शनिवार व्यक्तित्व –
तीर्थ श्रेष्ठले नेपाली कविता लेख्न थालेकै चार दशक नाघेछ । लेखन र वास्ताविक जीवन दुवै पक्षमा कमै मान्छेहरु सकुशल अगाडी बढ्न सक्छन। यो अर्थमा उहाँ एक सम्मानित कवि हुनुहुन्छ जसले नेपाली कविता, गीत, गजल र मुक्तक विधामा विशिष्ट योगदान दिनुभएको छ । पोखरामा जन्मिनु भएका श्रेष्ठका ’आमा’, ’हिउँमा लेखिएका नामहरू’, ’लाहुरे फूल’, ’म तिम्रो नाम फेर्न चाहन्छु’, ’मुक्तिनाथ तिमीसँग भेटिएको दिन’, ’धर्मग्रन्थ’ र ’बाघ’ जस्ता कविताहरू अत्यन्त चर्चित छन् । उहाँको ’आमा’ कविता गायक अमृत गुरुङले गाएका छन्,जुन गीतको लोकप्रियता सदावहार छ ।
२०३६ सालको सडक क्रान्तिमा नेपाली साहित्यले पुर्याएको योगदानको चर्चा नेपाली साहित्य वृत्तमा सधै हुने गर्छ । यो आन्दोलनसँगै तीर्थ श्रेष्ठको नाम पनि सँगै जोडीएर आउँछ । २०३६ सालको विद्यार्थी आन्दोलन नेपालमा प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण मोड थियो । यो आन्दोलन राजनीतिक व्यवस्था, अभिव्यक्ति स्वतन्त्रता, र लोकतन्त्रको पुनस्थापनाको माग गर्दै विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूद्वारा सञ्चालित थियो । यस आन्दोलनको प्रभाव नेपाली साहित्यमा पनि व्यापक रूपमा परेको थियो । २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था हटाएर पञ्चायती व्यवस्था लागू गरेपछि प्रेस स्वतन्त्रता, नागरिक अधिकार, र प्रजातान्त्रिक अभ्यासहरूमा कडाइ गरिएको थियो । २०३६ सालमा विद्यार्थीहरूले यी नीतिहरूको विरोध गर्दै आन्दोलन थाले । बहुदलीय लोकतन्त्र पुन स्थापना, शैक्षिक सुधार र विद्यार्थी अधिकारको संरक्षण,अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुनर्बहाली, राजनीतिक दमनको अन्त्यको माग गर्दै जनताको तर्फबाट बिरोध भइरहेको थियो। यही समयमा नेपाली साहित्यमा आन्दोलनको गहिरो प्रभाव परयो र नेपाली लेखकहरुले लेखनको माध्यमबाट आन्दोलनलाई समर्थन गरे । यो पङ्तीमा कवि तिर्थ श्रेष्ठको नाम अग्रस्थानमा आउँछ ।
त्यो समय अहिले जस्तो थिएन। कविता लेखेकै भरमा कविहरु जेल जानुपर्ने अवस्था थियो । तर पनि त्यो समयमा लेखिएको साहित्यमा तत्कालीन व्यवस्थाको विरोध, क्रान्तिकारी चेतनाको विकास – साहित्यमा प्रजातन्त्र, स्वतन्त्रता, र समानता प्रमुख रुपमा देखिएको छ । उहाँको धेरै कविताहरुले प्रतिरोधको चेत बोकेको पाइन्छ । लेखेकै भरमा जेल जानुपरेपछि भने गुप्त रूपमा राजनीतिक विचारहरू व्यक्त गर्ने साहित्यहरू लेखिए । त्यो समयमा उपत्यकाका काठमाडौं, ललितपुर,भक्तपुर र बनेपाका विभिन्न स्थानमा एक महिना सडक कविता क्रान्ति सम्पन्न भएको थियो । तीर्थको आन्दोलनको साथी कवि भवानी घिमिरे अहिले हुनुहुन्न । उबेला विजय वजिमय, विश्व शाक्य, प्रकट पगेनी ‘शिव’, नन्दु , उषा भट्टचन लगायतको टोली वास्तवमै अहिलेसम्म नेपाली साहित्यमा सकृय हुनुहुन्छ ।
२०३६ सालको विद्यार्थी आन्दोलन नेपाली राजनीतिक परिवर्तनको एक महत्वपूर्ण कोसेढुंगा थियो । यसले बहुदलीय व्यवस्थाको पुनस्थापनाको आधार तयार गरयो । नेपाली साहित्यले यस आन्दोलनको पक्षमा क्रान्तिकारी विचार प्रस्तुत गर्दै लोकतान्त्रिक चेतना जागृत गर्ने काम गरयो । कवि क्षेष्ठको लेखनले यही बिचारलाई आत्मासात गरेको देखिन्छ । पोखरा नेपाली साहित्यमा तीसको दशकबाटै सकृय थियो । त्यतिबेला काठमाडौं बाहिरका साहित्यिक केन्द्रहरुमा पोखरा सकृय थियो । पोखरेली युवा साँस्कृतिक परिवारको ठूलो भूमिका थियो । नेपालमै पहिलोपल्ट टिकटमा मुक्तक कार्यक्रमको आयोजना गरेर लामो कालखण्डसम्म निरन्तरता यही संस्थाले दिएको थियो र औपचारिक रुपमा हाल यो संस्थाको पदमा रहे पनि नरहे पनि पोखरेलीको नाताले त्यो मुक्तक कार्यक्रमको वार्षिक उत्सवमा तीर्थ श्रेष्ठको सहभागिता, सहयोग र संलग्नता एक प्रकारले अनिवार्य जस्तै छ । त्यसो त हाल उहाँ नेपाली लेखक संघको केन्द्रीय अध्यक्षको रुपमा समेत सकृय हुनुहुन्छ । देशभरका प्रजातान्त्रीक धारका कवि लेखकहरुको एक अग्रणी संस्था रूपमा रहेको यस संस्थाको दायीत्व बहनका कारण अचेल उहाँलाई लेख्ने त्यती र्फुसद छैन ।
यो २०३८ सालतीरको कुरा हो, तीर्थ क्षेष्ठकै पहलमा विन्ध्यवासिनी मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा “खुल्ला आकाश खुल्ला अभिव्यक्ति” नाम दिएर नियमित रुपमा रचना वाचनको सिलसिला सुरु गरिएको थियो । यस्ता अनेक इतिहासका सन्दर्भहरु उहाँसगै आएर ठोकिन्छ । २०४० सालमा नेपाली साहित्यमा तरलवाद आन्दोलनको घोषणा भयो । यसमा तीन कविहरु सामेल थिए, फणिन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ । साहित्यवृतमा छोटो नाम फविति भनेर बुझीन्थ्यो । “तरलवादी आन्दोलन” को घोषणा भयो । जसले नेपाली साहित्यमा तत्कालिन समयमा व्यापकरुपमा चर्चा पाएको थियो। तरलवादको घोषणापछि चर्चा परिचर्चा भो । समर्थन र विरोधमा लेख रचनाहरु विभिन्न पत्रिकाका स्तम्भहरुमा प्रकाशित भए । त्यो साहित्य बजारमा “झोल कविता” भनेर व्यङ्गय गरिन्थ्यो । पछि तरलवादी आन्दोलनबाट उहाँ अलग हुनुभयो ।
पोयुसापले २०५० सालको बैशाखको पहिलो शनिबारदेखि पोखरामा सञ्चालन गरेको मासिक “समता काव्य सन्ध्या” को प्रस्तावक तीर्थ नै थिए । यो कार्यक्रममा कविता वाचन हुन्छ र एक कविलाई “सन्ध्या नायक” को रुपमा विषेश निम्ता गरिन्छ । पचासकै दशकमा साथी सोम बज्राचार्यले सहयोग स्वरुप दिएको २ रोपनी जमिनमा पोयुसापले “सिर्जना ग्राम” निर्माण गर्ने परियोजना अघि सार्यो । यस परियोजनाका संयोजक तीर्थ क्षेष्ठ नै हुनुहुन्थ्यो । माओवादी द्वन्द्वको कारण निर्माणाधिन सिर्जना ग्राम योजना पुरा हुन सकेन । “सिर्जना ग्राम” जाने बाटोमा नै यौटा हत्या भएपछि त्यहाँ जाने आँट कसैले गरेनन् र त्यो योजना अझसम्म बिथोलिएकै छ । तर त्यो सिर्जना ग्रामको अवधारणा सफल हुनसके सराङकोट जाने बाटोमा पर्ने पाखामा त्यो सिर्जना ग्रामबाट पोखराको दृष्यावलोकन गर्दै लेखक कलाकारले सिर्जना गर्ने अवसर पाउनेछन् भन्ने उहाँको उदेश्य छ ।
तीर्थ राजनैतिक रुपमा नेपाली काँङ्ग्रेस हुनुहुन्छ । वीपीप्रति उहाँको अगाध श्रद्धा छ । सान्दाइको उपनामले बोलाइने वीपी भनेपछि यिनी हुरुक्कै हुन्थे । वीपीको निधनताका पोखरावाट रात्री बसमा काठमाडौं आएको क्षण अहिले पनि स्मरणमा ताजै छ । वि.सं. २०४३ सालमा नेपाली काङ्ग्रेसले पञ्चायतको स्थानीय चुनावमा भाग लिएर विद्रोह गर्ने निति लिएको थियो र देशका विभिन्न स्थानमा काँग्रेसका कार्यकर्ताहरुले उम्मेदवारी दिएका थिए । काठमाडौंबाट हरिबोल भट्टराइले प्रधानपञ्चमा जितेका थिए भने पोखराबाट तीर्थ श्रेष्ठले । तर पञ्चायतको कार्यक्रम बहिष्कार गरेर विद्रोह गर्ने काँग्रेसको निर्णय अनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएकाहरुलाई अवज्ञा गर्न सर्कुलर भयो । जजसले अवज्ञा गरे तिनलाई सरकारले निलम्बन गर्यो । तीर्थले पारिवारिक दबाबका कारण अवज्ञा गरेनन् र उनको उपप्रधानपञ्च पद जोगियो । तर काँग्रेसले कार्यवाहीमा गर्याे । यस्ता अनेक अप्ठ्यरो समयहरुले कतैपनि बिचलीत बनाएन उहाँलाई बरु यी सबै परिस्थीतिहरुले केही न केही सिकाएर नै लाग्यो । अब केही छैन जीवनमा जे छ त्यो पुर्ण छ भन्ने उहाँलाई लाग्छ ।
देशमा भएको राजनीतिक परिवर्तनसँगै तीन एकेडेमीको परिकल्पनालाई साकार रुप दियो र पहिलोपल्ट गठित संगीत नाट्य एकेडेमीको सदस्य सचिवमा कवि तीर्थ श्रेष्ठको नियुक्ति भयो । तर एकेडेमीको सदस्य सचिव पदमा रहँदा उहाँले गम्भीर अस्वस्थताको सामना गर्नुपर्यो । उपचारार्थ दिल्ली जानु पर्यो । त्यसपछि पदमा रहिरहन सहज लागेन र राजिनामा दिएर उहाँ पोखरा फर्किनुभयो ।यो वास्तवमा एउटा इमान्दार लेखकको परिचय हो ।
हाल उहाँको स्वास्थ्यमा सुधार भएको छ । लेखनले निरन्तरता निरंतरता पाएको छ। एक लेखकको निम्ति यो भन्दा खुशीको प्रसङ्ग के हुन सक्छ र ! त्यसपछि प्रकाशित कृति “धर्सै धर्साका चक्रव्युह” नेपाली साहित्यको क्षेत्रमा चर्चामा रहयो। जीवनको उत्तरार्धमा उहाँ सन्तुष्ट हुनुहुन्छ । केही महत्वपुर्ण समय विन्ध्यवासिनी मन्दिरको सञ्चालन व्यवस्थापनका काममा बित्ने गरेको छ तर त्यो भन्दा ठुलो कुरा जीवन यहाँसम्म बाचेर आउदा हरेक अनुभवहरुले भ्रममुक्त गरेको छ । एउटा सर्जकको निम्ति लेखन भनेको पनि ध्यानको मार्गसग जोडीनु जस्तै रहेछ । अन्तमा उहाँको कविताको एक अंश
हिउँमा लेखेर आएका छौं
हामीले आआफ्ना नामहरु
एकैछिनपछि घाम लाग्यो भने रहने छैनन् हाम्रा नामहरु
एकैछिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरु
हामी हुदै नरहने हाम्रा नामहरु
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरु…….