सिला घमाल एक सम्भावना बोकेकी हृदयबाट लेख्ने युवा कवि हुन् । हङकङवासी घमालका कविताहरुले आफैसँग प्रश्न गरिरहेका हुन्छन्,  ईमान खोजीरहेका हुन्छन् । सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको उनको कवितामा मस्तिष्कले गर्ने हिसाब होइन दिलबाट आउने भावहरु पोखिएका हुन्छ्न। प्रस्तुत छ साताको तीन कविता ।

संवेदना  


कहिले आफुलाई हराएकि हुन्छु
कहिले आफैलाई भेट्टाएकि हुन्छु
पाइला पाइलामा फूलको स्पर्श
 कतै काँडामाथि हिडीरहेझैं
महसुस गरिरहेकि हुन्छु ।
लाग्छ जीवन कहिले उज्यालोको बर्षा हो
लाग्छ फेरी यो संघर्षको एक धर्सा हो
कहिले अधुरो लाग्छ कहिले मधुरो लाग्छ
कहिले  उज्यालो दिप नजिक पुग्छु
कहिले सपनामा शान्ति खोज्दै बुद्ध अमीप पुग्छु
कहिले खोज्दै जाँदा आफु भित्र आफै पाउछु
कहिले बतास भै सुसाउछु
कहिले फूल भै मुस्कुराउछु
एकान्तमा कहिले जीवनको गहिराइ नाप्दै
बयली खेल्दै गरेका समुन्द्रका छालहरुसँग रमाउछु  ।

मेरो सपना

जीवन र मृत्युको  संघारबीचमा बाँच्दै गर्दा
मैले कति पटक मनभरी  राताम्य गुराँस झैं सपना सजाएँ
तर-
जीवनको क्यानभासमा एकनासको रङ कहाँ हुदोरहेछ र ?

चाहन्थे रङ्गीन संसार जिउन
तर समयले बेरङ्गी बनाईदियाे
चाहन्थे फूल्न गुराँस झैं ढकमक्क
तर समयले बेपर्वाह उजाडी दियाे
म फुलाउन खोज्थेँ अधरमा लालुपाते मुस्कान
तर आँखामा टिल्पिलाएको आँसुले मुस्कान बगाइदियाे
तथापि –  म जीवनदेखि हारेको  छैन  ।
म –
समयलाई जितेर  मेरा सपनाहरु, बिपनामा बदल्न चाहन्छु
अँध्यारा रातहरुलाई चिरेर उज्यालो प्रेमको लय  गुनगुनाउन चाहन्छु।

म ढाँट्न सक्दिन

मैले तिमिलाई कसरी ढाट्न सक्छु र ?
तिम्रो म माथिको आस्था कसरी मास्न  सक्छु र ?
तिमी जति टाढा रहे पनि
तिमीले दिएका सम्मान र माया कसरी भुल्न सक्छु र ?

राम्रा नराम्रा घात
आफ्ना र बिराना चिनाउने तिम्रा म प्रतिका निश्चल प्रेम
फरक थियो  तिमी अलग थियौ
फुलको डोलीमा मलाई राखेर बाँच्न सिकायौ ।

मैले तिमिलाई कसरी ढाट्न सक्छु
तिमी त यस्तो हिरा हौ जसले दिशाबिहिन अन्धकारतिर धकेली रहेका
मेरा  पाईलालाई हिराको जस्तै चहक दिएर बाँच्न सिकायौ ।

तिमी त मेरो यस्तो आदर्श हौ खोइ म कसरी  भनौं 
बखान गरेर तिमीलाई म यो भिडमा सामिल गराउन चाहान्न ।

तपाईको प्रतिक्रिया