नेपाली कविता लेखनमा कवि समा श्री आफ्नो पुस्तामाझ शसक्त लेखनीको निम्ति स्थापित नाम हो । उहाँको कविताले मान्छेको पाखण्डीपनलाई निक्कै स्पष्ट रुपमा उजागर गर्नुको साथै मानिसको मनोवेगहरुलाई साह्रै मिहिन र शालीनरुपमा प्रस्तुत गरेको हुन्छ । हालसम्म वंशलोचन, अल्पविराम गरि दुई कविताकृति प्रकाशित छ जसले उहाँलाई नेपाली कविता लेखनमा एक अलग्गै उचाइ प्रदान गरेको छ। प्रस्तुत छ साताको तीन कविता ।

साधना

वलिष्ठ पाखुराहरु र जाज्वल्य ललाट लिएर
मेरो सामु उभिन्छ ऊ

आफू सर्व श्रेष्ठ हुँ भन्ने
दावाका साथ निशंकोच
चौडा छाती तन्काउँछ ऊ मलाई
म आफू नगन्य सरह आभास दिलाउन खोज्छ

ऊ आफ्नो सर्बोच्चता प्रदर्शनको हुटहुटीले
अहंकारका अजंग पहाड चढी भ्याउँछ
पिपासु युद्ध लल्कार्न हरदम तयार रहन्छ

जब जब बिजयउन्माद बोकेर फर्कन्छ ऊ
बिपरित फर्किएका पाइलाहरुले उसैलाई खिज्याउँछ
जब जब शिखर टेकेर फर्कन्छ ऊ
शुन्यतिर ओर्लीएका खुड्किलाले उसैलाई हेरेर
मन्द खित्का छोड्छ

धर्तीका सम्पुर्ण ऐश्वर्यले किन नपुरियोस ऊ
जुनसुकै स्वर्ग किन नजीतोस
उसको अहंमले खाट्टी सन्तुष्टि पाउन
आखिरमा ऊ यहिँ फर्किने गर्छ

प्रत्येक जीतपछी ऊ यहीँ फर्कन्छ
प्रत्येक मृत्युपछि ऊ यहीँ फर्किन्छ

रजस्वलाको चक्र पर्खेर मेरै गर्भ रोज्छ
नाकनक्सा मेरै भिरेर ऊ यहीँ फर्किन्छ
फेरि एकपल्ट
उसको अधुरो पुर्व दावाको तपस्याले पुन प्रारम्भ मेट्छ भने
भेट्छु म पनि मात्र ‘ म ‘ हुनुको मेरो साधनामा पुर्णता ।

मेरो उचाइ

मेरो आँखामा सौन्दर्य बिझाउन थालेपछि
अबोध फूलहरुका मनोहर हाँसो दुख्न थालेपछि
आकाश चुम्दै कावा खाने सेता परेवाका स्वतन्त्रताले पिरोल्न थालेपछि
मेरो हृदय बुद्ध अटाउन नसक्नुको परिणामले
सौन्दर्यको परिभाषा बिटुलो बुझेपछि
वेदाग रङ्गको अर्थ नलागेपछि
फूलको कोमलता खस्रो ठानेपछि
फूल कुल्चेर दृश्यका सौन्दर्य भताभुङ्ग गर्दै
एक एक प्वाँख थुत्दै सेता परेवालाई ग्याँस च्याम्बरमा हाल्न
हो-
मैले हिटलरलाई आव्हान गरेको हुँ आदेश पनि दिएकै हुँ ।

के कहिल्यै बारुद छोएका छौ ?
सुँघेका छौ या चपाएका छौ ?
अर्कै पो हुन्छ त गन्ध स्वाद र मीठास बारुदको !
जब-जब तिम्रा काँधहरु जिम्मेवारी बोक्न असमर्थ हुन्छन्
तब-तब यी बारुदका गन्ध स्वाद र मीठासहरुले
तिमीलाई लास बोक्न उत्ताउला बनाउँछन्
उत्तेजित पार्छन मस्तिष्क बलिया बनाउँछन् पाखुरा
एउटा फूल बोक्न नसक्ने मान्छे हजारौँ मरेका मान्छे बोक्न सक्छ
एउटा घर बनाउन नसक्ने मान्छे पुरा शहर ध्वस्त गर्न सक्छ
बारुदको अद्भुत शक्तिले प्रेरित
बारुदको प्रितिमय भावनाले अभिप्रेरित
मानिसभन्दा पृथक र अलौकिक मान्छे बन्न सानो सनकमा
बारुदको महिमा प्रचार गर्न बारुदको स्वाद चखाउन
हो मैले हिटलरलाई आव्हान गरेको हुँ
आदेश पनि दिएकै हुँ

त्यो पत्थरको बुद्ध भन्दा यो फलामको हिटलर बलियो
त्यो शान्तिको पाठ भन्दा यो बारुदको गर्जन मीठो
त्यो मानवताको मुस्कान भन्दा यो विजयको अट्टहआस प्यारो
मान्छे भन्दा माथि उठन मान्छेलाई
मान्छे माथि चढने पर्छ मान्छेलाई कुल्चिनु पर्छ
मान्छे सजिलै चढन सकिने काठको घोडा होइनन्
मान्छे आफूमाथि कसैलाई चढ्न पनि दिँदैनन्
मान्छे भन्दा माथि उठन म बुद्धजस्तो धैर्य गर्न सक्दिन
मान्छे भन्दा महान् बन्न म त्यही प्रयोग गर्छु जे मसँग छ
मसँग हिटलर छ, ग्याँस च्याम्बर छ
मान्छेको भन्दा अलग बिचित्र ढुङ्गाको मुटु छ
त्यसैले मान्छे भन्दा मलाई माथि उठाउन
हो मैले हिटलरलाई आव्हान गरेको हुँ आदेश पनि दिएकै हुँ

अहिले हेर त मेरो उचाइ म कत्ति माथि उठेको छु !

सब ठीक छ

मान्छै भनेकै ढँटुवा हो
‘के छ ‘ भनेर मान्छेलाई सोधेर त हेर !
कहीँ कतै केही ठीक हुँदैन
र पनि ढाँटेर भन्छ ‘सब ठीक छ ‘

पर्दा – मान्छेको आँखामा हुन्छ नजर झुकाउँछ
पर्दा-मान्छेको जिब्रोमा हुन्छ बोली फेर्छ
पर्दा – मान्छेको अनुहारमा हुन्छ
पर्दैपर्दा भित्र जेलिएको हुन्छ मान्छे
मान्छे पाखण्डी हो
मान्छेलाई सोधेर त हेर !
कुशल मङ्गल के छ  भनेर
कहीँ कतै कुनै पर्दा सही हुँदैन
र पनि ढाँटेर भन्छ  ‘सब ठीक छ’

क-कसलाई ढाँट्दैन मान्छे
यसलाई ढाँट्नु उसलाई ढाँट्नु
अरूलाई ढाँट्नु आफूलाई ढाँट्नु
ढाँट्नु मान्छेको लाचारी छोप्ने पर्दा रहेछ
मैलो सुकिलो या च्यातिएकै सही
मान्छै पर्दा भित्र रहन्छ पर्दा भित्रै रमाउँछ
मान्छे अस्पष्ट हो
मृत्यु नियाली रहे पनि
मान्छेलाई सोधेर त हेर ‘अहिले कस्तो छ ‘ भनेर
केही सास हुँदैन कुनै आश हुँदैन
र पनि फिस्स हाँसेर भन्छ ‘सब ठीक छ ‘

तपाईको प्रतिक्रिया