- यश लामा

नेपाली साहित्यमा पछिल्लो पुस्तामा निक्कै हस्तक्षेपपुर्ण तरिकाले आईरहेका कवि यश लामा लेखनमा प्रतिरोधी ,विद्रोहीचेत सहित कविता लेखीरहेका कवि हुन् । समाजमा बहिष्करणमा परेका मान्छेका मनोदशा र चेतनालाई बडो शसक्तरुपमा उनका कविताहरुले उठान गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

माइली एक्सप्रेस

माइलीले एक समुद्र रोइसकेकी छिन् ।

उनको आँसुको नुन
कर्णालीबाट बोकेर
सिंहदरबारसम्म ल्याएका छन्
खच्चडहरूले ।

छ न त अहिले उनको गाउँमा पनि छ
सिंहदरबार ।

उनीसँग मुस्कानको बगैंचा छ
विश्वास छैन भने एक नजर लगाई हेर
तिमीलाई पनि सेल्फी लिन हतार हुने छ ।

माइली सङ्घर्षको फुल प्याकेज पनि हो
उनी दुखको गणित पढाउँछिन्
खुसीको भाषा सिकाउँछिन् ।

उनीसँग हत्केलाको पुल बाँकी छ
विश्वास छैन भने एक पटक सुनी हेर
जसको मुनिबाट बगिरहेछ पसिनाको निलो नदी ।

उनीसँग जिम्मेवारीको पाण्डुलिपि छ
विश्वास छैन भने एक पटक पढेर हेर
तिम्रा आँखाभरि स्क्रोलिङ हुनेछन् अक्षरहरू ।

उतिबेला माइलीको आँसु किन्न
आएथे एक योद्धा
आज पनि उनी हिक्काहरूको भर्‍याङ चढेर
आनन्द खोजिरहेछन्।

उतिबेला मुस्कानको बगैंचा डुल्न
आएथे एक भमरा
आज पनि ऊ फूलको टाउको चढेर
नाचिरहेछ अस्वाभाविक नृत्य ।

उतिबेला हत्केला सुम्सुमाएर
गएथे चौबिस क्यारेटका हिराहरू
जो आज सामन्तीको औलामा कैद छ ।

बिच बिचमा कति आए
कति गए
एनजिओ जीवन
जो समवेदना निचोरेर
माइलीलाई रोबर्ट बनाउन चाहन्थे ।

यतिञ्जेल बाँकी थियो माइलीसँग
मात्र एकमुठी श्वास ।

त्यति बोकेर परदेसिइन् उनी ।

अचेल उनी अपूरा सपनाहरू
हेरिरहन्छिन्
मेट्रो स्टेसनका फराकिला ऐनाहरूमा ।

अगुल्टो नाच

हिउँमा हिउँ ठोसेपछि
ठिहीले कठ्याङ्ग्रिएको एक चुल्हो चेतना
जब निस्कियो आगोको अस्तित्व बनेर
तब बल्न थाल्यो हजारौँ वर्षअगाडि
पेटको पानीले निभाएको चिसो अगुल्टो ।

अगुल्टो एक-
च्याब्रुङ नाचिरहेको थियो
खुट्टाको लय मिलाउँदै त्यतिबेला
अगुल्टो दुई-
झुम्रा नाचिरहेको थियो ढकिया बोकेर
अगुल्टो तीन-
सेलो गाइरहेको थियो डम्फुको भाकामा
अगुल्टो चार-
छिटको गुन्यु लगाएर भुमे मनाइरहेको थियो ।

निभाएर हिउँ बनाइएका यिनै अगुल्टाहरू
बल्न खोजेका हुन् पहिचानका लागि ।

फेरि तिमी पनि पितृसत्ताको अनुसरण गर्दै
अनुहारको वनमाराले हिर्काएर
निभाउन खोजिरहेका छौ अगुल्टो
घोचिरहेका छौ चारअ‍ौँले खोक्रो लौरोले ।

क्रुरताका साथ कुल्चिरहेका छौ
एकजोर गन्तव्यहीन खुट्टाले ।

र त,
अहिले आगो बिच्किएर
चुल्होबाहिर अराजक नाचिरहेको छ
सभ्यताको गीतमा पनि ।

अगुल्टो पाँच-
लाखे नाचको टेलर ब्यान भएपछि
दाँतको काँटीले जिब्रोको बारुद कोरेर
आगो ओकल्दै नाचिरहेको छ भैरव नाच ।

यी अगुल्टाहरू
साँस्कृतिक पहिचान उत्खनन गर्न तातिएका हुन्
उत्पीडनको भान्साबाट ।

प्रिय मित्र!
अगुल्टोको इतिहाससँग नजिस्क
मजाक नगर अस्तित्वसँग
यो समताको आगो बोकेको अगुल्टो हो
यो आफ्नै चुल्होमा बल्न चाहन्छ ।

ख्याल गर –
अगुल्टोसँग ख्याल गर ।

सिमा नाघेर कुल्चन नखोज ।

हिउँ पनि आफ्नो अस्तित्व जोगाउन आगो बन्छ ।

सरकारी अस्पताल

भित्तामा टाँसिएको एकथान टेलिभिजन
सन्तुलित भोजनको पाठ सिकाइरहेको छ
नजिकै बोलिरहने फुच्चे स्किपिरको लयमा
पिलपिल नाँचिरहेका छन् तीनथान राता अक्षर
सी ११४, सी ११५, सी ११६ ।

म पालो पर्खिरहेको छु
हातमा छ सी५४५ नम्बरको टोकन ।

मसँगै पालो पर्खिरहेका छन्
एउटा पब्जी खेलाडी
बिरामी अनुहार खिचिरहेको
उदास टिकटक लभर
एकजोडी स्कुले ढुकुर
सुस्त गतिमा चलिरहेका बिमित कागजहरू ।

ठिक अगाडि
काउण्टरको हात छिराउने एउटा प्वालभित्र
मुस्कुराइरहेकी छिन् पेनकिलर मुस्कान ।

हतारमा कुदिरहेका छन्
एम्बुलेन्स
शववाहन
एप्रोन
र हतारमै कुदिरहेका छन्
बिरामी कुरुवा रआफन्त ।

कानमा ठोकिरहेका छन्
मान्छेका अस्पष्ट हल्ला
तारन्तार फोनको घण्टी बजिरहेको छ गोजीमा
रिङटोनमा छ हर्क साम्पाङको नयाँ गीत ।

करिब २ घण्टा १३ मिनेटपछि
काउण्टरको माथि नाँच्न थाले
मेरो हातमा भएको अक्षरसँगै
सी ५४६ , सी ५४७ ।

अब मेरो हातमा पर्‍यो
सम्बन्धित चिकित्सक भेट्ने अनुमति कार्ड
अर्थात क्य नम्बर २५६ लेखिएको टिकट ।

यतिन्जेल म सुकेको ओठ भिजाउँदै
खेलिरहेको छु चिकित्सकको ढोकाअगाडि
रेलगाडी खेल
परिचित र अपरिचित अनुहारसँगै
यो लामो यात्रापछि
अहिले आइपुगेको छु आफ्नो गन्तव्य ।

डाक्टर सोधिरहेका छन् मेरो अप्ठ्यारोर सप्ठ्यारो
म बताइरहेको छु आफ्नो रोगको खण्डकाव्य
सामान्य केरकारको लिस्ट थमाएर
पुनस् पठाइएको छ काउण्टरमा मलाई ।

यहाँको लम्बेतान
ननओभरटेक इमानको लाइन छिचोलेर
बिरामी शरीर छिरेको छ पालैपालो त्यसपछि
कर्णालीको पुल जति लामो-
एक्सरेको ढोकाभित्र
रगतको सिरिन्जभित्र
ट्वाइलेटभित्र
सिटिस्क्यानको सुरुङभित्र
क्रमशक्रमश……

यसरी भित्रभित्रै छिरिसकेपछि
मेरो हातमा आइपुगेको छ
दुईदिनको निद्राबाट बिउँझिएर
रिपोर्टको प्रिन्ट कपी ।

उता अनिदो जमेको छ मेरो मुुटुको आँखा
यता समय बगिरहेको छ अस्पताल वरिपरि ।

अन्ततः थपक्क बसेको छ डाक्टरको टेबुलमाथि
मेरो सिङ्गो शरीर
र प्रेस्क्रिप्सन लेख्दै भनिरहेका छन्
यति मेडिसन खानोस् ठिक हुन्छ
अनि सुन्नोस् त
यो मेडिसिन राम्रो छ
अलि महङ्गो पर्छ
यही कम्पनीको लिनोस्
अस्पतालको मेडिकलमा पाइँदैन
बाहिर बिछोड फार्मेसीमा जानोस् त्यहाँ पाइन्छ ।

फर्मानहरू सुनिन्छन्
अरु अरु डाक्टरका कुर्सीहरूबाट पनि
अब यसको विकल्प अप्रेसन हो
यहाँ अप्रेसन गर्ने हो भने कुर्नुपर्छ तीन महिना
त्यो पनि भरपर्दा छैनन् इक्युपमेन्टस्
छिटो गर्नुपर्छ
भरे आरोग्य हस्पिटल  आउनोस्
म त्यहीँ हुनेछु ।

छेउकुनामा हाँसिरहेका छन् बिछोड फार्मेसीहरू
हाँसिरहेका छन् आरोग्य हस्पिटलहरू ।

यिनै फार्मेसी नापिरहेको
मेरा विवश गोडाका अवरुद्ध गलाले भनिरहेका छन्
सरकारी अस्पताल आफैँ बिरामी रहेछ
यहाँको मेडिकल अनेक जातको मेडिसन खाँदो रहेछ आफैँ
र त अस्पताल सरकारी हुने रहेछ
र त डाक्टर डाक्टर हुने रहेछ ।

तपाईको प्रतिक्रिया