वेवी आई लभ यू …………………………………..
निशालाई असाध्यै मन पर्ने गीत हो यो । त्यसैले मोवाइलको रिङ्गटोन पनि यही राखेकी छिन् उनले । यति वेला रातको २ वजेको छ । नजिकै आफू सँगै राखेको मोबाइलमा यो गीतको पहिलो एक अन्तरा बज्दै बन्द हुँदै गर्दा त्यसको आवाज उनको कानमा पर कतैबाट आएको जस्तो गरी ठोकिन्छ तर निन्द्राले उनलाई यसरी आफ्नो आलिङ्गमा कसेकी छिनकी उनी त्यसबाट फर्किनै सकि राखेकी छैनन् । दिनभरीको थकाइले होला सायद । आ उठाउदिन फोनसोन उनी कोल्टे फेर्छिन् तर मोवाइलले आफ्नो धर्म छोड्दैन त्यो बजेको वजै गर्छ । त्यति मिठो लाग्ने गीत सुन्दा पनि उनलाई यति बेला झर्को लागेर आउँछ । “हेलो यति मध्य रातमा किन फोन गर्नु भयो हजुर आमा काम पाउनु भएन, तपाईलाई कति पटक भनि सके यति राती फोन नगर्नुस् भनेर” निशाको स्वरमा आक्रोस थियो । “नरिसान नानी तेरो त्यहाँ पो मध्यरात भयो त यहाँ त भर्खर १० बज्यो । अनि कामबाट आएर केही खाइस कि त्यसै सुतिस् ? भोली विहान कलेज छ कि छैन ?” प्राय फोनमा हजुरआमाले गर्ने सुरुवाती प्रश्नहरु हुन् यी । “नखाई सुते पनि तपाईले त्यहाँबाट क्वाँप्प खुवाउन सक्नु हुन्न क्यारे । सुते नि नखाईकन, बरु नखाइकन सुत्न सक्छु तर नसुति सक्दिन, तपाईलाई थाहा छैन र मेरो बानी ल भन्नुस् के कुरा सम्झेर फोन गर्नु भयो अहिले नै यो मध्यरातमा भोली विहान सम्म पनि कुर्न नसकी । वेकारमा तपाईलाई यो असी वर्षको उमेरमा मोवाइलमा म्यासेन्जर फेसबुक चलाउन सिकाए छन् ।”
“ हो त नि नानी तैले अष्ट्रेलिया जाँदा यो मोवाईल मलाई छाडेर गज्जव गरिछस् । पहिला यो नजान्दा ठिकै थियो अहिले त यसमा रगं रगंको कुराहरु हेर्न खप्पिस भइ सके क्या! तिमिहरु जस्तै पढ्न लेख्न जानेको भए अझै कति कुरा आउथ्यो होला । मेरो दिन काट्ने साथी यही त भाकोछ । त्यो निलो रुख जस्तो छ नि के रे फेसवुक भन्दोरहेछ नि हो त्यो आए पछि कति मान्छेका फोटाहरु हेर्छु । तेरो भाइले मलाई के रे त्यो मनपराउनेलाई के भन्छ अँ लाईक गर्ने भनेर थिच्न सिकाएको छ क्या । त्यो रातो थिचे पछि (सायद युटुवलाई भन्नु भएको हो) भजन गाउँछ मोवाइलले। अनि फोन गर्न त त्यो फोटाहरु हेरयो जसलाई मन लाग्यो थिच्यो भइ हाल्यो । के गर्नु पढ्न जानेको छैन नत्र के के गर्थे ।” एकनास बोलिरहेकी हजुर आमाको कुरा विचैमा रोक्दै निशा भन्छे “भो लामो कुरा नगर्नुस् मलाई सुत्न दिनुस्, भोली विहानै कलेज जानुछ तर उहाँको आवज किन रोकिन्थ्यो र त्यो घन्किरहन्छ एफ्. एम्. रेडियो जस्तै“एकछिन कुरा गरन आज मलाई के गरौँ कसो गरौँ छट्पटी जस्तो भईराखेको छ क्या । फेरि म मरी हालेँ भने कोसंग कुरा गर्छेस् हजुर आमा भनेर । अँ सुन त तैले मलाई पोहोर ल्याइदिएको व्याग थियो नि त्यो त मैले तेरी माइजुलाई दिए मिल्यो भने अर्को मलाई पठाइदे ल । नानी मलाई तैले ज्याकेट किनिदिएको भन्थिस्नी त्यो खोई ? कसले ल्याइदेला र लाउनु मलाई आज असाध्यै त्यो ज्याकेट हेर्न मन लाग्यो । भिडियो खोलेर देखा न” अब भने रिसको मात्रा कन्ट्रोल गर्न निशालाई गाह्रो पर्छ, मोवाइलमा लगभग चिच्याएको आवाजमा कराउँछे “म यस्तो निन्द्रामा छु तपाईलाई त्यो नाथे व्याग र ज्याकेटको कुरा गर्नु छ यस्तो मध्यरातमा कसैको हजुरआमाले पनि यसरी सताउँदैनन् । आ राख्नुस् फोन”मोवाईललाई रिसको झोकमा अफ्लाईन गर्छे र फ्यात्त फालिदिन्छे र आफू निदाउने प्रयासमा लाग्छे, तर निन्द्राले टेरपुच्छर लाए पो ।
टोलमा सवैले दुर्गा दि भनेर चिन्दछन् हजुरआमालाई २ वटी फूपुहरु पछि कान्छो छोरा मेरो बुबालाई उहाले जन्म दिनु भयो । फूपुहरु र बुबाले उहाँलाई सानै देखि दिदी भनेर सम्बोधन गर्ने र जेठी फूपुको नाम दुर्गा भएको हुँदा उहालाई सवैले दुर्गा दि भनेका रहेछन् । असाध्यै फरासिली र हसिली, कहिल्यै उहाँ रिसाएको देखिएन । टोलमा कसैकोमा पुजाआजा परयो, कुनै अफ्ठ्यारो परयो पुगिहाल्ने । सवैको चासो राख्नु पर्ने, कुरा गर्नु पर्ने, त्यसैले बुबा भन्नु हुन्थ्यो हाम्री आमालाई कुरा गर्न पाइन् भने फरिया फुस्केको पनि थाहा पाउँदिनन् । तर उहाँका कुराहरु पोजेटिभ उर्जाले भरिएका हुन्थ्ये । कसैले के भनोस् उहाँलाई मतलव थिएन गलत लागेको कुरा अर्काको घरपरिवारमा नि पुगेर बोल्दिनु हुन्थ्यो । बोल्दा हर कुराको पछाडी क्या थेगो जोडेर बोल्ने । त्यसले गर्दा कसै कसैले क्या दिदी पनि भन्थे उहाँलाई । टोलमा एकजनाको नातीको पास्नि थियो। कार्ड दिदा नामै क्यादिदी भन्ठानेछन् र त्यही लेखेछन् । तिनीहरुको सातो लिनुभयो हजुरआमाले । ए साच्ची उहाँको अर्को बानी त विर्सिएकी सधैँ राम्रो लगाउनु पर्ने, मिठो खानु पर्ने, कसैले लगाएको उहाँलाई राम्रो लाग्यो भने कति राम्रो कहाँबाट ल्यायौ मलाई पनि यस्तै ल्याइदेउन । त्यसो भन्न पनि पछि नपर्ने त्यस्तै कसैले तपाईको यो लुगा कति राम्रो मन परयो भन्यो भने फुकालेर दिन पनि बेर लाउनु हुन्नथ्यो । उहाको यस्तो बानी निशाका बुबा र आमालाई त्यति मन पर्दैनथ्यो तर भाई र निशा भने सधै उहाँको सपोर्ट गर्थे । उहाँका कुरा सुन्दा लाग्थ्यो उहाँ ८० वर्ष हैन भर्खर चालिस वर्ष लाग्नु भयो । त्यति अगाडी जन्मेर पनि सोचाई भने एकदम आधुनिक । हजुरबाले चाडै नै संसार छोड्नु भयो तर उहाँले आफूले दुःख जेलो गरेर पनि निशाका बुबालाई मात्र होइन फुपुहरुलाई समेत स्नातक सम्मको पढाइका लागि वातवरण मिलाई दिनु भयो । निशाकी आमालाई पनि उहाँले नै केटाकेटी हुर्किए पछि सरकारी स्कुलमा भन्सुन् गरेर नोकरी लगाइदिनु भयो । “आफू निरक्षर परेर पो त नत्र मैले यो देशको पहिलो महिला प्रधानमन्त्री भएर देखाई दिन्थ्येँ क्या ।” उहा प्राय यसो भन्नु हुन्थ्यो र त्यसपछि बुबाको जवाफ यस्तो आउथ्यो “आमा प्रधानमन्त्री हुन पढ्न पर्दैन क्या, अहिलेका हाम्रा प्रधानमन्त्रीले पनि कहाँ पढेका छन् त, बरु आगामी चुनावमा तपाई पनि उठ्ने होकी ?” त्यसपछि कोठाभरी हाँसो भरिन्थ्यो । हजुरआमा भने ठुुस्स मुख लगाएर बस्नु हुन्थ्यो ।
नेपालमा मास्टर्सको पढाई सकेपछि बुबा आमाको विचार थियो निशाको विहा गरिदिने बरु विदेशमै गएर पि.एच्.डी. गर्न मन भए विहा पछि श्रीमानसंगै उतै गएर पढ्नु भन्ने सोच थियो तर हजुरआमा उहाँहरु भन्दा अघिल्लो पुस्ताको निरक्षर मान्छे भएर पनि उहाँको सोचाई धेरै अगाडीको थियो । “विदेशमा गएर उच्च शिक्षा लिने र त्यसपछि मात्र विहा गर्ने इच्छा छ भने त्यो राम्रो कुरा हो हामीलाई हाम्री नातिनीप्रति विश्वास छ ।”यसरी उहाँको जोडले नै निशाले आफ्नो पिएचडीको अध्ययन पुरा गर्न अष्ट्रेलिया जाने मौका पाएकी थिई । घडीको अलार्मले एक्कासी झस्काएपछि निशा अतितबाट वर्तमानमा पुग्छे । अहो विहानको ६ वजिसकेछ । रात छर्लङ्गै वित्यो तर एक झिमिक पनि निदाउन सकिएन । बेकारमा त्यसरी प्यारी हजुरआमालाई गाली गरेको आखिर निन्द्रा पनि परेन बरु मज्जाले कुरा गर्नु पर्ने रहेछ । घडीको आलार्मसँगै ६ बजे उठेर हतार हतार ७ बजे कलेज पुगिसक्नु पर्छ । नेपालमा पनि सधै विहानको कलेज पढी निशाले तर कुनै दिन आमाले अल्छी गरे पनि हजुरआमाले आफैँ उठेर विहान केही न केही खुवाएर मात्र कलेज पठाउनु हुन्थ्यो । यहाँ त कुरै अर्कै छ । को छ र त्यसरी माया गर्ने । विस्तारै पलङ्गबाट उठेर निशा कलेज जानका लागि तयारी गर्न खोज्छे तर टाउको एकदम भारी भएर आउँछ । राती दिन्द्रा नपरेर होला सायद । “ होस् आज कलेज अलि ढिलै जान्छु । बरु हजुरआमालाई फोन गर्छु राती चित्त दुख्यो होला मेरो कुराले अलि बढिनै रिसाएछु बित्थामा। अहिले भिडियो कल गरेर त्यो ज्याकेट पनि देखाइदिन्छु । दंग परि हाल्नु हुन्छ नि” यही सोचेर निशाले कल गर्छे धेरै पटक रिङ जान्छ । कन्ट्याक्ट हुँदैन हजुरआमालाई अफलाइन देखाउँछ। यस्तो त कहिल्यै हुँदैन थियो, पहिला २ बजे राती फोन गर्दा पनि कुरा हुन्थ्यो । आज किन उठेन, यतिअवेला सम्म सुत्ने बानी पनि छैन उहाँको । रिसाएर पो हो की? एकपटक बुबालाई सोध्छु । यही सोचेर मोवाइल थिच्छे निशा तर बुबा पनि अनलाइन हुनुहन्न । सिधै उहाँको नम्बर डायल गर्छे“बुबा हजुर विहान त सधैँ अनलाईन हुनुहुन्थ्यो आज कता हुनुहुन्छ हजुरआमा के गर्दै हुनुहुन्छ एकपटक फोन दिनु त मसँग रिसाउनुभएको जस्तो छ म उहाँसंग कुरा गर्छु ।” उताबाट आएको बुबाका शब्दहरु निशाको कानमा यसरी ठोकिन्छ मानौँ कुनै बम पड्कीएको छ । नानी आमालाई हिजो राती नै हर्ट अट्याक भएछ । हामीले अघि विहानी पख मात्र थाहा पायौँ हतार हतार हस्पिटल ल्यायौँ तर उहाँले राती नै हामीलाई छोडेर गइसक्नु भएछ । मोवाईल मात्र होइन आफू पनि सधैैँको लागि अफलाइन हुनु भयो नानी । निशालाई रिङ्गटा चल्छ । उनी भुइमा ड्याङ्र्याङ पछारिन पुग्छिन् । उनी सँगै हातमा बोकिराखेको हजुरआमाको खैरो ज्याकेट पनि फ्यात्त भुइँमा झर्छ ।