अनुज पुस्तामाझ कविता लेखनमा एक सुन्दर र प्रभावशाली कवि अस्मिता वादी निक्कै परसम्म जान सक्ने नाम हो । वेदनाबाट उत्पन्न अनुभवहरुले कसरी सुन्दर कविता जन्मन सक्छ भन्ने एक गतिलो उदाहरण यी कविताहरुले दिएका छन् । समाजलाई यति कलात्मक रुपमा कमै कविताहरुले प्रश्न गरिरहेका हुन्छन् । नदिको गति जस्तै कलकल बगीरहनु शब्दहरुमा उनका कविताका स्वाभाव हुन्। प्रस्तुत छ साताको तीन कविता ।
लास बोकेका खुट्टाहरु
आफ्नै अस्मिताको मृत्यु मरेका
आफ्नै लास बोकेका एक जोर खुट्टाहरु
सहासलाई कवज बनाएर उभिएका छन्
तिम्रा अघि भुइँमान्छेहरुको जीवन सुनाउन
एक बित्तामा उभिएका खुट्टाहरुले
आफ्ना पैताला मुनिको माटो आफ्नै ठाने
तर
माटोमा बगाएको पसिना मात्र आफ्नो रहेछ
यो माटोमा उब्जेको उब्जनी कसको ?
यो माटो कसको ?
अस्ति केही थान हातहरु पहिरोमा पुरिए
केही जोर खुट्टाहरुलाई खोलाले बगायो
र,
बगायो यो देशले नस्विकारेको देशकै भविष्य
खोला बस्तीमा आएको होईन
मान्छेहरु नै किनारामा बाँचीरहेका थिए
समाजमा बाँच्न यो जातले दिएन
किनारामा बाँच्न खोलाले
त्यसैले बगाइदियो अस्तित्व खोलाले होइन यो व्यवस्थाले
आफ्नै अस्तित्वको लास बोकेर
जिन्दगी खोज्न हिडीरहेछन खुट्टाहरु
अब मतपत्रमा स्वस्तिक छाप्ने हातहरु जीउँदा छैनन्
यहाँ त केवल लाशहरु छन्
राज्यले हत्या गरेका तमाम सपनाहरुका लास
अनि यी नै लास बोकेर उभिएका खुट्टाहरु
मसाललाई आगो जोगाउन
लास नजलाई लास बोकेरै उभिएका छन यी खुट्टाहरु
लास बोकेर उभिएका यी खुट्टाहरु
कोसिसमै छन् लासलाई जिउँदै राख्न
लास बिउँताउन उभिएका हुन यी खुट्टाहरु
रितिएको पेटमा बारुद कोचेर
सपना खोसिएको छातिमा बिद्रोह भरेर
अझै लास बोकेरै उभिएका छन् खुट्टाहरु
अपमानको घुट पिएर पिउनु परेर लाशहरु पनि चलमलाई रहेछन्
सक्छौं यी लाशहरुलाई सास देउ
सक्दैनौं गोली दाग दागबत्ती देउ ।
छ सबथोक कर्णालीमा
कर्णालीमा के छ ?
तिमीले सोध्यौ भने म भनुला
सबथोक छ कर्णालीमा
मेरी आमा छिन्
आमाले बगाएको पसिना छ
पसिनाले भिजेको माटो छ
माटोले बनाएको बिष्टको भर
आफ्नो भन्ने घर नभएको डर सबथोक छ कर्णालीमा ।
सबैथोक छ कर्णालीमा
सभ्यताको सिंजा
सम्भावनाको जमीन
समृद्दिको सपना
जीवनको जल
प्रेमको ओक्तो जडिबुटी र दुखाइ रहने इतिहास ।
डुङ्गेश्वर, लिमी ,पाँचल
रारा, श्यार्पू , फ़ोक्सुण्डो
काक्रेबिहार , कर्णाली, भेरी
उफ ! के के मात्र छैन कर्णालीमा ?
अब पनि सोध्छयौ के छ ?
मैले बाचेको कर्णालीमा
छाउपडी, बोक्सी ,गरिबी रोग र भोक
मैले बाचेको अभाव
आमाले बाचेको विभेद
बाले साचेको अपमान सबथोक छ कर्णालीमा ।
आधा वैंश खर्चेर अस्तित्व खोज्न राजधानी छिरेकी मलाई सोध
म पनि भनुला कर्णालीमा सब थोक छ
नभएको त केवल सम्वृद्वि न हो
मैले देख्नै नपाएको त केवल सपना मात्र हो
उन्मुक्त जिन्दगीको सपना
उन्माद हाँसोको सपना
आत्मसम्मान र अपनत्वको सपना
पुरै पुरै जिन्दगीको सपना ।
सबथोक छ कर्णालीमा
तर
जुठे दमाइको ऋणमुक्त उन्मुक्त जिन्दगी छैन
हर्के सार्कीको हलो गाड्ने एक पाथी माटो छैन
सेतो छडी र बैशाकीले भविष्य खोज्ने बाटो छैन
मेरा दर सन्तानको चिहान जस्तै बिलाई गयो आरनको इतिहास
र,
अस्मिता बादीको अस्तिव
बाकी त सबथोक छ कर्णालीमा ।
एउटा यात्री छ संगतमा
रहर खोज्न शहर पसेको
कर्णालीको माया मुटुभरी अटाएर डुली हिड्छ
मण्डला वरिपरि सम्भावनाको व्याख्या गरेर
तर-
बर्षे पिछे बर्षौ देखि गुड बनाउन फर्किए जस्तै गौथली
उ फर्कदैन मुगु अब रारा सम्झिएर
माया नभएर होइन
संभवाना न देखेर पनि होइन
तर संभावनाको सद्बेगले चुलो बल्दैन उसको
तातो गास र न्यानो बास छैन उसको बाकी सबथोक छ कर्णालीमा
उसको हृदयमा जबर्जस्ती कोचेको कर्णाली
पोखियोस एक दिन, छताछुल्ल हुनेगरि
बगाओस उसका सबै -सबै दुख
भोक ,प्यास बेदना र अभाव
सँगै लैजाओस अपमानित जीवनको बोझ
निमिट्यान्न पारिदेओस जातको दोष
रहोस त केवल सह-अस्तित्व, सम्मान र समता
मेरो र उसको भाग लागोस एक अन्जुली जीवन
एक अँगालो सपना एक मुठी आत्मसम्मान
र मुठी कस्दै भनुला म कर्णालीमा के छैन ??
के बाँच्नु भनेको सास फेर्नु मात्र हो ?
बाँच्नु भनेको सास फेर्नु मात्र हो ?
या नबाँच्नु भनेको मर्नु मात्र हो ?
सास फेर्नु र बाँच्नु बिचको भिन्नता के हो ?
अथवा मर्नु र सास न फेर्नु बिचको फरक के हो ?
सास फेर्नु मात्र बाँच्नु हो भने
माम्री परेको आँतबाट
सास फ़ेरेकै छिन् तर बाँचेकी कत्ति पनि छैनन्।
उसो त सास नफेरेकी पनि होइनन
तर कहिल्यै कसैले सुनेनन् उनको अस्तित्वको आहट
यो युगले नबुझेको उनको मौनता
म कसरी बुझुँ ?
जब हेर्छु म धर्तीको पहिलो किरण
नियाल्छु आफना पुट्ट परेका गालाहरु
प्रकृतिले फूलमा रंग भरेझैँ
यी गालाको रंग त मेरी आमाले भरेकी हुन्
यी रंग भर्न कुन्नि कति अध्यारा रातहरु घोलिन आँशुमा
कति अभावका सितहरु बटुलिन पोल्टोमा
कति उजाड खडेरीहरुमा आँशु मिसाइन
के कति जम्मा पारिन जुनको उदासीनता
र भरिन् मेरो जीवनमा लाली ।
म आफ्ना आँखाले आफैलाई हेर्छु
तर सक्दिन ऊनका विक्षिप्त आँखा नियाल्न
जहाँ अभावले थिचिएका आवश्यकताहरुको पहाड बनेको छ
म हराउँछु उनको एक युग पुरानो धोतीमा जहाँ
उनले कयौं सपनाहरुलाई बेस्सरी गाठो पारेर कैद गरेकी छिन।
उनलाई डर लाग्दो हो की भर मेरो आत्मविश्वाससँग ?
मैले बाँच्ने सपना या उनले बाँचेको अभाव
कस्को अवधी लामो होला ?
पुरै जिन्दगी र उनको चोलीको ओजन
यी दुइ मध्ये कसको तौल धेरै होला ?
मेरो चकलेटी अनुहार ?
या उनको ‘च’ निस्सासिएर कलेटी परेको अनुहार ?
सरकार कसको मोल धेरै होला ?
मलाई अक्षरका आकार कोर्न सघाउने उनि
तर जानिनन् आफुले अक्षर कोर्न र अंकगणितका अंक जोड्न
त्यसैले होला
उनले आफ्ना खुसीहरू जोड्न जानिनन्
दुखहरु घटाउन जानिनन्
न जानिन् कहिले मुस्कानहरु गुणन गर्न
उनले त केवल जीन्दगी भाग लाउन जानिन
अलिकति मलाई…….
अलिकति बालाई……
अलिकति भाइलाई……
अनि पूराका पुरा अभावलाई ।
मैले घोकेको सेरोफेरोमा आमा हाँस्न नमिल्नेरहेछ
आमाले भोगेको सेरोफेरोमा म बाँच्न नसक्ने रहेछु
पढेको सेरोफेरोमा नैतिकता थियो
बाँचेको सेरोफेरोमा मानवता कहाँ छ?
यहाँ त केवल जात छ
दमन र बहिष्करण छ
शोक र शोषण छ
म केही नजान्ने ऊनलाई हेर्छु र हेरिरहन्छु ।
कसरी जानिन ऊनले ?
साना चिटिक्कै उस्तै आकारका गिटी फुटाउन
माटोमा आकार लाउन
बालुवामा जीवन बिसाउन
पहराको पिपल जस्तै जिन्दगी फ़ुलाउन ।
ऊनले बुझेको यही हो समाज
एक्लो हुनु अभावमा पुरै जिन्दगी बिताउनु
केवल सास फेर्नु
न बुझेको त उनले यो व्यवस्था हो
बडो सहासी छिन
नत्र उनि आफ्नै आँखामा आफ्नै अस्तित्व दफन गर्न कसरी सक्छिन ?
एक मुट्ठी सास आफ्नै हत्केलामा राखेर सास कसरी फेरिरहन सक्छिन् ?
अब तपाई भन्नुस सास फेर्नु – बाँच्नु की मर्नु हो ?