दुई दशक भन्दा लामो समयदेखि लेखनमा सकृय कवि गीता कार्की विशेष गरि कविता लेखनमै सकृय नाम हो  । उहाँको कविताहरुले समाजमा रहेका विभेदको बिरुद्व प्रतिकार गरिरहेका हुन्छन् । मनमा रहेको सूक्ष्म भावलाई स्पष्टसँग बोलीरहेका हुन्छन् । प्रकृतिलाई अभिव्यक्त गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

हरेक दिन उदाउने सुर्यसँगै



दिनबाट ओझेल परेका
जिन्दगीहरू
गुलाबी रातबाट भागेका
सपनाहरू
अनायास लासहरूमा अनूदित भएपछि
एकाबिहानै
धरहराको फेदीमा उभिएर म सोचिरहेछु
धर्तीको सुकोमल छातीमा
फूलहरूका निम्ति चिहान खन्दै गरेका
फूलका मलामीहरू !
तिम्रो छातीमा यसबेला
कुन चोट दुखिरहेछ ?

मेचीदेखि  महाकालीसम्म बगेका
रगताम्ये निर्दोष फूलहरूको  दृश्य नियाल्ने मान्छेहरू !
मृत्युको बेहिसाब साँझ खसेको आँगनमा
मौसमी फूलहरूको उत्सव मनाउन
आङभरि-भरि सूर्यले डामेर
धुवाँले बाफिएको बस्तीमा
लाम लागेका छन् प्रमिथियसहरू ।

हरेक दिन उदाउने सूर्यसँगै
चिहानबाट एक अँजुली घाम उबाएर
घामको यात्रामा समाहित मान्छेसँगै/म
गुड छाडेका चराहरू फर्काउन
अज्ञात दिशातर्फ मोडिएको छु
समयका निलडाम बोकेर ।

एउटा युगजस्तो हरेक बिहानी
बृद्ध आमाहरूको
सपनाजस्तै
मेरा खामबन्दी रहर र सपनाहरूमा म
तारा खसेको साँझ
विश्वासका दुर्गहरूमा
आमाहरूलाई
हजार सूर्यजस्ता सन्तानहरू जन्माउन
अभ्यर्चना गर्दै
आमाकै दुधको मसीले लेखेको
अभ्यर्थना-पत्र बाँडिरहन्छु
अनागत अन्तिम बासहरूसम्म……!!

आकाश ,फुल र इन्द्रेणी

कुनै दिन तिमी
मनका उदासी पातहरू खिटेर
सिहदरबारको मूल ढोकामा उभिने पालेजस्तो
खटियौ बफादार
कर्तव्यका पर्खालहरूमा र
बोर्डिङको मास्टरजस्तो
टाइमा अल्झिएको समय भयौ

हिमचूलीमा रक्तिम घाम उदाएको दिन
मुस्कुराउँदै तिमी
समयको इन्द्रेणी टाँगियौ
कर्मका क्षितिजसम्म
र इन्द्रेणी भयौ
मानिस
तिमी इन्द्रेणी भएकामा उदास भए
तिम्रो विजय त
क्षितिजसम्म टाँगिएको इन्द्रेणी हुनुमा छ

कैयन दिन तिमी
असारको आकाशजस्तो पीरका बादलले ढाकेर मन
बर्खे झरीको बादल भयौ
मानिस
तिमी बादल भएकैमा रमाए
तिम्रो विजय त
बादलभित्रको निलो आकाश हुनुमा छ

कति दिन त तिमीले
बालुवामाथि टेक्यौ र
फूल भयौ
कति फूलमाथि टेकेर बालुवा भयौ
मान्छे
तिमी बालुवा भएकैमा रमाए
यथार्थमा तिम्रो विजय
बालुवामा टेकेर फूल हुनुमा छ

दुखाइसँगै सुइरो भएर जब मानिस तिमीसम्म पसे
तिमी आकाश, फूल र इन्द्रेणी भयौ……

चराको आवाज,चुराको संगीत र आमा

बिहानै चराहरू कराएको र आमाको चुरा बजेको संगीत
उस्तै र पृय लाग्छ मलाई
आमाको उज्यालो अनुहार र जूनको उन्मुक्त हाँसो उस्तै र सुरम्य लाग्छ ।

क्याकटस सधैं हरियो हुन्छ

आमा मलाई सधैं कोठामा क्यकटस भएको मन पर्छ

आमाको ममता मैदानभरि
पारिजात छरिएको मनपर्छ
आमाको निलो ओठमा
सरद मुस्कुराएको मन पर्छ
आमाको हृदयमा
सधैं दियो बल्छ
आमाका आँखा
साँझका जोर बत्ती  हुन् ।

कत्ति पिउँछन् ती आँखाले सन्तानका दर्द !!

जूनको किरणले नुहाएर कत्ति बग्छन् ती आँखाबाट
सन्तानको पीडामा आँसु….

कत्ति सपनाहरू फुल्छन्
आँखाका नानी र डिलहरूमा….।

आमाको गहमा
कहिले नरित्तिने
अग्निकुण्ड छ
कहिले नसुक्ने
सरोवर छ छातीमा
आँधीहुरीले नढल्ने वृक्ष छ ठूलो
त्यही वृक्षको फेदमा बसेर तपस्या  गर्छिन् आमा…

आकाशमा निदाएका ताराहरूका निम्ति !
बगैचामा फक्रदै गरेका
कोपिलाहरूका निम्ति !!

आमा तपश्विनी हुन् –

बाल्दा यज्ञको आगो बाल्छिन्
ढाल्दा वैरीको शीर ढाल्छिन्

आमा शक्ति,सामर्थ्य र तेजाप हुन् ।

आमा तपश्विनी हुन् …!
आमा सरोवर हुन् ….!
आमा अमृतकुण्ड हुन् ..!

तपाईको प्रतिक्रिया