न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ।

सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू
मन्त्री परिषदको कार्यालय,
नेपाल सरकार।

बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा।

सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महासभामा सहभागिता तथा अमेरिका भ्रमण सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ।
सम्मानानीय प्रधानमन्त्री के. पि. शर्मा ओली ज्यु अमेरिका भ्रमणमा आउनु भएको यस अवसरलाई उपयोग गरी विश्व शेर्पा संघले सम्मानानीय प्रधानमन्त्री ज्यु समक्ष केही मागहरु राखेर ज्ञापन पत्र पेश गरेको अवगत गराउदछौँ।

१. हालै सोलुखुम्बुको प्राचीन बस्ती थामे गाउँमा हिमताल फुटेर क्षतिग्रस्त घरहरुको तत्काल त्यस ठाउँमा पुनर्निर्माण गर्न मिल्ने वा फेरी पनि खतरा छ भने अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रकृया अगाडि बढाउन अनुरोध गर्दै उक्त प्राचीन गाउँभन्दा माथि तिब्बतसँगको नाङ्पाल पास नाका पर्दछ। त्यसभन्दा माथि अर्को गाउँ छैन, त्यसैले त्यहाँका बसिन्दाहरुले देशको सीमा रक्षकको काम पनि गर्दै आएको छ। त्यो ठाउँ भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर वा याकले ढुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएको हुँदा घर निर्माण गर्न धेरै महँगो पर्ने भएको हुँदा पूर्ण क्षतिग्रस्त घरहरु नेपाल सरकारले निर्माण गरी सहयोग गरी दिन माग गर्दछौँ।

२. विश्वमा हिमाल र शेर्पा परिपुरकको रुपमा चिनिएको सबैलाई सर्बबिदितै छ। नेपालको पर्बतारोहण पेशामा लागेका आरोही शेर्पाहरुको न्युनतम जीवन बीमा १५ लाख रहेको र उक्त रकम अहिलेको समयमा धेरै कम भएको हुँदा त्यसलाई बढाएर न्युनतम ३० लाखभन्दा माथि पुराउन माग गर्दछौँ। हिमालमा दुर्घटनामा परेका शेर्पाहरुको बाल बच्चाको शिक्षादिक्षा र रोजगार सरकारले उपलब्ध गराउनु पर्ने माग गर्दछौँ।

नेपालको साहसिक पर्बतारोहण पेशामा योगदान पुर्‍याई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउदै आएका शेर्पाहरु भविष्यमा कुनै सुविधा नभएको र आफ्नो भविष्य अन्यौल रहेको हुँदा उक्त पेशाबाट पलायन हुने गरेको तर्फ पनि ध्यानाकर्षण गराउदछौँ।

३. नेपालमा बौद्ध धर्मको कतिपय धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्थामा रहेको हुँदा नेपाल सरकारले त्यसको सुरक्षा तथा जिर्णोधार गर्न माग गर्दछौँ। ती स्थल तथा प्राचीन संरचनाहरु बुद्ध धर्मसँग सम्बन्धित भएता पनि त्यसले समग्र नेपालको पर्यटन बिकासमा ठुलो योगदान पुरयाएको पनि अवगत गराउदछौँ।

४. नेपालमा प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति रहेतापनि धेरै जसो शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाई नभएको हुँदा त्यसलाई कार्यन्वयन गर्नु पर्ने माग गर्दछौँ।

माथिका बिषयहरु कुनै पनि जाति बिशेषको मात्र नभै नेपाल राष्ट्रको दायित्व र कर्तव्य भएको हुँदा सम्मानानीय प्रधानमन्त्री ज्यूले कार्यन्वयनको लागि सम्बन्धित निकायहरुमा निर्देशन दिनु हुन अनुरोध गर्दै तपाईंको कार्यकालमा देशमा शान्ति, दिगो बिकास, भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरु गर्न सफल रहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौँ।

१. निमा शेर्पा- बरिष्ठ उपाध्यक्ष, विश्व शेर्पा संघ
२. आङ जाङ्बु शेर्पा – महासचिब , विश्व शेर्पा संघ
३. पासाङ दोर्जी शेर्पा (ए. पि. लामा)- अध्यक्ष, शेर्पा संघ अमेरिका ( सदस्य, विश्व शेर्पा संघ)
४. ई. तेम्बा शेर्पा- अध्यक्ष, शेर्पा किदुग न्युयोर्क अमेरिका ( सदस्य, विश्व शेर्पा संघ)
५. पेम्बा गिर्मे शेर्पा लामा- सचिव , शेर्पा संघ अमेरिका

तपाईको प्रतिक्रिया