नेपाली साहित्यको कविता बिधामा पचासको दशकदेखि हल्लादेखी पर रहेर चुपचाप लेखीरहने कवि भावना शर्मा हाल पत्रकारितामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ शर्माको प्रकाशीत कृतिहरु ‘जुनको आतंक’ कविता संग्रह र स्वर्गीय रामराजाप्रसाद सिंहको आत्मबृतान्त ‘गणतन्त्रका प्रणेता’ पुस्तक रहेका छन् । संवेदनालाई शुक्ष्म रुपमा कवितामा उतार्नु उनको लेखनको बिशेषता हो प्रस्तुत छ साताको तीन कविता ।
“लेख्न बाँकी एउटा अध्याय”
छोरी – किताबको प्रश्न आमा, मान्छेले के के खान्छ ?
आमा- दाल, भात, तरकारी खान्छ ।
छोरी – अनि !
आमा – ढिंडोरोटो, आँटोपिठो खान्छ ।
छोरी – अरू!
आमा- माछामासु, फलफूल, दूध खान्छ ।
छोरी- अरू !
आमा- मःम, चाउमिन, चाऊचाऊ खान्छ ।
छोरी – यत्ति मात्रै ?
आमा – होइन होइन खान त अरू धेरै कुरा खान्छ !
छोरी- भन्नुस् न त !
आमा – देख्दै, पढ्दै बिस्तारै सिकिन्छ लाटी !
किताबी प्रश्नका उत्तरहरू किताबमा नै हुन्छ ।
छोरी- अनि किताबमा नभएका ?
आमा- जीवनले सिकाउँछ नि !
तिमीले बुझ्नुपर्ने त,
यहाँ नजानिँदो गरी “मान्छेले मान्छे नै खान्छ”
चिथोरेर अनुहार, कोपरेर आँखाहरू
अन्धो, लाटो, बहिरो बनाइदिन्छ
अनि सुस्तरी सुस्तरी लुछीलुछी
मान्छेलाई यहाँ मान्छेले नै खान्छ !
छोरी- मान्छेले मान्छे खान्छ भने त भागौं आमा मान्छेको बस्तीबाट !
आमा – भाग्नुहुन्न छोरी !
तर्साउने छाँयाहरूमाझ बिलाउन हुन्न
हामी बाँच्नुपर्छ !
उल्ट्याएर “चक्रब्यूह” समयको
लेख्नुपर्छ बिल्कूलै नयाँ अध्याय
मान्छे नखाने मान्छेहरू जन्माएर
जीवनकै किताब बदल्नुपर्छ !
युद्ध-अवशेष
म
हारको युद्ध लड्दैछु
सपनाको मैदानभन्दा निकै पर
तोडेर सबै नियमहरू
तिमी जितिरहेछौ !
घोषणा गरिदिए हुन्छ यो छलको नगरीमा
फेरि कहिल्यै उभिने छैन
मेरो प्रेमको शालिक
रक्ताम्य छु रणभूमिमा
तिम्रो प्रहार आकस्मिक थिएन
समर्पणमा बिलिन मेरो सुन्दर हारको कथा
लेख्ला कसैले म अस्ताएको साँझ !
सम्झनेछौ तिमीले पनि
काँडामा फूलेका गुलावहरू
हारजित मात्र त होइन
युद्ध,आस्था हो, अभिमान हो
उज्यालोप्रतिको विश्वास हो !
कस्तो उदेक !
म बिरूद्ध कहिल्यै उभिन नसकेका
आफ्नै आँखाहरूको बन्दी तिमी
अँध्यारोको उत्सव मनाइरहेछौ
भ्रमको ताज पहिरेर
ओरालो झरिरहेछौ एक्लै एक्लै
विजेता एकफेर सोध्नु थियो सबै गुमाएर जित्नुमा के छ ?
म जैसरा !
म जैसरा !
फुली बुलाकी खोलेर आएकी छु
हजूर मालिक,
मलाई ‘विधवा’ लेखिदेउ
स्वास्नी हुनुभन्दा आमा हुनु पहाड रहेछ झुठै सही
लोग्ने मरेको कागज गरिदेउ ।
मेरो ‘माने’ मर्यो भने
म बाँचे के नबाँचे के?
उ गल्दैछ मालिक !
उ नमरोस्, बरु मलाई खरानी पारिदेउ
मानेको बाउ मरेको कागज गरिदेउ
साथीभाइले गिज्याउँदा
माने बहुत रिसाउँछ
बाउ खोजेर ल्याम आमा भन्छ!
मैले कहाँबाट ल्याइदिम् ?
तस्विरमा बाँचेको भन्दा कागजमा मरेको बाउ
मानेलाई धेरै काम लाग्थ्यो
विधवालाई ‘रकम’ मिल्छ रे
हजुर मालिक,
उसको बाउ मरेको कागज गरिदेउ !
हाम्रा लागि त उ मरेकै हो
गामका एक हुल लड्कासँगै
हिँडेथ्यो ‘पन्जाप’ शहर
उसले पखेँटा चाल्दा
माने पेटभित्रै थियो
उ फेरि फर्केर आएन
हुरीले हल्लाइरह्यो हाम्रो सानो गुँड….
मानेका बाले उतै घरजम गरे रे!
चिम्रीका खसमले खबर ल्याउँदा
झमक्क साँझ थियो
फेरि कहिल्यै घाम लागेन हाम्रो आङमा!
ग्वाल गएको माने
रगतपच्छे ढाड लिएर फिर्छ
सिस्नाले पोलेको पैताला झमझम गर्यो भन्छ
दिनभर पाखो खोस्रेर म
साँझ खोले फत्काउँछु
माने सिस्नाको खोले पिउँछ
म उसलाई हेरेर आफ्नै आँसु पिउँछु
मानेलाई आँटोपिठो मन पर्छ
कापीकलम पनि मनपर्छ
गाममा आएका नयाँ मास्टरले जस्तै
सेतो कमिजमा रातो कलम सिउरिन्छु भन्छ माने
तक्दिर न हो
बाँच्यो भने त मानेले धेरथोक गर्ला
मैले सिउँदोमा नकोरेको रंगले
कापीमा राता धर्का कोर्ला !
निधारमा नलेखेको लोग्ने
कागजमा रहे के? नरहे के?
हर बात मै खेपम्ला
हजुर मालिक,
मानेलाई रातो कलम किनिदिनुछ
मलाई ‘बिधवा’ लेखिदेउ ।