कवि अन्शु खनाल बर्तमान पुस्ताको नारी हस्ताक्षर मध्ये सचेतरुपमा कविता लेखीरहेकी एक प्रीय कवि हुनुहुन्छ । पत्रकारिता पेशामा पनि त्यत्तिकै सकृय खनालका कविताहरुले पितृसत्तामाथि दह्रो रुपमा प्रश्न गरिरहेका हुन्छन् । लेखनले प्रतिरोधको चेत राख्नु आफैमा सुन्दर र शसक्त लेखनको पहिचान हो। खनालका कविताहरुले त्यो चेतनालाई प्रवाह गर्न सक्ने सामर्थ्य राख्छ । प्रस्तुत छ साताको तीन कविता ।
अस्तित्व
तिमी नजानु पर्ने थियो…
जसरी पूर्वी हावामा उडीजान्छ
चैतको अन्तिम लालीगुराँस।।
जसरी कालिगण्डकी रोकिंदैन
गर्मीको तातोमा समेत।।
तिमी त भन्थ्यौ-
म गोठालोको बाँसुरी हुँ
जसको धुन हराउँदैन हावामा
म डाँफेको प्वाँख हुँ
जसको रङ्ग मेटिंदैन पानीमा
म त यही माटोमा जन्मेको घाम हुँ
जो अस्ताउँछ, तर मर्दैन…
तिमीलाई त रच्नु थियो मौरीको गुनगुन जस्तो एउटा गीत
जसमा फुल्थ्यो गुलबहारको रङ्ग
र बग्थ्यो हिउँको सेतो शान्ति
हाम्रो माया जस्तै निर्मल…..
तिमीलाई त बजाउनु थियो बाँसुरी
पूर्णिमाको जूनले नुहाएको रातमा
रूखहरूको छहारीमा बसेर
जहाँ मुटुको लयमा नाच्थे सारङ्गी
र मैना चरीको पखेटामा उड्थे धुनहरू
तिमीलाई त चढ्नु थियो
चौँरीको पाइला पछ्याउँदै हिमाल,
सल्लाघारीको सुगन्ध टिप्दै पहाड,
धानको बाला झुल्किएको तराई,
बुझ्नु थियो हरेक माटोको स्वाद
जसरी माहुरीले बुझ्छ फूलको रस
तिमीलाई त जिउनु थियो
कमलको पात जस्तै
पानीमा डुबेर पनि नभिज्ने गरी
तर तिमी यसरी भाग्यौ
मानौं तिमी कुहिरो थियौ
घामको पहिलो किरणसँगै बिलाइ जाने
मानौं तिमीलाई लाग्यो
तिम्रो बाटो अर्कै छ……
कुन बाटो ? त्यो बाटो
जहाँ न चरा बोल्छन्
न घाम लाग्छ न हिउँ पग्लन्छ ?
तिमी त यसरी भाग्यौ कि
कि बादलले समेत भेट्टाएन तिम्रो छाँया
सयपत्री फूलले बिर्स्यो आफ्नो रङ्ग
र काफलको बोटले भेटेन तिम्रो बास्ना
तिमी नभाग्नु पर्ने थियो
जसरी भाग्दैन कस्तुरी मृग आफ्नै बास्नाबाट
जसरी भाग्दैन मौरी आफ्नै चाकाबाट
जसरी भाग्दैन यमुना आफ्नै धारबाट
तिमी गएपछि-
तिमिले लेखेका शब्दहरू
झरे पतझरका पात जस्तै
र छरिए बतासमा…..
तिमी हिँडेका डोबहरूमा
सुक्यो पानी मरूभूमि बन्यो बगैंचा….
तर –
अझै तिमि मिल्छ भने फर्किनु
यहाँ पर्खिरहेछन् नयाँ पालुवाहरू
बसन्तको पहिलो मुनाजस्तै टुसाउन
चराहरूले कण्ठ मिलाइरहेछन्
तिम्रो स्वागतमा गीत गाउन
कोपिलाहरू फक्रिन तयार छन्
तिम्रो आगमनको खुशीयालीमा….
फर्केर आउ तिमि,
जसरी फर्कन्छन् चरा बसन्तको आगमनमा
जसरी फर्कन्छ चखेवा आफ्नी प्रियको पुकारमा
जसरी फर्कन्छ जेठको न्यानो फागुनको जाडोमा
फर्केर आउ तिमि-
जसरी नदी फर्कन्छ सागरबाट बादल बनेर
जसरी चन्द्रमा फर्कन्छ अमावस्याबाट पूर्णिमा बनेर
तिमी पनि फर्कनु आफैँ भएर….
उल्झनहरू
दुइ हातको बुढी औला र छेउको औलामा मसिनो डोरि लिएर
केही न केहि अल्झाइरहन्थ्यौ तिमी
कयौंपटक तिमिले त्यहि डोरीमा अल्झाएको मेरो हात
उत्तिन्खेरै खै कसरी आजाद गरिदिन्थ्यौ
मैले त्यो खेल कहिल्यै सिक्नै सकिँन
अल्झाउन त सिकेँ
खै कसरी अल्झाएको वस्तु निकाल्दा सधैं गाठो परिरह्यो
सुन्दर देखाउनलाई हजुरआमाले कपालमा लगाईदिएको लाछा डोरीमा अल्झिएँ म
अर्कोपटक मलाई डोरी न कहिल्यै सरलक्क बाट्न आयो
न कहिल्यै सरलक्क खोल्न नै
कपाललाई लाछाले कुनै असुरले बेरेजसरी बेरिरह्यो
अबदेखी यी तिम्रा साथीहरू हुन्
यसले तिमिलाइ सुरक्षा दिन्छन्
आमाले खाटमा फ्यात्त ब्रा फ्याल्दै भन्नुभयो
उमेरसँगै बढेको स्तनलाई पनि
स्वतन्त्र छाडिदिन सकिँन मैले
फेरी एकपटक म ब्राको स्ट्रिप्समा उल्झेँ
अर्काले साडि लगाएको खुब मन पर्थ्यो
सुरवालको ग्यान्टिसमा
सारी बेरेर ऐनामा हेरेर आफैँलाई चुम्थेँ
थाहा थिएन साडीको मुटु हुन्छ
पेटिकोट, बेस्सरी बाधेपछि राम्रो देखिन्छ सारी
किशोरी हुन नपाउदैँ
बाझले रातो साडी र पेटिकोट देखाएर भन्नुभयो
अब कस्न सिक पेटिकोट
तिमिले बाँच्नु छ यसकै कसाईको साहारामा
फेरि अर्कोपटक म पेटिकोटको डोरीमा अल्झिएँ
यो पटकको अल्झाई दर्दनाक थियो….
हरेक पटक मैले बलियो गरि कसेको पेटिकोट
मैले आफैँले कहिल्यै खोल्न पाईन्
लोग्नेले लगनमा दिएको पोते छनलाई खुब सुन्दर थियो
तर म अल्झिरहन्थे त्यसकै दाना-दानामा
छेउमा वर्तमान रोइरहेको थियो
त्यसको आडमा थियो कपडाको एउटा गुजुल्टो….
कम्मरमा कस्नुपर्ने त्यो गुजुल्टोले
कसिदिन्थ्यो मेरो सम्पुर्ण शरीर र त्यसैको लम्बाईमा हराउँथे म….
कहिले जेठाजुको नजरबाट बच्न टाउकोमा हालेको
टालोसँग अल्झिन्थेँ,
कहिले धोतीको फेरोसँग
कहिले कुर्ताको सलसँग
त कहिले आफ्नाहरूको नजरहरूसँग बच्न खोज्दा
आफ्नै पाइतालाको गतिसँग अल्झिन्थेँ
तिमिलाई लाग्यो होला के दुस्ख थियो र गईस् तँ….
हातको डोरीबाट तिम्रो हात निकाल्न खोज्दा
बनेका गाँठाहरू जस्तै जिन्दगीका गाँठाहरू फुकाउदैँ गर्दा
म उल्झनको भुमरीमा यसरी अल्झिएँ
कि गाँठाहरू फुकाउदैँ वर्षौँ बित्यो
यतिका उल्झनहरू फुकाएर यति प…र आएको छु
अब मलाई नरोक म फेरि त्यहि भुमरीमा फर्कन चाहान्न।
धुवाँ
एउटा पुरानो घर छ,
घरभित्र छ अध्यारो भान्साकोठा
जस्को भित्ता कालो भइसकेको छ
त्यहि तल ढुङ्ग्रोलाइ मुखमा जोडेर
समय जस्तै फाटेकि मेरि श्रीमती
भिर जस्तै घोप्टिएर फुकिरहन्छे चुलो
दाउराहरु काचा भएर हो या भएर हो दाउराहरु चिसा
चुलो बल्दै बल्दैन मात्रै निस्किन्छ धुवा
ती धुवाहरु गुजुल्टिदै पुग्छन्
उसैका आँखाहरुसम्म
र झर्छन आशुका थोपाहरु
जस्ले झन् भिझिरहेछ दाउरा
र झन् निक्लिरहेछ धुवा
यता शहरमा छ एउटा चिटिक्कको कोठा
चिटिक्कको रेस्टुरेन्ट
जहाँ केही आफ्नै उमेरका साथिहरुसंग
हुक्का चुस्दै रमाईरहेछ मेरो छोरा
र उडाइरहेछ अनेक फ्लेवरका धुवाहरु
तपाईं देख्न सक्नुहुन्छ
उसले ओठ चुच्चो पारेर धुवाहरुमा देखाएको कलाकृति
उ आफैले बनाएको गोला,चेप्टा धुवाहरु देखेर आफै मख्ख छ।
यता मलाई भर्खरै पुर्याईएको छ आर्यघाटमा
जहाँ भर्खरै बनेको छ दाउराको चाङमाथि
एउटा चिता जसमाथि मलाई राख्ने तयारी हुदैछ
म जलिसकेपछि धुवा हुनेछु अवश्य
तर धुवा भएर म कहाँसम्म पुगुला
छोराको ओठसम्म या श्रीमतीको आखासम्म ।