बालिका बान्तावा
कुरा आफ्नै भोगाईबाट शुरु गरौं है पाठकवृन्द !
मैले सानै उमेरमा अन्तरजातिय प्रेम विवाह गरेँ । लगत्तै छोरीको जन्म भयो । आयस्रोत राम्रो थिएन । श्रीमानले विदेश जाने धेरै कोसिस गर्नु भयो तर उहाँको बिदेशको भिसा कतै लागेन । दिन प्रतिदिन पारिवारिक जिम्मेवारी बढ्दै थियो । अन्य कुनै कामले घरको आर्थिक परिस्थिति तुरुन्तै बदलिने अवस्था थिएन । त्यही समय बैदेशिक रोजगारीले नेपाली समाजमा प्रभाव पार्दै थियो। एक हिसाबले भनौं बिदेश जाने लहड नै चलेको थियो । म हुर्कदै गर्दा पनि लाहुरेहरुको गाउँघरमा आफ्नै रवाफ थियो ।
दुःखले मान्छेको अन्तरआत्मामा हिम्मत पैदा गर्दोरहेछ । ममा पनि हिम्मत आयो र श्रीमानलाई भने `हजुरको भाग्यमा बिदेश जान लेखेको रहेनछ । बरु केहि बर्षको लागि मै बिदेश जान्छु । केही पैसा कमाएर आउँछु। त्यसपछि हाम्रो भविष्य सुन्दर र सुरक्षीत हुनेछ।´ मैले यसो भनिरहँदा उहाँले कुनै नाईनास्ती गर्नु भएन। सहमतिमै सानी छोरी श्रीमानको जिम्मामा छाडेर धेरै नेपालीहरुको सपनाको देश हङकङ हिँडे । तर सानी छोरीलाई छोडी राखेर यसरी बिदेशीनुको पीडा कस्तो हुन्छ हरेक आमाको मन र मुटुलाई सोधे हुन्छ । दिनरात काखको सन्तान छोडेर परदेशमा पसिना बगाउनुको पीडा कस्तो हुन्छ यो त भोग्नेलाई मात्र थाहा हुन्छ ।
मिठो खाने, राम्रो लगाउने र आफ्नो सन्तानलाई बोर्डिङ स्कुल पठाउने मेरो पनि सपना थियोे । मलाई लाग्छ हरेक बिदेशीने नेपालीको सपना त्यति ठूलो हुदैन – नचुहिने छानो, बिरामी हुँदा उपचार गर्न केही रुपैयाँको जोहो, आफ्ना संतानलाई बोर्डिङ स्कुल पठाउने धोको , बुढेसकालमा श्रीमान श्रीमतीको निम्ति केही सम्पत्ति जोहो गर्ने सपना । अभावसंगै बुनिएका यस्तै सपनाका कारण बिदेशिएका हुन्छन् नेपालीहरु । यीनै मध्ये म एक बैदेशिक रोजगारीमा हिडेकी आमा थिएँ । श्रीमती थिएँ । बुहारी थिएँ अनि मेरै छोरी जस्तै मेरी आमाले मायाले हुर्काएकी एक छोरी थिएँ ।
समय बित्दै गयो तर समय एकनास रहेन । दुई बर्षसम्म हाम्रो सम्बन्ध ठिकै थियो तर दुरीसँगै हाम्रो माया कमजोर हुँदै गयो । अभावकै कारण हाम्रो प्रेम कमजोर भयो । सानो र सुखी परिवारमा तेस्रो व्यक्तिको प्रवेश भयो । श्रीमानको जीवनमा परस्त्रीको महत्व बढ्न थाल्यो । हेर्दाहेर्दै हाम्रो परिवार बिखण्डीत भयो । सोच्छु देशमै गरिखाने अवस्था भएको भए नेताहरु देशप्रति ईमान्दार भैदिएको भए मेरो जीवनमा यो तुफान आउने थिएन । म जस्तै हजारौं नेपाली परिवारमा पारिवारिक बिखण्डन हुने थिएन । समाजमा यस किसिमको विचलन आउने थिएन ।
धेरै रोई कराई गरेर परिवारले सम्झाउदा पनि श्रीमान उनी बिना बाँच्नै नसक्ने अवस्थामा पुगीसकेका रहेछन् – म, उसको घर र सन्तानको मायालाई भुलेर । माया पनि कति स्वार्थी हुँदोरहेछ । कहिलेकाहीँ आफ्नै अन्तरमनलाई सोध्छु, साच्चै मेरो श्रीमानले मलाई माया गरेका थिए की मेरो शरिरलाई ? मरिजाने जुनीमा किन तनाव लिनु ? भन्ने पनि लागेर आयो । आफैले भोगेका हजार हन्डर र ठक्करहरुले गर्दा सायद मेरो मनमा यस्तो विचार आयो होला । यस्तै सोचका कारण चुपचाप म उनीहरूको जिन्दगीबाट ओझेल भएँ ।
हुन त दुख पुरुषलाई पनि छ । मैले यहाँनेर सबै महिला ठिक र सबै पुरुष बेठिक भन्न चाहेकी होईन । तर नेपाली समाजमा महिलाले भोग्नुपर्ने मानसिक, समाजिक समस्याहरु अलिक फरक र जटिल छन् ।
यहीँबाट शुरू हुन्छ हाम्रो छोरीको कष्टकर र संघर्षमय जिन्दगी। आफ्नी आमा हुदा हुदै बाबालाई परस्त्रीसँग कसरी स्विकार्न सक्थिन र ? तर नेपाली समाज यति पाखण्डी छ कि बिना लगामको घोडा जस्तो यो समाजमा नैतिकहिन भएर हिड्ने पुरुषहरुलाई प्रश्न गर्दैन । लोग्ने मान्छेको अपराधलाई बहादुरीको तक्मा दिने पितृसत्तात्मक सोचको बहुमत समाज त छदैछ तर त्यस्तै सोच भएका स्वास्नीमान्छेहरु पनि तपाईं हाम्रो वरिपरि छन् जसले गर्दा महिलाको दुख अझै बढेको छ । म जस्तो एकल आमाहरुको दुख बढेको छ ।
हामी अलग भएपछि पनि आ आफ्नो तर्फबाट छोरीको हरेक ईच्छा चाहनाहरू पुरा गरेकै थियौं तर पैसा र साधनले आमा बाबाको सामिप्यता पुरा गरेन । त्यो पैसा त्यो सुखले छोरीको जीवनमा कुनै महत्व नै राखेन । म सँग आज आर्थिक अवस्थामा परिवर्तन आईसकेको छ । दुई पैसा खर्च गर्न सक्ने अवस्थामा छु तर मेरो छोरीको बचपन र किशोर अवस्था जो आमा बुबाको सामिप्यता बिना बित्यो त्यो कहिले पर्किएर आउदैन ।
म देशमै बसेर केही व्यावसाय गरेर खान्छु भन्दा पनि अवस्था त्यस्तो रहेन र नै बिदेशीएँ। यो कुरा मैले माथी भनीसकेकोछु । त्यति राजनिति बुझ्दीन तर भोगाइले यति त बुझ्ने भएको छु । अन्तर्राष्ट्रिय कानुन नियमसँग थोर बहुत भिजेको छु । बिकास कस्तो हुन्छ देखेको छु । बिकासको गति देखेको छु । गरीखाने जनताको ज्यान र रोजगारीको ग्यारेन्टी सरकारले कसरी गरिरहेको छ अन्य मुलुकहरुमा महशुस गरेको छु । कास मेरो देशको नेताहरु देश र जनताप्रति ईमान्दार भैदिएका भए सर्वसाधारण जनता बिदेशीनु पर्ने थिएन । बिदेशीनु नपरेपछि परिवारमा बिखण्डन आउने थिएन । सन्तानको मानसिक स्वास्थ्यमा असर पर्ने थिएन ।
छोरीले अझै पनि हरेक पल्ट मलाई प्रश्न गर्छिन `मम्मी मेरो भबिष्यको लागि भनेर परदेशिनु भयो तर मैले के पाएँ ?´ अब म प्रश्न गर्छु देशलाई – देशमा लोकतन्त्र आयो तर गरिबको निम्ति देशमा शुशासन रहेन । बेरोजगारीले गरिब मरीरहेछ तर हिजो केही नभएका नेताहरुको आलिशान महलहरु कसरी ठडिए ?
नेताहरुले दिनरात नभनी बिदेश गएर मेहेनत पनि गर्नु भएको छैन । देशमै पनि खासै देखिने केही गरे जस्तो लाग्दैन । के छ पेशा देखीएको छैन । बिदेशमा त राजनितिमा आउनु भनेको सेवाभावले आउनु हो ।
आमा छोरी कहिलेकाहीं कुरा हुँदा छोरी दुखी हुँदै भन्छीन् – आमा गुमाएँ , बाबा गुमाएँ, सबै किसिमको साथ गुमाएँ। हजुरहरू हुँदाहुदै पनि म टुहुरी सरह नै भएँ । भोली गएर मैले मेरो सन्तानलाई बाजेबोजु भनेर कसलाई चिनाउनु ? आमा बाबा सँगैको एउटा फोटो राख्ने अवस्था छैन । मेरो गल्ती के थियो र यी सब मैले भोगिरहेछु ? छोरीले यस्तो प्रश्न गरिरहँदा म निशब्द हुन्छु । यसमा म आमाको गल्ती नभएता पनि छोरीको प्रश्नको उत्तर दिन सक्दिन। म शब्द बिहिन हुन्छु । सायद धेरै एकल आमाहरुको साझा दुःख हो ।
मेरो साथी अञ्जली छिन्। उनी पनि मेरै परिस्थितिबाट अगाडी गुज्रीरहेकी छिन् । परिवर्तन गरिएको नाम अञ्जली उनी तीन बर्षको हुँदा उनको बाबाले कान्छी आमा भित्र्याएपछि आमा र उनी मावलीको शरणमा पुगे। मावलीहरूको करले उनकी आमाले दोस्रो विवाह गरिन। त्यसपछी उनको जीवन होस्टलमै बित्न थाल्यो। कान्छी आमाबाट दुई छोरा जन्मिए , आमाले पनि कान्छा बाबासंग दुई छोरा जन्माईन । त्यसपछि त उनलाई आफु झन एक्लीएको महसुस हुन थाल्यो र मेरो कोहि छैन यो संसारमा भन्ने बुझाईले उनी मानसिक रुपमा विक्षिप्त भईन । उनी नितान्त एक्ली भईन, आमा बाबा बिहिन भएर होस्टेलमै उनको किशोर अवस्था बित्यो । आमा बाबाको साथ नहुँदा उनिभित्र केही कुरा अपुरो नै भएको महसुस भैरहयो । उनले परिवार के हो ? माया के हो ? त्यो भोग्न र महसुस गर्नै पाईनन् । यो प्रसङ्ग त एउटा नजिर मात्रै हो । आज हरेक नेपाली समाजको घरहरु यही समस्याबाट गुज्रीरहेछ ।
यसको जिम्मेवारी को ? जबसम्म यो समस्यालाई नेपाल सरकारले आफ्नो दायित्व सम्झदैन तबसम्म अवस्था यस्तै हुन्छ । देशमै केही गरेर बसौं भएको कलकारखाना सबै बन्द छन् । अभावमा अझै पारिवारिक कलह बढ्नेछ । आर्थिक रुपमा कमजोर भएपछि सबै हिसाबबाट कमजोर हुईदोरहेछ । म यी सबै समस्याको बीच हाँस्न सक्ने महिला साच्चिकै बलियो हुन भन्ने बुझ्छु ।
लोग्ने मान्छेहरुलाई अनुशासन, धर्म र असल कर्म गर्नु पर्दैन ? सदियौंदेखि लोग्ने मान्छेले गरेको अपराधको कारण महिलाहरुको जीवन पीडादायी छ तर यसतर्फ चर्चापरिचर्चा भएको सुनिदैन । प्रश्न त मलाई सबै लोग्नेमान्छेलाई गर्न मन छ । धर्मशास्त्रलाई गर्न मन छ । हाम्रो सामाजिक संरचनालाई गर्न मन छ । अनि ती सबै पुरुषहरुलाई गर्न मन छ जो शरिरको भोक भन्दा माथि किन उठ्न सक्दैनन् ? अन्त्यमा एउटा कुरा फेरि भन्न चाहन्छु, सम्बन्ध बिच्छेद धेरै महिलाको निम्ति मर्न नसकेपछि बाँच्नको निम्ति अपनाइएको केही सहज तर हजारौं अप्ठ्यारा बीचको एउटा बाटो मात्रै हो ।