धनकुटामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु करिब डेढ दशकदेखि निरन्तर कविता लेखनमा छन् । दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका लिम्बु कवितामाथि नयाँ नयाँ प्रयोग गरिरहेका छन् । काठमाण्डौमा रहेर नितान्त कविता कर्ममा मात्रै लागि परेका लिम्बुको २०७३ सालमा क्यालिग्राफी नामक कविता संग्रह प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।
एउटा प्रश्न गर्नु थियो
नसोधेको होइन
बादलहरुलाई हजुरको खबर
लेखेर अम्लारीफुङको पातभरी
नपठाएको होइन
चराको प्वाँखमा मायाको चिठ्ठी
बिर्सियो कि कतै
चराले हजुरको क्षितिजको ठेगाना
हरायो वा खस्यो कि कतै
कुनै खोलाको किनारतिर
सम्झिन्छु !
किन आइपुगेन म कहाँ
मैले सोधेको हजुरको खबर ?
धेरैपछि
सपनामा देखेको थिएँ
कुनै अनकन्टार भीरको बाटो
गाउँदै गाउँदै
मुन्धुमी लयमा पीरको गीत
हजुर यसै हराई जानुभयो ।
मायाले छेक्छ मायाको बाटो मायाकै तगारो
मन चोरी लान्छ बनचरी पंक्षी मन पोल्छ झन्सारो
बरि लै मन पोल्छ झन्सारो,बरि लै मन पोल्छ झन्सारो
घुमाउने दह धमिलो पानी जाल हान्छ जालहारी
मनैको बह बुझेर आउने काँ होला दौँतरी
बरि लै काँ होला दौँतरी,बरि लै काँ होला दौँतरी
त्यसपछि
म एक्लै बाँच्ने भइसकेको थिएँ
समयको
याम फेरि नै लाग्दा
अचानक
बतासले हजुरको खबर ल्यायो
उसो त
हजुरले पनि सम्झिनु पर्ने हो
यति धेरै
नामहरुको फेहरिस्तमाझ
मैले किन
हजुरकै नाम टिपेर मेरो हृदयमा राखेँ ?
उसो त
हजुरले पनि सोँच्नुपर्ने हो
यति धेरै
निश्चल आँखाहरु माझ
म फेरि किन
हजुरकै आँखामा अल्झिएँ ?
जानुभन्दा अगाडी
हजुरलाई एउटा प्रश्न सोध्नु थियो
कुन हावाको वेगले
म खसे हजुरको नजरबाट ?
तस्बिरमा अल्झिएको सम्झनाको मफलर
कहाँ पुग्यौ तिमी
तस्बिरमा अल्झाई राखेर
सम्झनाको मफलर ?
साँच्चै ! फेरि….
भेटिएला या नभेटिएला
सम्झनाको भङ्गालोमा
छुट्दै छुट्दै-छुट्दै छुट्दै
बगिजानेलाई
कुनै गल्छीमा
वा कुनै फाँटको नागबेली बाटोमा
कुनै दहमा
वा कुनै किनारको कतैपट्टी
भेटिन्छ कि भनेर
बर्षौँपछि मलाई यसरी
बग्दै बग्दै-बग्दै बग्दै
बगि जाने रहर लागेको छ
कहाँ पुग्यौ तिमी
तस्बिरमा अल्झाई राखेर
सम्झनाको मफलर ?
सँगै बग्यौँ हामीले
भीरजस्तो लाग्ने बाटोहरुमा
खोला भएर
सँगै खस्यौँ हामीले
पहराको अग्लो छहाराबाट
झरना भएर
बग्दै बग्दै-बग्दै बग्दै
तिमी धेरै टाढा पुगिसकेछौ
नदि भएर
समयको कुनै उजाड बगरमा
म अल्झिएँ सायद
कहाँ पुग्यौ तिमी
तस्बिरमा अल्झाई राखेर
सम्झनाको मफलर
साँच्चै फेरि….
भेटिएला या नभेटिएला
सम्झनाको भङ्गालोमा
छुट्दै छुट्दै- छुट्दै छुट्दै
बगिजानेलाई
कहाँ पुग्यौ तिमी
तस्बिरमा अल्झाई राखेर
सम्झनाको मफलर ?
रित्तै फर्कि आएँ
सुनेपछि देशको खबर
बरु उतै फुलाउँछु ठानेर सपनाको अम्लारी
रित्तै फर्कि आएँ म रित्तै फर्कि आएँ
तल्सिङको
अँधिया खेतमा पाकिरहेको दुखको अंश
सालघारीको उदास बयेँलीजस्तो
आफ्नो मान्छेले गाउने बिरही सुस्केरा
लेखेर कहिल्यै नसकिने
समयको हाँगामा अल्झिएको जीवनको गीत
खै के-के,के-के सम्झेर
सुनेपछि देशको खबर
बरु उतै फुलाउँछु ठानेर सपनाको अम्लारी
रित्तै फर्कि आएँ म
रित्तै फर्कि आएँ
दौलथ भनेको त
नुहेको बाँसको पातमा अडिएको
शीतको थोपा मात्रै पो सम्झिए कि ?
छोराले लेखी पठाएको
गुनासोको लामो फेहरिस्त सम्झिएँ कि?
या सम्झिएँ
माइतीको मायाले जीवनभर
माइतीमै
बुढिकन्या बसेकी
चेलीको पीर सम्झिएँ कि
खै के सम्झिएँ ?
सुनेपछि देशको खबर
बरु उतै फुलाउँछु ठानेर सपनाको अम्लारी
रित्तै फर्कि आएँ म
रित्तै फर्कि आएँ ।