शिक्षण पेशासँग आवद्ध कालेबुङ दार्जिलिङ जलढकाकी स्मिता सोताङ आजको पुस्ताका बलियो कवि हुन् प्रस्तुत छ साताको तीन कविता।

रगतको गर्व

कट्कटी भुँडी खायो
ढाँड चुडिँएलाजस्तै दुख्यो
छात्ती निमोठे जस्तै चर्कियो
बिहान रगतको आहालमा थिएँ
त्यहि दिन देखि नै हो
म आमाजस्तै मग्मगिन थालेकी।

दुखिरहन्थ्यो
सहिरहन्थे म
होसियार हुनपर्छ,
छोरी मान्छे आफै जोगिनु पर्छ भनिरहन्थिन आमा।

उम्रिँदै गरेको स्तन छोपेर
फैलिँदै गरेको कम्मर लुकाएर
रजस्वलाको दिन,
बेस्सरी आफूलाई ढाकेकी हुँ।

एक लश्कर आँखा
मेरो अनुहारमा बिसाउँछन
छात्ती सुम्सुम्याउँछन
त्यसपछि कम्मरमा अडकिन्छन।
अर्को लश्कर आँखा
सबभन्दा पहिले उदाङ्गो पार्छन मलाई
खित्का छोडेर हाँसि रहन्छन मेरो नाङ्गोपनमाथि।

आँखाहरु यति डरलाग्दा किन हुन्छन ?
किन हुन्छ त्यहाँ ब्वाँसाहरुको घर ?
किन भाग्नु पर्छ म आँखासित डराएर ?
किन बन्छन तीर, कोमल आँखाहरु?
किन लुक्नपर्छ मैले आफैसित खुम्चिएर?
रगत गन्हाएको दिन, किन लखेटिनु पर्छ विछ्योैनाबाट मैले?
किन टेक्नै हुन्न मैले भान्सा कोठाको सँघार?

किन मन्दिरदेखि टाढा बस्नुपर्छ ?
हरेक महिनाको पाँचदिन
किन अछुत हुनै पर्छ मैले?
प्रिय साथी!

मलाई प्रश्नहरु बीच थुनिएको देखेर
तिमी कमजोरको उपाधी दिन्छौ
तिमी वीर
कमजोरलाई नै लखेटिरहन्छौ।

तिमीलाई सोध्नु छ
तिमी कमजोर कि म ?
मलाई कुज्याउँने तिम्रा हातहरु बलिया होलान
शरीर देख्ने वित्तिकै
राल झार्दै हिँडने तिम्रो आदर्श माथि मेरो प्रश्न छ
जाउ, मन्दिर र सोध
ढुङ्गाको ईश्वरलाई कुन रङ्गको रगत मनपर्छ ?

एकबिहान
मैले चुहुँदै गरेको आफूलाई छामें।
रगतको फाल्सालाई निहालें।
मैले देखें
त्यसपछि मैले बुझें
साँच्चै, जिन्दगीका अन्तरङहरु लपेटिएका हुँदारहेछन रगतमा।
असीम स्वप्नका अनुभूतिहरु टाँसिएका हुँदारहेछन रगतमा।
रगतबाट नै सपनाका पखेटाहरु उम्रँदारहेछन।

त्यसपछि रत्ति पनि डर लागेन मलाई।
तिम्रो नरपिशाच गिदी सँग
तिमीले जफत गरेको ब्राह्मण्ड,
मलाई कुज्याउँन सक्ने सामर्थ्य
ती सब मेरै उपज हुन।

तिमी कमजोर नठान मलाई
म पनि तिमीलाई कायर ठानी हाल्दिन।
बस! रगताम्य हुन देउ मलाई
र देख्न देउ जिन्दगीका रङ्गि विरङ्गी सपना।
जिन्दगीका बन्जर पाटाहरुमा मलाई तिमी चाहिन्छौ।
तिमीलाई म चाहिन्छु।
बस ! तिमी रगत बग्न देउ मलाई।

म बगिरहन चाहन्छु जीवनका गीतहरु सुसेल्दै
र उमारिरहन चाहन्छु प्रेमका बिजहरु।

प्रिय साथी !
तिमीलाई थाहा छैन
म सँग रगत नहुनु भनेको त
तिमीसँग रङ्ग नहुनु हो।

पत्थर

माटो भन्यौ तिमीले–
म निसंकोच भत्किँए र बनिँए
तिम्रो घर।

पानी भन्यौ–
एकलास बगिरहें र उमारिरहें
प्रेमका बिजहरु।

आगो भन्यौ–
दनदनी जलिरहें र सेकिरहें
तिम्रो चीसो मुटु।

फूल भन्यौ–
म गुलाफ बनिदिँए।

सुम्पिदिएँ आफूलाई तिम्रो हत्केलादेखि बिस्तारा सम्म
सबभन्दा पहिले, तिमीले मलाई छोयौ
त्यसपछि छोयौ मेरो सुकोमल शरीर।
शरीरदेखि त्यति पर
कहाँ छ मन ?
जसलाई तिमीले छुनै सकेनौ।
त्यहिदिन,
म पत्थर भएँ।

रङ्ग

मेचमा बसेर
जब पोत्न थाल्यो चित्रकारले
क्यानभासमा रङ्ग।

छुँटिदै गए
तैरिँदै गए
गहिँरिदै गए
अनेकौं धर्सा रङ्ग।

हुइकिरहेको आँधिमा
हुइकिरहेका यी धर्साहरू
पोखिएर कतै बेआकार हुने त होइन ?
डर थियो चित्रकारलाई।

उसले हतार पोत्यो
अनेकौं धर्साहरू माथि रातो रङ्ग।

यतिबेला,
क्यानभासले टेकिसकेकोथ्यो भुइँ
र बनिसकेको थियो सुन्दर आकार।

लाग्यो चित्रकारलाई
यो उसको उत्कृष्ट
सृजना हो।

अभाग्यवश!
त्यहि दिनदेखि नै, यस सुन्दर आकृतिलाई
अछुत नाम दिइएको हो।

तपाईको प्रतिक्रिया