सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष रहेका अजित उत्सव हाल दक्षिण कोरियामा कार्यरत छन् । उनका कविताहरुले प्रेमका अनुभूतिहरुलाई अत्यन्तै सुन्दर रुपमा अभिव्यक्त गरेको हुन्छ । मानवीय संवेदनालाई फुल झैं सुन्दर रुपमा राख्न सक्नु उनको लेखनीको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।
स्वार्थ
बर्षौंदेखि बूढो घाम कुरी बसेको
यो बूढो घरमा म छु भनेर आएनन् कहिल्यै कोही बोलाउन
न छोरा, न छिमेकी, न बटुवा, न आफन्त
रोग, भोक र शोकमा म एक्लै एक्लै बाँचें ।
आज एक्कासी बोलाउन आयो बाढी
बगायो मेरो आँगन
बढार्यो मेरो घर र मेट्यो म हुनुको अस्तित्व
निदाएकै बेला म पुरिएपछि आफ्नै घरमा
रुँदै आएका छन् सहरबाट छोराहरु
आएका छन् मेरा छिमेकी र आफन्त ।
यति बेला घरको भग्नावशेष पन्छाउँदै
मेरा छोराहरु खोजिरहेछन् मेरो घाँटी र औँलाहरु
किनकी उनीहरुलाई याद छ
त्यहाँ थिए –
केही लाल सुनका सिक्री र औँठीहरु ।
प्रेमीलाई रुन नदेऊ
जब एउटा प्रेमीको मन रुन्छ
तब रुन्छन् मनको वस्तीमा वास बसेका बसेराहरु
पुतलीहरु गाउँछन् बिरही गीत
ओइलाउँछन् बर्षौंदेखि हुर्काई राखेका प्रेमका फूल ।
जब एउटा प्रेमीको मन रुन्छ
शान्त तलाउमा हलचल आउँछ
बगिरहेको नदी स्थिर भएर उभिन्छ
वर्षौदेखिको सुख्खा ईनारमा भरिन्छ चिसा आँसु
भूकम्पपछिको शहर जस्तै कोलाहल र आतंकित बन्छ सडक
जब एउटा प्रेमीको मन रुन्छ ।
एउटा सिसाकलम लिनु
र कोर्नु प्रेमको आकृति त्यो बादलमाथि
अलिकति बादलका फूल झारिदिनु सागरको किनारमाथि
अलिकति बादलका रङ्ग झारिदिनु खडेरीग्रस्त मरुभूमिमाथि
अर्को हिउँदमा समुन्द्रमा फुलेको प्रेमको लहरा
बढ्दै बढ्दै गएर मरुभूमी ढाक्ने छ
पथिकहरु सन्तुष्ट हुने छन् पिएर प्रेमको अमृतपान
र, लेख्नेछन् एउटा अर्को अमर प्रेम कहानी ।
सुन-
रुनु दिन हुन्न प्रेमीलाई
किनकी जब रुन्छ एउटा प्रेमीको मन
मन मरेर फेरि पनि मरुभूमि बन्नेछ
मरुभूमिले फेरि पनि आफ्नो गर्तमा मार्नेछन्
थुप्रै अमर प्रेम कहानीहरु ।
जब प्रेमीको मन रुन्छ तब हुनेछन् विश्वयुद्ध
तब हुनेछन् महाभारत तब हुने छ कोतपर्व
तब मर्ने छन् इतिहासहरु तब मारिने छन् वर्तमानहरु ।
हरेक मान्छेभित्र एउटा प्रेमी मन छ
ती प्रेमी मनलाई रुन नदेऊ
हाँसिरहेकी प्रेमिकाले मात्र जन्माउन सक्छिन्
शान्तिदूत गौतम बुद्ध प्रेमीलाई, रुन नदेऊ प्रेमीलाई,मर्न नदेऊ ।
बीउ
ओढेर आकाशको घुम्टो
ओछ्याएर धर्तीको च्यादर
थालनी गर्नुछ नयाँ जीवन
रोप्नुछ एउटा गर्वीलो बीउ
उमार्नु छ बिरुवा बनाउनु छ एउटा अर्को रूख
फुलाउनु छ फूल
जननी आऊ नसर्माऊ
म –
तिम्रो गर्भमा नयाँ जीवनको बीउ उमार्छु ।
मौसम राम्रै रह्यो भने
सृष्टिको बीज राम्रै टुसायो भने
उम्रनेछ एउटा सुन्दर बिरुवा
हाँगा, पात र जरा फैलाउँदै जब उसले उभिनेछ धर्तीमा
म बनाउनेछु कुलो तिमीले ममताको जल सींच्नेछ्यौ उसको जरा जरामा ।
मेरो रोपाईं र तिम्रो सिंचाई
यो माटो अनुकुलित भयो भने
हाम्रो प्रेमको बिरुवा बन्नेछ सुन्दर तन्नेरी रूख
टुसाउनेछन् कोपिला बास बस्नेछन् पुतलीहरू
गर्भवती बन्नेछिन् फूलहरू र झर्नेछिन् धर्तीमा
फेरि अर्को एक जीवन उमार्न ।
प्रिय आऊ नसर्माऊ
ओढेर आकाशको घुम्टो ओछ्याएर धर्तीको च्यादर
नवजीवनको सुरुवात गर्नुछ
केही बिरुवा उमार्नुछ
जीवनको निरन्तरताका लागि
अर्को सुन्दर दिनहरूका लागि
यो रात नसुतेरै उज्यालो बनाउनु छ तिमी फूल म भमरा हुनु छ ।
हामीले यसै बस्यौँ भने
लाजले टाढै बस्यौ भने
राति चम्किलो जून लाग्लान्
सहबास बस्न जुनकिरी आउलान्
तारा खस्लान् यही बाटो गरी परदेशी फर्केलान्,
उतारेर शिरमा सिउरिएको फूलको थुँगा
दराजको उपल्लो खापामा
जतनले राख्लिन् र वर्षौं इन्तजारपछि
उसकी प्रियसी, उसको काखमा निदाउलीन् सन्तुष्टिको अमृत पिएर ।
दराजको फूल भुइँमा झर्ने छैन…
परदेशीको प्यासी प्रेमको साक्षी बनेर ऊ त्यसै मर्नेछ
गर्भमै थुप्रै जीवनका सम्भावनालाई बिसर्जन गरेर ।
जीवनको निरन्तरता रोकिन दिनु हुँदैन
फूलले फुल्न छाड्नु हुँदैन
गर्भिणी हुनुपर्छ झर्नुपर्छ धर्तीमा
फेरि नयाँ बिरुवा उम्रनु पर्छ र एक दिन फुल्नुपर्छ ।
यो निरन्तरताका लागि आऊ नयाँ जीवनको बीउ रोपौँ ।