– श्याम इङनाम
हङकङ उड्नु पुर्व
आमालाई मेडिसिटिबाट घर ल्याई सकेपछि हामी सबैमा खुशीको लहर छायो। अनुहारको अध्यारोपन विस्थापित हुदै गयो। सबैको मुहारमा हाँसोको फोहोरा छुट्न थाल्यो । संसारमा जन्मदिने आमा र बाबाको स्थान सर्वोच्च र अतुलनिय हुदोरहेछ। चाउरिएको मुहारमा मन्द मुस्कान देख्दा संसार जितेझैं लाग्ने रहेछ ।
घरको सौहार्द वातावरण अनि वरीपरि छोरा छोरीहरुको स्पर्शले होला आमाको स्वास्थ्यको प्रोग्रेस ग्राफ बढ्न थाल्यो।यो एउटा अत्यन्त खुशीको समय थियो।
मैले हङकङमा कामबाट विदा लिएको पहिलो पटक लगभग ५ महिना अनि अहिलेको लगभग २ महिना गरि ७ महिना हुन लागेको थियो। सम्पुर्ण अर्थव्यवस्था डामाडोल हुदैं थियो। कामबाट साथीहरुको दिएको आत्मीय सपोर्टले गर्दा मलाई हौसला र उर्जा भने मिलिरहेको थियो।मानवीय नाता भन्दा अझ माथि उठेर अफिसबाट टिबी सर, अग्नि सर, रुपेन सर अनि हिम दाई र अन्य सबै साथी भाईहरुले राख्नु भएको सदासयता र अपनत्वबोध प्रति म सदा ऋणी रहनेछु। आमाको ख्याल गर्नु श्याम सर हामी यता सम्हाल्छौं भन्दा वहाँहरु प्रतिको सम्मानले आँखाका डिल थाहै नपाइ रुझेका हुन्थे।अनि जीवन संगिनी हेमकलाले दिई रहने हौसला र साथले सम्बन्धको धरातल अझै मजबुत हुदै गरेको महसुस गर्छु । लाग्छ यस्तै कारणले मान्छे अरु प्राणी भन्दा पृथक भएको होला।
घरमा दिदि,दाजुहरु सँग सल्लाह गरि मैले हङकङ फर्किने निर्णय गरें। जे जस्तो बाध्यता र मनमा दुख भएता पनि मनको तराजु उठाउनै पर्ने। साच्चै जीवनमा के चीज चाहिँ हाम्रो अधिनमा हुन्छ होला ? अनि लाग्छ जीवनको सबै भन्दा निश्चित चीज नै अनिश्चितता हो रहेछ।
जाने निश्चित भएपछी हङकङको ट्राभल एजेन्सीमा सम्पर्क गरें। फिस्टेलको बैनी र कृष्ण पाण्डे सरले १८ तारिक फ्लाइट रहेको जानकारी दिनुभो। म यो अवसर गुमाउन चाहन्न थिएँ, मैले तुरुन्त टिकट र होटल कन्फर्म गर्न भनें। फ्लाइट पाउनु,अझ टीकट नै पाउनु एउटा लडाँइ जितेझैं हुन्छ हिजो आज। तेसले गर्दा पनि म यो अवसर गुमाउन चाहन्न थिएँ।
टिकट र होटल कन्फर्म भएपछि उड्नु पुर्व ४८ घण्टाको PCR नेगेटिभ भको रिपोर्ट चाहिने र त्यो पनि सरकारी हस्पिटल टेकुको मात्र भ्यालिड हुने। सोहि अनुसार १८ तारिख गएर नमूना (Sample) दिएर आएँ। दिउसो सम्ममा म्यासेज आउछ भनेको थियो तर साझँ ७ बजे सम्म पनि कुनै म्यासेज नआउँदा मन त्रसित भयो। कतै पोजिटिभ पो भोकी भन्ने थियो। तर लगभग ८:३० बजे तिर मोबाइलमा नेगेटिभ (Negative) भन्ने म्यासेज आए पछि ढुक्क भैयो।
जनवरी १९ तारिख साझँ ९:३० बजेको फ्लाइट भएकोले रिपोर्ट १९ तारिख कै दिउसो संकलन गरियो। रिपोर्टको साथमा हङकङका लागी भने हस्पिटलबाट कभरिङ लेटर पनि लिनु पर्नेहुन्छ तेस्को लागि अतिरिक्त रु.३०० लाग्ने रहेछ।
यो महामारीको समयमा खासै समानहरु किनमेल थिएन। त्यसैले आफ्ना कपडाहरु खांद खुँद गरें सुट्केसमा।
साझँ ६:३० बजेतिर आमा,दिदिहरु कोठामै हुनुहुन्थ्यो, सबैको आँखा रसाईरहेको थियो , कसैले कसैको अनुहार हेर्ने साहस गरेका थिएनन। विस्तारै आमाको खुट्टा छोएँ , मन मनै आशिर्वाद मागें र क्षमा पनि। र एउटा गह्रौं र विक्षिप्त मन लिएर बाहिर निस्कें, दिदिहरुलाई विदाको हात हल्लाएँ प्रतिउत्तरमा वहाँहरु केवल मुस्कुराउनु भो।
नाति सन्तोष राईको हयुन्ड़ाई अघि देखि कोटेश्वोर वरपरको बाटोमा अलमलिदै बेटुंगो भैरहेको थियो । बाटोमा निस्केर ठेगाना यकिन गरेपछि वहाँको हयुंन्डाई आइपुग्यो तेसैमा चढेर एयरपोर्टतिर लागियो । नेपाल बस्दा नाति सन्तोष, तेह्रथुमे ढाकाकी व्यबसायी निरु आङबुङ, भतिज चन्द्र इङनाम, भागिराज इङनाम दाई, बलिराज इङनाम भाई लगायत सम्पूर्णप्रति यहाँहरुको साथ र सहयोगको लागी आभारी छु।
क्वारेन्टिन : दिन -१
काठमाडौँबाट तोकिएकै समय ९:३० बजे बेलुका RA 409 हङकङको लागी प्रस्थान गर्यो। घरबाटै खाजा खाएर हिडेको कारण प्लेनमा दिईएको खाना खान मन भएन। कोभिडको कारण प्लेनमा बाँडिने खाना पनि बिशेष प्याकेजिङ गरिएको थियो, जुन एकदमै सराहनीय लाग्यो। ३ घण्टा ४८ मिनेटको उडान पछि हामी सवार न्यारो बडी (Narrow body) हङकङ समय राती ३:१५ मा ल्यानडिङ भयो।
काठ्मान्डुको चेक इन गर्ने काउन्टरमा हङकङ सरकारले जारि गरेको हेल्थ डिक्लारेसन सम्बन्धी क्यु आर कोड(QR code ) को पोस्टर देखें। म सँग पहिलो पटक (अगस्ट २०२०) हङकङ आउँदाको अनुभव भएको कारण मलाई त्यो स्क्यान ( scan ) गरेर डिटेल्स भर्नु पर्ने कुरा थाहा भयो । त्यहाँ हुने आरए (RA ) कर्मचारीहरु आफ्नो व्यस्तताले हो या पुरा ज्ञान नभएर हो यात्रुहरुलाई त्यो बारे त्यति जानकारी दिएको पाइएन। उक्त फर्म बोर्डिंग पास प्राप्त भए पछि भरि क्यु आर (QR code ) को स्क्रिन शट फोटो आफुसँग राखे हङकङ एयरपोर्टमा धेरै सजिलो हुन्छ।
ल्याण्ड भएपछि एयरपोर्टका कर्मचारीले गाइड गरी अघि बढाउछन। अघि अनलाइन भरेको क्यु आर (QR code ) को फोटो देखाए समय खेर जाँदैन। जाँदा जादै सम्पूर्ण यात्रुहरुको पिसिआर( PCR ) को निम्ति नमुना (SAMPLE) लिई हामीलाई रिपोर्ट नआइन्जेल सम्म प्रतीक्षालय (Holding Center) मा राखियो। लगभग ४ घण्टाको पर्खाइ पछि त्यहाका कर्मचारी हातमा केहि कगाजहरु बोकेर हामी बसेतिर आए। परिणाम के आयो भन्ने कौतुहलता र त्रासदी सबैमा देखिन्थ्यो। रात भरिको अनिदो,भोको र त्रासले सबैको अनुहार हेर्न लायकको थियो।
रिपोर्ट नेगेटिभ आएपछि हामीलाई पुन कर्मचारीहरुले गरेको ईमीग्रेसन,व्यागेज क्लेम र आफ्नो होटल सम्म आउने व्यबस्थापन अत्यन्त चुस्त र प्रशंसनीय रह्यो। हामीले कल्पना गरेको संमृद्व नेपाल सुखी नेपालमा पनि सायद यो भन्दा धेरै नहोला। नेपाली नेताको मुखमै खाना खुवाइदिने बेतुकका सपना सुन्दा मन तेसै उदास भइदिन्छ।
होटल पुगेपछि अगाडी नै तैनाथ होटल कर्मचारीले गाइड गर्दै रिसेप्सन लगे। इमिग्रेसनमा दिएको क्वारेन्टिन अर्डर फर्म र एच के आइडी मागियो साथमा हङकङ डलर दुई हजार ( HK$2000 ) डिपोजिट (यो होटल अनुसार फरक पर्न सक्छ)। नेपाल बाट आउदा हामी जो कोहिसँग यतिका रकम साथमा नहुन सक्छ। यो बारे चाही ट्राभल्सले या हामी स्वयम जानकार हुन आवश्य देखियो। नगद नभए क्रेडिट कार्डले पनि काम गर्छ।चेक इन र केहि ब्रिफिङ् पश्चात आफ्नो रुम तिर लागें, रुम न.८०७। एक चोटी मात्र प्रयोग हुने कार्ड(ढोका खोल्न) प्रयोग गरि भित्र छिरें।
सर्सर्ती रुम नियालें, बेडहरु टक्क मिलाइएका, टेबलमा बसिन्जेल पुग्ने पानीको बोतल,चिया कफीको स्याचेट, तौल्या र बेड सिटहरु २१ दिन पुग्ने गरि मिलाएर राखिएका थिए। तर मनमा एक किसिमको त्रास,चिन्ता र उत्सुकताले उकुस मुकुस भएर आयो । यो होटल त हो तर म यहाँ जीवनको २१ रात एक्लै गुजार्दैछु। यो कस्तो सजाय हो ? कस्तो अनुभूति ? बि.पी.पनि जेल बस्दा एक्लै थिएनन् अरु ३ जना थिए,जेल जर्नलमा उनले नै लेखेका छन्। तर अर्को मनमा स्वीकार्यभाव उत्पन्न भैरहेको थियो। मैले वास्तविकतालाई आत्मसात गर्नुपर्छ , यो सबै आफ्नै लागी भरहेकोछ।अझ भनौ यहाँको यो कुरा , सरकार जनताको स्वास्थ्य प्रति सचेत रहेको उच्चतम उदहारण हो ।अनि मलाइ विजय कुमारको “सम्बन्धहरु” भित्र उजगार “अर्थ के हो भन्ने बाटो हिंडेर अर्थ खोज्न सकिन्छ।अर्थ के होइन भन्ने बाटो समाते पनि अर्थ भेटाउन सकिन्छ” भन्ने भनाइ वास्तविक लाग्छ।
आफ्नो सामानहरु राखें, रातको अनिदोले खासै केहि गर्न मन लागेन, यसै बेडमा ढल्केँ। दिउसो ४ बजेतिर उठें र फ्रेश भएँ। अनि कोठाको पर्दा खोलेर बाहिर टहलाउन थालें। आँखाकै अगाडी विशाल काईतक निर्माण साइट रहेछ। जसको दृश्यपानले शरीरमा एक किसिमको रक्त सन्चार प्रवाह भयो। सिभिल इन्जिनियरिङ् पेशा भएको कारण जब देखि जिजिविषाको लागी काम गरियो तबदेखि निर्माण क्षेत्र मै छु। तसर्थ पनि मलाइ यो परिदृश्य आफ्नै लाग्थ्यो।
कोठाको सेटअप आफुलाई सजिलो हुने गरि मिलाएँ।होटल प्याकेजमा दिनको ३ मिल (खाना) थियो तथापी त्यहाँ अकबरे, किनिमाको अचार र सुकुटी हुँदैनथ्यो। तेसको व्यबस्थापन गर्न हेमालाई घरमा फोन गरें।
आज त्यही गुलियो चाईनिज खानाले छाक टार्दै गुजारा चलाइयो।