कवि  मिन बहादुर राना  राम्रो सम्भावना बोकेको कवि हुन् । गहिरो आलोचनात्मक चेत र अनुरागले भरिएको  अभिव्यक्ति  उनको कविताको स्वाभाव हो । यी सुन्दर कविताहरु पढिसकेपछि पाठकले भन्न सक्छ उनी नेपाली कविता लेखनमा युवा पुस्ताबीच सचेत कवि हुन्। प्रस्तुत छ तीन कविता ।

मान्छे हुँ हजुर

आफूलाई साक्षात भगवानको अवतार ठान्ने
महामानवहरू आए र भने
हेर मनुवा –
म जे भन्छु त्यो मान
मेरो कृपाले तेरो कायापलट हुने छ
म जे चाहान्छु तँ त्यही बन्नेछस् ।

अनेकन लोभ र लालच देखाए
अनेकन सफलताको कथा सुनाए
धेरै पाठ पढाए
अनेक प्रपन्च गरे
भूत र भबिस्यको विरासत देखाए

जब नटेरेको जस्तो माने
अनि घुमाउरो भाषामा झासा सुनाउन थाले
होइन भने मेरो अलौकिक शक्तिले
मान्छेलाई ठाडै सुकाइदिन सक्छु
जिउदै जलाइदिन सक्छु
छुमन्तरमा मान्छेलाई मान्छेबाट सुँगुर
सुँगुरबाट कुकुर र कुकुरबाट ढुकुर बनाउन सक्छु

जब यस्ता वाणीमा मर्जी भयो
मैले हुन्छ भन्न पनि सकिनँ हुन्न भन्न पनि सकिनँ
अलि समय बितेछ
देख्छु-

उसका पछि लाग्नेहरू
स्वस्तिगानमा रमीरहेका थिए
आफ्ना इच्छा रहर उसैको चरणमा सुम्पेर
उसैको इच्छा अनुसार घुमिरहेका थिए

जब मान्छे विस्वासको बिषमा डुब्छ
ज्ञान र समय भुल्दोरहेछ
जति भक्ति गरे पनि
जति धनुषटङ्कारै परे पनि
अर्काको पाउमुनि परेरै केस फुल्दोरहेछ

धेरै पछि मैले जवाफ फर्काएँ
हे ! महौतारी म मान्छे हुँ
मान्छे नै रहन चाहन्छु
सधै सार्थक जीवनको लागि मरिमेटेको छु
ज्ञानी बन्न नसके पनि ज्ञानी हिँडेको बाटो देखेको छु
कसैको सेवा गरेछु भने पनि मान्छेको रुपमा नै गर्छु
कसैको लागि काम आएछु भने पनि मान्छेकै रुपमा आउने छु
मलाई न भगवान बन्ने इच्छा छ न भक्त
म मान्छे हुँ हजुर मान्छे नै रहन चाहन्छु ।

 म सडकको धुलो

महोदय म सडकको धुलो हूँ
मूल्यहीन मूल्य छ
अस्तित्वहीन अस्तित्व छ
रङ्गहीन रङ्ग छ
ढङ्गहीन ढङ्ग छ

कहिले पहिरोमा परेँ
कहिले खहरेमा बगेँ
गाडी चढेर सहर पसेँ कहिले
बढारिएर नालीमा सहरबाट बाहिरिएँ

मैले आफ्नो पहिचान गुमाएर
आफ्नो अस्तित्व गुमाएर
धुलो हुन सजिलो त कहाँ थियो र   ?
म घाममा तत्तिएँ
नराम्ररी थिचिएँर मिचिएँ
हजार ठाउँमा बजारिएँर थँचारिएँ
अनेक रूप धारणा गर्दै सहेर आएँ
म सिनो हुने गरि पिसिएँ
बनेँ धुलो र फिजिएँ सर्बत्र

म ढुङ्गा थिएँ वा मुडा
थिएँ केही न केही त अवश्य थिएँ
कहिले तीखो थिएँ होला
कहिले खस्रो पनि भएँ होला
जब धुलो भएँ कसैलाई नबिजाउने भएकोछु
कसैलाई नदुख्ने भएकोछु
महोदय,
हजुर ढुङ्गा हुनुको अहङ्कार गर्नुहुन्छ ?
फेरिन नसक्नु त निकम्मा हुनु हो
समय अनुसार नफेरिनु त अगति पर्नु हो
यस्तो बोधो जीन्दगी बाँचेर
यति गरुङ्गो अस्तित्व बाँचेर धुलोसित ध्वाँस गर्नु ?

म सडकको धुलो हुँ
मलाई उचालिनु र खसालिनुको कुनै अर्थ छैन
आफ्नै रङ्ममा रमाउने म
सजिलै उड्न सक्छु आकाशमा
खस्न पनि सक्छु सजिलै पर्दैन कुनै असर
तिमीलाई मेरो चुनौती छ सक्छौ भने म जस्तै उचालिएर देखाऊ
म जस्तै पछारिएर देखाऊ
म जस्तै हावामा कावा खाएर देखाऊ
म जस्तै सर्वत्र फैलिएर देखाऊ ।

म बेखबर छैन
तिमी-
जुन ठाउँको फोटो हेरेर रमाउँछौ
फुर्सदमा एकछिन तिमी रमाउन जाने हिलसाइडमा
मैले पुरै जीवन बिताएको हुँ त्यही जन्मेको हुँ
म आफ्नै बारेमा बेखबर छैन तर प्रचार गर्दिनँ ।

जुन चिज तिम्रा बाले घोटेर निधारमा लगाउँछन्
हो, त्यसैको दाउरा काट्छन् मेरा बा
तिम्रोमा जे बिना पूजा अड्किन्छ
हो, त्यसैको घाँस काट्छिन् मेरी आमा
मान्छेहरू अनेक कुरो मागेर भाकल गरेर
पूजा गर्न जाने देउरालीमा दिनदिनै घुमेँ गोठालो गर्दै
तर कहिल्यै केही मागिनँ ।
आफ्नै पाखुरीको आफैलाई विस्वास नभएपछि
मान्छे ढुङ्गासित पनि झुक्दो रैछ
झारपातमा पनि शक्ति देख्दो रैछ
माग्दा रैछन् भाकल गरेर अनेक चिज
जसको मन थिर हुँदैन त्यो नै मन्दिर धाउँदो रैछ
म आफ्नै बारेमा बेखबर छैन तर प्रचार गर्दिनँ ।

हामीले रिङ्गाटा लाग्दा खाने कुरा तिमी रिङ्गाटा लगाउन खाएर

जेको मातमा बकवास गर्छौ वितण्डा मच्चाउँछौ
त्यो त आमाले –
आफ्नो दूध नपुग्दा बच्चै छँदा पिलाउनु हुन्थ्यो
हरेक दिन त्यसैको अर्नी खान्छन् बा
मसला भनेर मिठो परिकारमा राखिन्छ जे तिमीकहाँ
हाम्रोमा त्यो भैसीले पनि खाँदैन
तिमीले जडिबुटी भनेर तोलामा किन्ने झार हाम्रोमा बाख्राले पनि खाँदैन
तिमीले सेल्फी लिँदै रमाएको पछिल्लो ठाम मुन्तिर
भाँडाकुटी खेलेर बितेको थियो मेरो बाल्यबाल
म आफ्नै बारेमा बेखबर छैन तर प्रचार गर्दिनँ ।

नदेखाऊ मसित ती थोत्रा दर्शनको दम्भ
चाल्स फुरिय जन्मनु अघि
हाम्रो पुर्खाको पनि यौटा सूर्यनगर थियो
घोषणा पत्रको खेस्रा बन्नु अगि आएका थिए
दाह्रीवाला मार्क्स हाम्रो गाउँमा बास बस्न
र सोधेका थिए जीवनको महत्व
अनि हाम्रो बाजेले भनेको सुनेर
त्यसैमा अलिकता थपथाप पारेर लेखेका हुन् घोषणाा पत्र ।

तिमीहरू वर्णमाला रट्दै गर्दा आएका थिए तालुखुइले चाणक्य बाजे हाम्रोतिर
र,
हामीले चुनेको मुखियालाई राजा बनाएर लगेका थिए
यसैगरी कता कताबाट हारेर भाग्दै आएका
निरीह भगवानहरूलाई शरण दिएर
लडाईँका कला सिकाएर
हाम्रै पुर्खाले जिताएका हुन्
हाम्रै पुर्खाले थामिदिएका हुन् देवताहरूको राज्य ।

टुप्पी धारीहरूले शास्त्रमा
दस्यु पो बनाइ दिएछन्
बाँदर पो भनिदिएछन्
तै पनि बाँदर नै सही
पहरामा बाँदर झैँ स्वतन्त्र छु
यो दुर्गम गाउँमा बाँदर झैँ स्वस्थ छु
यो शान्त ठाउँमा बाँदर झैँ मुक्त छु
म आफ्नै बारेमा बेखबर छैन तर प्रचार गर्दैन ।

दुलोमा बस्ने सहरको मान्छे
मेरो आँगनमा टेक्यौ भने एक छिन
तिमीलाई मानसरोबर पुगेको आभास हुने छ
मेरो घरमा बस्यौ भने बास
तिम्रो शास्त्रको स्वर्ग त्यही पाउनेछौ
मैले खाने खाना खायौ भने एक छाक अमृत पाएको ठान्ने छौ
मैले बाँचेको जीवन बांँच्यौं भने केही क्षण
आफूलाई वर्गयुद्धमा पाउनेछौ
मैले देखेको संसार देख्यौ भने तिमी आफूलाई पुरै हारेको ठान्ने छौ
मैले हेर्ने नजरले समाजलाई हेर्न सक्यौ भने
आफूलाई सेनापति मान्ने छौ
म आफ्नै बारेमा बेखबर छैन मात्र प्रचार गर्दिनँ ।

 

तपाईको प्रतिक्रिया