पचासको दशकको राम्रो कवि बज्रकुमार राई आफ्नो समकालीनमाझ साच्चिकै सुन्दर कविता लेख्ने कवि हुनुहुन्छ , उहाँले धेरै बर्ष आफ्नो कविताहरुलाई सार्वजनिक गर्नु भएन। पछिल्लो समय नयाँ कृतिको तयारीमा हुनुहुन्छ । उहाँको लेखनीले वर्तमान समयको विसंगति र राज्य व्यवस्थाको बेथितिको बिरोधमा आफ्नै स्टाईलले व्यङ्ग्य प्रहार गरिरहेका हुन्छ । समकालीन कविता लेखनको भीडमा आफ्नै अनुहार लिएर उभिएका यी कविताहरुले मानवीय संवेदना आबेग र मनको आरोह अवरोह साथै हङकङलाई नजिकबाट चिन्न सहयोग गर्ने छन् प्रस्तुत। छ साताको तीन कविता ।

बिस बर्षपछि जिग्रीलाई हङकङमा भेट्दा

अब म
नेपाल गएर गाउँमै बस्छु र हलो जोत्छु
खेतीपाती गर्छु र सागसब्जी उमार्छु
कुख्रा-सुँगुर र गाईवस्तु पाल्छु
गुन्द्रुक,सिन्की,सिस्नु,कालोदाल ,ढिरो
मकैको भात,दही,दुध खान्छु र खुवाउँछु
सुड्डा-सुड्डीको हेरविचार गर्छु
वाइफसँग सल्लाह गर्दैछु यार
उसले यसै भन्यो यो हङकङमा मलाई ।

यति सुनेपछि –
मेरो खून खराब भो
दिमाग पम्चट भो
दुई प्याक स्वाट्टै पारें
अनि भनें-
हो,यार हो
तँ फर्किनै पर्छ नेपाल
किनकि,बाउको पेन्सन पट्टा
आमाको गुजुमुजे थैंली
भाई बैनीको परिश्रम अझै छ गाउँमा ।

बिस बर्षअघि जस्तै
तैंले ति सब धरानमा सिध्याउँनु पर्छ
काट्नु पर्छ बैनीको पेवा
भाले र सुँगुर मार्नु पर्छ घरमै
कोदोको तिनपाने खुवाउनु पर्छ गाउँलेलाई
देखाउनु पर्छ तैंले हङकङको तुजुक
विगार्नु पर्छ साइली माइली
देखाएर यहाँको आईडी ।

अब त –
मोटरबाटो पुग्यो बिजुलीबत्ती पुग्यो
स्वास्थ्य केन्द्र र बिद्यालय पुग्यो
जग्गा-जमीनको भाउ बढ्यो
यही भएर तँलाई गाउँको सम्झना आयो
जा अब गाउँमा
निहुँ खोज
अंश मागेर
क्षितिजका घामजून बाउआमासँग झगडा गर
अरबबाट फर्केको भाईसँग
निभा पन्ध्र बर्ष हङकङ बसेर
केही गर्न नसकेको
अनगिन्ति पींडाको आगो…..

भर्खरै थाहा पाउँदैछु म-
यहाँका नेपाली रेष्टुरेण्ट र बारहरुमा
तेरो नामको उधारो जोडिंदै गएको रैछ
संघ र संस्थाको माइनेटमा हिनामीनाको अंक रैछ
ठाउँ ठाउँमा दुई-तीनटी स्वास्नी रैछ
अनि तँ गाउँ नफर्केर कता फर्कन्छस् त ??

यत्तिकैमा उसको मोवाइलमा कल आयो
उसले काटी दियो
फेरी आयो ‘आको आकै गर्यो‘
मैले भने-
कल रिसिभ गर् न यार
उसले बल्ल उठायो-
हल्लो भन्न नपाउँदै
बोलीमा गालीको बर्षात हुन थाल्यो
तँ काँ छस् साले
माचिण्डे‘ अण्डा
तेरो प्यारी चण्डी‘‘कान्छीकोमा कि ?
कुन चाहिं फिलि‘र इण्डो‘कोमा छस् ?
कति दिन भो काममा जान्छु भन्दै ढाँटेको ?
भोलि घरभाडा कसरी तिर्नु ?
सानो छोरा बिरामी छ
ठुलो तँ जस्तै कुन सडकको च्यापतिर छ
अब म के गर्नु  ?  कसरी बाँच्नु ?
आईज तँ दुईटै माले बाउछोरा
आएर मार मलाई र,मुक्ती दे सधैंलाई
ए ! गोरु किन बोल्दैनस् हँ कि सास गैसक्यो
उसले कल काट्यो
र,भन्यो- वाइफको कल छिट्टो आउनुस्
खाना चिसो भो भन्छे
कम्ता माया गर्दिन ज्यान दिन्छे ज्यान
मेरो लागि यार त्यसैले म गाउँ जान्छु भनेको ।

म भन्दा उ धेरै मातिसकेको थेछ
मोवाइल लाउड स्पिकरमा भाकोसम्म भूलेछ
यतिबेला मेरो मन दुख्यो साँच्चिकै आँखा रसायो
र,मैले भने-
लु ग्याम्बे गरौं ,समापन गरौं
तेरो र मेरो हङकङ भेटको पहिलो कार्यक्रम।

लर्बराएको जिब्रोले उसले भन्यो
ओके माई जिग्री‘‘माई लगौटी यार
तर,म गाउँ जान्छु यार बस्दिन यो हङकङमा
तँ पनि नबस्
बसिस् भने म जस्तै हुन्छस् एकदिन
गाउँ मेरो घर, दोर्याईरह्यो दोर्याइरह्यो त्यही कुरा
मैले पनि दोर्याईरहें-
हो,यार तँ सपरिवार नेपाल फर्कनै पर्छ
तँ गाउँ जानै पर्छ जानै पर्छ यार,जानै पर्छ
यतिबेला
रातको दुई बजे हामी दुई हितैषी
हङकङको रेक्लाइमेसन स्ट्रीटमा
खोई कता पुग्नलाई हो हिडीरहेका थियौं
बस् लर्बराउँदै बर्बराउँदै हिंडीरहेका थियौं ।

आमा खोज्दै जाँदा

बर्षौ पहिले-
जब एउटा दुधे बालक
अलपत्र छाडेर गयौ सिकुवामा आमा तिमीले
त्यो बेलाबाट नै कालो भाग्य लिएर
जन्मेको एउटा टुहुरा तिम्रो खोजीमा आफैं हराएको छ।

कतै –
जम्काभेट भैहाल्यो भने
अंगालोमा सुम्सुमाउँदै
हजारौं पटक चुप्पा गर्नु है आमा
त्यो नालायक जवानलाई मेरो कान्छा भनेर ।

हेर न-
उसलाई तिम्रो थाङ्नाको ओछ्यानमा पल्टेर
तेल लगाई माग्नु छ रे
तिम्रो ममतामा लाडे पल्टेर
तिमीलाई दंगाउनु छ रे
तिम्रो काखमा मस्तले निंदाउनु छ रे

अझ भन्छ-
तिमीलाई आँखाको नानीमा डुलाउनु छ रे
तिमीलाई मुटुको धड्कनसँग जोड्नु छ रे
तिमीलाई जिन्दगीको हर शुखान्त भोगाउनु छ रे

उसलाई त-
तिमीले छाडेदेखि
मुखमा थुकिएका थुकका दागहरु देखाउनु छ रे
शरीरभरी भाँचिएका
सिर्कुनाका लुम्साहरु देखाउनु छ रे
मन र आँखाभित्र थुनिएका
गालि र श्रापहरु फुटाउनु छ रे
लाखौंपटक फूटेको मनमुटु जोड्नु छ रे
जदौरी र भतुवा जस्तो जिन्दगीको इतिश्री सम्झाउनु छ रे
उसलाई त-
तिम्रो लोग्नेको मजबुर अन्त्य कथा सुनाउनु छ रे
केवल तिमी बुझ्न सक्छौ रे
त्यो कथा एउटी अर्धाङिनी भएर
जन्म-जन्मान्तरको प्रेमिका भएर
जसको मिलन छोटो रह्यो
बिछोड अति लामो-
उदेग, अशान्त र पीडादायी उसलाई भन्नु छ रे
तिम्रो त्यो लोग्ने-साँचो बाउ थियो रे उसको
जसले आफ्नो वीर्यदान र,तिम्रो दश महिने गर्वलाई
रगत पसीना बगाउदै हुर्कायो पढायो लेखायो रे
धन्य!धन्य!! सत्य र महान !
त्यो एक्लो लोग्ने मान्छे
कर्तब्यपथबाट कहिले पछि हेटेन रे

उसले-
तिमीलाई कहाँ कहाँ मात्र खोज्दैन रे
घृणा सहँदै बाँचिरहेका ति आइमाइहरुमा
वृद्वाश्राममा पन्छाइएका ढनाढ्य रवाफदारका
आमा हजुरआमाहरुमा
सामाजिक तिरस्कारले बहुलाएका नारीहरुमा
तर भेटेन रे उसले- उसको साँचो आमा
उसँग त-
तिमीलाई चिन्ने तिम्रो एउटा फोटोसम्म छैन रे
तिमी बसेको चिहान पनि थाहा छैन रे
कस्ती थियौ होला हगि आमा ?

उ त भन्छ-
सीता सावित्री भन्दा फरक सुम्निमा थीन सुम्निमा रे उसको आमा
जसको रुपचित्र म कोर्न सक्दिन
जसको वर्णन म गर्न सक्दिन
म त मात्र कल्पन्छु …. मात्र कल्पन्छु….
आमा !
तिमी जहाँ छौ आउ है एक पटक फेरी जन्मेर
मेरो थाप्लोमा आर्शिवाद दिन
म लडेर  भिडेर जित्न सकुँ यो दुनियाँ
तिम्रो यादका लागि तिम्रो विश्वासका लागि तिम्रो छोरो भएर ।

एक उदासीन भेटप्रति

सम्बन्धको नाममा
भत्किएपछि जीन्दगीको एकपाटो पहाड
विच्छेदन हुँदो रहेछ आफैंसँग मान्छे

खोटो सिक्का जस्तै
बन्दा रहेछन् मान्छेका चाहनाहरु पनि
यहि मर्मान्तमा पिएर एकान्तमा एक्लै आफ्नै आँशुको नशा
लेख्दो रहेछ मान्छेले नलेखिएका कविताहरु ।

सोच्दो रहेछ
लेख्दो रहेछ
केर्दो रहेछ
लेख्दो रहेछ
कवितामा शशंकित जीवनका कतिकति हरफहरु।
त्यसैमा
कति सग्ला बन्दा रहेछन्
कति अपाहिज बन्दा रहेछन्
लेख्दा लेख्दै जीवनका भोगाईहरु पनि…..

पुर्णिमाको खुल्ला रातमा
जिन्दगीसँगै जिन्दगी खसेपछि तारा जस्तै
कहाँ भेटिंदो रहेछ र यत्रो पृथ्वीमा पनि
इच्छा र आकांक्षाका परिधिभित्र खुशीका आधारशीलाहरु…..

त्यै पनि निराशाभित्र आशाहरु…..!
हरेक वसन्तका पालुवाहरु झैं
पलाई नै रहँदो रहेछ हरदम हरेक मान्छेको जिन्दगीमा

सुनामी संकेत
समुद्रका छाल जस्तै
उदासिनताबाट बिद्रोहमा उछिटिएका
हरेक मनका हरेक चोइटाहरु
सजीवन बन्दा रहेछन् फेरि
र,,नै-
ठालु प्रीयजनहरुको सोचको वस्तिमा
जिन्दगीले साहसको पुनर्जीवन पाउँदो रहेछ
सम्बन्ध र जिउँनुको धरातलमा
आइन्दा कुनै नर्क नहोस्
शुभयात्रा जिन्दगी, शुभयात्रा….

यसै भनीन् एक कविताले आज
आँखाका कोषबाट पिर्लिक पिर्लिक
पल्टेका आँशुका दानाहरु
सेतो र सफा टिश्युले पुछदै
यो धुमधाम शहर हङकङको एक म्याकभित्र
शायद, कविता  हल्का भईन् आज साहसी भईन् आज ……..

तपाईको प्रतिक्रिया