न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। गत बर्षदेखि भने र्याफल चिठ्ठा लाई पनि समाबेश गरिएको छ। दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफल कार्यक्रम रहेको थियो ।
औपचारिक कार्यक्रमको चरणमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक अभियन्ता तथा युनाइटेड किराँत राई अर्गनाइजेसनका उपाध्यक्ष केशबराम राइले फिवनाले अमेरिकाको स्थानीय सरकारहरू सँग पनि सहकार्य र सम्बन्धलाई मजबुद बनाउॅदै शसक्तरूपमा अघि बढ्नुपर्ने सुझाब दिए । फिप्नाको स्थापनाकालदेखिको इतिहास सम्झदै उनले भने “ हिजो दुइतिन जना दिदीबहिनीले सुरू गरेको संस्था फिवनाले यतिधेरै रचनात्मक कामहरू गर्दै आएकोमा गर्ब लागेको छ, यद्यपि अझैपनि नेपाली महिलाहरूलाई शसक्त गर्नुपर्ने बिभिन्न कार्यक्रमहरू रहेका छन्, जस्तै अमेरिकन राजनीतिमा पनि महिलाहरू अब तयार हुनुपर्छ र त्यसका लागि शसक्तिकरणको काम फिवनाले गर्नु पर्छ भन्ने मेरो सुझाब छ “।
महासचिब इन्दु लामाछानेले सन्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी सदस्य सरस्वती तामाङले कार्यक्रममा उपस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधी लगायत सम्पूर्ण उपस्थित समुदायलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि सबैभन्दा पाको उमेर रहेकी आमा पृथ्बीलक्ष्मी राइ रहेकी थिइन् । औपचारिक कार्यक्रमको अन्त्य गर्दै सम्पूर्णलाई धन्यबाद दिने क्रममा अध्यक्ष इन्दिरा चोङबाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै फिवनाले चाहेर पनि महिलाले दैनिक सामना गर्नुपर्ने विभिन्न चुनौतिका कारण भने जस्तो गरि विविध गतिविधि गर्न असक्षम रहेकोे बताइन् । अध्यक्ष चोङबाङले बिभिन्न शुभचिन्तकहरूबाट प्राप्त दक्षिणा रकम र बिभिन्न माध्यमबाट संस्थाले संकलन गरेको रकम संस्थाबाट हुने सार्वजनिक हितका कार्यक्रमका निम्ति , महिलाहरुमा आइपर्ने आपतकालिन समयको लागि लगायत मातृभूमि नेपालमा पनि बिभिन्न समयमा सहयोग स्वरुप पठाउदै आएको अवगत गराइन् ।
औपचारिक कार्यक्रमको अन्तपछि परम्परागत शैलीमा देउसी भैलो र नाचगानको प्रस्तुति रहेको थियो जसले मातृभूमिको सम्झनालाई ताजा गराएको थियो । कार्यक्रमको अन्तिम आकर्षणकोकारूपमा रहेको र्याफ्लमा प्रथम पुरस्कार आइफोन १६ (iPhone 16) सामाजिक अभियन्ता केशबराम राइलाई परेको थियो भने उनले उक्त पुरस्कार प्रमुख अतिथि पृथ्बी लक्ष्मी राइलाई उपहारस्वरूप हस्तान्तरण गरेका थिए । अन्य पुरस्कारहरूमा दोस्रो पुरस्कार नगद २ सय डलर र तेस्रो पुरस्कार चार जनालाई पचास पचास डलर नगद रहेको थियो ।