प्रधानन्त्री चाउ एन लाईलाइ हेनरी किसिन्जरले भनेका थिए कि तपाईको देश मलाई एकदम रहस्यमय लाग्छ । जवाफमा चाउ एन लाईले महोदय बाहिरबाट हेर्दा रहस्यमय लागेको हो । तर भित्रबाट केहि पनि रहस्य छैन । त्यही रहस्यमय चीनलाई अहिले संसारभरीका विद्वान र पत्रकारहरुले “डिकोडीङ” गर्न लागेका छन । आखिरमा चीनको अभूतपूर्व उदयका पछाडी के कारण छन त भनी उनिहरु लागि परेका छन ।
५ हजार वर्षको लिखीत इतिहास अझै कायम राखेको चीनको मौलिक चीन्तन, राजनीति र रणनीति रहस्यमय झै लाग्छ । यसको धर्म र संस्कृतिलाई पश्चिमाहरुले पूर्वीय रहस्यवादको रुपमा लिए । करिब २४ सय वर्ष पूर्व बाँचेका सन जुको एउटा पुस्तक “दि आर्ट अफ वार” अर्थात युद्धको कला त्यस्तो पुस्तक हो जसले समकालिन चीनको रणनीतिक मस्तिष्क बुझन मद्धत गर्दछ । यो पुस्तकका सन्देशहरु चीनीया सैनिक नेताहरु, विदेश मामीलाका सञ्चालकहरु, व्यापारीक नेताहरु मात्र नभई खेलकुद क्षेत्रका हस्तिहरुका लागि मार्ग निर्देशक बनेका छन । आखिर २४ सय वर्ष अघि लेखिएको यो पुस्तकमा के छ ? जसले चीनीया राज्य सन्चालकहरुलाई प्रेरणा दिन्छ । विशेष गरेर सैन्यकलामा लागु हुने यो पुस्तकलाई भीयतनाम युद्धताका त्यहाँका कम्यूनिष्टहरुले विशाल र प्रविधियुक्त अमेरिकी सेनालाई पराजीत गर्न लागु गरेका थिए भने दोस्रो विश्वयुद्धताका पनि यसका सिद्धान्तहरु लागु भएको थियो । बलियो पक्षलाई वेवास्ता गर कमजोर पक्षलाई आक्रमण गर ।
“यदि तिमी आफ्नो सत्रुलाई राम्ररी चिन्दछौ भने हजार युद्धहरु जीत्न सक्छौ र सबैभन्दा राम्रो त त्यो हो यदि तिमी लडाँइ नलडी युद्ध जीत्छौ ।” यस्ता सन्देशहरु भएको तीन भागमा विभाजीत यो पुस्तक चीनीया सैन्य कला कौशलको आधार हो । सबै युद्ध छलमा आधारित हुन्छ भन्ने यो पुस्तक सैन्य रणनीीत को सम्पूर्ण र विवेकपूर्ण कृति मानिन्छ । सन जुले प्राचिन कालमा छरिएका झगडालु राज्यहरु विचको युद्धमा उ राज्यको सल्लाहकार भएर आफुभन्दा विशाल र धेरै शक्तिसाली चु राज्यलाई पराजीत गरेका थिए । जसले गर्दा त्यसबेला उ राज्य धेरै शक्तिशाली भएको थियो । धेरै युद्धहरुमा सहभागी सन जु ले आफ्ना अनुभवहरुलाई पुस्तकमा लेखेको विज्ञहरुले बताएका छन । कतिले यसलाई धेरै सैनिक नेताहरुको अनुभवको निचोड रहेको तर नाम भने सन जु को दिएको पनि बताएका छन ।
“विपक्षीलाई सेनाले होइन विवेकले पराजीत गर” भन्ने सन जु युद्धलाई जीवन र मरणको प्रश्न ठान्दछन । अझ उनि अगाडि भन्दछन कि” तिम्रो योजना रातजस्तै अध्याँरो हुनुपर्छ । तर आक्रमण गर्दा चम्कनु पर्छ । पराजीत सेनाले पहिले युद्ध गर्छ पछाडी मात्र विजय खोज्छ । तर विजेता सेनाले पहिले मनोवैज्ञानिक रुपमा जित्छ र पछी युद्ध गर्छ ।” सन जु लडाईका लागि मौसम, भुगोल, नेतृत्व र नैतिक सिद्धान्त महत्वपुर्ण हुने बताउँछन ।
उनले लडाँईमा जर्नेलको भूमीकादेखि सामान्य सिपाहीको दायित्व सम्म चर्चा गर्दै गुप्तचरहरुको चर्चा गर्दै गुप्तचरहरुको महत्वलाई पनि प्रकाश पारेका छन। एक्काईसौ शताब्दीको दोस्रो दशकमा पढदा लाग्छ त्यतिबेला सन जु मानव व्यवहार र सामाजिक राजनीतिक संरचना द्वन्दमा आधारित छ भन्ने निष्कर्षमा पुगीसकेका थिए । किनभने मानव चेतना नै दुई विपरीत ध्रुबमा विभाजीत छ । जस्तोकि अध्याँरो-उज्यालो, महिला-पुरुष, दिन-रात, आदि । यहि द्वन्दको क्रममा उत्पन्न हुने युद्धलाई विवेक सम्मत ढंङ्गले निरुपण गर्ने उनको उद्देश्य देखिन्छ । यहि विवेकका कारण आज उनको दर्शन चीनीया समाजको आद्य स्वरुपमा बसेको छ ।
चीनीया क्रान्तिका महानायक माओले पनि क्रान्ति ताकाको युद्धमा जु को सिद्धान्तहरुको प्रयोग गरेका थिए । यथार्थ राजनीतिमा आधारीत यो सिद्धान्त पश्चिमी रणनीतिक सिद्धान्त भन्दा बेग्लै छ । यूरोपेली सैन्य सिद्धान्तकार कार्ल भान क्लवीत्ज र एन्टोनी हेनरी जोमेनी रणनीतिकारहरु विजयलाई महत्वपूर्ण मान्दछन भने सन जु घेराउ, मनोवैज्ञानिक दवाव, वातावरण आदिलाई महत्वपूर्ण मान्दछन । उनि बरु युद्ध नलडीकनै विजय प्राप्त गर्न उद्देश्य पनि राख्दछन । उनि राष्ट्रको महत्वबारे भन्दछन कि ध्वस्त भएको राष्ट्रलाई एउटै बनाउन सकिदैन जसरी मरेको मानीसलाई पुनः जीवनमा फर्काउन सकिदैन । उनको विचार अनुसार भुगोलको विजयभन्दा मनोवैज्ञानिक विजय महत्वपूर्ण हो । जसरी आज भुगोलको कब्जा भन्दा विज्ञान प्रविधी र सामाजीक मीडीया मार्फत मनोवैज्ञानिक युद्ध प्रबल हुदै गएको छ ।
जसबाट उनले गरेको भविष्यवाणी आज सहि सावित भएको छ । लडाईमा उर्जा माथिबाट तल झर्ने पानीजस्तै हुनुपर्छ, जसका लागि कमान्डरले वातावरण बनाउने शत्रुको आकलन गर्ने र आफ्नो शक्तिलाई सहि दिशा तर्फ रणनीतिक रुपमा मोडने कार्य गर्नुपर्छ भन्दछन । आजको विशाल चीनलाई विश्व अवस्थामा हेर्दा सन जु को कमाण्डर जस्तै अवस्थामा बसरहेको आभास मील्छ । यसर्थ चीनको मौलिक दर्शन ताओवाद कन्फुसीयसाली धर्म र बौद्ध समुदाय जस्तै यो रहस्यमय र मौलिक रणनीतिक सैन्य सीद्धान्तले चीनलाई सुदुर भविष्यसम्म निर्देश गर्ने छाँट देखिन्छ ।
सन जुको “दि आर्ट अफ वार” भौतिक अर्थात वस्तुगत अवस्थाको आकलनमा आधारित प्राचीन द्वन्दवादको प्रयोग हो । विरोधी पक्षको अस्तित्वलाई स्वीकार्दै त्यसलाई घेर्ने, थकित बनाउने, र मनोवैज्ञानिक दवाव दिने अन्ततगोत्वा विजय हासिल गर्ने हो । सन जु ले सयौ युद्धहरु देखेका थिए । ती युद्धहरुको शैली र संरचना गरेरै उनले यो पुस्तक लेखेका हुन । युद्धको सार्वभौम अस्तित्वलाई उनले स्वीकारेका छन । ती युद्धहरुलाई विवेक सम्मत ढंगले टुङ्गो लगाउनु नै उनको रणनीति हो ।