शनिवार व्यक्तित्व-
आधुनिक तथा लोकपप शैलीको गीतको माध्यमबाट आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल झुमा लिम्बू नेपाली संगीत क्षेत्रकी एक स्थापित गायिका हुनुहुन्छ। झुमा लिम्बूका गीतहरू समाज, संस्कृति र जीवनसँग सम्बन्धित विषयवस्तुहरूमा आधारित हुन्छन् । फरक आवाज र शब्द चयनका कारण नेपाली गीतसंगीतको भिडमा अलग व्यक्तित्वको साथ उभिन सफल उहाँको आवाज मिठासपूर्ण, सशक्त र गहिरो भावनात्मक अभिव्यक्तिले भरिएको हुन्छ जो कमै नेपाली गायीकाहरुसँग छ । शसक्त शब्द र आम मान्छेका भावना जो उहाँको गायकीको जग हो जसले गर्दा झुमा लिम्बुको गीतहरुले नेपाली गीतहरुको भिडमा अलग सौन्दर्य र औचित्य लिएर उभिन सफल छन् ।
समकालिन र अग्रज दुवै पुस्ताले प्रेम र आदरका साथ हेरिनुले उहाँलाई सांगीतिक क्षेत्रमा उच्च स्थान दिलाएको हो भन्दा अत्युक्ति हुँदैन । करिब तीन दशकदेखि निरन्तर विभिन्न म्यूजिक एल्बम र एकल गीतहरूमा पनि काम गर्नुका साथै सयौँ स्टेज शोहरुमा उहाँले आफ्नो प्रस्तुती दिइसक्नु भएको छ । प्रख्यात सङ्गीतकार स्वर्गीय अम्बर गुरुङले कैयौं बर्षदेखि लुकाएर राखेको केही गीतको संगीत झुमा लिम्बूलाई बिस्वास गरेर दिएको कथन नेपाली संगीतको क्षेत्रमा मिठो किस्साको रुपमा स्थापित छ । पछि गएर झुमा लिम्बूको अलग व्यक्तित्व निर्माणको निम्ति यी गीतहरुले महत्वपुर्ण भुमिका खेल्यो ।
झुमा भन्नुहुन्छ `नेपाली संगीतको नाममा हामीले कस्तो संगीतलाई प्रोत्साहन गरिरहेका छौं, आउने पुस्तालाई कस्तो संगीत छोड्दैछौं, बुझ्न जरुरी छ ।´ सायद यही चेतनाको कारण उहाँ भिडहरुमा फरक हुनुहुन्छ । लोकपप र आधुनिक संगीतको फ्युजनको सही अन्तरघुलन हो झुमा लिम्बूका गीतहरु जसले नेपाली लोक संगीतलाई आधुनिक पप शैलीसँग फ्युजन गरेर नयाँ स्वरूप दिन सफल भएका छन् । यही कारण परम्परागत संगीतप्रेमी र नयाँ पुस्तामा वहाँप्रति आर्कषण र सम्मान छ ।
लिम्बू समाज,सँस्कार र भाषाका गीतहरूलाई नेपाली गीत संगीतमा परिचित गर्न उहाँको ठुलो भुमिका रहेको छ । ती गीतहरुको साँस्कृतिक पहिचान र भाषीक विविधतालाई उजागर गर्न, लिम्बू समुदायको सांस्कृतिक सम्पदा बचाउन र प्रवर्द्धन गर्नमा महत्ववपूर्ण योगदान छ । गीतमा समेटिएका प्रेम, पीडा, संघर्ष र सामाजिक न्याय लगायतका संवेदनशील विषयहरूले उहाँका गीतहरूलाई अझ गहनता प्रदान गरेको छ ।
गीत संगीतकै निम्ति उहाँले गरेको संघर्ष र सफलता धेरै महिला कलाकारको निम्ति प्रेरणा र प्रोत्साहन हुन सक्छ । दशक अघि अनुसन्धानकै सिलसिलामा पुर्वी पहाडको लिम्बु गाँउ हुँदै भारतको सिक्कीमसम्मको लिम्बु बस्तीहरुमा झन्डै सात बर्ष खोज अनुसन्धान गरेपछि बजारमा ल्याइएको `खासाम´एल्बम लिम्बु समुदायको अहिलेसम्मको आधिकारिक दृश्य श्रव्य दस्तावेज मध्ये एक हो जसले किरात याक्थुङ मुन्धुम म्युजिक कल्चर,इतिहास,कथा,भाष्य तथा सभ्यतालाई पुनः भ्रमण गरेको छ। नेपालका आदीवासी समुदायमाझ लिम्बु समुदायको भाषा, संगीत शक्तीशाली मानिएपनि मुलधारको संगीतमा अहिलेसम्म आउन नसकीरहेको यो समयमा उहाँले गरेको कामको प्रशंसा स्वर्गीय सत्यमोहन जोशी देखि डाक्टर अभी सुबेदीसम्मले गरेका थिए त्यो बेला ।
नेपाली संगीतको बजारमा गम्भीर गायिकाको रुपमा पहिचान बनाउन सफल लिम्बूलाई बर्तमान समय र पछिल्लो पुस्ताको निम्ति दह्रो धरोहरको रुपमा लिन सकिन्छ । उबेला स्वर्गीय अम्बर गुरुङले पनि झुमा लिम्बूले केही गर्छ भन्ने अभिव्यक्ति दिनु आफैमा एक गहिरो आशा थियो । लिम्बूसँग अम्बर गुरुङ्गसँगको भेट र आत्मीयताको आफनै मिठो स्मृति छ उहाँ भन्नुहुन्छ – `त्यो समयमा म जस्तोहरु गायीका बन्छु भन्दै दिनहु घरमा पुग्नेको लर्को कति थियो कति तर म गायीका नै बन्छु , केही कुरा सिक्छु भनेर चार बर्षसम्म अम्बर गुरुङ्गको संगतमा रहें । संगीत सिक्ने समयको तालीका हुदैन थियो । मुडमा भर पर्ने अवस्था थियो । म बस्ने घट्टेकुलो उहाँ बस्ने चक्रपथ । फेरि उहाँको स्वस्थ्य पनि पछिल्लो समय राम्रो थिएन। धेरैजसो बिमारी अवस्थामा हुने उहाँको स्वास्थ अवस्थालाई बिचार गरेर चल्लनुपर्ने तर अहिले सम्झीदा मलाई यो क्षेत्रमा जिम्मेवारीका साथ आउन उहाँको सहयोगको धेरै ठुलो महत्व छ ।´ बीस बर्षदेखि कसैलाई नदिई राखेको गीतहरु अम्बर गुरुङले झुमा लिम्बूलाई गाउन दिनु, त्यो नै नेपाली गीतसंगीतमा झुमा लिम्बूको उपस्थिति जोक होइन भन्ने दह्रो प्रमाण थियो ।
उहाँ भन्नुहुन्छ- `अम्बर सरको नजरमा म पनि गाउन सक्छु भनेर बिस्वास दिलाउन नै मलाई दुई बर्ष लाग्यो ।´ सायद नियति नै थियो संगीतप्रतिको लगावले डोर्याउदै झुमा लिम्बूलाई अम्बर गुरुङ्गसम्म पुर्याउनु र आज आम नेपाली समाजले लिम्बुको कामको खुलेर प्रशंसा गरीरहेका छन् ।
अम्बर गुरुङ नेपाली गीतसंगीतको एक कालजयी हस्ती जसको जीवनकालमा घटित बिशेष गरि निजि स्वाभावसंग संबंधित अनेकौं किस्साहरु छन् तर एउटा किस्सा निकै प्रख्यात छ त्यो हो उहाँको मुड जसको प्रकोपमा झुमा लिम्बु आफू पनि परेको अनुभव सुनाउनु हुन्छ । अगाडि भन्नु हुन्छ – `उहाँसंग काम गरेपछि सामना गर्नुपर्ने सबैभन्दा ठुलो चुनौती थियो गीत कम्पोज गर्ने कुरामा उहाँको मुड पर्खनु ।´ अगाडि भन्नुहुन्छ- `कतीपल्ट त जान्थे र त्यसै र्फकिएर आउथें। उहाँको संगीतमा गाएका ती गीतहरु मेरो दोस्रो एल्बम अमरसंगीतमा समेटिएको छ ।´
स्मरणीय छ अम्बर गुरुङका तिनै गीतहरुले वास्तवमा झुमा लिम्बुलाई रातारात नेपाली संगीतको क्षेत्रमा चर्चीत र अलग धारको गायीकाको रुपमा स्थापीत गर्यो।
त्यसो त २०६० सालमै `ए साइला´ नामक आधुनिक गिति एल्बम निस्के पनि उहाँलाई स्थापित चाहीँ अमरसंगीतले गरेको सत्य हो । यस बीचमा उहाँले चटक्कै बजारका चलेका फिल्मी शैलीको गीत गाउन छोड्नु भयो। झुमा सुगम संगीतमा पनि सफलै हुनुहुन्थ्यो। तर सुगम संगीतमा चलीरहेकी गायीकाले हठात कोल्टे फेर्ने निर्णय गर्नु भयो जुन निर्णय नेपाली लोकसंगीतको क्षेत्रमा एक गहकिलो इटा थपिनुलाई रहेछ भन्ने कुरा पछिल्लो समयमा साबित भयो ।
खासम एल्बममा लिम्बु समुदायको संस्कृति, रितिरिवाज, चालचालन, सृष्टि सम्बन्धी दर्शन, मान्यता, प्रेम,बिछोड तथा मुत्यु सँस्कारसम्मको बिधि बिधान आदि समावेश छ ।
भलाकुसारीको समापन उदगार स्वरुप उहाँ भन्नुहुन्छ -`जीवनमा संगीत भनेरै धेरैकुरा छुट्यो तर संगीत छुटेन र अब नमरेसम्म छुट्दैन। केही बर्ष दह्रो काम गर्नु छ ।´
स्मरण रहोस् अम्बर गुरुङ्गको शब्द,संगीत र झुमा लिम्बुको स्वर रहेको `जिन्दगी जिन्दावाद´ गीत आजकाल मनोरोगीहरुलाई उपचार गर्न चिकीत्सकहरुले थेरापीको रुपमा प्रयोग गर्छन् ।